प्राय : चुलै नबल्ने घरमा
कसैगरी बलिहाले पनि
उही एउटै परिकार
केवल खोले पाक्ने घरमा
कुनै दिन यदि
मासु मगमगायो भने
बुझ्नु–
त्यो दशैं हो
आखिर अर्को अर्थमा
दशैं भनेको
मिठो–मसिनो केही खाने दिन त हो ।
नभएर एकसरो कपडा
या नभएर लाज ढाक्ने बाहाना
कतै जाउँ भनी साथीले बोलाउँदा
लाजले घरबाटै ननिस्केको चेली
कुनै दिन यदि
सबेरै श्रिङ्गारिएको भेटियो भने
बुझ्नु–
त्यो दशैं हो
आखिर अर्को अर्थमा
दशैं भनेको
नयाँ–फाटो जेहोस् लाउने दिन त हो ।
चार भाइ हुँदा समेत
घरमा तर कोही नभएकाले
प्राय : सुनसान रहने
घरको त्यो एक्लो आँगनमा
कुनै दिन यदि
फेरि स्वर मच्चियो भने
बुझ्नु–
त्यो दशैं हो
आखिर अर्को अर्थमा
दशैं भनेको
नजिक–टाढाका आफन्तहरू जमघट हुने दिन त हो ।
सुशिल शाह
(कुपण्डोल, ललितपुर)
