Skip to content

उज्यालो भएको छैन (लघु नाटक)


(विद्यालयको छेवैमा चौतारो छ । चौतारालाई चारैतिरबाट बाटाहरूले जोडेका छन् । चौतारामा बरपीपल भएकाले बटुवाहरू भारी बिसाउछन् । बजार जाने/आउने मान्छेहरू आक्कल झुक्कल चौतारामा बसेर गफ गर्छन् । कहिलेकाही बिद्यालयका बिद्यार्थीहरू पनि टीपीनमा त्यहाँ गएर कुरा गरिरहेका भेटिन्छन् । यस्तैमा गर्मीको एकदिन एउटा अधबैशे मान्छे कतैबाट त्यहाँ आइपुग्छ र उठेर एकोहोरो फत्फताउन थाल्छ ।)

अधबैशे मान्छे – हेरियो … सबै हेरियो, राणा सासन हेरियो, पंचायत हेरियो, बहुदल हेरियो, अब यो के रे … गणतन्त्र पनि हेरिदैछ । खै के पाइयो …? (हास्न थाल्छ एकोहोरो । अनि मन्द मन्द गतिमा भुइँ हेर्दै शितलमा बस्छ ।)

अधबैशे मान्छे – (पुन उठेर) खै मेरो छोरो …? अँझैँ फर्केको छैन, फर्कन्छ भन्ने आश पनि छैन । छ भनौ भने उसको अत्तो खबर छैन । मर्यो भनौ भने लाससम्म भेटिएको छैन । उसँगै नयाँ नेपाल बनाउन गएकाहरू मन्त्री बनिसके । ह किन बेखबर छन् यिनीहरू । कि यिनीहरूले सुराकी भनेर सिध्याए मेरो छोरालाई …खै मेरो छोरा (फेरी रुन थाल्छ, र पुन आशु पुक्ष्दै कराउन थाल्छ ।) उसलाई त्यो बेला देश द्रोही भनी पक्राउनेहरू पनि माथि पुगेर कानून लेख्ने भैसके, कि यी सबै मान्छेहरू मेरो छोरोलाई फसाएर अँझ झुर भैसके …! (चार पाच जना बटुवाहरूको प्रवेश, उनीहरू उसैलाई हेर्दै हुन्छन् ।)

बटुवा १ – के भयो बाजे यहालाई ?

बटुवा २ – के भयो अंकल तपाईलाई ?

बटुवा ३ – के भयो दाइ हजुरलाई ?

बटुवा ४ – के भयो साथी तिमीलाई ?

अधबैशे मान्छे – (अघि बढ्दै, युबतिको फोटो देखाउदै) यो मेरी छोरी ऊ बेलामा राज्यबाट हो या विद्रोहीबाट बिरोधि भनी उस्ले साचो कुरा राख्नै नपाइ मारिएकी थिई रे। उसका साथीहरू यसै भन्छन्। जसरी नै होस् मेरी छोरीको मृत्यु पश्चात पनि यो देशको स्थिति त फेरिएको छैन नि । (यसबेला चार जना बिद्यार्थी टुप्लुक्क त्यहाँ आइपुग्छन् र त्यो मान्छे प्रति हेर्दै अड्कलबाजी गर्छन्)

बिद्यार्थी क – यो राज्यले हेपेको नागरिक हो ।

बिद्यार्थी ख – यो सरकारले बिर्सेको मानिस हो ।

बिद्यार्थी ग – यो नेताले उपयोग गरी छोडेर अनागरिक बनाइएको सज्जन हो ।

बिद्यार्थी घ – यो त हाम्रै गाउको साधारण किसान हो ।

(अब बटुवाहरू/विद्यार्थीहरू/बजार आउने/जानेहरूले गर्दा चौतारीमा मान्छेको घुइरो भएको छ । चारैतिरको बाटोमा आगमन अबरुद्द छ । सबैजना उही अधबैशे मान्छेलाई हेर्दै छन् । ऊ पुन समुहको बिचमा उभिन्छ र हात उठाउदै एकलाई बोल्न थाल्छ ।)

अधबैशे मान्छे – के थाहा छ छ तपाईलाई ? केही थाहा छैन । यहाँ हुनेभन्दा नहुने कुरा बढि भै रहेको छ । केही भएको निहुमा नहुने कुराको जोड भैरहेको छ । बिदेशीको थोत्रो नक्कल भै रहेको छ । देशको कर्नाधर्र युवा विदेश पलाइन भै रहेछ । भ्रस्ट माथि पुगिरहेछ । देशले विकासको सट्टा ऋणको आर्थिक भार बढिरहेछ। गाउ समाजमा पछौटेपनका लक्षणहरू देखिरहेछन। नेतृत्वलाई बिदेशीको आशिर्वाद थाप्न फुर्सद छैन । सहर पनि फोहरको थुप्रोले दुर्गन्धित छ । पराईले बाधेको बाध्ले सालिन्दा नेपाली गाउ डुबानको दरले आतंकित छ । माथि तै चुप मै चुप । खै कहा छ जनमुखी सासन । फटाहाले कानून हातमा लिएको छ । हो यो उज्यालो कृतिम उज्यालो हो । सही मानेमा यहा उज्यालो भएको छैन । हो यहाहरूले थाहा पाउनु भो, यहा उज्यालो भएको छैन ।

(सबै जना ताली ठोक्छन र आ आफ्नो बाटो लाग्छन्। त्यो अधबैशे पनि झोला बोकेर चौताराबाट अन्तर्ध्यान भयो ।)

अस्तु :

विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल : अबुधाबी, यू ए ई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *