Skip to content

को हो रुने मान्छे ?


को हो राति राति चिहान घारीमा रुने ?
को हो राति राति पर्खालभित्र रुने ?

यदि तिमी
स्पाटाकस्का ननिझेका आँखाहरू हौ भने
संसारका कुना कुनाबाट
बन्धन चुडाल्ने करौंतीहरू लिएर उठ

यदि तिमी
चे ग्वेभाराका अतृप्त सपना हौ भने
बोलिवियाको जंगलबाट
एक फिलिङ्गो आगो लिएर उठ

यदि तिमी साइनिङपाथका दमित आत्माहरू हौ भने
पेरिसको बन्द पर्खालबाट
हथौडा लिएर उठ

को हो राति राति छातीभित्र रुने ?
को हो राति राति चुलोभित्र रुने ?

यदि तिमी एटम बमले तर्साएको मुटु हौ भने
यो शताब्दीको लाल लाल छापामार बनेर उठ

यदि तिमी कारखानाको हातको ठेला हौ भने
कहिल्लै नझुक्ने स्पातको पावेल बनेर उठ

यदि तिमी खेत खलिहानमा फुटेका पैतला हौ भने
संसार उलटपुलट गरी दिने हुरीको सन्तान बनेर उठ

को हो दोबाटोमा अलमल हुने ?
को हो आफैले आफैलाई चिथोरी रुने ?

यदि तिमी घाईते छापामारले मैदान मै छोडेको
बारुदको गुलाव हौ भने
करोडौं रक्तिम बारुदका जमराहरू लिएर उठ

यदि तिमी हिड्दा हिड्दै लत्रिएका
यात्रीहरूको आलो आलो पदचाप हौ भने
हिम चट्टान पगाल्ने आश्थाको नयाँ गोरेटो लिएर उठ

यदि तिमी ग्यास च्याम्बरमा पुरिएको
नरकंगालको तातो तातो खरानी हौ भने
यो झेली दुनिया बढारी दिने रातो तुफान बनेर उठ

बन्धनहरू तोडेर उठ
टुक्रिएका मनहरू जोडेर उठ
हिमालयको देशबाट उठ
मरुभूमिको प्रदेशबाट उठ
नरोउ आँशुहरूसँगै
नछेक आफैले आफ्नो बाटो
घामभन्दा अगाडि पुग्नु छ हामीले
र खोप्नु छ
ए त्यो
सहश्राब्दीको पल्लो पट्टी भञ्याङमा
एउटा नयाँ
अजम्बरी सपनाका गाथाहरू

राजु स्याङ्तान
महोत्तरी खयरमारा ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *