“हेर् पुष्पा मलाई त यो बच्चीको असाध्यै माया लागेर आयो ।” त्यो दिन म स्कूलबाट आउदै थिएँ, रेणु आँगनमा थिई ।

“अहो ! कति धेरै माया गरेको हो बहिनीलाई ? मामु खोइ त नानी ? ”

“म त अंकल आन्टीकोमा बस्छु ।”

“अनि … ? तिम्रो घर चाहिं कहाँ हो ?”

“रामेछाप, गाउँको अंकल आन्टीले काठमान्डौमा पढाउँछौं भनेर ल्याउनु भएको ।”

“कतिमा पढ्छ्यौ ?”

“स्कूल त जादिन ।”

“म माथ्लो तलाको अन्तिमको कोठामा बस्छु, तिमीलाई फुर्सद भएको बेलामा मेरोमा आऊ ल ?”

“हस् दिदी !”

मेरो रेणुसँगको त्यो पहिलो भेटमा नै यो बच्चीको निर्दोश बोलीले मेरो मनमा एउटा नमेटिने छाप छोडिसकेको थियो । काठमाडौंको ब्यस्त जीवन, आफ्नो पढाई र जागिरको बाबजुद गुलाबको कोपिला जस्तो त्यो सुन्दर मुहार हरपल, हरक्षण आँखा वरिपरि नाचिरहन्थ्यो र उसका ती अबोध शब्दहरूले नमिठो गरी बिझाइरहन्थ्यो । रेणुलाई धेरै दिनसम्म कुरें कोठामा आउली कि भनेर ऊ आइन तर मेरा आँखाहरू उसैलाई पछ्याइरहेका हुन्थे, मैले गल्ती गरें या सही म सधैं अप्रत्यक्ष रुपमै उसको निगरानी गरिरहेकि हुन्थें । कहिले ढुंगेधाराबाट आफूभन्दा ठूलो बाटाभरि चिसा लुगा बोकेर आइरहेकी हुन्थी त कहिले त्यही नानीलाई पिठ्युँमा सलले बाँधेर लर्खराउदै डुलाइरहेकि हुन्थी । भाडा माझ्नु, घर सफा गर्नु, नानी हेर्नु देखि लिएर एउटी गृहिणीले गर्ने काम सबै उसैले गरिरहेकी हुन्थी । म कोठामा भएको समय र मेरो नजरले देखेसम्म त्यो बालिकाको काँधमा एउटा ठुलो जिम्मेवारी सुम्पिदिइएको थियो । अस्ति पौष माघको जाडोमा पनि चिसो पानीमा काम गर्दा हात खुट्टा सुन्निएर र गाला चर्चरि फुटेर रगत झर्ला झैं भएको थियो र पनि उनीहरूले केही वास्ता नै गर्दैन थिए । जसको रेखदेखमा ऊ ल्याइएकी थिई, उनीहरूकै रेखदेखमा दिनरात तल्लिन यो बच्चिको हालत देख्दा के गरौं कसो गरौं भन्ने एक किसिमको औडाहा भइरहन्थ्यो मनभरि ।

एकदिन साँझपख सबै जना खाने पानी थाप्न भनेर धारामा जम्मा भएका थिए, म पनि निस्किएँ बाल्टिन बोकेर । रेणु पनि पानी थाप्ने लाइनमा उभिएकी थिई । सधैं उसले बोक्ने गरेको बच्चा एकजना महिलाले बोकेको देखेर सोधें, “तपाईंको नानी हो ?”

“हजुर ।”

“खुसी लाग्यो यहाँलाई भेटेर, एउटै घरमा बस्छौं र पनि हामी बीचमा अँझै चिनजान भएको छैन । म बिन्दु, टि.युमा मास्टर्स गर्दैछु र यहीं बानेस्वरमा टिचिङ् पनि गर्दैछु ।”

मुस्काउदै बोलिन्, “म पनि ताहाचलमा बि.एड. पढ्दैछु । श्रीमान सिंहदरबारमा शैनिक हुनुहुन्छ, हाम्रो घर चाहिं रामेछप ।”

मनमनै यो सोच्न बाध्य भएँ कि मान्छेको बाहिरी आवरणसँग मनको मेल खाँदो हो त संसार साँच्चिकै सुन्दर हुनेथियो । मानवीयतामा कतै कलंक लाग्ने थिएन, जसरी यो धोबी खोलाले आफैंलाई कुरुप बनाउदै छेउछाउका बस्तीहरूमा नमीठो गन्ध फ्याँकेर बगिरहेको छ । यो शहर, यी सभ्यताको खोल ओडेका तर भित्रभित्रै फोहोरको डंगुर बोकेका मान्छेहरू अनि यो कालो नदीको तादात्म्यता देखेर मन एकदमै भारी भएर आयो, लाग्यो मिल्ने भए यी सबै कलुसित कुराहरू बान्ता गरेर फ्याँकिदिउँ ।

धेरै दिनदेखि रेणु र ऊ बाँचेको परिवेश मात्र मेरो दिमागमा आएर सताइरहन्थ्यो । देख्नलाई ऊ मेरो कोही थिइन र पनि बिद्रोह र आक्रोसले भित्र भित्रै उथलपुथल बनाइरहेको थियो । सायद, निश्चय नै ऊ मेरो लागि कोही थिई ।

“ऐया नि आमा मरें, सरि आन्टी मैले नजानेर हो, अब देखि यस्तो गर्दिन, प्लिज नकुट्नुस् न” भन्दै रेणु रोइरहेकी थिई ।

सानो सानो गल्तीको लागि कठोर यातनाहरू भोग्नु पर्थ्यो उसले । त्यो दिन पनि फ्लाई प्यानलाई सफा पार्छु भनेर स्टिलझुसले माझ्दाको सजाय भोगिरहेकी थिई ।

मेरो धैर्यताको बाँध टुटिसकेको थियो । स्कूलमा प्रिन्सिपललाई फोने गरें, ज्वरो आएको कारण एकदिनको लागि बिदा मिलाइदिनुस् भनेर । अनि तल झरें, ऊ हिक्क हिक्क गर्दै भुईंमा लडिरहेकी थिई । यताउता नियालें कोठामा कोही थिएन । उसलाई उठाएर मेरो कोठामा लिएर आएँ र एक गिलास दुध तताएर दिएँ । जति नै मायाले सुम्सुम्याए पनि घाउ त घाउ त नै थियो । झन रुन थाली । काखमा लिएर बसें । मेरो पनि आँशु थामिएन ।

निकै बेरपछि सोधें, “घर जान्छ्यौ नानी ? म तिम्रो घर पुर्‍याइदिन्छु है ?”

थाकेको स्वरमा बोली, “नाई दिदी म घर जाँदिन ।”

उसलाई मनाउने कोसिस गर्दै फेरि भनें, “यस्तो छुच्चि आन्टीकोमा बस्नु हुँदैन, तिमीलाई म आफैं पुर्‍याइदिन्छु नि है ? घरमा को को हुनुहुन्छ ?”

निकै बेरको मौनतापछि त्यहाँ एउटा बालपीडा बोलिरहेको थियो, “दुई बर्ष अगाडि म मामा घर गएको थिएँ, त्यही बेलामा घरमा पैह्रो गएछ अनि सानो भाइ, आमा-बाबा सबै जना बित्नु भएछ । त्यसपछि म काका घरमा बसेकी थिएँ अनि यो अंकल आन्टीले मलाई यहाँ लिएर आउनु भएको ।”

म अवाक भएँ ।

भनिन्छ, अपराध गर्नुभन्दा सहनु पाप हो, एकमनले सोचें सिविनलाई सबै यथार्थ सुनाएर फुच्चिलाई यो जंजालबाट निकालुँ, अनि फेरि मेरो अर्को मानवीय मन बोल्यो, किन म आफैंसँग नराखुँ यो टुहुरी बच्चीलाई ? अरु केही दिन नसके पनि माया त दिन सक्छु । कानून, अधिकार सबै सबैभन्दा माथि त मानवीयता नै हुन्छ ।

मेरो दिमाग र मनमा मनले नै जित्यो र मनमनै निर्णय गरें “आजबाट तिमी मेरी छोरी भयौ । अब तिमीले यो नूनिलो आँशुले पेट भर्नु पर्दैन । जीवनको दोबाटोमा भेटिएकी यो ‘आमा’ले तिमीलाई एउटा योग्य मान्छे बनाउनेछे । अरु केही दिन नसकुँला तर एक ओठ मुस्कान उपहार दिनेछु जहाँ अपनत्वको अभावमा आँशुको ढिक्का खस्ने छैन ।”

फेरि उही कर्कस आवाज आयो , “रेणु ! ए रेणु कता गइछे फेरि ? छिटो आइज, घरभरि जुठा भाँडा छोडेर कहा घुम्दैछस् ?”

मैले फेरि त्यहाँ नजान अनुरोध गरें र भने, अब हामी यहीँ बस्ने, सँगै । नजाऊ है त्यो आन्टीकोमा ।

नाई दिदी फेरि आन्टी रिसाउनुहुन्छ भन्दै जुरुक्क उठेर तल झरी ।

“हेर् पुष्पा ! अब म यहाँ बस्दिन, अन्तै कोठा सर्छु र रेणुलाई पनि लिएर जान्छु । कानूनसँग लड्नु परे पनि लडौंला तर यी निर्दयीको हातमा यो अबोध बच्चीलाई तड्पिएर मर्न दिंदिन ।” बिन्दुको निर्णयलाई मैले पनि सहर्ष स्विकृति दिएँ र आवश्यक परेमा सहयोग गर्ने बचन पनि ।

… … … … … … … … … … …

त्यो गाउँमा खाने पानी त जसोतसो पुग्थ्यो तर नुहाउन, लुगा धुन सुकुम्बासी बस्ती छेउको ढुंगेधारामा जानु पर्थ्यो । त्यसको भोलि पल्ट साँझ पख बिन्दुको कोठाको सामान मिलाउन सघाउनका लागि गएकी थिएँ । चार पाँच दिनदेखि साउने झरि परिरहेको थियो, त्यही दिन दिउँसोबाट बल्ल आकश उघ्रिएको थियो । अलिकति लुगा पनि धुनु छ भनी बिन्दुले र ढुंगेधारातिर लाग्यौं । रेणु पनि बच्चाको लुगा धुँदै रहिछ ।

“के छ नानी ? लुगा धोइसक्यौ ?” बिन्दुको प्रतिउत्तरमा हामीलाई हेरेर आँखाभरि आँशु पारी । बिचरी १० बर्षको उमेरमै यति ठुलो जिम्मेवारी ? निकै थकित र मलिन देखें उसलाई । बिन्दु त्यसै तड्पिएकी होइन रहिछे । त्यो सुन्दर बालमुहारको बेदनाले एकपलमै मेरो पनि मुटुमा धक्का दिएर गयो । बिन्दु उत्तिकै आतुर थिई र उचित समय पर्खिरहेकि थिई, उसको एकल निर्णय रेणुलाई सुनाउनको लागि ।

यत्तिकैमा लुगाको बाटा धारा छेउमा राखि अनि खोलाको डीलमा बसेर त्यो धमिलो पानीमा एकटकले हेर्दै छेउ छेउमा सर्दै थिई । “नानी खोलाको छेउमा नजाउन लडिन्छ” भन्दै समाउन कुद्दै थिई बिन्दु, छप्ल्याङ्ग गर्यो । ओहो ! कति नमिठो आवाज । सपना हो या बिपना छुट्याउनै गाह्रो भयो । एकैछिनमा रेणुको आकृति नदीबाट पनि हरायो । बिन्दुको क्रन्दनले सिङ्गै बस्ती उचाल्यो । वरिपरिका सबै भेला भए र रेणुलाई बाहिर निकाले । रेणुलाई काखमा सुम्सुम्याउदै बिन्दु रोइरहेकी थिई । उसको शरिरको धमिलो पानीलाई बिन्दुको आँशुले पखालिरहेको थियो । “छोरी ! मेरी छोरी यो के गर्यौ तिमीले ? म तिमीलाई आफूसँगै राख्छु भन्दै थिएँ, किन यति भन्ने मौका पनि दिइनौ ?

ए ~~~ ! एम्बुलेन्सलाई कल गर न । ढिलो नगरन ।

प्लीज ! ”

रेणु चिसी भइसकेकी थिई ।

त्यो अबोध अनुहार उस्तै निर्दोष अनि शान्त थियो । भय र पीडारहित थियो । यता भीड बोलिरहेको थियो “कठैबरा बच्ची त सकिइसकिछ ।”

साँच्चै रेणु मरी ? आखिर कहिले बाँचेकी थिई र ? रेणु यो सांसारिक जंजालबाट एक निमेषमै टाढा भइसकेकी थिई ।

उषा न्यौपाने
झापा, नेपाल ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *