मेरो निन्द्रा अनि देशको चिन्ता

DineshNepal


दुईजना साथीहरू ओच्छ्यानमा ल्याप्टप र मोबाईलमा व्यस्त भएको बेला भितामा झुन्डिएको घडीमा रातको १०:१५ भएको छ । भित्तामा झुण्डेको घडीको एकोहोरो टिकटिक आवाजलेले मेरो मनमा अनेक कुरा खेल्न थाले । खाना खाइयो अब पल्टिनुपर्ला जस्तो छ, बहिर जाउँ भने पनि कता जानु, गर्मी छ । यो फेसबूक पनि कति चलाउनु । विदेश आएको पनि ३ वर्ष पूरा हुन लाग्यो । दसैं पनि नजिक आउँदैछ, नेपालमा भएको भए कति रमाइलो हुन्थ्यो । यहाँ त खाली काममात्र, बिहान चाँडै उठेर कार्यालय गयो, ४ घण्टा काम गरेर कोठामा आएर खान खाएर सुत्यो, अनि फेरि एकैक्षणमा कार्यालय जाने समय भइजान्छ । दिनमा दुईपटक कार्यालय, दुईपटक खाना अनि दुईपटक सुत्नेबाहेक अरू कुनै काम छैन यहाँ ।

होइन यो गर्मी पनि कति चर्को हुनसकेको यहाँ ? पानी त कहिलै पर्दैन । अब त नेपाल गएपछि कहिलै यता फर्किन्न । नेपालको राजनीति पनि के भएको होला, कहिले स्थिर नहुने भयो । हामी जस्ता युवाजति अवसरको खोजीमा विदेशिन वाध्य हुनुपरेको छ । हाम्रो देशको विकास कहिले होला र हामी जस्ता युवाहरूले देशभित्रै रोजगारी गरेर सम्मानपूर्वक जिउन पाइएला अनि यसरी विदेशी भूमिमा आएर काम गर्नुपर्ने बाध्यताबाट मुक्ति

मिल्ला । खै के होला र, नेपालमा अर्बौ रुपैयाँ उपलव्धीविहिन चुनावमा सक्छन्, अनि करोडौं रूपैयाँ भ्रष्टचार गरेर मोजमस्तीमा उडाउने गैह्रजिम्मेवार नेताहरूका कारण दैनिक हजारौं युवा अवसरको खोजीमा विदेशिएको देखेर कसले चिन्ता लिने होला ।

देशमा भित्रिएको रेमिट्यान्समै रमाएर बस्ने नेताहरूलाई आफ्नो देशको युवाशक्ति अरु देशमा खर्च भएकोमा भने कुनै चासो छैन । देशमा भित्रने रेमिट्यान्स र वैदेशिक सहयोग देश विकासमा लगानी नगरी नेताहरूको पोल्टो भर्नेमात्र काम भएको छ । हामीजस्ता निरिहले सोचेर खै के नै पो होला र ?

तीन वर्ष खाडीको ५० डिग्रीको घाममा सेकिएर नेपाल जाँदैछु । नेपाल गएर के गर्ने होला ? जागिर मिले त राम्रै हुनेथियो । मिने पनि केही काम गर् वातावरण नै छैन मेरो देशमा । दैनिक १८ घण्टा लोडसेटिङ हुने होला । जे होला होला देश फर्केपछि कुनै उपाय त निस्केला नि । घरपरिवार छाडेर कति बस्ने हो विदेशमा पनि, आमाबाबुको कतिरहर होला ? त्यो पनि त सकेसम्म पुरा गर्नु पर्ने छ । अक्टोबर महिना पनि लाग्न थाल्यो । यो महिना त एकदमै लामो समय कटाउनै गाह्रो । यो समयमा चाडवाड भएर पनि होला, हुन पनि एउटा छोरा त्यहीपनि यति ठूलो चाडपर्वमा घरमा

नहुँदा परिवारमा कति नरमाइलो लाग्छ होला ? के गर्ने त यस्तै रहेछ नेपालका दुखि युवाहरूको जिन्दगी । होइन मेरो निद्रा आज कहाँ भाग्यो ?

आज त्यो पैसा पठाउन आउने दाइले भनेको कुरा पनि ठिक लाग्यो, यहाँ जतिवर्ष बसे पनि केही पैसा त जम्मा होला तर पनि नेपालमा गएर केही त सुरुवात गर्नैपर्छ । सधैं जीवन यतै बिताउन त सम्भव छैन, यदि यूरोपियन देशहरूमा भएको भए अलि बेग्लै हुन्थ्यो । युरोपतिर भए त्यतै जीवन बिताउन सकिन्थ्यो होला । तर यहाँ त काम गर्न सकुन्जेल मात्र हो त्यसपछि नेपाल नै फर्किनुपर्छ । आखिर नेपालमै बस्नु छ भने नेपालमा नै रमाउने र काम गर्ने कोशिस गर्दा राम्रो हुन्छ, भविष्यसम्मका लागि राम्रो बनाउन शुरूमा दुखः होला तर केही छैन । अहो साथीहरू त निदाइ पो सकेछन्, अब म पनि सुत्नुपर्ला ।

