नेपालका सांस्कृतिक परम्पराभित्र आबद्ध पर्वहरु राष्ट्रिय जीवन पद्धतिका भण्डार हुन् । हजारौं वर्षदेखि यसक्षेत्रमा प्रचलित रहेका चाडपर्वले निरन्तरता पाउँदै आएका छन् । प्रायः यी सबै पर्व पौराणिक, ऐतिहासिक तथा किंवदन्तीका आधारमा आबद्ध देखिएका छन् । हिमवत्खण्ड–नेपालको प्राचीनतम पहिचान भनेको वैदिक सनातन हिन्दू धर्म हो । वैदिक कालदेखि आबद्ध हिन्दू तथा बौद्ध संस्कारबाट अभिप्रेरित उत्सव, काण्ड र ऐतिहासिक घटनाका आधारमा सिर्जिएका हुन् ।
हाम्रा चाडपर्वको उठान जहिलेदेखि प्रारम्भ भए पनि यिनीहरुको आ–आफ्नै मौलिक मान्यता छ । हाम्रा हिन्दू शास्त्रमा ब्रह्मा, विष्णु महेश्वर वैदिक हिन्दू जीवनका मार्ग प्रदर्शक मानिन्छन् । वैदिक हिन्दू सनातन धर्ममा सर्वश्रेष्ठ महासागर हो जहाँ जो जसरी पनि पौडन सक्छ ।
वैदिक हिन्दू सनातन धर्म पञ्चदेवका उपासक हुन्छन् । ॐकार जगत् नै वैदिक हिन्दू पञ्चदेवका उपासक हुन् । उनीहरुले पूजा गर्ने पाञ्चायन अर्थात् गणेश, देवी, सूर्य, शिव, विष्णुको पूजाआजा हो । विश्वका सबै धर्मावलम्बीले सूर्यको पूजा गर्छन् । हामी हिन्दूहरु पनि सूर्यको पूजा गर्छौं । वैदिक सनातन हिन्दू धर्मको आडमा रहेर हामी एकले अर्काको सम्मान गर्छौं । हामी हिन्दू तथा बौद्धको चासो समान छन् । संसारमा सबै सुखी रहुन् । संसारमा कोही पनि रोगी र दुःखी नहोउन् । तेरो र मेरो भन्ने भावना कसैमा नरहोस् । सबै उदार होउन् । विश्वका सम्पूर्ण मानव हाम्रा आफन्त हुन्– ‘वसुधैव कुटुम्वकम्’ । सबैले खाना, नाना र छानाको समान व्यवस्था पाउनुपर्छ । सम्पूर्ण विश्वको कल्याण होस् भन्ने यसको मूलभूत मान्यता हो । यसका लागि वैदिक ऋषिहरुले संसारका अनेकौं भूभागको पैदल भ्रमण गरेर वैदिक सभ्यता र मानव जीवन पद्धतिको प्रचार गरेका छन् । ऋषिहरु ‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात् विश्वलाई सभ्य बनाऔं । यस्ता उदात्त नीतिले विश्वभर वैदिक हिन्दू भावनाले मार्गदर्शन गर्न सकेको थियो ।
हिमवत्खण्ड आफैंमा एउटा पुण्यभूमि हो । यो क्षेत्र टुक्रा टुक्रामा विभाजित भएको अवस्थामा पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर एकीकरण गर्दै हिन्दू, बौद्ध लगायत यसक्षेत्रका नरनारीको अस्मिता बचाएका थिए । दक्षिणतर्फ अंग्रेज साम्राजयले आँखा गाडिरहेको अवस्थामा सबै ससाना राज्यलाई समेटेर एक बनाउन सजिलो थिएन । तर यसक्षेत्रका बासिन्दाहरु अधिकांश नेपाली भाषा बुझ्न सक्ने र हिन्दू, बौद्धका अनुयायी भएकाले राष्ट्रिय एकीकरणमा पृथ्वीनारायण शाहलाई सजिलो हुन पुगेको थियो ।
हिमवत्खण्ड नेपालको एकीकरण भएको अवस्थामा अहिलेको विश्वका धेरैजसो प्रभावशाली कहलिएका राष्ट्रहरु टुक्रा टुक्रामा विभाजित थिए । नेपालको एकीकरण भएको १०० वर्ष पछाडि टुक्रा–टुक्रामा विभाजित जर्मनीलाई बिस्मार्कले एकीकरण गरेका थिए । नेपालको एकीकरण हुनुभन्दा १०० वर्ष पछाडि इटाली पनि ससाना राज्यमा विभाजित थियो जसलाई कबुर र ग्यालिभर्दि जस्ता सपुतहरुको नेतृत्वमा विशाल इटालीमा परिणत हुन गयो । त्यस्तै नेपालको एकीकरण भएको १०० वर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापान मेजी रेष्टुरेसनपछि राजाको नेतृत्वमा विश्वको नजरमा प्रभावशाली राष्ट्रको रुपमा देखाप¥यो ।
नेपालको एकीकरण हुनुभन्दा दुई दशकभन्दा पछाडि, अहिलेको महाशक्ति राष्ट्रका रुपमा परिचित अमेरिका बेलायतको उपनिवेश थियोे । त्यो समयभन्दा १०० वर्ष पहिला हिमवत्खण्ड नेपालको एकीकरण हुन सकेको थियो । अंग्रेजी साम्राज्यभन्दा अगाडि भारतवर्ष सयौं राष्ट्रमा विभाजित थियो । एकीकृत भारतलाई त्यतिबेला हिन्दूस्थान भनिंदैथ्यो । भारतलाई हिन्दूस्थान भन्नुुभन्दा अगाडि नै विक्रम संवत् १८०० तिर नै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले– ‘नेपाल तखत किल्ला हो– ‘असल हिन्दूस्थाना’ भनेका थिए ।
नेपालको हिन्दू तथा बौद्ध सांस्कृतिक परम्परालाई यहाँका विभिन्न चाडपर्वले निरन्तरता दिंदैआएका छन् । यी सबै चाडपर्वमा– मेष संक्रान्ति, बिस्केट जात्रा, मातातीर्थ औंसी, बुद्ध जयन्ती, साउने संक्रान्ति, गुरु पूर्णिमा, कुशे औंसी, नाग पञ्चमी, जनैपूर्णिमा, तीज– ऋषिपञ्चमी, इन्द्रजात्रा, कृष्ण अष्टमी, गाईजात्रा, इन्द्रजात्रा, दशैं, तिहार, छठपर्व, कात्तिक नाच, चण्डिनाच, विवाह पञ्चमी, शिवरात्री, स्वस्थानी व्रत, धान्य पूर्णिमा, फागुपूर्णिमा, रामनवमीलाई ठूलो मान्यताका साथ मनाइन्छ । नेपालभित्र र विश्वमा छरिएर बसेका नेपालीहरु तथा भारत, बर्मा, श्रीलंका, इन्डोनेसिया लगायत विश्वका अनेकौं देशका हिन्दू बासिन्दाले नेपालमा प्रचलित चाडपर्वलाई आआफ्नै प्रकारले मनाउँछन् । दशैं, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्री, इन्द्रजात्रा आदि चाडपर्व, हिन्दू र बौद्धका जीवनपद्धति बनेका छन् । नेपालका चाडहरुमध्ये दशैंलाई ठूलो महत्र्वका साथ मनाइन्छ । निधारभरि टीका लगाउने चलन दक्षिणबाट यहाँ आएको होइन । लिम्बू, राई, मगर, गुरुङ, तामाङ, थारू आदि सबै जातिले निधारभरि सेतो अक्षताको टीका लगाएर हर्षपूर्वक मान्यजनहरुबाट आशीर्वाद ग्रहण गर्ने गर्छन् । हिजोआज पनि जनजातिहरु चाड–पर्व अथवा शुभसाइतहरुमा सेतै चामलका टीका लाउने गर्दछन् । काठमाडौं उपत्यकामा अबिर मिसाएर राता टीका लाउने चलन कहिलेदेखि चलेको हो एकिन गर्न सकिएको छैन तर उपत्यका बाहिर १५।२०वर्ष अगाडिसम्म ब्राह्मण, क्षेत्रीहरुले पनि सेतै टीका लाउने गर्थे तर हिजो आज अबिरको रातो टीका लाउने चलन बढेको छ ।
उता भारतमा अंगे्रजी समाज्यको रटानले इसाईकरण गर्ने सन्दर्भमा हिन्दू विरोधी अभियानमा हिन्दूहरुको पहिचान ‘टीका’ को विरुद्ध रहेकाले त्यसबेलादेखि भारतका अधिकांश हिन्दूहरु टीका लगाउनबाट वञ्चित भए । त्यही बेलादेखि भारतका हिन्दूहरु टीका नलगाएर पनि दशैंको उत्सव मनाउँछन् । घटस्थापनादेखि नवरात्रिसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । देवीपुराणमा–‘रामले आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयादशमीको साइतमा लंकामा रावणको विरुद्ध युद्ध गर्न प्रस्थान गरेको’ कुरा उल्लेख छ । रामले रामणलाई विजयादशमीमा मारेको भन्ने कुरा कुनै पनि पौराणिक ग्रन्थमा भेटिदैन । पद्मपुराणमा उल्लेख छ– ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रावणलाई मारेका थिए ।’ यसरी नै प्राचीनकालदेखि नै शक्तिको प्रतीकका रुपमा सम्पूर्ण जातिले ‘दशैं’लाई साझा चाडका रुपमा मानी आएको देखिन्छ । दशैं नेपालीहरुका लागि सांस्कृतिक एकताको परिचायक बनेको छ । प्राचीनकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुशियाली मनाएको पौराणिक प्रसंग छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा दशैंलाई सबैको साझा चाडका रुपमा मनाउने चलन छ ।
वैदिक हिन्दू धर्म नै विश्वमा प्राचीनतम सभ्यताको द्योतक हो । हिन्दू जगत्मा विष्ण्ुाको अवतारको ठूलो महिमा छ । विष्ण्ुाका दश अवतारमध्ये प्रथम अवतार मत्स्यरुप, द्वितीय कूर्म, तृतीय वराहरुप, चतुर्थ अवतार नृसिंहरुप, पञ्चम अवतार वामन (ब्राह्मण) रुप, षष्ट अवतार परशुरामरुप, सप्तम अवतार राम, अष्टम अवतार कृष्ण, नवौं अवतार बुद्ध, दशौं अवतार कल्कीरुप मानिएको छ । यसरी सभ्यताको विकासमा वैदिक सनातन हिन्दू धर्मले मानव जीवनलाई मार्गदर्शन गर्नमा साझा विचार प्रवाह भएको देखिन्छ । ब्रह्मा, विष्णु, महेश्वर हिन्दू जगत्को निष्ठा हो । यसरी सभ्यताको विकासमा वैदिक सनातन हिन्दू धर्मले मानव जीवनलाई मार्गदर्शन गरेको छ । पूूर्वमा ब्रह्मपुत्रक्षेत्रको परशुराम कुण्ड, कामाक्ष कामरुप, महाभारतयुगीन विराटक्षेत्र, वराहक्षेत्र, पिण्डेश्वर, वैदिककालीन मिथिला प्रदेशमा जनक राजा र त्यसबेलाका महान ऋषि, विदुषीहरुको योगदान, गौतम बुद्धको जन्मभूमि नेपालमा हुनु अहिले हामीलाई नेपाली भएर बाँच्नमा गौरव छ ।
तथापि केही वर्ष यता क्रिस्चियनहरुको पैसाको लोभमा परेर नेपालका केही बुज्रुक केही कथित अगुवाहरुले छानीछानी नेपालका गरीब ब्राह्मण, क्षेत्रीलगायत, आदिवासी जनजातिलाई उचालेर अनेकौं काल्पनिक, झुटा किंवदन्तीका तर्क अगाडि सारेर ‘दशैं बहिस्कार गरौं यो जनजातिको मौलिक चाड होइन’ भनेर भड्काउने कार्य गरेका छन् जुन नराम्रो हो । युगौंदेखि चल्दै आएको यस्ता चाडपर्वबाट नेपाली समाज पृथक् हुन सक्तैन । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाडौं उपत्यका विजयपछि दशैंमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट काठमाडौं ल्याउने गर्दै आइएको छ । फूलपाती भित्र्याउँदा मगर जातिको पुजारीले मात्र भित्र्याउने चलन छ । यो चलनले अद्यावधि निरन्तरता पाएको छ । विदेशमा भएकाहरु पनि आआफ्ना ठूलाबडाको आशीर्वाद थाप्न दशैंको निहुँमा घर आउने गर्छौं । आपसमा झगडा गरेर बोलचाल बन्द भएका नातागोता दशैंको निहुँमा टीका थापेर बोलचाल फुकाउने गरिन्छ । मीठो खाने, राम्रो लाउने, खुशियाली मनाउने मान्यताले सालभरि अभावै अभावबाट पीडित र गरीबले पनि वर्षदिनको यो चाडलाई गच्छे अनुसार यो साझा धरोहरमाथि कसैले थिचोमिचो गर्न पाइँदैन । दशैं हामी सबैको साझा पर्व हो । यसलाई साझा पर्वकै रुपमा रहन दिनुपर्छ ।
दीर्घराज प्रसाई
http://www.gorkhapatraonline.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%A6%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A4%BF%E0%A4%95%E0%A5%8B%E0%A4%A3/7236-%E0%A4%B8%E0%A4%BE%E0%A4%82%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A5%83%E0%A4%A4%E0%A4%BF%E0%A4%95-%E0%A4%AA%E0%A4%B0%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%81%E0%A4%A4%E0%A5%8D%E0%A4%B5.html
