साझा प्रकाशन राजविराजको मुख्य शाखा कार्यालयको उद्घाटन कार्यक्रम शुक्रबार (असोज २५) सम्पन्न भयो । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी साझा प्रकाशनका महाप्रबन्धक ममता झाले रिवन काटेर उद्घाटन गरेकी थिइन् । नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीको सभापतित्व रहेको उक्त कार्यक्रमका विशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल थिए । कार्यक्रममा साझा प्रकाशन राजविराज मुख्य शाखा प्रमुख मनोज माझीले स्वागत मन्तव्य राखेका थिए ।
महाप्रबन्धक झाबाट दुई वर्ष अघि सो भवनको शिलान्यास भएको थियो । भवन निर्माणका लागि अतुलनीय योगदान दिएर सप्तरीबासीलाई आभारी बनाएको भन्दै कार्यक्रमका अध्यक्ष थानसिंह भन्सालीले महाप्रबन्धक झालाई कदर–पत्र प्रदान गरेका थिए । त्यस्तै भवन निर्माणमा रातोदिन मेहनत गरेको र छोटो समयमा भवननिर्माण गर्न सकेको भन्दै मजदुर तथा प्राविधिकहरूलाई समेत प्रशंसा–पत्र प्रदान गरिएको थियो । यसरी प्रशंसा–पत्र पाउनेहरूमा राजकुमार देव, सत्यजीव कुमार सिंह, दिलिपकुमार सरबरिया मण्डल थिए । जग्गा उपलव्ध गराएर योगदान पुर्याएकामा राजविराज नगरपालिकालाई समेत प्रशंसा–पत्र प्रदान गरिएको थियो । शासकहरू, मालिकहरू तथा उच्च ओहोदामा बसेका व्यक्तिहरू मात्र पुरस्कृत हुने परम्परा तोडी पसिना बगाउने श्रमिकहरूको समेत उच्च मूल्याङ्कन गरिनुपर्ने शाखा प्रमुख माझीको कथन थियो । पुरस्कृत श्रमिकहरूले पसिना बगाउनेको उच्च मूल्याङ्कन हुँदा आफूहरूलाई जीवनमा पहिलो पटक गर्ववोध भएको विचार राखेका थिए ।
साहित्य सेवामा साझा प्रकाशनको गौरवमय योगदान रहेको भन्दै वक्ताहरूले राजविराजमा साझाको आफ्नै चार तले भव्य भवन बन्नु सप्तरीबासीका लागि सौभाग्य कुरो भएको विचार राखेका थिए । करुणा झा, नन्दलाल आचार्य, देवेन्द्र मिश्र, श्यामसुन्दर यादव, हरिकृष्ण पौडेल, मुरलीप्रसाद यादव, अनिस अन्सारी, शिबहरि भट्टराई, शतिस दत्तलगायतका वक्ताहरूले मन्तव्य राख्दै साझा प्रकाशन मुख्य शाखा कार्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । साथै, सहभागीहरूले विजयादशमी–२०७० को उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा १५० जना साहित्यानुरागीहरूको जमघट थियो ।
नन्दलाल आचार्य/राजविराज
असोज २५, २०७०
