कोदाली र हथौडाले उठाएको फोको देखेँ
अन्न सबै साहुकोमा किसान ऊ भोको देखेँ
पोखिरा’छ परिश्रम उब्जा राम्रो बनाउन
पेट भर्ने केही छैन पिरै पीरको पोको देखेँ
अन्न सबै साहुकोमा किसान ऊ भोको देखेँ
माटो चिसो त्यसै होइन उसैको त्यो पसिना हो
चिथोरेर माटोलाई सुन झिक्ने धोको देखेँ
अन्न सबै साहुकोमा किसान ऊ भोको देखेँ
यसपालीको खडेरीले बाली राम्रो फस्टाएन
‘अब ऋण केले तिर्नु?’ चिन्ता गर्दै रो’को देखेँ
अन्न सबै साहुकोमा किसान ऊ भोको देखेँ
“एकपल्टलाई माफ दिनुस् अर्को साल फलाउँछु”
हात जोड्यो मालिकलाई फेरि खुट्टा छो’को देखेँ
अन्न सबै साहुकोमा किसान ऊ भोको देखेँ