झिल्को सानु नसम्झ हे हठपते बन्ला फिलिङ्गो भरे ।
कैयन् छन् उसका कणा मिलनमा, राँको बनी पोल्छरे ।।
सन्ठीको तगारो नठान बलियो, त्यो हुन्छ निस्कामको ।
मान्छेको भुसमा जमेर रहँदा, पर्ला असर दूरको ।।
खोलाको छहरो सधैं नगिचमा, पर्दा हुने दुर्गती ।
बन्ला त्यै गतिको असाध्य कमिलो, टोक्ने बिशालू अति ।।
साचेको मनमा भए पथ सधैं, सोझो बुझेको भए ।
सप्रिन्थ्यो पछिको नितान्त पथनै, राम्रो हिडेको भए ।।
बोलिको जबतक् प्रभाव गहिरो, पर्दैन सम्चारमा ।
ब्यर्थै त्यो रटना सुगा सरहको, के काम सञ्चारमा ।।
अाफ्नैमा झगडा विवाद नगरी, साँचो लिएको भए ।
समृद्धि घरमा नयाँ चलनको, पार्थ्यो प्रभाव् सोचिए ।।
राम्रो पार्न सके खुला पवनले, फुल्ने सबै फूल हुन् ।
फूलैको रसले चुमी मधुसबै, हेरेर बस्ने त हुन् ।।
फूलैमा भमरा रमी रस चुसी, झुल्ने गरेका हुने ।
मात्रै काफलमा चरा कति बसुन्, हुन्छन् नयाँ खोजने ।।
बाटो क्यै डर धाकले तय गरी, दोश्रो समाते पनि ।
बिग्रेको अझ क्यै नठान फिर हे, बेला छँदै घुम्छ नि ।।
होशैले बस हे सफा छ पथ यो, सम्मान यो हेर हे ।
ऐलेको युगमा बुझेर रमदा, पक्का त्यही हुन्छ रे ।।
पद्म पौडेल
इनरुवा — बलाहा
हाल ः— इटहरी, बज्राहा
