माघे सक्रान्तिको बिहान । मासुको भाग लगाउँदै गरेको नेप्टे साँहिलाको आँगनमा मासु लिनेको भीड थियो । सेवा निबृत जुङ्गे हवल्दार पनि मासु लिन टुप्लुक्क आई पुग्यो र आफ्नो खुँडा कट् जुङ्गा बटार्दै रवाफ्दार स्वरमा भन्यो – “ए नेप्टे ! जुङ्गा हेरेर भाग लगा !”
नेप्टेले आदर पुर्वक भन्यो – “हुन्छ हवल्दार बा !”
“हुँदैन ssss नेप्टे दाइ, हुँदैन । मान्छेको टाउको हेरी भाग लगाऊ,” नेप्टेको वोली भूँईमा खस्न नभ्याउँदै भीडबाट एउटी महिलाको कर्कस स्वर घन्कियो ।
“को हो त्यो हुँदैन भन्ने ? हवल्दार बाको प्रस्ताव एकदम मनासिब छ । जुङ्गा वास्तवमै पुरुषत्वको प्रतिक हो । ए नेप्टे भाइ बाले भने मुताबिक गर ।” तरवार कट् जुङ्गावाल कड्कियो .।
“म हो sss लौ के गर्न सक्छौ हेरौं त पाइन । बडो आएछ – जुङ्गाको धाक लाउने । कोही कल्कलाउँदो देखिन जुङ्गा दारी खौरन्छन् त कोही व्यक्तित्व देखाउन जुङ्गा र दारी पाल्छन् अनि कसैको जुङ्गा देखाउन नहुने ठाउँमा हुन्छ र पो नत्र तपैका जस्ता जुङ्गा सबैका छन् । बडो आएछ जुङ्गा हेरी भाग लगाउन खोज्ने ? जागिरमा नहुँदा त तपैको जुङ्गाको यो रवाफ छ झन् जागिर छँदा जनतालाई कति सताउनु भो होला ? चौंरीको पुच्छर जस्तो जुँगा पालेर जुङ्गा भत्ताको रवाफ देखाउन खोज्ने ? कि हामीलाई महिला भनेर हेप्नु भाको ?”
“ए SSS हाम्रो जुङ्गालाई चौंरीको पुच्छर भन्ने ? अनि देखाउन नमिल्ने जुङ्गासँग दाँज्ने ! यो आईमाई त मापाकी रहिछे ।” जुङ्गे हवल्दार कड़किदै पाखुरा सुर्कन थाल्यो ।
जुङ्गे हवल्दारलाई तरवार कट् र हिटलर कट् जुङ्गा वालहरूले साथ दियो ।
“ओ हवल्दार बा ! तपैको यो जुङ्गाले पंचायत कालमा राणा कालमा जुङ्गा भत्ता पचायो होला, त्यो त ठिकै छ । किनभने त्यति वेला सोझा सिधा जनतालाई तर्साउन सेना प्रहरी वृतमा जुङ्गा भत्ता दिइन्थ्यो तर अब त्यसको सान्दर्भिकता सकिएको छ । चौंरीको पुच्छर कम्तिमा झिंगा धपाउने काम त गर्छ तर तपैहरूका जुङ्गाको त त्यति पनि काम छैन । अब यो लोकतन्त्रमा तपैहेरुको जुङ्गा देखेर कोही तर्सिने वाला छैनन् बुझ्नु भो, के फुटानी लाउनुहुन्छ जुङ्गाको ?” क्लिन कट् एउटा व्यक्तिले जुङ्गेहरूलाई चुनौती दियो ।
यो ठाडो चुनौतीलाई महिला तथा अन्य केही क्लिन कट् पुरुषहरूले तालि पिटेर समर्थन जनाएको देखेर आफ्नो तेजोबध हुन नदिन जुङ्गेहरूले अडियल पन देखाउँदै पाखुरा सुर्कदै मनपरि बोल्न थाल्यो । त्यसले गर्दा भनाभन बिकसित हुँदै मासु लिन आउनेहरू तीन दलमा बाँडिए । एउटा दल जुङ्गे हवल्दार पक्ष अर्कॊ महिला पक्ष र अर्को तटश्थ । भनाभन बिकसित हुँदै हात मिसमिस हुन थाल्यो । मासु लिन आउनेको ध्यान झगडामा केन्द्रित हुँदा मासुका भागहरूमा भुस्याहा कुकुरहरूको रजाईं चलेको पत्तै पाएनन् ।
