मुक्तक – १
कहिलेकाँही यस्तै हुन्छ, आफूले खनेको खाडलमा आफै परिन्छ
पहिला नै बिचार पुर्याउनु थियो, विवेकको प्रयोग कहाँ गरिन्छ
मानिस मानिस नै हो, पराकर्मी हुनसक्छ, ईश्वरीय शक्ति होइन
कर्मकर्तु, दुर्वल चच्छु, झटपट गर्दा मानव विवेक त्यहाँ हरिन्छ
मुक्तक – २
मेरो नजरमा एक नैना थिइन्
चच्छु चोरी हेर्दा मोरी ऐना थिइन्
नियाल्दा सारा तन मन सकल
दिलफूलकी सुन्दर मैना थिइन्
मुक्तक – ३
देश आज सरकार विहिन जस्तै भएको छ
राष्ट्रियताको आधारहीन जस्तै भएको छ
जहाँ शून्यता नै शून्यताको आभाष मिलिरहेछ
टेकाहरूको प्रकारहीन जस्तै भएको छ
मुक्तक – ४
कुर्सीमा बस्नेले गरेका छन् चैन
गिरिब माथि नै लागु हुन्छ ऐन
गरिब-तनमा छ पसिना-भेल
बाद्यता रहेछ बाल्न पर्ने मैन
मुक्तक – ५
यो मनै हो अन्त्यै मोडिन सक्छ
कहीं टुट्छ कहीं जोडिन सक्छ
स्वार्थमा किनबेच हुन्छ भने
स्वार्थपूर्ति गर्दा तोडिन सक्छ
मुक्तक – ६
अमृत पान गराउनेहरूले नै विष दिन्छन्
सन्त-महाराज भन्नेहरूले नै रिस किन्छन्
दधीचि कोही छैन संसारमा सुभलो चाहाने
यौनशोषकहरू बाटो बीचबीच किस लिन्छन्
मुक्तक – ७
संसार कता जाँदै छ हेर्न सकिन्छ
नाङ्गो छोप्न त कपडा बेर्न सकिन्छ
अमूल्य मानवको मूल्य कहाँ हुनु
मानवमूल्य के हो त्यो केर्न सकिन्छ
मुक्तक – ८
प्राप्ति कुनै ठूलो हैन सदाचार ठूलो हुन्छ
बग्नेपानी सिधा जान खनिएको कुलो हुन्छ
स्वमार्गको यात्रा गर्दा सुधाफल प्राप्ति हुन्छ
सञ्चित चिज घट्छ भने त्यहाँ कतै दुलो हुन्छ
मुक्तक – ९
अति पूज्य थिए हिजो यो देशका नारी
राधा सीता सावित्री हुन् पूज्य नाम भारी
आज भने नारी माथि शोषण छ ठूलो
विरोध गर्छन् नारीहरू छैन प्रभावकारी
मुक्तक – १०
भोक प्यास लाग्ने कर्म स्वभाविक हुन्छ
व्यथा कथा पोख्यो भने मन मैलो धुन्छ
भोक लाग्दा आतुर भै हाम फाल्न हुन्न
दीगो शुद्ध प्रेम गर्दा सगरमाथा छुन्छ
मिति २०७० कार्तिक (१देखि ३),
कावासोती – १, शान्तिचोक, नवलपरासी
