नेपाली इतिहास र राजनीतिको प्रसड्ढ चल्दा काठमाडौंलाई र साहित्यको प्रसड्ढमा नेपाली भाषालाई मात्र सम्झने कमजोरी नेपाली बौद्धिक समुदायमा व्यापक छ । नेपाल एकीकरण हुँदाको अघि र पछि वर्तमान नेपालको भूभागभित्रका विभिन्न ठाउँमा राजनीति, दर्शन, शिक्षा, भाषा, साहित्य, कला, संस्कृति आदि क्षेत्रमा निकै महत्त्वपूर्ण काम भएका थिए । ती सबै क्षेत्रतिर हाम्रो ध्यान पुग्न नसक्दा हामी आˆनै देशको इतिहासका अनेकौं गौरवमय पक्षबाट अवगत हुन सकिरहेका छैनौं । नेपालका सबै क्षेत्रको र सबै जाति-भाषा-संस्कृतिको इतिहास र वर्तमानको योगदानतिर अध्ययन गहिर्याएर राष्ट्रको ऐतिहासिक गरिमालाई प्रकाशमा ल्याउनु आवश्यक छ ।
साहित्य, संस्कृति र राजनीतिको क्षेत्रमा पनि विशिष्ट योगदान गरी मैथिली भाषाका आˆना कृतिमार्फत भारतको ठूलै क्षेत्रमा समेत प्रभाव जमाएका महाकवि विद्यापति ठाकुर -वि.सं १३९७-१५०५) बारे नेपालका अन्य भाषाभाषी जनतालाई ज्यादै कम ज्ञान छ । आˆनो देशका विविध भाषामा सिर्जनाको कस्तो संसार छ, त्यतातिर हाम्रो चासो, खोज र अध्ययन बढाइनुपर्छ । कात्तिक शुक्ल त्रयोदशीमा मनाइने विद्यापतिको स्मृतिदिवस -यसपालि कात्तिक २६) सन्दर्भमा श्रद्धासुमन अर्पण गर्दै, उनका कृतित्वको अध्ययनतिर सबै भाषाभाषीको ध्यान जाओस् भन्ने आकाङ्क्षाले केही चर्चा चलाउने प्रयास गरेको छु ।
विद्यापतिका समयको मिथिलामा भाषा, शिक्षा, संस्कृतिको निकै चहलपहल थियो । त्यसबेला शिक्षा क्षेत्रमा काशी या नालन्दा जस्तै मिथिला पनि चर्चित थियो । संस्कृत शिक्षाको साथै मैथिली भाषा, साहित्य, संस्कृतिको विकासमा विद्वान्हरू निकै प्रयत्नशील थिए । नेपालको मिथिला क्षेत्र वैदिक युगदेखि नै दर्शन, साहित्य, कला संस्कृतिको महत्त्वपूर्ण गढ रहँदै आएको हो । ऋग्वेदका महत्त्वपूर्ण ऋचा, यजुर्वेदको सम्पादन, बृहद् आरण्यक उपनिषद् आदिको सिर्जना भूमि हो यो । विद्वान् दार्शनिकहरूका सङ्गमको दृष्टिले अवध -भारत) को ‘नैमिषारण्य’ जस्तै मिथिलाको ‘नेमिकानन’ प्रसिद्ध थियो । राजषिर्जनक, गौतम, याज्ञवल्क्य, गार्गी, वाल्मीकि, अष्टावक्र आदिको चिन्तन र सिर्जना आदिले विख्यात मिथिलाको समग्र इतिहासको अनुसन्धानविना नेपालको प्राचीन इतिहासको ज्ञान अधूरो रहनेछ । महाकवि विद्यापति त्यही ज्ञान र सिर्जना परम्पराका उत्तराधिकारी थिए । नेपालको पूर्वी तराई, विहार, बंगाल र उडीसासम्म उनी मैथिल कविकोकिल उपाधिबाट उसै बेलादेखि विख्यात छन् ।
विद्यापतिको जन्मस्थल भारत, विहारको मधुवनी क्षेत्र मानिएको छ । तर उनको कर्म, साधना र सिर्जना भूमि नेपालको पूर्वी तराई क्षेत्र रहृयो । तत्कालीन मिथिलाको राजधानी ओइनीमा आएर विद्यापतिले संस्कृत साहित्य, न्यायशास्त्र र धर्मशास्त्रको अध्ययन गरे । विद्यार्थी जीवनदेखि नै उनले कविता कर्म थालेका थिए । उनको अध्ययन चिन्तन, व्यवहार र काव्य कौशलबाट प्रभावित भई ओइनीका राजा शिव सिंहले उनलाई राजपण्डितको सम्मान दिए । युवा उमेरमा विद्यापति निकै रसिक र जाँगरी स्वभावका हुनाले प्रशस्त मात्रामा गीत-कविताको रचना गरे । त्यसैबेला राजस्व नबुझाएको आरोपमा दिल्लीका सुल्तान इब्राहिम शाहले राजा शिव सिंहलाई बन्दी बनाए । तर विद्यापतिले गीति कवितामार्फत आˆनो प्रतिभाबाट सुल्तानलाई प्रभावित पारी शिव सिंहलाई मुक्त गराए । त्यसपछि जलालुद्दीनले मिथिलामा आक्रमण गर्दा पनि उसलाई हराउनमा विद्यापतिको विशेष भूमिका रहृयो । त्यसको कदर गर्दै राजा शिव सिंहले कविलाई आफू जन्मेको विसयी गाउँ दानमा दिए । यी घटनाबाट विद्यापतिको राजनीतिक र कूटनीतिक सुझबुझ, सशक्त व्यक्तित्व एवं विशिष्ट सृजन क्षमता प्रष्ट देखिन्छ ।
त्यसको केही वर्षपछि फेरि भएको आक्रमणमा राजा शिव सिंहले हारेपछि विद्यापति र रानीहरू राज बनौली -हाल महोत्तरी) का राजा पुरादित्यको आश्रममा गए । पराजय र निर्वासनको घटनाले विद्यापतिको चिन्तनमा परिवर्तन आयो । उनका रचनामा प्रेम-शृंगारको ठाउँमा आध्यात्मिक चिन्तन र भक्तिधारा प्रवाहित हुनथाल्यो । उनका रचनामा सुप्रसिद्ध विद्वान् तथा ‘पीयूषवषर्ी’ उपाधिबाट सम्मानित महाकवि जयदेव -बाह्रौं शताब्दी) को विशेष प्रभाव परेको मानिन्छ ।
विद्यापतिको कलम संस्कृत र प्राकृत मैथिलीमा समान रूपमा चल्दथ्यो । सरल, सुललित, प्रवाहमय भाषाका कुशल शिल्पी कवि यसरी बग्दथे ।
ए सखी रंगिनी कलह निसान
हेरइत पुर मोर सरल निसान
कवि विद्यापति एह रस भान
सुपुरुष परम तुहु भल जान ।
कस्तो लालित्यमय झरना झैं गतिशील पदावली छ यो । शृंगार रसको यो लालित्य जस्तै सामाजिक भाव र भक्तिधारामा पनि उनको गम्भीर कलम नारायणीको धीर प्रवाह झैं बग्दछ ।
विद्यापतिले प्रेम, स्मृति, नीति, साहित्य तथा भक्तिसम्बन्धी अनेक ग्रन्थ रचेका छन् । ‘कीर्तिलता’ तथा ‘पदावली’ उनका सबभन्दा प्रसिद्ध कृति हुन् । स्मृति विषयक विभागसार, गंगा वाक्यावली, दान वाक्यावली, नीति विषयक भूपरीक्षा, पुरुष परीक्षा, धर्मभक्तिबारे शैव सर्वस्वसार, दुर्गाभक्ति तरड्ढण्िाी, साहित्यमा लिखनावली आदि उनका कृति हुन् ।
उनका पदावलीको गहिरो प्रभाव बंगालका प्रसिद्ध चैतन्य महाप्रभुमा पर्यो । उनले विद्यापतिका प्रेम र भक्तिभावपूर्ण पदहरूको प्रचार बंगालभरि घर घर पुर्याए । त्यसको तरड्ढ उडीसासम्म पनि पुग्यो । पछि त्यसको प्रभाव हिन्दीभाषी क्षेत्रमा पनि व्यापक हँुदैगयो ।
विद्यापति मूलतः वैष्णव परम्पराका भए पनि शिव र देवीका पनि उपासक थिए । यी भिन्नभिन्न धार्मिक धारालाई उनले समन्वित रूपमा अघि बढाएर बहुजातीय समाजमा धार्मिक-सांस्कृतिक सहिष्णुता र सामञ्जस्य बढाउन योगदान गरे । शृंगार र भक्तिको समन्वयले पनि उनका रचनाको लोकपि्रयता अत्यधिक मात्रामा बढ्यो । मिथिला क्षेत्रमा अहिले पनि उनी अत्यन्त सम्मानित र लोकपि्रय छन् । घर घरमा उनको चर्चा हुन्छ । उनका रचना लोकसाहित्यको स्तरमा व्यापक जनतामा भिजेका छन् । ‘कविकोकिल’ नामले विख्यात विद्यापति ज्यादै लोकपि्रय हुनाले मिथिलावासीहरू उनलाई जनकविको रूपमा पनि मान्छन् ।
कृष्णप्रसाद उपाध्याय आचार्यले ‘विद्यापति पदावलि’ को नेपालीमा अनुवाद गरेका छन् । आधुनिक नेपालको मैथिलीका अर्का मूर्धन्य स्रष्टा डा. धीरेन्द्रले त्यसको भूमिकामा ‘अत्यन्त सटीक र सुन्दर अनुवाद’ भनी प्रशंसा गरेका छन् । उक्त अनुदित कृति विद्यापतिको संक्षिप्त जीवनीसहित नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको छ ।
नेपाली भाषामा साहित्यको थालनी हुनुभन्दा सयौं वर्ष अघि मैथिली भाषा साहित्यको माध्यमबाट ठूलो योगदान गरी विख्यात भएका कविकोकिल विद्यापतिको साहित्य मल्लकालीन नेपाल उपत्यकामा पनि निकै लोकपि्रय भएको थियो । यस रूपमा साहित्यिक -सांस्कृतिक चेतनाद्वारा उनले तराई र पहाडको भावनात्मक सम्बन्ध विकास गरी राष्ट्रिय एकीकरणमा प्रकारान्तरले सघाएका छन् । मध्यकालीन नेपालमा उनले गरेको योगदान सांस्कृतिक वैभवको उत्तराधिकारको रूपमा हामीले पाएका छौं । उनी नेपालका आदरणीय अमर विभूति हुन् ।
