Skip to content


खराब कुरा गरेका सबै बिर्सिमा देऊ न
असल कुरा गरेका सबै शिलामा कुँद न

हे मेरा भाइ हे मेरो काले पढीमा देऊ न
नजान्या कुरा जान्या छु भनी नगर पाइन

सफल हुन्छौ अवश्य तिमी कम्मर कस न
कसैले कुल्चे खुट्टामा तिम्रो तनाव नगर

पानीमा डुबी खोलाले लगे जसले बचाए
यस्तामा कुरा गर्नेका लागि ज्याननै देऊ न

यसरी तिमी खराब सबै पञ्छाइ देऊ न
मित्रता गरी मिलाई हात आफ्ना नै सम्झ न

समय जान्छ सलल गरी फर्केर आउन्न
गरेका सबै कर्मको फल धननै सम्झ न

विकास हुन्छ धरती हाम्रो सिँचाइ गरेमा
विदेश मात्र पोसने धर्म छोड है अब त

हाम्रो त शिर सगर–माथा उँचाइ भएको
हाम्रो त मन बुद्धको तन जन्मेको धरती

युवा हो तिमी वलिष्ठ खम्बा टेकामा देऊ न
नेपाल हाम्रो प्रख्यात हुन्छ उँचोमा राख न

भाइको पूजा गरेकी आज तिहार दिनैमा
ओखर फोडी बिकार तोडी आशिक दिएकी

फूलको तन मख्मली भए ओइली जाँदैन
यसरी तिमी जीवन जिऊ मेरो यो आशिष

कालले पनि सक्दैन लान त्यसैले पुजेकी
जे गरी पनि तिम्रो त्यो साथ दिनेछु भनेकी

संस्कृति हाम्रो राम्रो छ हेर विदेश नजाऊ
दिदीको कुरो मनन गरी नेपाल समाऊ

सगर्व भन नेपाली हुँ म हिम्मत नहार
विश्वका सबै ठाउँका–लाई नेपाल चिनाऊ

गरिब दिदी भएर पनि स्वदेश छोडिन
माटोको प्यास मुटुमा राखी अब त हेर न

देशको भक्त दिदी हुँ तिम्री नगर अबेर
तिम्रो त्यो सबै पाउने घर नेपाल नगर

बेकार तिमी समय–लाई खेरमा नफाल
सहज छैन भनेमा पनि कोशिश नछोड

खैरेले तिम्रो कदम अब रोकेमा नरोक
फर्क हे फर्क देशका निम्ति मलम बन न

अग्रज सबै पुराना हैन वरिष्ठ होनि त
सबैमा कुरा मनन गरी काममा ल्याउ न

केहीमा कुरा दिएकी मैले जानेकी बुझेकी
यी मेरा अर्ति लिएर तिमी अमल गरन

हे मेरा भाइ सुनीमा देऊ दिदीको पुकार
अब त हाँसी सगर्व भन मेरै हो नेपाल

अब त चेत सगर्व भन हाम्रै हो नेपाल
ए मेरो काले सगर्व भन राम्रै हो नेपाल

छन्द :– झ्याउरे (असारे) (३+२)+(३+२)+(३+३) =जम्मा १६
(भाइटीकाको शुभ-कामना सहित)
२०७० कार्तिक ११
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *