“साहुनी …. दुइ कप चिया” प्रत्येक दिनको सूर्योदयको पहिलो झुल्काका साथसाथै उनका कानमा प्रतिध्वनित भइरहन्छन् यी शब्दहरू । यी शब्दहरूसँग उनी निकै अभ्यस्त भइसकेकी छिन् । ‘साहुनी’ भन्नेबित्तिकै कहिले उनी आफैँ “कति कप चिया <" भन्न पुग्छिन् भने कहिलेकाहीँ "साहुनीले बनाएको चिया कति मीठो" भनिदिँदा फुरुक्क पर्छिन् । तर जति मीठो चिया, दूध र चिनीको मिश्रणबाट बनाइएको छ त्यति नै टर्रो छ उनको जीवन । तीस वर्षको फर्केको यौवनमा भारततिर गएर रिकुटे भएको उनको लोग्नेले विधवाको पद उपहार दिइसकेको छ उनलाई । जेनतेन पहाडबाट आफ्नो भागको सम्पत्ति बेचेर माइतीको आडमा चियापसल राख्न पुगेकी छिन्, निरमाया । छेउछाउमा कार्यालयहरू भएकाले उनको चिया र नास्ता राम्ररी नै बिक्री हुन्छ । यसै पसलको आम्दानीले दुइ छोरीलाई सरकारी स्कूल र काखको छोरालाई बोर्डिङ्ग स्कूल लगाइदिएकी छिन् । उनलाई असाध्यै रहर छ छोरालाई बोर्डिङ्ग स्कूलमा पढाउने । त्यसैले उनले आफ्नो बैँसलाई बन्धक राखेर लाउने खाने रहरलाई छोराको भविष्यसँग साटेकी छिन् । उनको जीवनको एउटै लक्ष्य नै छोरालाई पढाएर ठूलो मान्छे बनाउने छ । तर उनलाई थाहा छैन ठूलो मान्छे कसरी बन्दछ । उनी कार्यालयका हाकिमहरू आएर चिया खाँदा आफ्नो छोराको प्रतिविम्ब तिनमा देख्छिन् । यसै चाहनामा उनको बिहान बेलुकामा परिणत हुन्छ र बेलुका बिहानमा ।
छोरीहरू त अर्काका घर गइहाल्छन् । उनीहरूसँग उनलाई केही आशा छैन । भविष्यका लागि कुनै आशा नभए तापनि वर्तमानमा ती छोरीहरू आम्दानीका प्रमुख स्रोत भएका छन् । ती दुइ छोरी नभए उनी एक्लै चियापसल चलाउन सक्दिनन् । दुइटी छोरीलाई गरिने लालनपालनको खर्च उनले एउटै छोरालाई गरिरहेकी छिन् । छोरो भनेको छोरो नै हो । छोरालाई जति खर्च गरे पनि भोलि त्यो सावाँमा ब्याज थपिएर आउँछ भन्ने उनको धारणा छ ।
उषाको किरणसँगै परेड खेल्दै वयस्क भएको उनको छोराले स्कूले पढाई सक्यो । छोराले एस एल सी पास गरेर क्याम्पस पढ्न थालेपछि खुशीका किरणहरू अगेनामा मात्र सीमित रहेनन् मन मन्दिर नै उजिल्याउन पुगे । उनले प्राइभेट क्याम्पस पढाउन सकिनन् किनभने छोरीहरू पनि बढेकाले खर्चको भार चोटिलो थियो । ठूलो आशा र विश्वासमा छोरो हुर्काउँदै थिइन् । कहिले छोराको पढाइ सकिन्छ र कार्यालयको हाकिम भएर आउँछ भनेर कल्पनाको ताना बुन्थिन् । कहिलेकाहीँ दिउँसै सपना देख्थिन् । सपनामा उनको छोरो हाकिम भएर आएको देख्थिन् अनि सबैले उनलाई हाकिमकी आमा भनेर नमस्ते गरेको देख्थिन् ।
समय बग्दै गयो । क्याम्पस जाने छोरो एक दिन दुइ दिन गरी हराउन थाल्यो । उनी सोधीखोजी गर्दथिन् । तर बढेको छोराले आमाको कुरालाई बेवास्ता गर्नु साधारण कुरो जस्तै थियो । उनी आफ्नो छोरो भलाद्मी छ कुरा बुझ्छ, बाटो बिराउँदैन भन्ने कुरामा आश्वस्त थिइन् ।
एक दिन उनको सपनाको आकाशमा अचानक कालो बादल मडारियो अनि बिजुलीको गर्जनसहित उनको जीवनमा कठोर चट्टान बज्रन गयो । जीवन स्तब्ध भयो अनि शून्य भयो, आवाज उठाइन् तर प्रहरी, चौकी , मानवाधिकार संघ अन्य संघ संस्था सबै बहिरा भए । इष्ट मित्रहरू औपचारिकताको आँगनमा सहानुभूतिका बिस्कुन फिजाएर जान्थे । तर उनलाई कुनै सरोकार थिएन । उनी आफैँ बिस्कुन रापिएझैँ रापिएकी थिइन् । पीडाको रापले सुकेर काठझैँ भएकी थिइन् ।
एक दिन दुइ दिन गर्दै पर्खाइको धैर्यले सीमा नाघ्यो । पीडा गुम्सेर शून्य कोठामा छरिन थाले । उनको हातको मीठो चिया मात्र अतीतमा सीमित रह्यो । उनी जिउँदो लासझैँ भइन् । उनको सोचाइविपरीत उनका छोरीहरूले चियापसललाई यथावत् राखे । उनी अर्कै संसारमा पुगिसकेकी थिइन् । उनका आँखा एकटक लगाएर दैलोमा बिहान देखि बिछ्याइएका हुन्थे । कहिलेकाहीं साँच्चै उनको छोरा हाकिम भएर आएको रहेछ भन्ने भान पर्दथ्यो उनको व्यवहारले चिया खान आउनेलाई । अनि सबै कोठा गएर हेर्थे । तर यो सब उनको कल्पनाको दृश्य यथार्थमा प्रतिविम्व भएको नाटक मात्र थियो । धेरैले यथार्थ अवगत गराउन खोजेता पनि उनी सहमत हुन सक्दिन थिइन् । उनको आफ्नै सोचाई थियो आफ्नै समय थियो । त्यसमा कसैले हस्तक्षेप गर्न सक्दैनथ्यो । उनको जीवन मात्र कल्पनामा दिन रातमा परिणत हुनु र रात दिनमा परिणत हुनुसम्म सीमित रह्यो
