Skip to content


चाक्लो गाडीको भीडबाट
नरबहादुर
नाम्लो, ढाकर
र सुन्तलाको सट्टा
एक भारी
अत्यासलाग्दो मन बोकेर
मरुभूमिको घाम जस्तो
तातो पर परसम्म
फैलिएको सडक
ए!मानको
पार गर्दैछ ।

सिग्नलमा उभिएर
हरियो बती कुर्दै
उसको किचिंग मिचिंग् दिमागमा
उबेला राजधानीको आकाशेपुलमा
फूलमाया सोल्तिनीसित
बदाम सगै
सँगै मर्ने, सँगै बाच्ने
कसम खाएको सम्झेर

झल्यास्स हुन्छ ।

“गाठे !
फेरि
रातो बत्ती बलि हालेछ
मेरो बुद्धि !”
र पुन: कालो पत्रे सडकको
कालो भूमिमा
कहालिँदै
नरबहादुर घरतिर फर्कन्छ,
“पहाडको ऐंसेलुबारी मुखिया बा कहाँ
बन्धकी राखेर आए ”
आमा बरै के गर्दै होलिन्,
मुजा परेको अनुहारमा
मुस्कान भर्दै -“नरे छोरा
पैसा कमाएर आएस्, र
यौटी मन भएकी बुहारी ल्याएर
मेरो काखमा यौटा नाती र यौटी नातिनी राखेस्!”
यो सम्झदासम्ममा निलो बती बल्यो
तर नरबहादुरले
तातो घाम पार नगरे पनि
अहिलेलाई
कालो सडक
पार गर्यो ।

यसरी नरबहादुर
प्यारो बारी, प्यारो माटो
प्यारो देश, प्यारा प्रियजन
छाडेर मुग्लानमा
पसिना बगाउदैछ
खाडी र मध्यपूर्व
युरोप र अमेरिका
मलेशिया र जापान
कंगो र कोरिया या परदेशको
कुनै बिरानो शहरमा
यसै जिन्दगीको
उमेर काटिरहेछ
यसै आफैलाई ढाटे जसरी
क्षणिक खुशीलाई
स्थायी खुशी मानिरहेछ

तर थुप्रै
सत्यताहरू
जीवित छन्
किनभने-
हरेक नरबहादुरले
जहा रहे पनि
हिमालको चिसो स्पन्दन भुलेको छैन
पहाडको उच्छवास र उमंगलाई
आफैबाट लत्याएको छैन
तराइका समथल फाटलाई
आफ्नो मुटु भित्र कोर्न बिर्सेको छैन
बल्कि मात्र बिर्सेको छ
बाहिर हासेर परदेशिनुको भित्री पीडा
मात्र बिर्सेको छ
खालि बोलीमा औपचारिकता देखाएर भए पनि
प्रत्येक पल आफन्त बिनाको शुक्कता ।

अस्तु :
@ विवेक दुलाल क्षेत्री “दमक ”
(वास्तविक नाम : भानु भक्त दुलाल)
दमक, झापा
हाल : अबुधाबी, यू ए इ ।

2 thoughts on “नरबहादुर”

  1. साच्चै हृदय छुने कविता रहेछ
    साच्चै हृदय छुने कविता रहेछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *