१)
बाउसे भन्ने नै नभए कोदाली कहाँ हुन्थ्यो
ओराली भन्ने नै नभए उकाली कहाँ हुन्थ्यो
अब आफै कल्पना गर्नु होस् त मेरो हजुर
मायाँ गर्ने श्रीमती नै नभए ससुराली कहाँ हुन्थ्यो ।
२)
अगाडि पछाडि भीड हुनेको भारी फुर्ति हुन्छ यहाँ
चोर गुण्डाहरूकै सधैं भरि ईच्छा पूर्ति हुन्छ यहाँ
न्यायको लिलाम बढाबढ हुनुमा के आश्चार्य भयो र जब
कुकुर बिरालाको रोटी लुट्ने बाँदर न्याय मूर्ति हुन्छ यहाँ ।
३)
सुकेर नाङ्गिएको वृक्षको छायाँ कहाँ हुन्छ र
भोक नाङ्गाहरूको भाषा दायाँ बायाँ कहाँ हुन्छ र
अरिंगालको गोलामा हात हाल्न सजिलो होला बरु
सर्बहाराहरूलाई ज्यानको मायाँ कहाँ हुन्छ र ।
४)
तिमी जस्ती कन्या पाए घरबार बन्न सक्छ
तिम्रै मनको मझेरीमा दरबार बन्न सक्छ
आपसी हार्दिकता र विश्वासको खडेरीमा
हाम्रो सम्बन्ध एक अर्कालाई सिध्याउने तरबार बन्न सक्छ ।
५)
माछापुच्छ्रे परी देखेर खुशीले नाच्न मन लाग्छ
स्वर्गमा छु कि नर्कमा छु बारम्बार जाँच्न मन लाग्छ
टाउको ठड्याउँदा स्वर्गमा पुग्छु निहुर्याउँदा नर्कमा
पोखराको सडक देखेर खित्का छोडी हाँस्न मन लाग्छ ।
