किसान, मजदुर वा साना पुँजीपतिहरूले साझा रूपमा सानो पुँजीबाट सबैलाई उपयोगी हुने वस्तु उत्पादन वा सेवा उपलव्ध गर्ने तथा पुँजी र श्रमअनुसार प्राप्त मुनाफा बाड्ने संस्था नै सहकारी संस्था हो । मूलतः सहकारी मुनाफा कमाउने भन्दा पनि लोककल्याणकारी क्षेत्रमा बढी समर्पित हुन्छ । यो संयुक्त पुँजी/श्रम लगानी गर्ने र त्यसबाट प्राप्त नाफा/नोक्सान समेत संयुक्तरूपमै बहन गर्ने प्रकृतिको हुन्छ । समाजमा विविध खाले आर्थिक समृद्धिका काम गर्नुका साथै नागरिकलाई सम्मानजनक तवरले जीवनयापन गर्न बल पुर्याउने काममा समेत सहकारीले भूमिका खेल्दछ । समाजमा छरपष्ट रूपमा रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित पारी सदस्यहरूको आर्थिक, सामाजिक विकास गरी समृद्धशाली समाजको निर्माण गर्ने पुनित उद्देश्यद्वारा सहकारी संस्थाहरू प्रेरित हुन्छन् । सीमित पुँजी भएका, एक्लै लगानी गर्ने र जोखिम बहन गर्न नसक्नेहरू परस्पर मिली नाफा–घाटा बेहोर्ने गरी सञ्चालित सेवामुखी व्यवसायिक संस्था नै सहकारी संस्था हुन् ।
प्राकृतिक साधन र स्रोतले सम्पन्न तर आर्थिक विपन्नताले गाँजेको मुलुकका रूपमा नेपाल चिनिन्छ । यहाँ सस्तो श्रम बजार छ । पुँजी लगानीकर्ता पनि नभएका होइनन् । बेरोजगार जनशक्ति छ्याप्छ्याप्ती छ । आर्थिक विकासमा काम गर्ने सुझबुझको त्यत्रो कमी पनि छैन । बिडम्बना ! कुनै पुँजीपतिले पुँजी लगानी गर्दछ, एकाधीकार कायम गर्दछ र श्रमिकलाई बाँच्न पुग्ने मात्र पारिश्रमिक दिइन्छ । पँुजीपतिले मात्र मुनाफा कमाउने स्थिति छ । हरेक दृष्टिकोणले श्रमिक शोषणमा परेका छन् । बेरोजगारीको पीडाले रन्थनिँदै श्रमिकहरू पनि सस्तो दरमा श्रम बेच्न विवश छन् ।
कतिपयसँग सानो पुँजी छ । त्यत्ति सानो पुँजीले मात्र आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनसक्ने अवस्था छैन । महङ्गीले आकाश छोएको छ । गाँस, वास र कपासको व्यवस्था गर्दागर्दै बचेको थोरै रकम आर्थिक क्षेत्रमा एक्लैले लगानी गर्ने अवस्था छैन । यस्तो प्रतिकूल परिस्थितिबाट गुज्रिरहेका किसान, मजदुर र साना उद्यमीहरूका लागि सहकारी बरदान सावित भएको छ । तिनै स–साना लगानी कर्ताहरूको संयुक्त प्रयासबाट नै सहकारी संस्थाहरू जन्मन्छन् । प्रायः ती सामुहिक रूपमा पुँजी मात्र लगानी गदैनन्, श्रम पनि गर्छन् । आफ्नै क्षेत्रमा आफू स्वयम् श्रमिक भए पछि शोषणमा पर्ने कुरै आउँदैन । अर्को शब्दमा, मालिक पनि आफैं र श्रमिक पनि आफैं हुँदा कसैलाई पनि अन्यायमा परेको महसुस हुन्न । कार्य सम्पादनमा पनि इमान्दारिता झल्कन्छ, जिम्मेवारीका साथ काम हुन्छ ।
जुन संस्थामा मालिक स्वयम् क्रियाशील छ, त्यसको उत्तरोत्तर प्रगति हुने स्थिति अत्यधिक रहन्छ । जहाँ श्रमिकले उचित राहत सहितको मार्गनिर्देशन भेट्दछन्, त्यहाँ दिनानुदिन प्रगतिको स्थिति रहन्छ । मालिक र श्रमिकहरूको मनोविज्ञानमा समेत संस्थाको भविष्य आधारित हुन्छ । श्रमिक र मालिकमा ‘हामी जुटे असम्भवलाई पनि सम्भव बनाउन सक्छौं, जीवनस्तर उकास्ने तागत हामीसँग पनि विद्यमान छ’ भन्ने उच्च मनोविज्ञान भएमा हिनतावोधले स्थान भेट्दैन ।
सहकारी संस्थामा लगानीकर्ताहरू स्वयम् श्रमिक हुनैपर्छ भन्ने छैन तर मालिकहरू चाहिँ किसान, मजदुर वा निम्न पुँजीवाला लगानीकर्ता हुनै पर्दछ । कुनै एक जनाको संस्थामा वर्चस्व नभई जे काम पनि सामुहिकरूपमा हुने हुँदा कुनै एक, दुई जनाले बाटो बिराउँदैमा संस्थालाई त्यत्रो ठूलो असर पर्दैन । सहकारीको नीतिबमोजिम सबैले कार्यसम्पादन गर्नुपर्छ । संस्थामा जुटेपछि पनि बिग्रेका वा हिनतावोधले ग्रसित व्यक्तिलाई पनि सपार्ने र आर्थिक हैसियत सम्पन्न पार्ने महत्वपूर्ण ठाउँ नै सहकारी हो । व्यक्ति विशेषलाई सामुहिक रूपमा सहयोग पुर्याउने काम हुनेहुँदा सहकारीमा जुटेपछि कसैले पनि आर्थिक विपन्नताको शिकार हुनुपर्दैन । तर, उसले इमान्दारीपूर्वक श्रम दिन भने सक्नुपर्छ । यसको अर्थ सहकारीले गरिव वर्गलाई धन दान दिँदै हिँड्छ भन्ने बुझ्नु सर्वथा अनुचित हुन्छ ।
खान–लगाउन धौ–धौ परिरहेको समयमा समेत केवल एक गाँस कटाएर भए पनि सहकारी क्षेत्रमा लगानी गर्न सकिन्छ । एक–एक रुपैयाँ जम्मा गर्दै, एक–एक मुठ्ठी अन्न सङ्कलन गर्दै पनि सहकारी संस्था चलेका छन् । सबैको सहयोग र संलग्नतामा सञ्चालित सहकारी संस्थाबाट ऋण लिएर पशुपालन, तरकारी खेती वा त्यस्तै आर्थिक उपलव्धीको क्षेत्रमा काम गरेर आर्थिक उन्नति गर्न सकिन्छ । यस खाले संस्था स्थापना र सञ्चालनमा ठूलो रकम चाहिन्न, केवल सामुहिक संलग्नता र सक्रियता आवश्यक पर्छ । एक–एक गर्दै ठूलो पुँजी सङ्कलन हुन्छ र घरेलु उद्योग, लघुवित्त कार्यक्रम, सामुहिक खेतीपाती, व्यापार–व्यवसाय, शिक्षा–दीक्षा आदि क्षेत्रमा उपयोग गरी आर्थिक हैसियत बढाउन सकिन्छ ।
नेपालीहरूको आर्थिक विकासमा सहकारी सोच बरदान सावित हुन सक्छ । कतिपय स्थानमा सहकारिताले गाउँघरकै रौनकतामा अभिवृद्धि गरिदिएकोे छ । सहकारी संस्थामार्फत् लोककल्याणकारी वस्तु उत्पादन र सेवा प्रदान गरेर, वस्तु वा सेवा आफैंले उपभोग गरेर आत्मनिर्भर भइरहेको अवस्था छ । नेपालीहरूलाई हरतरहले सक्षम बनाई गरिवीबाट छुटकारा दिलाउने र अग्रगामी सोच, समझ र निम्न पुँजीलाई आर्थिक विकासमा रूपान्तरण गर्नमा सहकारीको योगदान श्रेष्ठ छ, अनुकरणीय छ, स्तुत्य छ ।
सहकारी संस्थाहरूमा न जातका कुरा हुन्छन्, न धर्मको वकालत हुन्छ । नितान्त सामाजिक संस्थाको रूपमा रहेर पनि समाजका विकृत पाटाहरूबाट यो विल्कुलै टाढा हुन्छ । यसले मानवलाई एकै जातको देख्छ, एउटै धर्मको देख्छ, एउटै कर्ममा आधारित देख्छ । त्यो भनेकै मानवले मानवकै कल्याणमा समर्पित हुनुपर्छ भन्ने कुरो हो । यसले सबैको कल्याण गर्नुमै धर्म देख्छ । श्रमको फल मीठो हुने कुरामा विश्वास राख्छ । यसले कोही ठूलो छैन र कोही सानो रहँदैन भन्छ । यसमा विनाभेदभाव सबैखाले वर्ग, समुदाय संलग्न हुन सक्छन् । पौरख गर्ने मनस्थिति भएकाहरूको जमघट हुने साझा थलो नै सहकारी हो । थरीथरीका विचार, धारणा र सोचाइलाई एकै बनाउने र उन्नतिको मार्गतर्फ डोहोर्याउने स्पष्ट मार्गचित्र सहकारी संस्थाहरूमा पाइन्छ । अतः समाजका अपहेलित र बहिष्कृत व्यक्ति, वर्ग र समुदायलाई समाजको महत्वपूर्ण सदस्यका रूपमा स्थान दिलाउने काममा सहकारीको गहन भूमिका रहन्छ ।
उपसंहार
विशेषतः वर्तमान समयमा वचत तथा ऋणसँग सम्बन्धित सहकारी संस्थाहरू भने सङ्ख्यात्मक रूपले बृद्धि हुँदै गएका छन् तर गुणात्मकतामा दिनानुदिन ह्रास हुँदै गएको देखिन्छ । यसको खास कारण भने सहकारी संस्थाका जिम्मेवार व्यक्तिहरू सहकारीताको मूल्य, मान्यता र सिद्धान्तप्रति इमान्दार नहुनु हो । अर्को कारण, सञ्चालन गर्न दिने सरकारी निकायहरूले आवश्यक सोधखोज गरी जानकारी नलिनु पनि हो । साना बचतकर्ताहरूको निक्षेप जोखिममा नपार्ने र संस्थालाई दीगो आर्थिक समृद्धिका रूपमा फुलाउन र फलाउनका लागि संस्थाका व्यक्तिहरूले विद्यमान ऐन, नियमअनुसार एवम् सहकारीको मूल्य, मान्यता र मर्मअनुसारको व्यवहार गर्न प्रतिबद्ध हुनुपर्छ । व्यक्तिगत लगानीका संस्थाहरूमा जस्तो व्यक्तिवादी चरित्र देखिने र व्यक्तिकै हालिमुहाली बढ्ने हो भने त्यस संस्थाले सहकारीको सैद्धान्तिक पाटो छाडेको ठहरिँन्छ । सम्बन्धित सरकारी निकायले आचरण विरुद्ध गएका संस्थाहरूको नियन्त्रण गरी सर्वसाधरणको हितमा कार्य गर्नुपर्ने अवस्था आएमा त्यसमा समेत चनाखो भइदिए नेपालको अर्थतन्त्रमा सरकारीको स्थान गौरवशाली हुने कुरामा दुई मत छैन ।
दक्ष जनशक्तिको व्यवस्था, पर्याप्त साधन र स्रोतको परिचालन, व्यवसायिक नेतृत्व विकास, व्यवस्थापकीय ज्ञान र दक्षतामा अभिवृद्धि हुन सके सहकारी संस्थाहरूले नेपालको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण हिस्सा ओगट्न सक्छन् । आत्मनिर्भर हुनु, मेलमिलापी र सहयोगी भावनाले समाजको उत्थानमा समर्पित रहनु, प्रतिभा पलायन हुनबाट रोक्नु, बेरोजगारी समस्याले समाजमा ल्याउन सक्ने खतराबाट जोगाउनुजस्ता आर्थिक एवं सामाजिक रूपान्तरणका अनगिन्ती काम गरेर सहकारी संस्थाहरूले राष्ट्रनिर्माणमा बलियो उपस्थिति जनाएका हुन्छन् भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
नन्दलाल आचार्य
मो.नं. ९८४२८२९२०६