आज दिउँसो आएको केटो पनि के भएको होला, मैले भनेको सुन्दै सुनेन । हामी नेपाली किन यति धेरै जान्ने भएका होला ?, हामीमा अरूको कुरै सुन्ने चलन छैन । केही केही कुरा त सुन्नुपर्छ नि । मैले उसलाई त्यो मान्छे फटाहा छ, त्यसलाई पैसा नदिनु भनेको नमान्दा अहिले घुँडामा मुन्टो लगाएर रूदैं बसेको छ । अपरिचित मान्छेले ‘तलाईं यति करोडको चिठ्ठा पर्यो, पहिले यति पैसा पठा अनिमात्र चिठ्ठाको पैसा पठाउँछु’ भनेको भरमा पैसा पठाउनुहुन्नभन्दा सुन्दै सुनेन । दाजु विरामी भएको बहाना गरे र दाजुको पाकिस्तानी साथीलाई पैसा पठाइदिन लागेको उसले मैले भनेको नमान्दा अहिले रोएर बस्नु पर्दैनथियो नि । पाकिस्तानी नाम देखेर सोधेको मैले, के गर्ने त विचराको शुरूमा १२ सय रियल दोस्रो पटक २३ सय रियल गरी झन्डै लाख रूपैयाँ ठग्यो फटाहाले ।

हाम्रा नेपाली दाजुभाइ पनि के भएका हुन् कुन्नि, कसैले फोन गरेकै भरमा ठगहरूको कुरा पनि पत्याउने । शुरूमा थोरै पैसा दिएपछि पुनः धेरै पैसा माग्छन् ठगहरूले । शुरूमा फसेको पैसा उठाउन पुनः ठूलो पैसा फसाएर महिनाभरीको कमाइ पानीमा बगाउँछन् नेपाली युवाहरू । रूदैं गरेका भाइ भन्दैथे, दाजु भनेकै हो तपाईंले, मैले नमान्दा रूनुपर्यो । मैले पो के नै गर्न सक्थें र ? पैसा भुक्तानी भइसकेको अवस्थामा । अरु कतिजना साथीहरूले आएर सोधेको बेला म उनीहरूलाई त सम्झएर पठाउथें र उनीहरू ठगिनबाट जोगिएका थिए । २ लख रियल चिठ्ठामा पर्यो भनेर पैसा पठाउने हामी नेपाली धेरै सोझा भन्ने कि मुर्ख भन्ने ? के गर्ने दु:ख लाग्छ सकेसम्म त सहयोग गर्ने न हो ।

कहिलेकाहीँ लाग्छ अरु केही गर्न नसके पनि पींडा सुनेको छु, मेरोमा आएर आफ्नो पींडा पोखछन् नेपाली दाजुभाइले । धेरै नेपाली दाजुभाइ यहाँ, आएको ४ वर्ष बढी भइसक्दा पनि कम्पनीले घर जान दिएको छैन । न तलब समयमा पाउँछन् । किन होला नेपाली दाजुभाइलाई यति धेरै हेपेको ? यो खाडीमा नेपालीहरू पनि एकमत छैनन् । नेपाली नेपाली झगडा गरेको दैनिक देख्न पाइन्छ । एउटाले गरेको राम्रो काम पनि अर्को नेपाली भाइलाई मन पर्दैन । मिलेर गरुँ भन्ने नै छैन । सबैले आफूमात्र ठूलो भएको घमण्ड गर्छन् । धेरैको दु:ख र गुनासो सुनेको छु, अरुको देख्दा त मेरो त केही पनि होइन जस्तो लाग्ने । विचरा त्यो बाग्लुङको दाइलाई कति पीडा होला विवाह गरेर आएको ८ महिन भयो, ८ महिना लगाएर कम्एको सबै पैसा पत्नीलाई पठाए । रगत पसिना बगाएर कमाएको पैसाले पत्नीलाई कलेज पढायो । तर के गर्नु पत्नी नै एकजना शिक्षकसँग पोइल गइछ । दिनभरी घाममा पाकेर कोठामा पसेपछि एयरकन्डिसन खोलेको, कति धेरै चिसो भएको होला, अलि घटाउनुपर्यो अहो अब त सुत्नै पर्छ, रातिको १ बज्न लागेछ ।

देशमा चुनाव आयो भन्छन् यो पटक पनि भोट हाल्न नपाइने भइयो । चुनाव पनि कति पटक गर्न सकेका होलान् । जतिपटक गरेपनि संबिधान भने बनाउने होइनन् । यसपटक त जनताले शाही नेतालाई भोट् दिएर चुनाव जिताए हुने हो, हामी जनताको जीवन पनि आसैआसमा बित्ने

भयो । यसले चाँहि राम्रो गर्छ कि उसले पो राम्रो गर्ला कि भन्यो, सबै उही ड्याङका मुलाहरू । कसको विश्वास गर्ने हो हामीले ? यस्तै हो भने हाम्रो देश अबको ५० वर्षमा पनि उभो लाग्ने छैन । यसपली चुनाव राम्रोसँग भएर शाही मान्छेले जितेर संबिधान निर्माण गरे हुन्थ्यो, हुन त जसले जिते पनि पहिलेको जस्तै त हुने होला । यो पटक समयमै संबिधान बनोस्, हामीजस्ता युवालाई देशमै गरी खाने अवसर मिलोस्, यसरी विदेशिएर देश र हाम्रो भविष्यबारे सोच्नु नपरोस् ।।। मेरो यही कामना छ ।

[email protected]

हाल- कतार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *