Skip to content

उदास समयहरुलाई


किन ? प्रतीक्षा !
उदास समयहरूलाई !

पोलिरह्यो चिसो रातले
आशा बोकेर झर्दैनन् ताराहरू
मनमा विझाइरह्यो त्यो साइत
आफनै दृष्यमाथि अविश्वासी आँखाहरू,
झरनाको ढुँगाजस्तै
पखालिएको छ कि ? थिलथिलिएको ?
कसलाई के थाहा ?
खोलो सुसाएको
रोएको हो कि ?
गीत गाएको ?

अँध्यारोमा टम्म भरिएको बाहेक
रित्तो देखिन्छ दुनियाँ
हेर्दा उज्यालोमा
सायद !
आउँदा पनि खाली
जाँदा पनि खाली
यही हो कि ?
नमेटिएको तिर्खा !

आँधीहरू चलिरहे
के पातहरूलाई
रहर थिएन होला र ?
रुखमै लहराउने ?
तिमीले कटेर गएपछि
कहिले सम्मिएन त्यो डाँडो,
यो मनको पहिरो
चल्छ आफै, थामिन्छ आफै
अब भत्कनै के बाँकी छ र त्यहाँ,
थाहा छ मलाई
भाग्यको लेखन, र
आशीर्वादले नचल्ने जिन्दगी
कुनै असफल रिक्रुटे
खाली खुट्टा फर्किएझैं
किन प्रतीक्षा छ
उदास समयहरूलाई !

कुनै स्टेसनबाट
छुट्यो कि छुटेन ?
पुरानो रेल झैं उदास समय
आइपुगेको छैन अँझै यहाँ
रंगहीन सन्देश बोकेर ।

– दीपेन्द्र के.सी.
बागलुङ,
हाल ओस्टण्डे बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *