ऊ वेश्या अरे। जिजीविशा त्याग्न नसकेर बनेकी वेश्या? परिस्थिति, परिवेशले गर्दा बनेकी वेश्या? स्वविवेकले तृप्ती प्राप्त गर्न बनेकी वेश्या? या कसैबाट बाध्यतावश बनाइएकी वेश्या?
अनुत्तरित प्रश्नहरूको चक्रव्युमा छ मनोज यतिबेला। जे होस् ऊ एक वेश्या हो। जुन कुरा उसलाई चिन्ने समाजले भन्ने गर्छ। अनि त्यो पुरुष को हो त जसको कारण ऊ ‘वेश्या’ शब्दले सम्बोधित हुने गरेकी छ? कि कुनै पुरुष बिना नै ऊ वेश्या कहलिन सम्भव छ? मनोजको प्रश्न स्वयं आफैलाई।
मनोज किन जान्न चाहन्छ यी तमाम उसको जीवनका आन्तरिक कुराहरू? आखिर यो रात मनोजले उसलाई पैसा तिरेर कतै लगिरहेछ। उसको शरीरको हकदार मनोज। तर मनोजले आफ्नो प्यास मेटाउनका निम्ति उसलाई त्यति धेरै पैसा तिरेको होइन। उसको कुण्ठा भिन्न प्रकाशको छ, जुन आजको रात पुरा हुन्छ या हुदैन ऊ जान्दैन।
“कहाँ लानुहुन्छ?”
“थाहा छैन।” मनोजको अर्थहिन सरल जवाफ।
“तपाईको घर या डेरा म जादिन। कुनै होटलतिर जाने भए हुन्छ दुई घण्टाको लागि।”
“तपाईकै कोठा जादा हुदैन र?” धेरै समय पश्चात ‘तपाई’ शब्दले कसैले पुकारेकोमा ऊ अचम्मित हुन्छे।
“मेरै कोठामा……………..ठिकै छ। तर बिहानै तपाई निस्किनुपर्छ नि।”
“भैहाल्छ नि।” मनोज केही प्रफुल्लित भावमा प्रत्युत्तर दिन्छ।
केही बेरको हिडाइ पछि उसको डेरा आइपुग्छ। घरैघरको चापमा रहेको सानो गल्ली छेउको पुरानो घरमा डेरा लिएकिरहिछ। दिउसै अँध्यारो हुने झन अहिले त साझ छिप्पिदै गएको बेला।
ढोका खोल्दै भन्छे ” आउनुहोस् न।” मनोजसँगै छिर्छ। निस्पट्ट अन्धकार। बत्ती बाल्छे, कोठा केही प्रकाशमय बन्छ। मनोज स्तब्ध हुन्छ कुनामा रहेको बिस्तरामा लडेको अन्दाजि तीन चार वर्षको बच्चा देखेर। मनमा धेरै प्रश्नहरू उब्जन्छन् तर सोध्ने साहस गर्दैन।
मनोज भन्छ ” अलिकति पिउन मिल्छ? मेरो पिउने बानी छ, त्यसैले।” केही संकोच मान्दै रक्सी ल्याइदिनका निम्ति पैसा थमाउछ मनोज।
ऊ केही नबोली पैसा लिएर निस्कन्छे। मनोज चुरोट सल्काएर टोलाउन थाल्छ। “यो बच्चाको भविष्य के होला? यसको बाबु को होला, कहाँ होला? कति मूल्यमा यो अबोध बच्चाले जन्म लिएको हो? २००/३००………या ४००….? छ्या! कुन चाहि पापिरहेछ यस बच्चालाई कलङ्कित पार्ने।” मनोजको प्रश्नहरू विकराल बन्दैछन् अनुत्तरित। जवाफ पाउन सकिरहेको छैन। हरेक प्रश्न एउटा पीडा बोकेर आउँछ र उसलाई विक्षिप्त पारिदिन्छ। टाउको दुखेको आभाष हुन्छ मनोजलाई।
कोठा धुवाँमा रुमल्लिएको छ। मनोज बच्चाको बाबु यस्तो होला भनी धुवाँमा विविध मानवाकार तस्विर कल्पन्छ। सारा अनुहार धमिलिदै जान्छन्। अपरिचित मुहार।
‘वेश्या’ भनाउदी आइपुग्छे रक्सी अनि केही खानेकुरा लिएर। बच्चातर्फ टोलाइरहेको मनोजलाई हेर्दै भन्छे ” यो मेरो छोरा हो। साढे तीन वर्षको भयो। बाउ को हो थाहा छैन। यही रिसले घाटि निमोठेर मारिदिन मन लागेको थियो तर सकिन। माया लाग्दो रहेछ। अहिले यही एउटा सहारा छ मेरो। अर्को वर्ष स्कुल हाल्ने। धेरै पढाउँछु यसलाई।”
उसको कुराहरूले मनोजको कौतुहल बढ्दै जान्छ। बच्चाकी आमा के के पकाउनतिर लाग्छे। स्टोभसँगै आवाज सुनिन्छ “नरिसाउनु ल, अहिले मिल्दैन। यसलाई केही खुवाएर सुताएपछि मात्रै, हुन्छ?”
मनोज केही बोल्दैन। मौननै रहन्छ। जवाफ पर्खिरहेकी उसलाई शान्त पार्न स्विकारोक्ति स्वरुप टाउको केही हल्लाउँछ। बच्चा अंकल भन्दै मनोज छेउ आइपुग्छ। ‘अंकल’ शब्द स्पष्टसँग भन्दोरहेछ। शायद दिनकै अपरिचित पुरुषहरूलाई अंकलभन्दा भन्दा बानी परेको होला। मनोजले ‘अंकल’ सम्बोधनमा केही आत्मीयता पाएझै गर्छ। केही खुशी केही तनाव। केही पाएजस्तो अनि पाउँदा पाउँदै धेरै चिज गुमाएजसतो स्थिति। केवल पीडादायी पलहरू उसको छेउ गुज्रिरहेको छ वर्तमान समयमा। अनि के को प्राप्तीको लागि मनोजले त्यति धेरै पैसा चुकाएको त? बच्चाले दिएको आत्मीयता, अँध्यारो कोठाको कारुणिक चित्रणको अवलोकन………या अरु केहीको निम्ति? उसले पैसा तिरेको हो एक रात वेश्याको शरीर भोग्नको लागि। यही शर्तमा केटी राजी भएकी हो। तर यथार्थ र दृष्टिकोणमा फरक छ। मनोज समाजमा बाच्ने हरेक किसिमका मानिसहरूको जीवन बुझ्न चाहन्छ। ती यावत जीवनशैलीसँग परिचित हुन, केही जीवनमा आफू बाचिदिन चाहन्छ। त्यसैले आज उसले पैसा तिरेर आफ्नो अनौठो तृप्ती पुरा गर्ने सोच बनाएको हो। उसलाई थाहा छ कतिपय जीवनसँग नजिकिदा व्यथा आफूतिर सर्न सक्छ, नदेखिने घाउँहरू बढ्ने गर्छ जसले साह्रै पोल्छ। तापनी ऊ सम्पूर्ण जीवनबिच घुलिन रुचाउछ।
मनोज एकपछि अर्को चुरोट सल्काइरहन्छ। ‘वेश्या’ बच्चालाई केही खुवाउँदैछे। मनोज मेचमै बस्छ, स्थिरावस्था। केवल उसका आँखा कोठाको चारैतिर दृष्टि फैलाउने प्रयत्नमा छ। कोठाको दुरावस्था अनि छोरालाई ठुलो मान्छे बनाउने नगरबधुको सपना। साह्रै असमानता। बच्चा क्रमश: निदाउन थाल्छ।
उसको कामुक दृष्टि मनोजतर्फ अडिएको छ। मनोजको हातमा रक्सीको गिलास छ अनि मनस्थिति अन्धकार कोठाभन्दा बाहिर त्यस बच्चाकी आमाको सपनातिर घुमिरहेको छ। ऊ नजिकै टास्सिएर बस्छे। “म पनि अलिकति पिउँ? रिसाउनुभयो कि धेरै बेर कुराइ भनेर? के गर्नु यसलाई सुताउनै टाइम लाग्छ।”
मनोज आधा मुस्कान ओठमा ल्याउने प्रयास गर्दै ऊ तर्फ नजर जुधाउन थाल्छ। उसको सुन्दर अनुहारतिर नजर दौडाउँछ। बनावटि कामुकताभित्रका असङ्ख्य तृष्णाहरू मनोज प्रष्टसँग बुझ्छ। छोरालाई धेरै पढाउने सपना केवल तृष्णाझै हुन सक्ने डरमिश्रित रेखाहरू कामुक मुहारभरि कुदिएका छन्।
“बत्ती निभाइदिउ कि?” बोलीमा मादकता ल्याउने कोसिस गर्दै ऊ भन्छे।
“होइन म तपाईलाई पूर्णरुपमा नियाल्न चाहन्छु। बाहिरदेखि भित्रसम्म।”
“छ्या! तपाईलाई सरम लाग्दैन उज्यालोमा यस्तो गर्नलाई?”
