कुरा ‘पुण्य कार्कीको कथाकारिता’ कृतिको

LaxmiRijal

नेपाली र मैथिली साहित्यमा नाटक, एकाङ्की, आख्यान, निबन्ध, कविता र समालोचना फाँटमा उदाउँदै गरेका उदयपुरे प्रतिभाको नाम हो– नन्दलाल आचार्य ।

विगत अढाई / तीन दशक अघिदेखि अविराम अक्षर साधनामै निर्लिप्त डुबिरहेका सर्जक नन्दलाल आचार्य (२०३०) पेशाले शिक्षक हुन् । अखवारी लेखनमा समेत उत्तिकै अब्बल आचार्य विशेष गरी शैक्षिक र शैक्षणिक लेखहरूमा दख्खल राख्छन् ।

विभिन्न साहित्यिक पत्र–पत्रिकाहरूमा आबद्धता जनाउँदै सम्पादनको समेत भूमिका निर्वाह गरेका उनले साहित्यिक र अखवारी स्तम्भहरू र क्षेत्रमा धेरै ओटा पुरस्कारहरू समेत प्राप्त गरेका छन् । २०६७ सालमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटक / एकाङ्की सङ्ग्रह, २०७६मा ‘गरुराहा’ नामक उपन्यास, सन् २०२१मा ‘एक हाते जीवन’ (निबन्ध सङ्ग्रह) प्रकाशन गराएका आचार्यको प्रस्तुत ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचना सङ्ग्रह) चौथो कृति हो । आचार्यको ‘समय–शल्यक्रिया’ (कथासङ्ग्रह), ‘इच्छुक–बकपत्र’ (निबन्ध सङ्ग्रह), जुइनो (कथासङ्ग्रह) ‘टुक्के दिदी र उखाने दाइ’ (बाल–एकाङ्की सङ्ग्रह) प्रकाशनार्थ प्रेसमा पुगेका र प्रकाशनको लहरमा बसेका छन् ।

समालोचक स्वयम्मा सत्यको अन्वेषक यात्री हो । यसले रजहाँसलेजस्तो दूधको दूध पानीको पानी छुट्याउने सामर्थ्य राख्तछ । रचना र कृतिभित्र छिरेर सूक्ष्म नजरले गुणदोष पर्गेल्नु समीक्षक / समालोचकको मूल धर्म हो ।

यसमा आग्रह र पूर्वाग्रहको अलिकति पनि छाया पर्यो भने ऊ आफ्नो धर्मबाट च्यूत रहने सम्भावना सधैँ विद्यमान रहन्छ । नियतवस कसैलाई खुशी बनाउन या खुइल्याउन लेखिएका समीक्षा र समालोचनाहरू समालोचकीय मर्मबाट ओझेल पर्न सक्छन् । नेपाली साहित्यमा समालोचना फाँट बञ्जर र संंकुचनमा पर्दै गएको प्रदोषकालमा नन्दलाल आचार्यको समालोचनात्मक कृति प्रकाशन भएको हो ।

मोफसलमै रहेर कलम चलाइरहेका कथाकार पुण्य कार्कीका ६ वटा कथा सङ्ग्रहहरूको सम्यक निरीक्षण / परीक्षण गरी तयार भएको सङ्ग्रहमा पाँच समीक्षात्मक आलेखहरू संकलन गरिएको छ ।

कृतिको प्रकाशकीयमा भनिएको छ– समालोचनाले सत्यसित सरोकार राख्तछ । त्यसैले समालोचकीय कार्य सहज र सजिलो छैन । अनेकौँ घुम्ती र कुइनेटाहरूबाट गुज्रँदै उनले यी आलेखहरू रचेका छन् । समालोचक हमेसा एउटा न एउटा चुनौती र जोखिमबाट गुज्रिरहेको हुन्छ । त्यो जोखिम बहन गर्नसक्ने उनको क्षमतालाई साधुवाद छ । यो कृति जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरलाई प्रकाशन गर्ने जिम्मेवारी दिएकामा अनुगृहित छौँ । (पृष्ठ– घ)

श्रीत्रियुगा जनता बहुमुखी क्याम्पस, त्रियुगा नगरपालिका– ३, मोतीगडा, उदयपुरका सहायक क्याम्पस प्रमुख टीकाप्रसाद पौडेलको ‘अनेक लेखको एकीकृत सङ्ग्रह : सतही सर्वेक्षण’ शीर्षकको भूमिकामा समालोचनात्मक कार्यको चर्चा गर्दै भनिएको छ– समालोचनात्मक कार्य लिखित कृतिको चिरफार र पुन: लेखन हो । यस कार्यले समीक्षित कृतिको गुण दोष मात्र केलाउने नभई समालोचकले कुन विश्वदृष्टिले हेर्ने र केलाउने भन्ने कुराले बढी महत्त्व राख्दछ । समीक्षकको फरक विश्वदृष्टिका कारण एउटै रचनाबाट फरक आस्वादन ग्रहण गर्न सकिन्छ । (पृष्ठ– ङ)

समीक्षक लक्ष्मी रिजाल

प्राज्ञिक जगत्मा पछिल्लो समयमा अनुसन्धानात्मक लेखको महत्त्व बढ्दै गएको पाइन्छ । अरू सामान्य समीक्षा वा समालोचनाको जस्तो नभई यसको विल्कुलै फरक ढाँचाकाँचा रहेको छ । यस कृतिमा समेत पछिल्ला चरणमा विकसित सिद्धान्तलाई मुख्य आधार मानिएको छ । विविध विज्ञसमीक्षित अनुसन्धानात्मक लेखमा रहेको संरचना र प्रस्तुति ढाँचाको साझा मापदण्डको पहिचान गरी यस कृतिमा त्यसको प्रयोग गरिएको छ ।

अहिले आएर यस किसिमका लेखलाई विज्ञसमीक्षित लेख (पिएर रिभ्यु आर्टिकल) भनिने गरिएको छ । यसमा विशेष गरी सन् २०१०मा प्रकाशित एपिए ढाँचाअनुसार धेरै काम गरिएको छ । अनुसन्धेय विषयमा निश्चित समस्याको समाधान खोज्ने उद्देश्यले अनुसन्धान गरिएको हुन्छ ।

विज्ञसमीक्षित लेखमा सर्वप्रथम अनुसन्धेय लेखको शीर्षक राख्ने नियम छ । यस कृतिमा शीर्षक राख्ता क्षेत्र, विषय, समस्याको उठान गरिनुका साथै निष्कर्षको समेत सङ्केत होस् भन्ने ठानेर काम गरिएको छ अर्थात् शीर्षक चयन गर्दा समग्र लेखको परिचय, समस्या र निष्कर्ष समेट्ने कोशिस भएको छ । यस कृतिमा राखिएका शीर्षक सकभर छोटो, छरितो र स्पष्ट, समाधानमुखी, उपयोगी र सार्थक बनून् भनेर प्रयत्न गरिएको छ ।

दोस्रोमा ‘सारसंक्षेप’ समेट्ने काम गरिएको छ । त्यसका लागि समेटिएका अनुसन्धेय लेखहरूमा समस्याको समाधान गर्ने व्रmममा उद्देश्य प्राप्त गर्न सके नसकेको, शीर्षक अनुसारको लेख उपयोगी छ छैन भनी प्रारम्भिक परिचय दिनको लागि लेखसार प्रस्तुत गरिएको छ । यसमा लेखको विषय वा क्षेत्र, मूल समस्या, समाधानका विधि, विषय विश्लेषण तौरतरिका, लेखले पाठकलाई दिएको कुरा, अनुसन्धानमा लागेको समय, श्रम र पूँजीको लागतको कुरो, पूर्वज्ञानको सन्दर्भ, भविष्यका लागि दिएको योगदान समेटेर लेखसार तयार पारिएको छ ।

यस कृतिमा जानकारीमूलक र वर्णनात्मक गरी दुवै थरी लेखसारको उपयोग गर्न खोजिएको छ । जानकारीमूलक लेखसारमा शोधकार्यको महत्त्व, कारण, पऋणाम तथा निष्कर्ष समेटिएको छ । अर्कातिर वर्णनात्मक शोधसारमा किन, कसरी जस्ता प्रश्नको जवाफ खोजिएको छ अर्थात्् लेखसारमा केके गरेँ; केके छन् भन्ने प्रश्नमा केन्द्रित छ ।

तेस्रो भागमा अनुसन्धेय लेखमा प्रयुक्त पारिभाषिक शब्दहरू ‘शब्दकुञ्जिका’मा समेट्ने काम गरिएको छ । लेखमा नयाँनयाँ शब्द पनि प्रयोग भएका हुनसक्छन् तिनको ज्ञान पाठकलाई हुनुपर्छ भन्ने ध्येयले लेख पढ्न र बुझ्न पाठकलाई सहज होस् भनेर सहजीकरणस्वरूप शब्दकुञ्जिकाको प्रयोग गर्ने नियमलाई पनि अबलम्बन गरिएको छ ।

विषय प्रवेश सामग्री सङ्कलन र विश्लेषणका लागि अध्ययन विधिको जरुरत पर्दछ । शोध समस्याको हल के–कसरी गर्ने भन्ने समस्याको समाधानका लागि अध्ययन विधिको प्रयोग गरिएको छ । अनुसन्धेय लेखलाई वैध, विश्वसनीय, व्यवहारिक, प्रामाणिक, औचित्यपूर्ण, वैज्ञानिक सुझबुझयुक्त बनाउनका लागि अध्ययन विधिको उपयोग गरिने कुरोलाई ख्याल गरिएको छ । उपयुक्त किसिमको सामग्री छनौट र परीक्षण गर्न समेत अध्ययन विधिको प्रयोग गरिएको छ ।

यस कृतिमा प्राथमिक र द्वितीय गरी दुवै स्रोतबाट शोधकार्य पूरा गरिएको छ । पहिलो पटक आफूले मात्र प्रयोग गरेको सामग्रीलाई प्राथमिक स्रोत सामग्री भनिन्छ । पहिले अरूले उपयोग गरेका सामग्रीहरू आफूले पुन: प्रयोग गरेमा ती सामग्री द्वितीय स्रोत सामग्री कहलाउँछन् । प्राचीन अभिलेख, क्षेत्रीय अध्ययन, जनसम्पर्क, अन्तर्वार्ता, प्रश्नावली, अवलोकन, घटनावृत, अभिलेख आदिको उपयोगबाट प्राथमिक स्रोतका सामग्री सङ्कलन गरिएको छ । त्यस्तै आवश्यकता अनुसार पुस्तकहरू, समाचारपत्र, जर्नलहरू, अध्ययन प्रतिवेदन, अनुसन्धान ग्रन्थ, विभिन्न प्रकारका दस्तावेजहरूलाई द्वितीय स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ ।

समालोचक नन्दलाल आचार्य

यसरी सामग्री सङ्कलन, छनौट र स्तरण गरेपछि समस्यामा आधारित भएर गरिने आधार नै अध्ययन तथा विश्लेषणको आधार हो । साहित्यिक क्षेत्रमा विद्यमान विभिन्न सिद्धान्त, वाद, प्रणाली वा धारणाका बारेमा अध्ययन र विश्लेषण गरिएको छ । अन्तमा प्राक्कल्पना वा उद्देश्य पूरा भएको प्रमाणीकरण गर्ने अङ्गका रूपमा निष्कर्ष समेटिएको छ । यस कृतिको आलेख लेखनमा मूलत: एपिए ढाँचाको प्रयोग गरिएको छ ।

समालोचक नन्दलाल आचार्यको ‘पुण्य कार्कीका ६ कथाकृति एक पुस्तकभित्र’ शीर्षकको भूमिका लेखमा भनिएको छ– स्रष्टा कार्कीको लेखकीय मन निरीह वर्गप्रति कोमल छ; उनी सहानुभूतिपूर्वक लचकदार शब्द प्रयोग गरेर सुम्सुम्याउन, धाप मार्न र थपथपाउन पुग्दछन् तर सामन्त र दलाल वर्गप्रति ज्यादै कठोर छ । त्यस्ताका लागि अग्निवर्षा गर्दछन्; चट्टानको पहाड बनेर खडा भइदिन्छन् । उनका कथाले सार्थक संसारको परिकल्पना गरेका छन् । उनले कथामार्फत नै आशावादी भविष्यको चाहना व्यक्त गरेका छन् । उनले कथाको कुची पक्रेर पाठसँग भलाकुसारी गरेका छन् । शब्द चयनमा पारखी छन् । उनले प्रयोग गरेका शब्दहरूले न्यायमा बस्नेलाई आत्मगौरवले ढक्क छाती फुलाउने बनाउँछन्; न्याय कुल्चेर राज गर्नेहरूलाई भने व्यङ्ग्य वाण प्रहार गरी घायल बनाई मरेतुल्य तुल्याउँछन् र अँध्यारो मुख लगाउने गराउँछन् ।

आचार्यले अगाडिको लेखमा भनेका छन्– पुण्य कार्की झिनो कथानकका माध्यमबाट नै अथाह कुरा ओकल्छन् । उनको कलमले छादेका शब्दहरू सुम्सुम्याउँदै चाट्न म धेरै पटक लालायित भएको छु । सानो कुरालाई पनि काइदाले भन्ने उनको कला ज्यादै अनुकरणीय छ । विषयवस्तु, पात्र, परिवेश आदिको चयनमा कार्कीले लोभलाग्दो यथार्थपन अंगालेका छन् । उनका प्राय: कथा घटना प्रधान छन् । ती घटनाले चसक्क मनमा सुइराले घोच्छन् । र; पाठक मनलाई समेत आल्लादित बनाउँछन् । उनका कथा सत्यकथा हुनजस्तो लाग्छ । पाठकको मनमा संवेदना जगाएर मन्त्रमुग्ध पार्नसक्नु उनको कलाकारिताको बहादुरीपन हो ।

प्रस्तुत ‘पुण्य कार्कीको कथाकारिता’ समालोचना सङ्ग्रहमा ‘पुण्य कार्कीका कथागत प्रवृत्तिको निरुपण’, ‘पुण्य कार्कीका कथामा पौरस्त्य नीतिचेतना’, ‘करुण रसको आलोकमा अचितियाको लगौटी कथा’, ‘माक्र्सवादी वर्गसङ्घर्षको आलोकमा पुण्य कार्कीका कथा’ र ‘पुण्य कार्कीको बालकथाको शल्यक्रिया’ गरी पाँचवटा समालोचनात्मक लेख यस सङ्ग्रहमा समाविष्ट छन् ।

प्राज्ञिक लेखनको प्राविधिक ढाँचा अलवम्वन गरिएको प्रथम आलेखको मूल अभिप्राय पुण्य कार्कीका कथागत प्रवृतिको निरूपण गर्नु हो । यस आलेखअनुसार जनयुद्धका विषयवस्तुप्रतिको झुकाव, युगीन यथार्थको प्रतिविम्बन, अग्रगामी क्रान्ति सचेत पात्रको प्रयोग, सामयिक यथार्थको प्रस्तुति, ठेट जनबोली र स्वाभाविक संवादको उपयोग, प्रगतिशीलताजस्ता प्रवृत्तिगत विशेषताका धनी कथाकारका रूपमा पुण्य कार्कीलाई चिनाइएको छ । कथाकार कार्कीलार्ई सामाजिक आर्थिक विभेद र विसङ्गतिको खरो विरोधीका रूपमा देखाइएको छ । सबै किसिमका विभेद तथा सामाजिक विदु्रप पक्षको अन्त्य गर्न क्रान्तिचेतना आवश्यक हुने ठहर गर्दै क्रान्ति र परिवर्तनप्रति आस्था एवं विश्वास राखेर कलम चलाउने कथाकारका रूपमा पुण्य कार्कीको मूल्याङ्कन गरिएको पाइन्छ ।

कृतिको दोस्रो आलेख ‘पुण्य कार्कीको कथामा पौरस्त्य नीतिचेतना’ शीर्षकमा तयार गरिएको छ । यस आलेखमा आचार्यद्वारा पूर्वीय दर्शनका विभिन्न पक्षमाथि प्रकाश पार्नुका साथै दर्शन र मानजीवनको सम्बन्ध समेत केलाउने प्रयास गरिएको छ । विशेष गरी पूर्वीय दर्शनका नीतिगत तथा व्यावहारिक पाटाका विभिन्न सन्दर्भ कथाकार पुण्य कार्कीका कथाबाट खोजी गर्ने पूर्वाधार पौरस्त्य समाजको परिचय उपशीर्षकबाट तयार पारिएको छ । पौरस्त्य नीतिचेतना युक्त पात्र प्रयोग र पौरस्त्य नीतिचेतना बारे लेखकीय पक्षधरताको खोजीलाई यस आलेखको उद्देश्य बनाइएको देखिन्छ । यस उद्देश्यको परिपूर्तिका लागि प्राथमिक र द्वितीय स्रोतका सामग्री प्रयोग भएका देखिन्छ । पुस्तकालयीय कार्यबाट नै सामग्रीको जोहो गरिएको पाइन्छ ।

दोस्रो समालोचनात्मक लेखमा पुण्य कार्कीद्वारा रचित ‘जून, जुने, जुनेली रात’ कथा सङ्ग्रह (२०७५)का ‘नन्दु सर’, ‘अतृप्ति’, ‘बँदेल प्रेम’, ‘योगीका सपना’ र ‘रामहरिको गुन’ कथामा अन्तर्निहित सामाजिक नीतिचेतनालाई कथानक, चरित्र विधान, परिवेश निर्धारण र उद्देश्यका सापेक्षतामा सूक्ष्म ढङ्गले केलाउने प्रयास भएको छ । सामाजिक सांस्कृतिक पक्षका आधारमा प्रगतिवादी कथामा समेत नीतिचेतनाको खोजी गर्दै पुण्य कार्कीका कथामा कल्पवृक्षको जादुगरी आस्वादनीय गुण विद्यमान रहेको देखाइएको छ ।

तेस्रो लेखअन्तर्गत करुण रसको आलोकमा ‘अनचितियाको लगौटी’ कथाको विश्लेषण गरिएको छ । यसका लागि रससिद्धान्तको सामान्य चर्चा, करुण रसको परिचय प्रस्तुत गरिसकेपछि कथानक, पात्र चयन, परिवेश विधान उद्देश्य निर्धारण भाषा प्रयोगका क्षेत्रमा घटित करुण रसको चर्चा गरिएको छ । प्रस्तुत ‘अनचितियाको लगौँटी’ प्रगतिवादी धारको क्रान्तिसचेत कथा हो । यसमा पनि समीक्षक आचार्यबाट साहित्यसिद्धान्तका कसीमा घोटी करुणरसका सापेक्षतामा सफल विश्लेषण भएको छ ।

प्रस्तुत सङ्ग्रहको चौथो लेख ‘माक्र्सवादी वर्गसङ्घर्षका आलोकमा पुण्य कार्कीका कथा’ शीर्षकमा तयार पारिएको छ । यसमा ‘एक पुलिसको दैनिकी’, ‘तपस्वी वधशालामा’, ‘जोर अर्थी’, ‘सौदागर’, ‘प्रेसरकुकर’, ‘यानीमाया’, ‘स्वलाप’, ‘मछलीवाला’, ‘एउटा रहस्यको अनावरण’, ‘बदला’, ‘जून, जुने, जुनेली रात’, ‘गर्भे आतङ्कवादी’, ‘कठपुतली’ र ‘फिर्ता भएको मुस्कान’ कथाहरू माक्र्सवादी दर्शनको वर्गसङ्घर्षका दृष्टिले विश्लेषण गरिएका छन् । वर्गसङ्घर्षको परम्परागत स्वरूपबाट अँझ माथि उठी नेपाली राजनीतिको माओवादको वर्गविद्रोहका दृष्टिबाट समेत प्रत्येक कथालाई अलगअलग उपशीर्षकमा मिहिन ढङ्गले विश्लेषण गरिएको पाइन्छ । माओवादी विद्रोहप्रतिको कथाहरूका झुकाव स्पष्ट देखिने कुरा विश्लेषणबाट समेत प्रष्टै छ । अर्थात् कथाहरू युद्ध सौन्दर्य निकट रहेको सङ्केत यस लेखबाट मिल्दछ ।

यस समालोचना सङ्ग्रहको पाँचौँ कोसेली ‘पुण्य कार्कीका बालकथाको शल्यक्रिया’ अन्तर्गत ‘बलभन्दा बुद्धि ठुलो’, ‘घमण्डी भ्यागुतो’ र ‘सानीको रहर’ बालकथा सङ्ग्रहका कथाबाट कथाकार कार्कीको बालकथा क्षेत्रको योगदानको निरूपण गर्ने उद्देश्य राखिएको छ । नेपाली बालकथाकै ऐतिहासिक पृष्ठभूमि बालकथा र बाललोककथाको स्वरूपका सम्बन्धमा प्रशस्त परिचर्चा भएको देखिन्छ ।

‘बलभन्दा बुद्धि ठुलो’ कथा सङ्ग्रहको सङ्क्षित चर्चा मात्र भएको छ भने ‘घमण्डी भ्यागुतो’ सङ्ग्रहका १३ वटा कथाहरू माथि प्रकाश पारिएको छ । तेस्रो सङ्ग्रह ‘सानीको रहर’ सङ्ग्रहका पनि ६ वटा कथाहरूको सङ्क्षिप्त र सरल विश्लेषण गरिएको छ । सबै बालकथा बालबालिकाका लागि चरित्र निर्माणमा प्रेरणादायी, औपदेशिक र सत्कार्यमा संलग्न हुन प्रेरित हुने खालका उत्कृष्ट र प्रभावकारिरहेको निष्कर्ष अध्येताले निकालेका छन् ।

यसप्रकार पुण्य कार्कीका कथागत प्रवृति निरूपण गर्नुका साथै पौरस्त्य दृष्टिले, करुण रस प्रयोगका दृष्टिले, माक्र्सवादी वर्ग सङ्घर्षका दृष्टिले विश्लेषण गरी नन्दलाल आचार्यद्वारा पुण्य कार्कीलाई बहुआयामिक कथाकार व्यक्तित्वको रूपमा उजागर मात्रै गरिएको छैन बरू समालोचनाका क्षेत्रमा प्रवेश गर्दै गर्ने क्रममा स्वय म लेखकको समेत बहुविश्व दृष्टिकोणलाई परिचित गराएको स्पष्ट अनुभूत गर्न सकिन्छ । यो विविध जर्नल र साहित्यिक पत्रपत्रिकामा पूर्वप्रकाशित रचनाको सङ्कलन हो ।

कृति : पुण्य कार्कीको कथाकारिता
विधा : समालोचना सङ्ग्रह
समालोचक : नन्दलाल आचार्य
प्रकाशन वर्ष : २०७७
प्रकाशित प्रति : ११११
आवरण :
सर्वाधिकार © नन्दलाल आचार्य
मूल्य : २००।–
प्रकाशक : जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुर
सम्पर्क : ९८४२८००५५५ / ९८०१६००५५५ / ९८४२८२९२०६
मुख्य वितरक : अक्षरयात्रा प्रकाशन, उदयपुर
सम्पर्क : ९८४२८२६७९१ / ९८४२८२९२०६
कञ्चनरूप–१२, प्रगतिटोल, रूपनगर, सप्तरी ।
मिति २०७८–०४–२

–लक्ष्मी रिजाल

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

1 thought on “कुरा ‘पुण्य कार्कीको कथाकारिता’ कृतिको”

Leave a Reply

Your email address will not be published. Required fields are marked *