Skip to content

तिमी टाढा नभाग


तिम्रो पक्षमा म बोल्छु सधै
तिमी टाढा भाग्छौ किन ?
मातृभाषाको अनादर गरी
आमाको सम्मान चाहन्छौ तिमी !

तिम्रो मगजबाट यी तुच्छ कुराहरू हटाइदेऊ
मातृभाषाको अपमान गर्दा तिमी बन्दैनौ देशभक्त
ऊ त साच्चै तिम्री आमाको अपमान चाहन्छ
तर तिमी उसलाई विश्वास गर्छौ
तिमी उसलाई विश्वास नगर
ऊ त तिम्रो कुभलो चाहन्छ ।

म तिमीलाई देशभक्त बन्न प्रेरणा दिदैछु
बस विश्वास वा शंका तिमीमा निर्भर
तिमी उसलाई विश्वास गर मलाई शंका अथवा
मलाई विश्वास उसलाई शंका
तिम्रो पक्षमा म बोल्छु तिमी
टाढा भाग्छौ किन ?

माया सधै आमाबाट पाउछौ
तिमी सेवा अरुको नै गछौ
तिमी सधै धनी बन्न चाहन्छौ
तर बस्तु प्राप्तिपछि जतन गर्दैनौ
त्यसैले तिमी उपदेशलाई तितो नमान
आफ्नी आमाको सम्मान गर
मातृत्वको रक्षा गर

म त तिम्रै पक्षधर मान्छे हुँ
तिम्रै पक्षमा बोल्न चाहन्छु
तिमी टाढा किन भाग्छौ
उपदेश पाउदैमा
मातृभाषाको सम्मान गर्दैमा
देशभक्त बनिदैन
शिरदेखि पाउसम्म बुझ
आचरण सुधार

भक्त कुनै पद होइन
यो त केवल आस्था हो
ऊ त तिमीलाई केवल
गाईलाई लात हानेर बाच्छीको पूजा गर्ने कुरा सुनाउदछ
सबैले देख्ने गरेर किताब पढेर
मात्रै ज्ञानी भइदैन भन्ने कुरो सिकाउदैन उसले
तर तिमी उसलाई शंकै नगरी भरोसा गर्छौ
मबाट टाढा भाग्छौ

बाहिर जलप लगाएर तयार पारिएका ठक्यौला
गहनाहरू उसका नजरमा तिमीलाई देखाउने
सुन हो
तर मेरो परिभाषा अनुसार सुन जलप होइन
नम्बरी सुन नै सुन हो जो हजारौ
बर्ष पानीमा राख्दा पनि हराउदैन
त्यसैले यी सबै कुरा ब्यर्थमा बकबास
बोल्दैछु बस मेरो मर्म त देशभक्ति र मातृभक्ति

यी दुईको लागि मात्र मैले तिम्रो मगजमा
छाप लागोस भन्न धेरै कुरा बोले
हुन पनि तिमीले मातृभाषा
अथवा जुन भाषाले तिम्रो जीव्रोले हल्लिन सिक्यो
त्यही भाषाको सम्मान नगरी
त्यही भाषा सिकाउने आमालाई प्रेमको नाटक देखाउन
बाहिर जलप लगाएर आकर्षक पारिएका गहनाहरूलाई सुन सम्झेर
महिला सिर्गानु जस्तै हुनेछ ।

त्यसैले तिमी आमाको रक्षा गर मातृभाषाको
रक्षा गर देशभक्त बन
म तिमीलाई यस्ता त हजारौ सुसन्देश दिनेछु
विश्वास गर तिमी टाढा नभाग
तिमी टाढा नभाग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *