यस माटोलाई
अचानोमाथिको
अर्को अचानो बनाइरहेछु म ।
आफ्ना समस्याका खातहरू
आफ्ना मन बिझाउँने कामहरु
मार्फत् अघि सारिरहेछु
निरन्तर निरन्तर पीडाहरू,
आफ्नो मुटु रमाउने गरी
अर्काका हत्केलामा ठोकेर फलामे कीला
सर्वमान्य बन्ने रहर पूरा गरिरहेछु ।
मेरा यी कर्मले
मेटिएछन् अर्काका भाग्यका रेखाहरू
खुइलिएछन् अग्रगमनका सम्भावनाहरू
शान्तिको नाडी छाम्दा छाम्दै
धन्किएछन् राजनीतिका चर्का नाराहरु
मेरै कर्मले
बुद्ध दुःखमा परेछन्
अमनचयन र सुख जति
पुराका पूरा भड्खालामा जाकिएछन् ।
र, पनि ममा चेत छैन
र, पनि ममा सोच छैन
किनभने,
म र’ नजानेको राजनीतिज्ञ हुँ
म स’ नजानेको साहित्यकार हुँ ।
नन्दलाल आचार्य
तपेश्वरी–१, उदयपुर
हालः– लिट्ल फ्लावर मा. वि. राजविराज–९, सप्तरी ।
