हरी बाजे पुसको पारिलो घाम ताप्दै चौतारीमा पत्रिका पढ्दै के थिए, भुराभुरीहरु कुद्दै आए, र पिरोल्न थाले -“हजुरबा ! हजुरबा ! एउटा कथा भन्नु न ! ”

भुराभुरिको गाला मुसार्दै बाजेले सोधे- ” लु त लु, के को कथा सुन्छौ ?”
भुराले भने – “सुँगुरको |”

नचिताएको बिषयले बाजे एकछिन तिरिमिरी भए, एकछिनमा जुँगा मठार्दै कथा भन्न थाले-
“उहिलेको कुरा हो, पण्डित विष्णुप्रसादको छोरोले पल्लो गाउँमा गएर दुई गिलास खोइलेबिर्को ठाडो घांटी लाएर खोत्याईदिएछ | गाउँलेलाई के चाहियो ? उखरमाउलो मच्चाइहाले | देशमा श्री ३ को राज्य थियो, गाउँका पन्च/मुखिया पनि त्यस्तै थिए | बाहुनको छोरोले रौ’सी खायो भनेर गाउँले पुरै ऊ माथी ओइरिए | बिचरोको टाउको चारपाटा मुडेर, काँधमा सुंगुरको पाठो भिराएर, चार भन्ज्यांग कटाए | सुँगुर छुवाउनु एकदमै ठुलो सजायं थियो, बुझ्यौ ?”

” हा हा हा हा |” भुराभुरी गललल हाँसे |
“त्यसपछि के’भो बाजे ?”

” त्यसपछि त्यो तराई झर्यो, चितबनमा जंगल फाँडेर त्यतै बस्यो | देशमा पनि प्रजातन्त्र आयो | बाहुनहरु प्रजातन्त्रमा छट्टाउँदैं सुटुक्क झ्वाईँखट्टे झ्याम् पार्न थाले | सुँगुर भने छोएनन् | बाहुनहरू बाटोमा सुँगुर देख्दा पनि अर्को बाटो हिंड्थे, झुक्किएर छोईहालियो भने तात्तातै घर आएर सुनपानी छर्केर चोख्याउँथे | यसैताका म जन्मिँए | अघिका टाउको मुडुले मेरा बा थिए |”

भुराले गम्भीर हुँदै सोधे- “त्यसपछि ?”

“त्यसपछि देशमा पंचायत आयो बा ! ‘महिन्द्र’ ले बँदेल खान्छन् भन्ने निहुँमा फोकट्या बाहुनहरुले पनि बँदेल खान थाले | बाहुनले रौ’सी खानु केहि आइतबार रहेन, तर सुँगुर-बुंगुर भने खाएनन् | यसै ताका म पनि बाउ बनें, तर मेरो टाउकोमा भने टन्नै रौँ थियो है | ”

“हा हा हा….त्यसपछि ?”

“पंचेले जनताको दिमाग पंचेट पारे, जनताले ४६ सालमा टाले | त्यसपछि फुका’को साँढे झैँ भए बाहुनहरू, रक्सी र बँदेल खाएर आफुलाई ठुलाबडा ठान्न थाले | सुँगुर भने खाएनन् | यसै बेला म हजुरबाउ बनें | नाति ज्ञानी होला भनेर नाम पनि उत्तम राखें, तर सार्है बेबकुफ र फटाहा पो निस्क्यो |”

“किन र बाजे उत्तम दाई त्यस्तो ?”
“त्यसपछि के भयो बा ?”

त्यसपछि पंक्तिकारका हजुरबा, हरिप्रसाद बाजेले मलिन स्वरमा भने-
” भो नानी ! त्यो साँइदुवाको कुरै नगर | त्यसले त घरमै पोर्क बार्बिकिउ गर्छ रे !
गणतन्त्र आ’र त होला, होटेलमा जाँदा पनि सुँगुरको साँधेको सुकुटीको सितन संगै सोमरस सर्लक्कै स्वाट् पार्छ रे !”

बाजेको आँखा एकाएक सजल भए |

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *