Skip to content

एघार मुक्तक (झटपट गरी विवाह)


१) झटपट गरी विवाह

भन्छन्, झटपट गरी विवाह ग्र्दा पछि पर्छ पछुताउनु
भन्छन् सबै, दीगो बिचार गरेर नै माया प्रीति छ लाउनु
भन्छन् प्रेम गर्दा चाहिन्छ नै समभाव समकर्म आदि सम
तत्त्ववोध गरीहीन प्रेमगर्दा जोकोहीले धोका नै हो पाउनु

२) तिनी आइन्

तिनी आइन् सपनिमा निद हराम गरिन्
मन मुटु सबै समाइ मेरै शरण परिन्
खलबली चल्यो मनमा अग्नि जल्न थाल्यो
राप दन्क्यो दनदनी तर झनै यता सरिन्

३) पाखण्डीका पछि लाग्यौ

पाखण्डीका पछि लाग्यौ धोका होला नानी
लालीपूर्ण यौवनलाई थाम्नु पर्छ धानी
मनकुरा थुत्नलाई स्वार्थीपनमा जुट्नलाई
मन धन बगाउँछन् बनाइ सबै पानी पानी

४) पलाउन देऊ

पलाउन देऊ मूनालाई फक्रै पछि फूल बन्छन्
फूलगुच्छा रसस्वादन यी प्रेमसाट्ने पुल बन्छन्
अङ्कुरण मार्न हुन्न अनि विषवृक्ष सार्न हुन्न
विजाङ्कुरण फैलिएमा सामाव्याज सुल बन्छन्

५) शरीर ढल्छ ढल्छ
यो शरीर ढल्छ ढल्छ मर्नसँग नडराऊ
गम्भिर भै विचार गर कसैसँग नकराऊ
बुद्धिमानी गम्भिरता चातुर्यता साथ हुँदा
सूर्य दाहिना भै छाड्छन् मनभाव फरफराऊ

६) संयोग र विछोडमा

संयोग र विछोडमा हर्ष विष्माद दुबै हुन्छ
विष्माद र हर्ष हुँदा नयनजलले गाला धुन्छ
जति जति टाढा भयो माया गाढा भइदिन्छ
आवरण खुसी होला अन्तष्करण भने रुन्छ

७) नेपालीको गौरव

नेपालीको गौरव चानेचुने कहाँ छ र
विश्ववीर कहलाउने हाम्रो नै हो थर
आज पनि नेपालीको सान(मान ठूलो छ
तर पनि नेपाली परेका छन् पर भर

८) नारा मीठा लाउन

नारा मीठा लाउन दलहरू खप्पिस भए
आश्वासनका ती पोका बाड्दै गाउँ गाउँ गए
जनताले यिनैबाट आश्वासनका पोका धरे
पोका खोली हेर्दा खेरी जनता तीनछक परे

९) अँधेरी र उजेली

अँधेरी र उज्वेली त एकै आँतका दिदी बहिनी
एकको कर्म छ तमदात्री अर्कि बन्छिन् प्रकाशिनी
वंशजमा एकै भए पनि कर्म कर्तु फरक फरक
व्यवहारले बताउँछ वास्तविकमा को रोहिणी

१०) संसद छ ए

के चुनाव अब हुने नै भयो, राजनीति भाषण सुरु भए
आश्वासनका कोशेली बोक्दै दलहरू सबै घर घर गए
बिरोधका आवाज गुञ्जेकै छन्, चुनाव हुन दिन्नौ दिन्नौ भन्ने
सफल बनोस् चुनाव अहिले, भन्न मिल्छ हाम्रो संसद छ ए

११) हडप गरी खाको जग्गा

हडप गरी खाको जग्गा आज मात्रै जोतेको छु
बम गोलाले खाको घर मैले आज मात्रै पोतेको छु
कति दिनको भोग हुने त्यो त मलाइ नै थाहा छैन
झ्याली आँखे घरको छाना खरले छायी पानी ओतेको छु

सदानन्द अभागी
शान्तिचोक कावासोती – १, नवलपरासी

1 thought on “एघार मुक्तक (झटपट गरी विवाह)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *