Skip to content

पोखराको परिचय भित्र लुकेको विरक्ती


साह्रै सुन्दर पोखरा छ नगरी, झल्किन्छ धार्मिक् पन
भित्रै—भित्र धसी अचम्म सितले, सेती बगेकी छिन
पैला नै चहकी थियो नि नगरी, अहिले अझै जग्मग
द्यौता कै रुपमा त्यहाँ गुरुथिए, ती आश्रमैका जग ।।१।।

छन् धेरै अति हेर्न लायक गुफा, फेवा छ ताल् पश्चिम
ओडारै रुपका गुफा पनि त्यहाँ, खोज्दै थिए अन्तिम
गुप्तेश्वर् छ गुफा विशाल परतक्, डेभीड् फलै मुन्तिर
चमेरे र महेन्द्र त्यो पनि गुफा, हेर्दै हुने खातिर ।।२।।

वाराही पनि तालका विचमहाँ देखिन्छ राम्रो रुप
मन्दिर् त्यो कुन सालदेखि बनिई, होला गरेको तप
पार्दी स्थान भरी बने महल झन्, खालि नराखी कतै
मासे खेत वने डिही सबतहाँ निर्माण उद्योग् सितै ।।३।।

अग्लो एक सराङकोट भनिने, डाँडो परो उत्तर
पुम्दी पश्चिमका सीमा सलललै, फुस्रेनदी तल्तिर
पूर्बै तर्फ छ लेखनाथ नगरी, फौसिङ् परो दक्षिण
स्याङ्जा त्यो नगिचै परो नगरमा, घुम्छन् विदेशी गण ।।४।।

मान्छेको रुप धारणा जनित भै, आएर सर्बेश्वर
सेतीको तिरमा बसे तप गरी, नारायणै स्थान्तिर
देखिन्थे वयमा प्रभात रवि झैं ती प्रेमचैतन्य हुन्
विद्यार्थी बटुली पढाउन बसे ती ब्रह्मचारी, जि हुन् ।।५।।

पूर्वेली पनि थे असाध्य रसिला, यौटा अरे धन्कुटे
जोडी भै अँझ तिब्रता थप भयो, धर्मार्थमै खुब् जुटे
धेरै काल बिते दुवै प्रखर थे, धर्मार्थकै काममा
बिस्तारै मनमा कुनै तुष परी, खिन्नै भए वेगमा ।।६।।

छाड्ने स्थान भए गए गुरु भलै, ती प्रेम चैतन्यले
पैल्याए परिकल्पना मिलनको, विन्दु दुवै तर्फले
पोख्रेली जनमा भिजे गहकिला, ती ब्रह्मचारी थिए
सल्लाहा कतिले दिए वन चिसाखोला तिरै भन्दिए ।।७।।

छुट्टिए अबता दुवै अलग भै, अर्को गरे खोजनी
भेटे त्यो नगिचै थियो तप हुने, एकान्तको स्थान् पनि
साथैमा गुरु प्रेमका पनि गए, चेला कुनै आखिर
निर्माण् भो नव आश्रमै वन चिसाखोला पुगी मन्दिर ।।८।।

जंगल्को बिचमा नयाँ पुरुषको, त्यो ब्रह्मचर्याश्रम
देखिन्थ्यो चहकी सधैं वटुकले, बोल्थे हरि ॐ नमः
उन्नाइस् शयमा उनान्शय बढी, संबत् अरे विक्रम
बैशाखै शुरुमा जगै पनि बसो, आश्र म भयो उत्तम ।।९।।

भिक्षाको भरमा पचास घटिमा, बेदादि पढ्ने थिए
रुद्री होम गरी सकी वटुकले, बैयाकरण् ध्यान् दिए
आश्र म यै रितले बढो अघि निकै, सात् सालमा यो पुगो
खोजीभो अब अग्निहोत्रि तिरको, चर्चा हुदै यो गयो ।। १०।।

सम्पत्ती अधिकै थियो गुरुजिले भिक्षा गरेकै तहाँ
चेला प्रेमजिकै थिए वटुक नै केदार नाम्का जहाँ
इच्छा भो अब अग्निहोत्रि तिरको, सारा समाल्ने उनी
अर्पे प्रेमजिले सबै धन तहाँ, जाग्ला कि बेदै भनी ।।११।।

निस्के ब्राह्मण ती दिएर धन त्यो, केदारकै हातमा
होलान् ती गुरु प्रेमका रुप कहाँ, घुम्दै बयो बृद्धमा
धार्मिक् शोच विचारका धनी तिनी अहिले पुगे हुन् कता ?
थाहा क्यै नहँुदा विचार गमदै, लेखें विरक्ती यता ।। १२।।

स्याङ्जाको अलिउच्च लेक छ गलेम्, राँपू भयो जन्म त
पैडेलै थरको म पद्म पनि हूँ श्रीभद्रको हूँ सुत
मध्य म पुत्र बनी गएँ पर निकै, पढ्ने इराधा गरी
पूर्बैमा छ धरान एक नगरी, पढ्थें म पिण्डेश्वरी ।।१३।।

(शर्दुलाविक्रिडित छन्द)

पद्म पौडेल
इनरुवा ९ बलाहा
हाल, इटहरी—६ बज्राहा, सुनसरी
मो. नं. ९८४२३९४५७३
२०७०/४/१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *