नेपालीको आँगनमा, रमाएर आओस दशैँ
सम्वृद्धि र सुख शान्ति, बनाएर आओस दशैँ
भवानीले रक्षा गरुन, आशा इच्छा पूरा गर्दै
जमरा र रातो टीका, सजाएर आओस दशैँ
स्वच्छताको बागभित्र, प्रेम फूल रोपौँ आजै
हृदयको कालो मैलो, हटाएर आओस दशैँ
सबै प्राणी बराबरी, ठान्नु पर्छ सज्जनले
कर्तव्यको राम्रो पाठ, पढाएर आओस दशैँ
आपसमा सद्प्रेम र, सद्भावना छर्दै छर्दै
घरै पिच्छे खुसी हाँसो, बर्षाएर आओस दशैँ
झगडाको बीज रोप्छ, कठोरताले सधैँ भरि
भए हुन्थ्यो “कोमल”मन, सम्झाएर आओस दशैँ
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
(हाल:- न्युयोर्क, अमेरिका )
