साथी गर्छु म कामना हर घडी, नेपाल नौलो हुने,
नेतानै यसका महान हुन जो, त्यै प्रभु पाऊ छुने ।
यौटा क्वै वबुरो पराइ घरको, आयो ति जम्मा भई,
चाप्लूसी तिनकै गरेर उपमा, बन्ने त कम्जोर् रही ।।१।।
पैला देश निसासियो वचन त्यो, बोल्नै नपाई धक,
मान्छेको अधिकार् सबै कुपितभै, खोस्थे जहाँ शासक ।
बारम्बार भयो संघर्ष अनि पो, क्रान्तीहरु थालिए,
धोकाभो भनि ती मसाल करमा बोकेर नै बालिए ।।२।।
राजाको कर कापमा परि यहाँ, हत्या प्रजातन्त्रको,
फालौं लौ तसर्थ भनेर जनले, धावा गरे लड्नको ।
उन्नाईस् दिनतक् लडेर जनता, त्यो लोकतन्त्रै भनि,
फाले शासन राजतन्त्र तिनले, काटेर हाँगा पनि ।।३।।
खुल्लाभैकन खोरबाटपनि बाघ्, तोडेर बन्धन् सब,
गर्ला मानिसको सखाप जसरी, उस्तैछ देश् यो अब ।
नेता शुन्य विवेकले र जनता, आफू निरीहै भयो,
होला के कसरी विकास भनि, अन्जानमा नै छ यो ।।४।।
भाँड्भैलो छ जताततै शहरमा, गाऊँ र वस्तीमहाँ,
यात्रारोज्छ युवा विदेश् गमनको,वाँच्नै छ शास्ती यहाँ ।
पाउन्नन् यस देशमा युवकले, क्यै रोजगारी भने,
छाड्दै देश विदेशमा नवयुवा जानेर नै धाउने ।।५।।
क्यैछैनन् गुरुयोजना नत यहाँ,धन्दा र उध्योग भो,
हुन्थ्यौं रे जलसम्पदा खपत यै, गर्दा धनी विश्वको ।
स्वर्गैको सरि देश यो हुनगयो, थोत्रै ल सन्सारको,
राम्रो देश बनाउने मति फिरोस्, हाम्रै त सर्कारको ।।६।।
बाधा क्यै नपरोस्, नहोस हडताल्, नेपालबन्दै नहून्,
सुन्नूछैन नि देशको त बदनाम्, कोही कसैले गरुन् ।
सुख्खै छैन नगै बढेर अघि नै, जानू छ रे अन्तमा,
आऊ लौ सबनै मिलेर बलले, माथी पुगौं विश्वमा ।।७।।
चूडा निर्भीक
