Skip to content

भीडसँगै हिंडिरहेको एउटा मान्छे

  • by


भीड लगातार अगाडि बढिरहेको थियो । ऊ पनि भीडसँगसँगै हिंडिरहेको थियो । सँगै हिंडिरहेको एउटा साथीले सोध्यो – “होइन, तँ हामी (भीड) सँग छस् कि छैनस् – ”

“तिमीहरूसँग नभएर कहाँ छु त म – … तिमीहरूसँगै त हिंडिरहेको छु म ।” – उसले जवाफ दियो तर साथीलाई चित्त बुझेन । उसले भन्यो – “तर म तँ लाई त हिंडिरहेको देख्तिन । तेरा गोडा मात्र हिंडिरहेको देख्छु म, तेरो मन कहाँ हिंडिरहेको छ र हामीसँग”

“हिंड्ने त गोडैले हो नि ! तिमीहरू पनि गोडैले त हिंडिरहेका छौ नि, होइन र <" उसले हाँसेर जवाफ दियो । तर सँगै हिंडिरहेको अर्को साथीले भन्यो - "होइन, कहिलेकाहीं गोडा र मन छुटाछुट्टै हिंड्छन् । मन त स्वतन्त्र हुन्छ । गोडाले हिड्दैमा ऊ पनि सँगै हिंड्छ भन्ने छैन ।" "तर मन नहिंडी गोडामात्र त हिंड्नै सक्तैन । शरीरका सबै इन्द्रियलाई हिंडाउने त 'मन' नै होइन र <" - उसले गम्भीर भएर, तर हाँसेकै छन्दमा भन्यो । भीड हिडिरहेको थियो । ऊ पनि सँगै हिंडिरहेको थियो । भीडको माझबाट एउटा प्रश्न उठेर आकाशभरि फैलियो - "तर हामी कहाँ जाँदै छौं <" "तत्काललाई त हामी खुला मञ्चमा जाँदैछौं । त्यहाँ हाम्रा नेताहरूले हामीलाई 'नेतृत्व' (मार्गदर्शन) दिंदैछन् । त्यहाँ आज पचासौं लाख जनता जम्मा हुन्छन् ।" - भीड बाटै अर्को आवाज उठ्यो । तर कुनै अर्कोले कुरा काट्यो - "होइन खुलामञ्चमा त्यत्रो - पचासौं लाख मानिस अटाउने ठाउँ कहाँ छ र <" "आजलाई अटाउँछ; अटाउनै पर्छ । आजको यत्रो अभूतपूर्व ऐतिहासिक दिन ।" - पहिलोले जोडदार स्वरमा भन्यो । त्यत्तिकैमा भीडका अगिल्लो खण्ड खुला मञ्चमा पुगेर फैलियो । यो मञ्च मुलुकभरिका प्रमुख प्रमुख सहरहरूमा थियो । मञ्चमा ठूलाठूला नेताहरूको भाषण चलिरहेको थियो । भीडको वैरिने क्रम जारी थियो । कहाँबाट मात्र वैरिएका होलान् त यी मान्छेहरू सलहका बथान सरह । भव्य सजिएको मञ्चमा नेताहरूको बेग्लै भीड थियो । वक्ता नेता कुर्लिई कुर्लिई भाषण गरिरहेका थिए । त्यसलाई लक्ष्य गर्दै भीडबाट एउटा तीखो प्रश्न फैलियो । "नेताज्यू तपाईंहरू हामीलाई कता लाँदैहुनुहुन्छ - गन्तव्य के हो तपाईंहरूको <"बोलिरहेको नेता अलि अकमकियो । उसले आफू नजिकको अर्को नेतासँग कानेखुशी गर्‍यो । अनि भीडको प्रश्नतिर प्रतिप्रश्न हुर्र्‍यायो -"तपाईंहरू कहाँ जान चाहनुहुन्छ < किन भने तपाईंहरू सार्वभौमसत्ता सम्पन्न जनता ! जनताको इच्छा नै सर्वोपरि हुन्छ । जनता समूह हो - विश्वरूप हो भगवानको । समूहको (विश्वरूपको) इच्छा सामू व्यक्ति -नेता दल, पार्टीको इच्छाको केही मूल्य हुँदैन । भन्नोस् तपाईंहरू कहाँ जान चाहनुहुन्छ <" "हामी प्रजातन्त्र पुनर्वहालीमा जान चाहन्छौं । हामी त्यहीं जान भनेर यत्रो लाठी मुङ्ग्री गोली खाएर आएका हुँ । - भीडमाझबाट एकजना बलिष्ठ युवक उठेर रोबदार आवाजमा भन्यो -मानौ ऊ नै यो सम्पूर्ण भीडको एक मात्र प्रतिनिधि हो । बोल्ने नेताले पनि आकाशतिर भालाजस्तो चोरी औंलो ठडयाएर भन्यो - "हो मैले तपाईहरूलाई त्यहीं लान ल्याएको । हामी लगभग त्यहाँ पुग्दैछौं । त्यसको पूवार्ध भेटिसकेका छौं । त्यसको पूर्व स्वरूप पुनर्जीवित भएर उभिइसकेको छ ! प्रतिगमनको शक्तिले हात खुट्टा छोडिसकेको छ ।" अब यसको उत्तर्रार्ध पूर्ण स्वरूपको भएर आउनु मात्र बाँकी छ । " यो नेता अगाडि अरू कोही बोल्न खोज्दै थियो, तर अर्को माइक्रो फोन अगाडि उभिएको नेताले उसलाई बोल्ने अवसर नदिएर भन्यो - "तर हामीले तपाईंहरूलाई लोकतन्त्रमा लान भनेर पो ल्याएका । हामी त्यहीं लान्छौं 'राजा' शब्दसँग अन्योन्याश्रति (राजाप्रजा) रहेको 'प्रजातन्त्र' धनी वर्गको विलासको साधन हो । हामीलाई धनको प्रभुत्वमा चल्ने प्रजातन्त्र होइन जनताको लोकतन्त्रमा जानु छ । " "तर लोकतन्त्र त हाम्रो एजेण्डामै छैन ।" - मञ्चको एउटा कुनामा खुम्चिएको अर्को नेताको स्वर उठ्न खोज्यो - "संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र (पुरानो संसद) को पुनर्जीवन ।" यहीं पुग्न त हिंडेका हौं हामी । अहिले फेरि कुरा फेर्नु त भएन नि ।" "कुरा फेर्ने नफेर्ने मूल मुद्दा होइन । नेपाली जनता 'राजा' सँग अन्योन्याश्रित भएर टाँस्सिएको 'प्रजा' (राजा-प्रजा) तन्त्रमा जान होइन शुद्ध जनता (लोक)को सम्पत्ति 'लोक तन्त्र'मा जान भनेर हिंडेको हो । त्यसैले दलहरूको एजेण्डामा छैन भने राख्नु पर्‍यो । कुनै एजेण्डाले बनाएको होइन लोक ! लोक (जनता)ले बनाएको हो एजेण्डा । " - अपार भीडबाट तुमुल ध्वनि निस्कियो अनि मञ्चमा कुर्लिइ रहेका नेतागण पनि जोस्सिए । एउटा नेताले माइकबाटै चर्को आवाजमा नारा लगायो - "लोक तन्त्र !" "जिन्दावाद ! जिन्दावाद !!" - आँखाले भेटुञ्जेलसम्म मञ्च अगाडि अपार भीडको आकाश भेदी प्रत्युत्तरले दिगन्त थर्कायो । तर मञ्चमा बसेका नेताहरूको भीडबाट एउटा नेताको चर्को स्वर जनसमूहको स्वरलाई उछिनेर माइकमा गुञ्जियो - "लोक तन्त्र मात्र होइन गणतन्त्रोन्मुख लोक तन्त्र ! हाम्रो अभियान त्यसै निम्ति हो ! त्यसैले हाम्रो अहिलेको नारा हो ! - गणतन्त्रोन्मुख लोकतन्त्र ! "हो हो हामी लोक तन्त्रमा मात्र अड्दैनौं । हाम्रो गन्तव्य गणतन्त्र हो ! हामी गणतन्त्रमा जान्छौं !" भीडबाट केही सशक्त आवाजहरू उठे । त्यस आवाजको संक्रामक लहर वायुमण्डलमा लहराउँदै मञ्चतिर बढ्दै मञ्चमा विराजमान सप्तदली नेता उपनेता गणहरूमा मतैक्य खलबलियो बोली चर्को स्वरमा साट्टियो । त्यो चर्को स्वरले पनि बढ्दै हल्लाको रूप लियो ! हल्ला खल्लाले विकसित हुँदै झगडाकै रूप लियो । "संवैधानिक राजतन्त्र हो हाम्रो परंपरा ।" "संवैधानिक राजतन्त्र मात्र होइन संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र- हाम्रो माटो सुहाउँदो तन्त्र संविधानले निर्दिष्ट गरेको तन्त्र ।" "त्यो संविधान काम लाग्दैन अब ।" "तर खारेज भएको छैन अझै सबै काम यसै अन्तरगत भैरहेका छन् ।" "खारेज भैसकेको छ - जनताको मतले । नभएको भए गर्नुपर्छ । जनचाहना यही छ । संविधान सभा त्यसै कारणले ।" "तर हाम्रो संविधान विश्वमा उत्कृष्ट संविधान ! सबैले भनेका । हामीले पनि मुक्त कण्ठले प्रशंशा गर्दै आएका । " "एउटै कुरा सधैं उत्कृष्ट रहिरहन्न; सधैं निकृष्ट पनि रहँदैन । सबै कुरा समय सापेक्ष हुन्छ । आजको हाम्रो माग अर्को संविधान ! संविधानसभा !" "संविधानसभा अनि गणतन्त्र !" "होइन, गणतन्त्रमा जाने बेला भएको छैन । हाम्रो देशले थाम्न सक्तैन त्यो । हाम्रा लागि लोक तन्त्र नै ठीक हुन्छ । ।" "यो सोच प्रतिगामी सोच हो, देश र समाजको गति अवरुद्ध गर्ने । गणतन्त्रोन्मुख लोकतन्त्र नभै समाज देशले एक पाइला पनि अगि बढाउन सक्तैन । त्यसैले .... " "त्यसैले सीधा गणतन्त्र ।" - एउटा रोवीलो नेताले पहिलोको हातबाट माइक्रोफोन खोस्तै उच्च स्वरमा घोषणा गर्‍यो । "एकै फट्कोमा पुगिने ठाउँमा बीच बीच बेकारका अल्झोमा अल्झिएर ढिलाइ गर्नु प्रतिगमनको लक्षण हो । ... प्रति क्रान्तिलाई मौका दिनु हो ।" "होइन, यो व्यावहारिकता हो, सतर्कता हो, पोल्दा पोल्दैको भात नफुकी मुखमा हाल्दा जिब्रो डामिन्छ । यो मुखले मात्र गर्छ । मूर्खता प्रतिगमनको कारक हुन्छ ।" "कसलाई भन्नुभो तपाईंले मूर्ख - " - एउटा उपनेता जुरुक्क उठेर उग्र स्वरमा करायो । पहिले बोल्नेले पनि त्यस्तै ठाडो स्वरमा जवाफ दियो - "तपाईं आफैंलाई सम्झनु हुन्छ भने तपाईंलाई नै । मेरो विचारमा यस्तो प्रतिगामी प्रतिकृयावादी सोच राख्ने जति सबै मूर्ख - इतिहास नबुझने, समयको दिशासङ्केत नबुझने, राजनीति नै नबुझने स्वाँठ हो । हाम्रो लक्ष सीधा गणतन्त्र हो । " "होइन, त्यो हाम्रो माटोमा जन्मिएको होइन । .... हाम्रो आफ्नो त प्रजातन्त्र हो । हाम्रो परिचित ।" "प्रजातन्त्र मात्र भन्नु धोका हो । लोकतन्त्रनै समाजका लागि उपयोगी हो ।" मंचको हल्ला तीब्र हुन्छ । माइक खोसाखोसले मेच भाँचाभाँच । गाली गरागरको रूप लिन्छ । यो रोग संक्रामक हुँदै मञ्चमुनिको अपार भीडमा फैलियो । त्यहाँ पनि प्रत्येक मानिस प्रत्येक समूह, प्रत्येक गूट आफ्नो आफ्नो वर्चस्व कायम गर्न धक्कामुक्की गर्दै, एक अर्काको काँधमा चढ्दै अर्काको भन्दा आफ्नो स्वरलाई उग्र चर्को तुल्याउँदै, आफ्नो रुचि, आफ्नो अभीष्ट अनुरूप दिगन्त थर्काउँदै आकाशको छाती चिर्ने गरी नारा लगाउनथाले; लाखौं अन्धा मुक्काहरूले आकाशको छातीमा प्रहार गर्न थाले - "ईन्कलाब - जिन्दावाद !" "प्रजातन्त्र - जिन्दावाद, जिन्दावाद !" "लोक तन्त्र - जिन्दावाद, जिन्दावाद !" "गणतन्त्रोन्मुख लोकतन्त्र - जिन्दावाद, जिन्दावाद !" "जन-गणतन्त्र- लोकतन्त्र - जिन्दावाद, जिन्दावाद !" त्यसै बेला त्यहाँ एउटा भीडबाट विचित्र नौलो दृश्य देखियो ! नौलो स्वर नौलो आवाज गुँजियो । एउटा मान्छे बीर अस्पतालको माथिल्लो वरण्डामा उक्लिएर घनगर्जन स्वरमा घोषणा गर्दैथियो :– "मान्छे - मूर्दावाद ! मूर्दावाद !!" "मानवतन्त्र - मूर्दावाद ! मूर्दावाद !!" त्यो त्यही शुरुदेखि भीड सँगसँगै एक्लो हिडिरहेको मान्छे थियो । २०६३ जेठ १६

Leave a Reply

Your email address will not be published. Required fields are marked *