“तपाईको त यो दैनिकि हो। के तपाईलाई पनि लाज लाग्छ र नाङ्गिनलाई?” मनोजको प्रश्नले ऊ झस्कन्छे।
“त्यस्तो होइन। अहिले फुच्चे ब्युझ्यो भने देख्छ भनेर मात्रै बत्ती निभाउ भनेकी।”
मनोजको सामु फेरि अन्यौलपूर्ण प्रश्न। त्यही बच्चाको लागि दुनियासामु नाङ्गिने अनि त्यही बच्चाले नबुझोस् भन्ने। यो कत्तिको न्यायसंगत कुरा भयो? छोरालाई ठूलो मान्छे बनाउने सपना पूर। गर्न हर रात जिउदो लाश बनेर शरीर खुला छाडिदिने। छोरालाई अनभिज्ञताको डोरीमा कसेर राख्न खोज्ने कतिसम्मकी नारी। यसलाई के अर्थ लगाउने। छोरालाई योग्य बनाएर आफूलाई पालोस भन्ने आशा राखेकी ‘स्वार्थी वेश्या’…..या छोराको भविष्य उज्यालो बनाउन आफ्नो शरीरको तिलाञ्जली दिने ‘त्यागी आमा’…..? अपेक्षाकृत जवाफ आफ्नै मनबाट पाउन नसकेको अवस्था।
ऊ आफ्नो कपडा एक एक गर्दै फुकाल्न थाल्छे। ऊ सोच्दैछे मनोज यो सब उज्यालोमा नै गर्न चाहन्छ। ऊ क्रमश: नाङ्गिदै जान्छे एउटा अपरिचित पुरुष सामु। मनोज एकटक लगाएर उसका संवेदनशील लोभलाग्दो अंगहरू नियाल्न थाल्छ। यस दृश्यले कुनै अश्लीलताको भाव झल्काउदैन। अश्लील त्यसलाई भनिन्छ जुन कुरा सहजै समाजले पचाउन या स्विकार्न सक्दैन। तर यो दृश्य अश्लील होइन किनकि मनोजमा केही परिवर्तन आएको छैन। तसर्थ यो अश्लीलता नभई उसको जीवनको विदिर्णता हो। जसलाई मनोज एकनास नियालिरहेको छ। उसका पुष्ट छाती जसलाई झम्टिन कति नरपशुहरू मरिहत्ते गर्दछन्। अहिले ती सम्पूर्ण कुराहरू मनोजको आँखाछेउ छन् जसलाई भोग्न, रम्न धेरै पुरुषहरूले पैसा खर्चन्छन्। अरुले पनि पैसा तिर्ने गरेको अनि मनोजले पनि महँगो पैसा बुझाएको त्यही शरीरको लागि। अरुमा र मनोजमा के फरक छ? समानता पनि के नै छ र……..? बस् अरुले झै पैसामा सम्झौता गरेको छ शरीरको। बाकी सबै विषमता। विशाल असमानता। भोग्नका लागि नभई भोगाई बुझनका निम्ति चुकाइएको नगद। तसर्थ अरु नरपशु र मनोजमा के नै फरक छ र। अरुले शरीर लुटेर मजा लिन्छन। मनोज शरीर नियालेर उसको नियतिबारे बुझ्ने आफ्नो कुण्ठा पुरा गर्छ। नाङ्गा शरीरमा ‘वेश्या’को जीवनको पूर्वदिप्तीको कल्पना गर्छ। केही सत्यता कल्पन्छ। पीडित हुन्छ।
ग्राहकले आफ्नो शरीर बिना स्पर्श नियालिमात्र रहेको देखि ऊ आफै अघि सर्छे। सुम्सुम्याउँछे, बहकाउन खोज्छे। उसले चुकाएको नगदको सही उपयोगिता बुझाउन खोज्छे अव्यक्त रुपले। निरावाज। बस् शारीरिक हाउभाउद्वारा मनोजलाई उत्कर्षको बिन्दुतर्फ उन्मुख गराउन खोज्छे।
मनोजको शरीर ठिक विपरित चिसो भइदिन्छ। उसको मनमा नै ज्यादै चिसो आभाष गराएजस्तो। कामवासनाको बेअसर। ऊ केही पर सरिदिन्छ तर नजर तिनै संवेदनशील अंगहरूमा दौडाउन छाड्दैन।
ग्राहकको विचित्रको व्यवहार शायद उसमा बुज्ने क्षमता छैन। उसले मनोजलाई नामर्द सम्झन्छे मनमनै। कतिसम्मको संकिर्ण सोचाइ भएकी नारी। नसोच्नुको केही कारण पनि थिएन। पुरुषलाई आकर्षित गर्ने, बर्वाद पार्ने यस ब्रमाण्डकै सबैभन्दा ठूलो शक्ति नारीदेह सामुन्ने हुदा पनि प्रतिक्रियाविहिन हुने मूर्तिसरहको पुरुषलाई त्योभन्दा बढि के सम्झिने। त्यसो भए ऊ नामर्द नै हो त? के नारीको ख्याल राख्नु, सहवास र संसर्गबिना नै आत्मीयता अथवा प्रणय साटासाट गर्ने प्रयत्न नामर्दको लक्षण हुन् त? शायद त्यही वेश्याले जान्दछे यस्ता मर्द र नामर्दका कुरा।
मनोजको मनमा असीम प्रेम पलाएको छ ऊ प्रति। दया होइन एउटा न्यानो स्नेह प्रदान गर्न चाहन्छ मनोज। यस्ता आत्मिक कुराहरू बुझ्ने क्षमता नभएकी एक सडककी रानीलाई सम्झाउने अभिप्रायका शब्द पनि मनोज देख्दैन। किनकि वैचारिक अन्तरले उनीहरू एकापसका चाहना बुझ्न सक्दैनन्। चाहना…..? वेश्याको के नै चाहना हुन्छ र? ती तमाम चाहनाहरूको हत्या भएर त ऊ वेश्याको रुपमा चिनिएकी। उसको चाहना, सपना, आकांक्षा जे भनेपनि छोरोलाई धेरै पढाइ ठूलो मान्छे बनाउने मात्र हो। बाकीमा उसलाई निरपेक्षी भन्न सकिन्छ। जिजीविशा जीवित राखिराख्नुको कारण त्यही निर्दोष छोरो हो। कलङ्कित छोरो नै उसको भविष्य, जीवन सबथोक।
उसको नग्नतामा मनोज डुबिरहन्छ। कुनै सौन्दर्य नभएजस्तो। सुन्दरता जति ढाकिन्छ त्यति सौन्दर्यको महत्त्व रहन्छ। नग्नताले त सुन्दरताको विनाश गरिदिन्छ। वर्तमान अवस्थामा ती पुष्ट छाती अनि मिलेको जीउडाल निस्सार छन्। बिल्कुल बेरुप, सौन्दर्यविहिन। मनोज ती उत्कर्षका अंगहरूमा उसँग व्यतित दु:खदायी घटनाहरूको चित्र देख्छ। अरु के नै गर्न सक्छ शिवाय आर्तनाद महशुस गर्नु बाहेक। सान्त्वनाका मिठा शब्द दिन चाहदैन किनकि अर्थहिन छन् वेश्याका निम्ति ती अभिलाषारुपी संवादहरू। उसको सपना पुरा गरिदिने क्षमता छैन मनोजसँग। बस् नियतले ऊ माथि गरेको खेल बुझ्छ। उसका अतीतबारे, भोगाइबारे आफ्नो एकमत जाहेर गर्छ आफैसँग।
रात क्रमश: सकिने क्रममा छ। वेश्यालाई एउटै हतार छ।उज्यालो हुनुपूर्व नै आफ्नो शरीर भोगोस अनि जाओस्। उसले अँझसम्म बुझेकी छैन मनोजको मनाशय। मुख खोलेर भन्न असमर्थ छे तर व्यवहारले त्यस्तै अवगत गराउँछ। ऊ झन् कामुक मुद्रामा उत्रिने प्रयत्न गर्छे। सम्पूर्ण सत्प्रयासले विजय पाउन सक्दैन। मनोजले धेरै कुराहरू बुझ्यो उसको जीवनबारे। समग्र वेश्याजीवनबारे। बिना प्रश्न, बिना बातचित। एउटा विचित्रको प्रेम पलाएको छ उसको मनमा। प्रेम पोख्न चाहन्छ भावनात्मक रुपमा। नाङ्गो शरीर नभोगेरै प्रेमको अपेक्षा राख्नु कतिको सार्थक छ। के ‘यौन’ अपरिहार्य छ प्रेममा? या प्रेममा यौनलाई तुच्छ मानिन्छ? जस्तो अर्थ लगाएपनि उसको मनले केही अनौठो सम्बन्ध गास्ने आकांक्षा पालेको छ। जीवनका बाकी केही पलहरू उसँग बिताउने इच्छा जागृत भएको छ।
वेश्यालाई एउटै त्रास छ, छोरोले आफूलाई निर्वस्त्र अवस्थामा देख्ला भन्ने। मनोजलाई अँगाल्छे, उसको शरीरभरी तातो सास छरिदिन्छे। आफ्नो छाती उसको जीउमा पुर्याउछे।
“तपाई आफ्नो कपडा लगाउन सक्नुहुन्छ। लाज ढाक्नुहोस् म तृप्त भइसके।” वेश्या कुनै प्रतिक्रिया जनाउदिन न केही बोल्न नै सक्छे।
“म साझ फेरि तपाईलाई भेट्न चाहन्छु, नाङ्गो रुपमा होइन। म यही आउनेछु पुरै रातको लागि। के म आउन सक्छु?” मनोज आशारुपी प्रश्न तेर्साउछ साथै व्यग्र प्रतिक्षामा छ स्विकारोक्ती जवाफ।
वेश्या केही बोल्न सक्दिन। केवल शरमका लाली देखा पर्छ उसको मुहारमा। शीर केही झुकेको अवस्था।
मनोजले आफ्नो जवाफ मौनतामा पाएको छ उसको मुहारका धमिलो रेखाहरूबाट। विजयहासोको साथ ऊ निस्कन्छ त्यहाँबाट। वेश्या केही सोच्न सकिरहेकी छैन। मनोज सरासर पाइला सार्दैछ। विजयी मुस्कान अँझै उसको ओठमा जीवित नै छ।

अपरिपक्व
डुबेर पढ्ने हो भने राम्रो तर छोरा भको वेश्याको जुन परिवेश छ त्यो नै सान्दर्भिक छैन आजको समयमा। किनकी आजको वेश्या अनि थाहै नभइ बच्चा?
समग्रमा कथा कथै जस्तो मात्र लागयो।
ali thik xaina
डुबेर पढ्ने हो भने राम्रो तर छोरा भको वेश्याको जुन परिवेश छ त्यो नै सान्दर्भिक छैन आजको समयमा। किनकी आजको वेश्या अनि थाहै नभइ बच्चा?
समग्रमा कथा कथै जस्तो मात्र लागयो।