Skip to content

देश हाम्रो लुटेर नै ध्वस्त पारे


देश हाम्रो लुटेर नै ध्वस्त पारे पिशाचले
तुच्छ बन्दै बिकेर नै ध्वस्त पारे पिशाचले

वीर पुर्खा खटे सधैँ रक्त झण्डा रँगाउन
कीर्ति उन्को भुलेर नै ध्वस्त पारे पिशाचले

फूल फुल्थे सुवासिला स्वर्ग हुन्थ्यो जताततै
कोपिला ती चुँडेर नै ध्वस्त पारे पिशाचले

गर्छु भन्थे बिकास खै ? झूट बोल्दै लुके सबै
भित्र भित्रै चुसेर नै ध्वस्त पारे पिशाचले

लाज शर्मै गए कता ? रैछ कालो विचारमा
बारबारै लुछेर नै ध्वस्त पारे पिशाचले

न्याय निष्ठा बिदा भए सोच पापी बनेपछि
जाल झेलै गरेर नै ध्वस्त पारे पिशाचले

गुरुवर श्री पोस्टराज चापागाईंज्यूको छन्द “मारियाङ” मा आधारित, (४ – ४ अक्षरमा विश्राम)

कोमलप्रसाद भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *