भावहरूको नौनी निकाल्ने मदानी हो, मुक्तक
अक्षरहरूको व्यंजन पकाउने ओदानी हो, मुक्तक
मुक्तकको श्रेष्ठताको कति बयान गरूँ म
चौरासी व्यंजनहरूमा स्वादिष्ट चटनी हो, मुक्तक ।
शब्दहरूको चेस हो, मुक्तक
अर्थहरूको भेष हो, मुक्तक
सुनामी र भुकम्प गर्भमा लुकाएर
बाँचिरहेको देश हो, मुक्तक ।
कोही भन्छन् मुक्तक, तमाखु खाने चिलिम भित्रको आगो हो
कोही भन्छन् मुक्तक, आगोको फूल फुल्ने कविताको हाँगो हो
म भन्छु मुक्तक, समयको पहाड माथि कोढ लागेको बेला
एकै सबल प्रहारले कोढ हुत्याउने पानीको छाँगो हो ।
सिन्दुर पुछे पनि रातो वस्त्रहरू नफुकाल साँहिली
पोते र मंगल सुत्र फुकाले पनि चुराहरू नफुटाल साँहिली
तिम्रो जस्तै मेरो मृत्युमा पनि बाटो स्वतन्त्र छ
गरुङ्गो हुन्छ एकल जिन्दगीको भार एक्लै नउचाल साँहिली ।
