Skip to content

गरेँ आज पूजा खुसी हौ भवानी


गरेँ आज पूजा खुसी हौ भवानी
सजाएँ नयनमा बनाएर नानी

घटस्थापना भो दशैँ घर घरैमा
रमाए युवा बृद्ध, बालक र ज्ञानी

हटोस् आपतै, बिघ्न, बाधा, बिरोध
हंसाएर हाँसुन् हराओस् थकानी

बनौं क्यै सहारा दुखेका जनैमा
हरौं कष्ट तिनको लिंदै भाव दानी

सही, सत्य हर्दम विजेता छ जानौँ
कुकर्मी र पापी हुनेछन् रछानी

नठानौं न हामी सजीव प्राण भिन्नै
सबैको बराबर छ यो जिन्दगानी

बसुन् देश बासी मिली प्रेम छर्दै
निरन्तर उदाओस् सुनौलो बिहानी

“शुभेच्छा”यही नै गरेँ भित्रबाटै
नरोओस् कहिल्यै सुकोमल सिरानी

विजया दशमी (२०७०)को उपलक्षमा सुख, शान्ति र सम्वृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु l दुर्गा भवानीले सबैको कल्याण गरुन l

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
(हाल:- न्युयोर्क, अमेरिका )
घटस्थापना, २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *