Skip to content

पालो जनताको


‘निरकुंश राजतन्त्र मुर्दावाद,
जनआन्दोलन जिन्दावाद
तानाशाही शासन ढाल्छौं ढाल्छौं
जनताको शासन ल्याउछौं ल्याउछौं’

– बर्षायामको नदीजस्तै मानिसहरूको लस्कर गर्जियो । राता झण्डा वोकेका जुलुस चारै दिशावाट वरपाटनमा मिसिए । दश गाउँको सबैभन्दा ठुलो पाटनमा जताहेर्यो उतै मानिस, टेक्ने ठाउँ छैन । ‘ओहो कति धेरै मान्छेहरू हुन, वुढेसकाल लाग्यो यस्तो विचित्र त कहिल्यैपनि देखेको थिइन,’ भीडमा घुच्ची सहदै झण्डा समातेका दीनवन्धुले आश्चर्य माने ‘अँझै चारैतिरवाट मान्छेहरू ओईरिरहेका छन । अब त पक्कै जनताको जित हुन्छ, हुन्छ ।’ हुनपनि, वरपर सबै गाउँका बासिन्दाहरू काम धन्धा छाडेर विरोध जुलुसमा आएका थिए । केटाकेटीदेखि वुढाबुढीसम्म, मालिकदेखि मजदूरसम्म, कांग्रेसदेखि कम्युनिष्टसम्म सबैजना एकैथलोमा जम्मा भएको यो पहिलोपटक नै थियो । वर्ग, जात, पार्टी, उमेर अनेक भएपनि सबै एक भएर राजतन्त्र विरुद्व चर्का नारावाजी गर्दै आक्रोश पोखिरहेका थिए । भतभती घामले सेकिएर सबैको शरीरमा पसिनाको मुल फुटिरहेको थियो ।

पाटनमा टनाटन मान्छे भरिए । वस्ने ठाउँ नपाएकाहरू वरपर रुखमा चढे । राजा विरोधी सबै पार्टीका नेताहरूले मञ्च पनि भरियो । पसिनाले चिप्लिकै भिजेका उनी नेताले के भन्छन भनेर कान ठाडो बनाए ।

‘जनविरोधी यो शाषनले गरी खान दिएन । निरकुंश शाषकलाई घुँडा नटेकाएसम्म मुक्ति मिल्दैन’ सबै नेताहरूले एउटै स्वरमा आव्हान गरे ‘तपाईहरू हामीलाई साथ दिनुहोस, हामी तपाईलाई मुक्ति दिनेछौं ।’

पाटनलाई एकैछिनमा लाठी र वन्दुक वोकेका प्रहरीले चारैतिरवाट घेरा हाले ।

‘अब जेल पर्ने भईयो, कुटाई खाने भईयो’ सभामा खैलावैला र भागदौड मच्चियो । प्रहरीले केही नेता र कार्यकर्तालाई समात्यो । नेताको भाषणमा मख्ख परेका जनताको ज्यानमा लाठि बर्षियो । प्रहरीको पिटाईवाट वन्दुक पार्टीका शिर्ष नेता छविलाल पनि घाईते भए । टाउको र खुट्टामा चोट लागेका उनलाई पुलिसले लान खोजेपनि जनताले मुस्किलले छुटाएर दीनवन्धुको घरमा लुकाए ।

‘नेता भनेका मुक्तिदाता हुन’ भन्दै दीनवन्धुको परिवारले र गाउँलेले सक्दो सेवा गरे । दूध, घिउ, मासु, भात कहिल्यै टुटाएनन । दशैंमा छोरा आउँला र खुवाउँला भनेर साँचेको भाले पनि राखेनन, छविलाललाई नै खुवाए । पोसिलो खानपान र जतनले छविलालको छवि फेरियो, हस्टपुष्ट भए ।

‘आमावुवा हजुरको सेवाले मैले नयाँ जीवन पाए’ विदा हुनुअघि छविलालले भावुक हुँदै अनुरोध गरे ‘मलाई पनि आफ्नै छोरो सम्झेर कुनैदिन सेवा गर्ने मौका दिनु भएमा धन्य हुनेछु ।’

निरकुंश राजतन्त्र देशभर आन्दोलन आगो दन्कियो । गाँउ, शहर, हिमाल, पहाड, तराईका जनता ज्यानको पर्वाह आन्दोलनमा होमिए । पुलिसले आन्दोलन दवाउन लाठी र अंशृग्याँस बर्षायो । चैतको डडेलो जस्तै फैलिएको आन्दोलनको रोकिएन । पुलिसले पार लगाउन नसकेपछि सेना निस्किए, गोलि बर्षाए । राता झण्डा वोकेका जनता सडकमा रगतको आहाल वगाउँदै ढले । तर शिर झुकाएनन ।

साम, दाम, दण्ड, भेदले नरोकिएको आन्दोलनको आँधी दरबारतिर सोझियो । ज्यान वचाउन राजाले जनता सामु घुँडा टेके । रेडियो, टिभीमार्फत राजाले जनताको नासो जनतालाई सुम्पिएको घोषणा गरे ।

देशभर राजाको नामसँगै जोडिएको ठाउँका नाम फेरिए । अगाडि राजको सट्टा लोक र आन्दोलनलाई जनाउने शव्द जोडियो । ठुलो वरको रुख भएकोले वरपाटनको नाम फेरेर मुक्तिपाटन राखियो । मुक्तिपाटनमा फेरि जनताको जमघट भयो । राता झण्डा वोकेका, खुसी र अविरले मानिसको अनुहार लालिमय वनेको थियो । जनताको जित भो । जनताले नै शाषन चलाउने भए । सभामा सहभागिहरूको खुसीले फुरुङ्ग परेका थिए । सबै रमाएको देख्दा दीनवन्धु खुसीले दङ्ग परे ।

मुक्तिपाटनमा भव्यमञ्च बनाईयो । ध्वजा पताकाले झकिझकाउ मञ्चमा ठुला ठुला सोफा राखिए ।

‘नमस्कार’

आदरणीय जनसमुदायहरूमा हार्दिक अभिवादन’

पातलो जीउडालको युवकले हँसिलो जोसिले स्वरले सबैको ध्यान तान्यो । युवकले नेताहरूलाई पालै पालो मञ्चमा वोलाए । नेताहरू सभातिर नमस्कार गर्दै सोफामा वसे ।

देश र जनताको हितका लागि वलिदान दिने शहीदहरूलाई सम्झदै एक मिनेट मौन धारणा गरियो ।

नेताहरूले जनताको शाषन आएकोले सुख, शान्ति, समृद्वी छाउने वताए । सुख पाउने सुनेर जनताले परर तालि वजाए । अन्तिममा शिर्ष नेता छविलालको पालो आयो । पातलो जीउडाल । झुस्स दाह्रीजुंगा । शिरमा ढाकाटोपी, आँखामा पावरवाला चश्मा लगाएका छविलाल माईक अगाडि उभिएर नमस्कार गर्दै भने–

‘अन्ध्यारो कालो रात हटेर विहानी भएको छ । तपाईको घरमा पालेका वाख्रा, कुखुरा राति राति मारेर खाने वाघ र व्वाँसा जस्ता शाषकहरूले अब तपाईहरूको श्रम, पसिना चुसेर कंकाल बनाउन पाउने छैनन । हामीले गाउँ पसेको स्याल जस्तै शाषकहरूलाई लखेटेर यो देशवाट भगाएका छौं । अब हजारौं शहीदले देखेको सपना साकार पार्न देशको मुल कानून संबिधान बनाउनुपर्छ । यस्तो अवसर मिल्नुमा सबैभन्दा ठुलो योगदान हाम्रै पार्टीको रहेको छ । त्यसैले तपाईहरूले हाम्रो पार्टीको चुनाव चिन्ह वन्दुकमा भोट दिएर हामीलाई जिताउनुहोस । हामी तपाईहरूलाई जनमुखि संबिधानसँगै विकास र शान्ति दिनेछौं । तपाईको घरदैलोमा पानीको धारा खस्नेछ । मोटर कुदनेछ । पढनलाई स्कुल र उपचार गर्न अस्पताल गाउमै खोलिदिनेछौं । छोराछोरीलाई जागिर लगाइदिनेछौं । घर घरमा विजुली वालेर यो गाउँलाई पनि शहर जस्तै झिलिमिलि पारिदिन्छौं ।’

छविलालको भाषण सुनेका जनता चिनीमा लठिएको मौरी जस्तै भए । विकासको स्वाद चाख्न पाउने आसामा छविलालको पार्टीलाई जिताउन तन, मन, धन, वल, वुद्वि सबै चढाए । कतिले अरुले टाउको फुटाए, आफ्नो पनि फुटने गरी कुटाई खाए । ‘वन्दुक’ चिन्हमा आफूले पनि छाप लगाए । अरुलाई पनि फकाएर, तर्साएर, लोभ्याएर लगाउन लगाए । चुनाव सकियो । रेडियो, टेलिभिजन, अववार, अनलाइन सबैतिर छविलालको पार्टीले छलाङ्ग मारेको खवरले रंगिए ।

‘अब पेटभरी खानलाई, राम्रो लगाउनलाई दशैं कुर्न नपर्ने भो । विरामी पर्दा ऋणधन खोजेर रातारात शहरमा जान नपर्ने भो । वनपात गरेर समय फाल्ने केटाकेटीहरू स्कुलमा पढन पाउने भए । गाउँमा पनि शहरमा जस्तै सुविधा पाइने भो’– चोक, चौतारा, चियापसल, शहर, वजारका बासिन्दाहरूले सपना देख्न थाले ।

मुक्तिपाटनमा फेरि विजय सभा गरियो । आपसमा अविर दलेर वधाई र शुभकामना साटनेहरूको भीड लाग्यो । रातै झण्डा, रातै अनुहार, अविरले लतपतिएर कपडा पनि रातै भए । राताम्ये रुप धारणा गरेका उनीहरूलाई एकले अर्कोलाई चिन्न धौ धौ पर्यो ।

ध्वजापताकाले झकिझकाउ मञ्चको भित्तामा पार्टीका ठुला नेता र शहीदको तस्वीर टांगिएको थियो । आरामदायी सोफामा अविर र मालाले पुरिएर नेताहरू चिन्नै नसक्ने भएका थिए । फेरि आसनग्रहण सकेर शहीदको सम्झनामा एक मिनेट खर्चिए ।

मतदाता नामावलीमा धेरै मत ल्याएका छविलाल अविर, माला र खादाले ढपक्कै ढाकिएका थिए । उनले कुम हल्लाउँदै माईक समातेर गर्विलो स्वरमा भने ‘मैले जित्नु भनेको तपाईहरूकै जित हो । अब गाउँमा विकासको ढोका खुल्यो । वाटो, अस्पताल, विद्यालय, विजुली, पानीको धारा सबै वने भनेर सम्झनुहोस । तपैका होनहार छोराहरू दश वीस हजार कमाउन अब विदेश जानुपर्दैन । यही लाखौं कमाउन पाउनेछन ।’ वोलिपिच्छे उनले पाएको तालिको गडगडाहट मुक्तिपाटन गुन्जियो । जति तालि सुन्थे उनी उति चर्को स्वरमा भाषण गर्थे ।

दश गाउँका जनता खुसी हुँदा दीनवन्धु खुसी नहुने कुरै भएन । यो जितमा उनले आफ्नो पनि योगदान भएको सम्झिदै हातै दुःख्ने गरी जोडजोडले तालि वजाए । उनी छविलालले आफूलाई हेरिदिउन र वोलाउन भनेर घरी घरी उठेर मञ्चतिर पुलुक्क हेर्थे । पछाडि वसेकाहरू छेकियो भनेर कराएपछि खिस्स हाँस्दै वस्थे ।

जितको मात लागेका जनताले नेताको भाषण सुन्दा बर्षाभरी रुझ्दै र भिज्दै लगाएको धान थन्काउन विर्सिए । छोराछोरीलाई जस्तै स्याहार सुसार गर्दै आएका गोठका चौपायालाई घाँस, पानी खुवाउनतिर ध्यानै दिएनन । सबै काम ठप्प पारेर ढोकामा ताल्चा ठोकेर सभामा पुगेकाहरू साँझ मात्र फर्किए ।

छविलाल कार्यकर्तासहित राजधानीतिर हानिए । वहुमत ल्याएको उनको पार्टीले सरकार बनायो । प्रभावशाली नेता छविलाल मन्त्री पनि भए । आफूले जिताएको पार्टीको सरकार र नेता मन्त्री भएको खवर सुनेर गाउँलेहरू विकास हुने भो भनेर खुसीले दङ्ग परे ।

प्रधानमन्त्रीवाट सपथग्रहण गरेपछि छविलाल मन्त्रालयको आरामदायी कुर्सीमा गएर थचक्क वसे । ठुलो टेबुलमा चन्द्रसूर्य अंकित झण्डा, पृथ्वीको ग्लोव, कलमहरू थिए । जाडोमा तातो र गर्मीमा चिसो दिने एयर कण्डिसन कोठा थियो । छुदाँ पनि मैलो लाग्ला जस्तो कार्पेट । निवास पनि उस्तै राम्रो । विहानदेखि वेलुकीसम्म हजुर हजुर भन्दै भेटी लिएर भेटन आउनेहरूको धुईरो । कोठाबाहिर निस्कदा राईफल वोकेका सुरक्षाकर्मीको सुरक्षा घेरा । जता जाँदा पनि करोडौंको झण्डावाल गाडिमा सररर । दामी दौरा, सुरुवाल, कोट, पाइन्ट, टोपिमा झकिझकाउ । पाँचतारे होटलमा पार्टी । विकासको ठेक्कापट्टा र कर्मचारीको सरुवा वडुवा । त्यसपछि सुटकेश भरिएर आउने रकमको विटो । पत्रिका, टेलिभिजन जतासुकै उनकै भाषण र तस्वीर । शहरका हुनेखानेसंगको उठवस ।

शहरको रमझममा उनका पार्टीका नेताहरूले गरिवहरू वस्ने गाउँ चटक्कै विर्सिए ।

भर्खर नयाँ पार्टीका नेताहरू सत्ताको स्वादमा रमेको देख्दा अरु पार्टीका नेताहरू डाहाले भुतुक्कै भए । सत्तामा रमाइसकेका उनीहरूको दिनको भोक र रातको निद्रा उड्यो । कसरी सरकार ढलाउने र आफ्नो बनाउने भनेर षड्यन्त्रका तानावाना बुन्न थाले । अन्त्यमा ठुला दलका नेताहरू पालैपालो मिलिजुली सरकार बनाउन सहमत भए । शहीदको सपना र जनताको चाहना जनमुखि संबिधान भनेर चुनाव लडेका उनीहरूको ध्यान सत्ता, सम्पति, सम्मान वाहेक अन्त गएन ।

‘मान्छे हेरि कुरा र कपाल हेरि छुरा’ भनेजस्तै नेता र कार्यकर्ताको चाकडी गर्न खप्पिस छविलाल जुन पार्टीको अगुवाईमा सरकार वन्दा पनि महत्वपूर्ण मन्त्रालयमा आसिन हुन्थे ।

सत्ता र शक्तिले छविलालको छवि नै फेरियो । आसेपासे र आफन्त पनि पुष्टिए । हेर्दा हेर्दै उनले राजधानीमा करोडौंको महल ठडाए । ठाउँ ठाउँमा जग्गा किने । आफन्त, साली, जेठान, साला र कार्यकर्तालाई जागिर खुवाए ।

दीनवन्धुकी श्रीमती दमकी विरामी थिइन । अलिकति हिडेर वोल्यो कि स्याँ स्याँ भईहाल्थ्यो । गाउँमा अस्पताल छैन, शहर जाउँ खर्च छैन । विचरी घरमै व्यथा पालेर वसेकी थिइन । छविलालले भाषण गर्दा गाउँमा अस्पताल खोलिदिन्छुभन्दा सबैभन्दा वढि उनै खुसी भएकी थिइन । समयमै उपचार नपाएर गर्भवती र वच्चाहरूको बर्षौपिच्छे मृत्यु हुन्थ्यो । अस्पताल वनेपछि दैलोमा उपचार पाउने उनले आसा गरेकी थिइन । तर बर्षौ वित्यो गाउँमा अस्पताल खुलेन । विद्यालय, मोटरवाटो पनि वनेन । व्यथाले थलिएकी उनलाई अस्पताल नलगे सासको आस नगरे हुने भो । अघिपछि दुःख पर्दा भगवानलाई सम्झने दीनवन्धुले नेता छविलाल र उनले जाने बेलामा भनेका कुरा सम्झिए ।

‘शहरमा नेता भएपछि खान र वस्न समस्या भएन । सके अस्पताल पनि उनैले लगेर उपचार गरिदिन्छन होला’ दीनवन्धुले श्रीमतीलाई भने ‘लौ हिड बुढी शहरतिर जाउँ र नेतालाई भेटौं ।’ परदेशको ठाउँ के कसो हुन्छ भनेर गोठका वाख्राहरू वेचे र थैलीमा तीस हजार रुपयाँ हालेर शहर झरे ।

धुवाँधुलो, गाडि, मान्छेहरूको भीड छिचोल्दै शहरको नाम चलेको अस्पतालमा पुगे । डाक्टरले भनेजस्तो गर्दा थैलीको २५ हजार रुपयाँ दुई दिनमै सकियो । ‘अब यस्तै हो भने घर फर्कने भाडा पनि नरहने भो’ दीनवन्धुले हातले पुम्पुरो समाए । छविलाललाई भेटेर सहयोग नमागे अर्को उपाय निस्केन । झोला वोकेर दुवै सोध्दै खोज्दै मन्त्री निवासमा पुगे । गेटमा वन्दुक वोकेर सिपाही थिए । मन्त्रीलाई भेटन आउनेहरूको जमघट थियो ।

‘कस्लाई भेट आएका हौ तिमीहरू?’ गेटको प्रहरीले सोधे ।

दीनवन्धुले दुई हात जोडेर आफ्नो परिचय दिदै कारण खुलाए । प्रहरीले दुवैको नाम र ठेगाना टिपेर भित्र पसे । पहिला पिटने सुरक्षाकर्मीहरूले नै सुरक्षा दिएर राखेको देख्दा दीनवन्धुका दम्पति दङ्ग परे । हुनपनि सुरक्षाकर्मीवाट ज्यान वचाउन छविलाल जंगलै जंगल हिडथे र वस्थे ।

‘मन्त्री ज्यूले भनिवक्स्या आज समय छैन रे, भोलि विहानै आउनुहोस रे’ अघिको सुरक्षाकर्मी बाहिर निस्केर सन्देश सुनायो । आफूहरू आएको खवर सुनेर छविलाल स्वंयम गेटसम्म लिन आउँछन भन्ने सोचेका दीनबन्धु निन्याउरा भए । श्रीमतीलाई लिएर चुपचाप होटलतिर फर्किए ।

भोलिपल्ट फेरि विहानै मन्त्री निवास पुगे । घण्टौं कुर्दा पनि पालो पाएनन । उनको धैर्यको सीमा टुटयो र भित्र पस्न जोडतोड गर्न थाले । सम्झाउँदा नमानेपछि प्रहरीले हान्न लाठी उचाल्यो, वुढो मान्छे देखेर सकेन । हल्ला खल्ला मच्दाउँदै उनी हुत्तिदै भित्र पसे ‘दुवो, फूल, पोखरीले सजिसजाऊ वगैचा । अग्लो महल । नोकरचाकर । चिप्ला मोटरकार । वगैचाको कुर्सीमा झकिझकाउ पोशाकले सजिएका रातोपिरो अनुहार भएका मानिसहरू । माहुरीले रानोलाई घेरेजस्तै सबैले उनलाई घेरिरहेका थिए ।’ दीनवन्धुको नजरमा टाँसिए । स्वर्गजस्तो संसारमा उनले गाउँमा देखे, भेटेको छविलाललाई देखेनन ।

हल्लाखल्ला सुनेर के भो ? भन्दै एकजना मोटो मानिस रिसले चुर हुदै आएर प्रहरीलाई हकारे । ‘हैन हजुर मैले त रोक्दै थिए, हजुरलाई भेटन आको भन्छन’ प्रहरीले सफाई दियो ।

‘हैन कस्लाई खोज्नु भा को, कहावाट आउनु भा को ? के काम छ ? तपाईहरूसँग भेटन मलाई टाईम छैन’ रिष्टपुष्ट भएको मानिसले भने ‘कस्ता कस्ता मान्छेहरू साइनो जोड्दै आउँछन हैरान पारिसके ।’ गाउँमा भेटेका छविलाल नेता ख्याउटे, झुत्रो, झाम्रे थिए । यी त अर्कै छन । पुक्क गाला । गर्भवतीको जस्तो भुक्क बाहिर निस्किएको भूँडी । किमति कपडा । ‘यी त छविलाल हैनन, गल्ती ठाउँमा आईपुगिएछ’ दीनवन्धु मनमनै पछुताए ।

बाहिर निस्केर भित्र देखेका सबै कुरा बुढीलाई सुनाए । ‘यत्रो शहरमा छविलाललाई कता खोज्ने ? छविलाल नाम भएका कति छन कति, कतिको दैलो चाहारेर सकिन्छ ? भएको खर्च पनि सकिएर सडकको वास हुन्छ’ दीनवन्धुले भने । उनको कुरा श्रीमतीलाई चित वुझ्यो । डाक्टरले लेखिदिएको औषधी वोकेर दुवैजना गाउँतिर हिडे । लम्पसार परेको सडकको छातीमा सवारीसाधनहरू हुईकिरहेका थिए । त्यसको छेउमा ठडिएका ठुला ठुला महल, स्कुल, अस्पताल हेर्दै हिडेका दीनवन्धुले श्रीमतीसँग भने ‘हाम्रो गाम पनि कहिले होला यस्तै वन्ने ?’ बसपार्कमा पुगे । वस बिस्तारै शहरलाई छाडेर गाउँतिर अघि वड्यो ।

शहरवाट रातभर वसमा चढेर हिडेको भोलिपल्ट गाउँ नजिकै पुगे । दुई घण्टा हिडेपछि मुक्तिपाटनमा आईपुगे । थकाई मार्न चौतारीमा वसेका दुवैले चारैतिर हेरे ।

बेला बेलामा मानिसको ओईरो लाग्ने पाटनमा यतिखेर गाईभैसी चरिरहेका थिए । वरको रुखमुनि छहारीमा झुत्रोमैलो कपडा लगाएका, धुलोमैलो ज्यान भएका गोठालाहरू वसिरहेका थिए । सत्तरी बर्षमा टेकेका दीनवन्धुले जान्दा वुझ्दादेखि नै यो पाटन र यहाँका मानिसहरू उस्तै छन । जिजुवाजेहरू पनि यसैगरी गाईवस्तु चराएर, उकालि ओराली गरेर धर्तीवाट विदा भएका थिए । अहिले उनीहरूका सन्तान पनि त्यसैगरी जीवन बिताइरहेका छन । यी गाउँलेहरू चुनावका बेला घाममा टट्टिदै पालको शितलमा वसेर कुर्लने नेताहरूको भाषण सुनेर आफैलाई विर्सन्छन । यतिसम्म कि बिहे वर्तन, मर्दापर्दा, मेलापात सँगसँगै हिड्नेहरू पनि चुनावको बेला नेताको पछि लागेर आपसमा काटमार गर्छन । यही पाटनमा गरिएको विरोध सभाले कति शाषन र शाषक ढाल्यो । कति संबिधान, ऐन, कानून वने । कति वजेट भाषण फुकिए । कति विकासका कार्यक्रम वने ।

पाटनको वरको रुखमा धेरै पटक पात झरेर नयाँ पलाए । वच्चाहरू केटाकेटी र तन्नेरीहरूलाई वुढ्यौलीले छोप्यो । तर विकासको घाम अँझसम्म यहाँ आईपुगेको छैन । अप्रिय अतितमा अल्झिएका दीनवन्धुले दिक्क माने । वरको शितल छहरीले पनि उनको मनको औडाहा शान्त भएन ।

चुनाव जितेर राजधानी पुगेका नेता फर्केनन । मन्त्री छविलाललाई भेटन राजधानी पुगेका गाउँलेहरूको मुहारमा फर्कदा उदासी भेटिन्थ्यो । ‘मन्त्रीसँग भेट नै भएन । हप्तौसम्म होटलमा वस्दा खर्च सकिएर भोक भोकै परियो’ उनीहरू आपसमा दुःखेसो पोख्थे ।

संबिधान बनाउने समय सकियो । पटक पटक थप्दा पनि वनेन । सभासद र मन्त्रीहरू पदमुक्त भए । देश र जनतालाई संबिधान नदिएपनि यसवीचमा उनीहरूले गर्न हुने र नहुने धेरै काम गरे । कोही जुवाको खालमा समातिए । कोही रक्सीको भट्टीमा भेटिए । कसैले पैसाको लागि पासपोर्ट वेचे । सत्तामा वसेर भत्ता खाए ।

जनतालाई दिएको वचन पुरा गर्न नसक्दा पछुताएर रुने कमै भेटिए । ‘ठुला नेताले जे भन्छन त्यही हुनेभएपछि हाम्रो केही चल्दोरैनछ,’ आपसमा गुनासो पोख्दै भन्थे ‘हामी त देखाउने दाँत जस्तै भयौं ।’ संबिधान नवन्नुमा कसैले विपक्षी पार्टीका नेतालाई त कसैले विदेशीलाई सरापेर आफू चोखिन खोजे ।

सत्ताको दलदलमा फँसेका दलहरूले संबिधान सभाको चुनाव गराउने छाँटकाँट देखिएन । त्यसैले ठुला दलका नेताले कर्मचारीको अगुवाईमा चुनाव गर्ने निर्णय गरे । शाषन सत्ता सुम्पिए । फेरि संबिधान सभाको चुनाव गर्ने घोषणा भयो । गाउँ, शहर जताततै पार्टीका झण्डा र उम्मेदवारका तस्वीर टाँसिए । रेडियो, टिभी र अखवारहरू चुनावको विज्ञापन र समाचारले भरिए । नेताहरूलाई चुनावी चटारोले छोयो ।

उता बर्षाभरी झरीमा रुझ्दै र भिज्दै रोपेको धानवाली पाकेर लहलह झुलेको थियो । गाउँलेहरूलाई यसपालि चुनावकोभन्दा पनि धान थन्काउने चटारोले सताएको थियो ।

मुक्तिपाटनमा यसपालि पहिलाको चुनावमा जस्तो उमंग देखिएन । विभिन्न पार्टीका नेता आउने भाषण गरेर जाने गरे । छविलालले फेरि यहीवाट चुनाव लड्ने भए । उनका पार्टीका कार्यकर्ताले घरघरै निम्ता वाँड्दै हिडे । काममा व्यस्त गाउँलेले ‘हुन्छ हुन्छ’ आउँछौै भने । फेरि ध्वजापताकाले मञ्च झकिझकाउ पारियो । दश गाउँपर वोलेको सुनिने गरी माईक राखियो । यसपालि नेता हिडेर हैन, हेलिकप्टरमा आउने भएछन । ‘जुन जोगि आएपनि कानै चिरेका’ अधिकांश जनताले भाषण सुन्न नजाने निधो गरे ‘भाषण पनि सुन्दैनौं, भोट पनि दिदैनौं ।’

डाँडापारि आकासमा भुटुटुटु गर्दै हेलिकप्टर उडेको आवाज सुनियो । हेर्दा हेर्दै हेलिकप्टरले आँधीले जस्तै धुलो उडाउदै पाटनको वीचमा वस्यो । पंखा वन्दभएपछि ढोका खुल्यो । खाईलाग्दा मानिसहरू ओर्लिए । दुलाहाजस्तै ठाँट्टिएका छविलाल पनि हात हल्लाउँदै ओर्लिए । कार्यकताहरूले अविर माला लगाइदिए । पहिला अटाइनसक्नुको भीड हुने पाटन अहिले लगभग खाली जस्तै थियो ।

‘यो गाउँका मान्छेहरू सबै वसाई सरेछन कि क्या हो ?’ फुंङ्ग उडेको अनुहार लगाउँदै उनले कार्यकर्ताहरूसँग सोधे ‘कहाँ गए, यहाँका जनता, वसाई सरेर अन्त्यै गए कि कसो ?’

नेता ओईलाएको फुल जस्तो वनेको देखेर स्थानीय नेताले धान पाकेकोले सबैजना थन्काउन व्यस्त भएको वताए ।

‘यस्तो तालले त वर्वाद हुन्छ, मैले दिएको लाखौं रुपयाँले रक्सीको खोलो वगाई दिनुहोस, रांगो, खसी के काटेर हुन्छ मासुको डंगुर लगाइदिनुहोस, कसरी हुन्छ, सबैलाई मेरो पक्षमा भोट हाल्ने बनाइदिनुहोस, वरु पैसा नपुगे कति खर्च गर्नुपर्छ त्यसको चिन्ता नलिनुहोस, फेरि मन्त्री वनेपछि असुल उपर गरौंला ।’

घण्टौंसम्म घोक्रो सुक्ने गरी भाषण गर्ने योजना लिएर आएका छविलालको उत्साह मरेर आयो । भाषण छोट्टाएर घरदैलो कार्यक्रम राखियो । ‘के गर्ने भोट नपाईकन नोट कमाउन सकिदैन’ भन्दै कार्यकर्ताको पछि लागे ।

शहरको चिप्लो सडकमा चिल्ला मोटर कारमा हुँईकिने वानी परेका छविलाललाई हिड्न मुस्किल भयो । यही पाखामा जन्मेर वाँदर झै कुददै हुर्केका छविलाल वारीको कान्लामा हिड्न विर्सेकाले भकुण्डो जस्तै दश वल्डाङ्ग खान थाले । कार्यकर्ताहरूको हात थामेर ताते ताते गर्दै, कोटमा लागेको धुलो टक टकाउँदै उनी खेत खेतमा पुगे ।

‘आमा, बा, दाइ, भाइ, दिदी वहिनी आरामै हुनुहुन्छ ? म छविलाल फेरि पनि हजुरको आर्शिवाद लिन आएको । के गर्नु पहिला विरोधी पार्टीहरूले गर्दा भनेजस्तो काम गर्न दिएनन । त्यसैले फेरि हजुरको आर्शिवाद चाहियो’ दश औला जोड्दै खुट्टामै ढोग्न खोज्दै उनले विन्ति विसाए । कतै हसिया मागेर दुई चार मुठि धान काटेजस्तो पनि गरे । उनका अघिपछि हिडेका कार्यकर्ता र पत्रकारले रमाईलो मान्दै तस्वीर खिचे ।

भोट माग्दै फाँटमा हिडेको लस्कर दीनवन्धुको अगाडि पुगेर रोकियो । ‘बा, मलाई चिन्नु भो ?’ दुई हात जोड्दै छविलालले शिर झुकाएर अनुरोध गरे ‘म हजुरको नेता छविलाल, हजुरको आर्शिवाद थाप्न आएको । पहिला पनि भोट दिएर जिताउनु भो । अहिले पनि नभुल्नुहोला ।’

शहरमा छविलाल होइन भनेको व्यक्ति नै परिचय दिदै भोट मागेको देखेर दीनवन्धु दंग परे । भ्रमको पर्दा हटेर उनलाई घाम लागेजस्तै छर्लङ्ग भयो । त्यही छविलाल थियो, जसले शहरमा उनलाई चिनेनन । भेटन समय छैन भनेर अपमान गरेर फर्काएको थियो । अतित सम्झेर दीनवन्धुको अनुहार रिसले रातोपिरो वन्यो । ‘जनतालाई ढाँटने फटाहालाई यही हसियाले छप्काइदिउँजस्तो’ उनको मनले भन्यो । फेरि उनले आफैलाई सम्हाले । यतिबेलासम्म दुई हात जोड्दै छविलाल पर पुगिसकेका थिए । खेत चहारेर सकेपछि छविलाल फेरि हेलिकप्टरमा चढे । आँधीहुरि आएजस्तै पाटनमा धुँलोको मुस्लो फैलियो । एकैछिनमा डाँडापारि पुगेर देखिन छाड्यो ।

खाजा खान लस्करै वसेका गाउँलेहरूमाझ छविलालको छविको चर्चा चल्यो । ‘त्यस्तो ख्याउटे थियो, अहिले त ढाडिएको जुकोजस्तै भएछ । झुत्रेझाम्रो कपडा लगाउँथ्यो, अहिले त सुटवुटमा सजिएर हिड्दो रहेछ । चप्पल लगाएर उकालि ओराली गर्थ्यो, अहिले त हेलिकप्टरमा उड्ने भएछ । जुलुसमा हिड्ने हामी, कुटाई खाने हामी, शहीद जन्माउने हामी, भोट हाल्ने पनि हामी, तर हामी जनता भने सधै जहाँको तस्तै, जहाँको त्यही ।’ गाउँलेहरूले शहरमा छविलालले जोडेको महल, मोटरकार, सम्पतिको समेत चर्चा गर्दै भने ‘विकास ल्याएर गाम र गाम्लेको अनुहार नै फेरिदिन्छु भन्थ्यो, आफ्नै फेरेछ ।’

केही समय अघिसम्म भोट नहाल्ने मनस्थिति बनाएका दीनवन्धु र गाउँलेहरूको सोचमा एकाएक परिवर्तन आयो । भोट हाल्ने बेलामा असल खराब छुट्टाउन नसकेकोले आफूहरूमाथि छल भएको ठहर गरे । असललाई जिताउने र खराबलाई हराउन भोट हाल्नै जानपर्ने निधो गरे । ‘छविलाल जस्ता छल गर्नेलाई हराउन सबैले भोट हाल्न जानुपर्छ है’ दीनवन्धुले दृढ स्वरमा भने ‘असललाई भोट र खराबलाई चोट दिने जनताको पालो आएको छ ।’ उनको कुरामा सबै गाउँलेले समर्थन जनाउँदै भने ‘छल गर्नेहरूलाई हराउने पालो जनताको ।’

समाप्त

प्रेम नेपाली
पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *