Skip to content

साहित्य र स्रष्टाको दायित्व


भनिन्छ, साहित्य समाजको दर्पण हो । यस कथनलाई मनन गर्ने हो भने हामी यतार्थ नजिक पुगेको अनुमान गर्न सक्छौ । किनभने समाजमा जति घट्नाहरू हुन्छन्- राम्रो, नराम्रो, सुख, दुख त्यसको सबै छाप साहित्यमा पाइन्छ । पहिले पहिलेको साहित्यमा मायाप्रीति प्रणयका स्वरहरूको बाहुल्यता रहने गर्थ्यो । तर अहिले साहित्य चलायमान छ, यो बोल्छ शांकतिक रूपमा, यो अमुर्त छ, मौनता साध्छ । यो आन्दोलित छ । गाउ शहरका फुटपाथ, गल्ली र बाटोहरूमा प्ले कार्ड बोकेर नेतृत्वबर्गलाई खबरदारी गर्छ ।

त्यो साहित्यलाई साहित्य भनिदैन । जो आफैमा विश्वास गर्न नसकिने होस् । अबको दुनिया प्रकृति बर्णन र व्यक्तिको स्तुतिमा रमौदैन । रमाउनु पनि हुदैन । साहित्य खरो हुनुपर्छ । समाजमा देखिने हरेक असन्तुलनको पर्दाफास हुनु पर्छ । मानव तस्करी, भ्रस्टाचार, यौन दुराचार, कम्लहरी, राजनैतिक दाउपेच, बहु विवाह, बाल विवाह, लिंगीय विभेद, धनी गरिब, उत्पीडन, पीडकको पीडा, कर्णालीका कथा व्यथा, सीमानाका नालीबेली, अपांग भएकाले पाएका पीडा, जात जाति, दलितका कुरा, बोक्सा बोक्सी भनेर गरिबलाई उठिबास लाउने छुद्र आरोप, सरनार्थीका कुरा, दिन प्रति दिन हजार दुई हजार बाहिर जाने युवा युबतिको कथा सबै बिषयको भित्रसम्म पसेर पात्रको सम्बादद्वारा सत्यको खोजी र असत्यको शब्दद्वारा शिर क्षेदन गर्नु पर्छ । राष्ट्रको श्रीबृद्धिमा लेखक सधै प्रयत्नशील रहनुका साथै हरेक नेपाली मात्रमा राष्ट्रियताको बिगुल फुक्न स्रस्टाले पछि पर्नु हुदैन ।

नेपाली समयको काल खण्डमा लेखिएका केही साहित्यिक पुस्तकहरूले त्यो समयलाई मात्र होइन अहिले सम्ममा पनि उतिक्कै प्रिय रहेको झलक र प्रेरणा दिइने कुरामा शंका छैंन । आदिकवि भानुभक्त आचार्यको नेपाली “रामायण ” जसले त्यो बेलाका सारा नेपालीलाई नेपाली भाषा घर घर जनजीव्रोमा झुन्ड्याउने काम गरेको छ । त्यस्तै गोपाल प्रसाद रिमालको “आमाको सपना “कविता कृति जसले बीक्रम सम्बत २००७ को क्रान्तिलाई सफल हुने कुरामा लक्षित गरिएको छ । त्यस्तै एक चिहान र स्वास्नी मान्छे हृदयशिंह प्रधानका उपन्यास कृतिले समाज रुपान्तरणमा टेवा दिएका छन् । मुना मदन, तरुण तपसी, घुम्ने मेच माथि अन्धो मान्छे, चिसो चुल्हो, बसाइ, मुलुक बाहिर, दोषी चस्मा,, मानव, साल्गिको बलात्कृत आशु, गौरी, नया सडकको गीत, जुनकिरीको संगीत, नया घर, बिसे नगर्ची (क्रमश देबकोटा, लेखनाथ, भूपी, सम, लिल बहादुर, बांग्देल, बी पी, प्रसित, पारिजात, घिमिरे, विकल, संग्रौला, विश्वभक्त दुलाल, श्रावन मुकारुंग)सम्म आइपुग्दा नेपाली साहित्य धेरै मेच्युर र चेतनशील हुदै आएको छ । (अरू पनि कैयौ कालजयी कृति र लेखक नभएका होइनन् तर यो छोटो लेख क्रान्तिका कुराबारे र अमर कृतिको कुरा बारेको प्रसंगले गर्दा ती सबै समेट्न नसकिएकोले म क्षमा प्रार्थी छु । )

साहित्य बहशको बिषय अबस्य होइन । तर पनि असल र उन्नत साहित्य सिर्जना गर्नको निम्ति बहसको महत्वलाई नकार्न सकिदैन । दुर्भाग्यबश साहित्य राजनीतितिर लागे जस्तो भान हुन्छ । किनभने राजनीतीलाई स्वार्थको दलदलबाट मुक्त गराउन, जनता केन्द्रित बनाउनको लागि घच्घच्याउने काम साहित्यको हो । न कि कर्तब्य भुलेर नेताबाट पुस्तक बिमोचन गर्न लाउने, मूर्ति अनावरण गर्न लगाउन लगाई मान सम्मान पाउने । जुन प्रवृतिको भुत केन्द्रदेखि मोसफलसम्मका साहित्यकारहरूमा पाइन्छ । जुन राम्रो शंकेत होइन । साहित्यकारलाई अमेरिका, युरोपतिर अत्यन्तै सम्मानकोसाथ हेरिन्छ । एउतै नाटक, उपन्यास कृति निकाले बापत जीविका चल्छ । तर यहाँ त्यो स्थिति छैन । यहाँ त कविता टेलिफिल्ममा शुद्द भन्न लगाएर सुन्ने मान्छे भाग्दै गरेको देखाइन्छ । कस्तो दुर्भाग्य यहाँ त्यस्ता कवि सर्जकहरू छन् जो पार्टी, भट्टी जहाँ पनि फुर्यो फुर्यो भन्दै शुरू भै दिन्छन् । कविता सुनाउन उताउला हुन्छन् । साहित्यको पनि आफ्नो छुट्टै स्थान र गरिमा छ । त्यो स्थान र गरिमाको स्रष्टाले सम्मान गर्नु पर्छ । साहित्यिक समारोह या संचारका माध्यामले गरेको साक्षात्कार कार्यक्रमबाहेक कहीं पनि लेखकले आफ्नो सिर्जना सुनाउने धृस्टता नराखेमा श्रेयस्कर (उत्तम) हुने कुरामा दुई मत नहोला । जादाजादै अहिले नेपाली साहित्यमा देखिएका बादहरू पनि छन्- जस्तो कि आयामेलीवाद देखि लिएर, रंगवाद, झर्रोवाद, बुट पालिसवाद, बहुरंग्वाद, उत्तर आधुनिकवाद, लिलावाद, अजारकवाद, बिलयनवाद, भय वाद देखिएका छन् । यी सबैको उदेश्य नेपाली साहित्यको श्री बृद्धि नै भएकाले यी सबैलाई राम्रो या नराम्रो भनी टिप्पणी गर्नु हतार र अदुरदर्शी कार्य होला कि । यसको जिम्मा समयले नै लिनेछ तर सरलता, यतार्थतता, समाजिकता र बस्तुवादी चिन्तनको छनक चाहि साहित्यमा हुनुपर्छ भन्ने मेरो मान्यता रही आएको छ ।

अस्तु :

@विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल :अबुधाबी, यू ए ई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *