ऊ नपढिएको पुस्तकको अक्षर हो
जुन अक्षरको न कुनै अर्थ छ
न कुनै बजार ।
अक्षरहरूको बर्ग हुदैन
र पनि पुस्तकको घना जंगलमा
उसको आधारशिला
बर्गीय जरूर हुन्छ
यात्रा गर्दै
अंतर्बर्गीय बाटोमा हिड्छ अक्षर
र सर्बमान्य विचार बन्छ ।
र त्यस्ता विचारहरूको
न अहिले समाज खोजी गर्छ
न उत्थान नै
र तिनै हराइएका अर्थको
खोजी गर्ने
ऊ सानो कण हो ।
अक्षर अरूको भाषामा
लेखिनुभन्दा
आफ्नै भाषामा लेखिनु बेश
ऊ धेरैको यस्तो विचार सितै
सहमती जनाउछ
र प्रश्न गर्छ –
“हाम्रो भाषा कमजोर भन्ने आधार के ?”
आफ्नो पहिचान खोज्ने
आफैलाई पहिल्याउने
शिम्फोनी गतिमा
सल्बलाउदैछन् अहिले
स साना शब्दहरू
तिनै शब्दहरूमा मिसिएको
ऊ सानो कद हो ।
हो जबर्जस्ती पर्नु पर्दैन
अरूको आँखामा
र हार्ने छैन कहिल्यै कर्तव्यमा
यस्तै शोच भएकाहरूको मथिंगलमा
अनुभूतिको ऊ सानो फिलिंगो हो ।
ऊ नपढ़िएको पुस्तकको अक्षर हो
जुन अक्षरको न कुनै अर्थ छ
न कुनै बजार ।
अस्तु :
विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल : अबुधाबी,यू ए ई ।
