अब !
फेरिदिन मन लाग्छ
आस्था र परिभाषा दशैंको ।
जब !
तिम्रो मुहार हेर्छु
के चम्किन्छ र ? दशैं त्यहाँ
शुभकामनाहरूका प्रकाशले ।
बर्षा याममा पानीले चुटिएको पहाडझैं
हरक्षण पखालिएर बगेका छन् अपूरा खुशीहरू
हरक्षण भत्किएका छन् अपूरा इच्छाहरू
सत्य र विजयको आस्थामा लत्रदैं
कति धेरै भ्रमहरू साटिरहें शुभकामनाका
मात्र यो आउँछ र जान्छ
छोडेर यथास्थिति !
अघिल्लो साँझ–
दशैंको मीठो कल्पनामा
असँख्य ताराहरू जस्तै
उज्याला रहरहरूसँगै निदाएर
बिहान –
रित्तो दशैं व्यहोर्ने बालकहरू
पशुपतिका भिकारीहरू
जमीन्दारका हलियाहरू
साहुजीका नोकरहरू
मुखियाका गोठालाहरू
दशैंको जड्यौरीमा
नमिलेका कपडाहरू पहिरिएर
दशैंको सन्देश छर्दै
जब वीच सडकमा हात पसारेर
ङिच्च दशैं माग्छन्
अनि
फेरिदिन मन लाग्छ
आस्था र परिभाषा दशैंको ।
यसपालि तिमी–
जाऊ केहीक्षण र,
वास्तविक दशैं मनाउ त्यहाँ
बसेर पुछारमा राज्यसत्ताको
यसपालि म –
दशैं मनाउँछु
बसेर केही क्षण सिरानमा राज्यसत्ताको,
त्यसपछि त वास्तवमै
अर्थ रहदैन होला
रौनकता, माहोल, महत्ता र औपचारिकताहरू विजया दशमीको
त्यसैले त,फेरिदिन मन लाग्छ
आस्था र परिभाषा दशैंको ।
दीपेन्द्र के.सी.
विजया दशमी २०७०
बागलुङ,
हाल – ओस्टण्डे बेल्जियम ।
