Skip to content

करुणा झाको ‘शङ्खघोष’ बिमोचित

20131228_NandaLalAcharya_News


पुनरावेदन अदालतका न्यायाधीस सारङ्गा सुवेदी र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले करुणा झाद्वारा लिखित ‘शङ्खघोष’ नामक पत्रात्मक निबन्ध सङ्ग्रहको संयुक्त रूपमा विमोचन गर्नुभयो । उक्त अवसरमा प्रजिअ पौडेलले आफ्नो सानो वक्तव्यमा साहित्य व्यक्तिगत सुख र आनन्दका लागि मात्र नभई समाजका लागि लेखिनुपर्ने आवश्यकता माथि जोड दिँदै ‘शङ्खघोष’ले त्यो पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जितेन्द्र झा जितुले उद्घोषण गरेको उक्त कार्यक्रममा विष्णुकुमार मण्डल, शिवहरि भट्टराई, वैद्यनाथ झा, सतिश दत्त, सुरेन्द्र गुप्ता, मञ्जु श्रेष्ठ, साधना झा, वन्दना मिश्रा, विमला देव, अमरकान्त झा, मीना ठाकुर, श्यामसुन्दर यादव, व्यासशंकर उपाध्याय, नन्दलाल आचार्यलगायत दर्जनभन्दा बढी सर्जक तथा साहित्यानुरागीहरूले विमोचित कृति र कृतिकार करुणा झाको साहित्यिक योगदानको चर्चा गरेका थिए । सी.एफ.एम., राजविराजको सभाकक्षमा भएको उक्त कार्यक्रममा साधना झाले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रमुख अतिथि न्यायाधीस सारङ्गा सुवेदीको मत थियो– ‘प्रायः लेखनीमा पुरुषले पुरुषकै कुरा गरे । महिला साहित्यकारले पनि धेरै जसो पुरुषकै कुरा अघि सारे । महिलाका कुरा अघि सार्न हिच्किचाए । लेखिए पनि कमै लेखिए । घरेलु हिंसाले स्थान कमै मात्रामा भेट्यो । अँझ मैथिल महिलाले मैथिल समाजभित्र लुकेर रहेका भित्री कुराहरू अघि सारेर समुन्नत समाजको परिकल्पना गरिएका आवाजहरू घन्काएको थाहा थिएन । सौभाग्यले यस प्रकृतिको कृति नै आफ्नो हातबाट विमोचन गर्न भेटियो । नारी उत्पीडनमा धेरै अगाडिरहेको सप्तरी जिल्लामा यस खाले कृति र यसले समेटेका विषयवस्तुले हिंसा न्यूनिकरणमा योगदान दिन सक्छ ।’

पुस्तकका भाषा सम्पादक समेत रहेका नन्दलाल आचार्यले विमोचित कृति वारे समीक्षा प्रस्तुत गरेका थिए । उनको समीक्षाको सार थियो– ‘शङ्खघोष’ कृतिमा १. आशीर्वाद, २. सुहागरात, ३. सामाजिक शिकार, ४. मधेसको मन मसिहालाई, ५. खबरदारी पत्र, ६. युवाका अभिभावकलाई निवेदन, ७. शिक्षाविद्लाई सल्लाह, ८. सहकारीलाई चिठ्ठी र ९. एकताको शङ्खघोष गरी नौ वटा निबन्धहरूमा वेग्लावेग्लै किसिमका चिन्तनहरू प्रकट भएको छ ।

यसमा सँगालिएको पहिलो निबन्ध ‘आशीर्वादमा’मा पितामातालाई सम्बोधन गर्दै आफूमा भएको अहङ्कार त्याग गर्न चेतावनी दिने माध्यम पत्रलाई बनाएको कुरा देखाइएको छ । सखीलाई सम्बोधन गरिएको दोस्रो निबन्धमा मधुश्रावणी पर्व बारे जानकारी दिँदै संस्कृतिको नाममा धार्मिक हिंसा गर्न नहुने कुरा लयात्मक भाषामा व्यक्त गरिएको छ । तेस्रो निबन्ध समाज सुधारक अभियन्तालाई सम्बोधन गरी नारीलाई मानव नठान्ने प्रवृत्तिप्रति आक्रोश पोखिएको छ । चौँथो पत्र राजनैतिक वेथितिसम्बन्धी भएकाले मसिहाज्यूलाई सम्बोधित छ र यसमा नेताले आफ्नोपन र आफ्नो भूमिलाई आधार बनाएर काम गर्नुपर्ने कुरा दर्शाइएको छ । शिक्षा विषयको पाँचौं निबन्धमा गुरूलाई सम्बोधन गरी शिक्षा क्षेत्रमा शिक्षकको भूमिका गहकिलो नभएकोमा असन्तुष्टि व्यक्त गरिएको छ । अभिभावकज्यूलाई सम्बोधन गरेर लेखिएको छैठौं निबन्धमा आजका युवा वर्गलाई मुख्य विषय बनाइएको छ र युवालाई काम गर्न दिनुपर्ने आवाज घन्काइएको छ । शिक्षाविद्ज्यूप्रति उद्दिष्ट सातौं निबन्धमा शैक्षिक प्रशासन र शैक्षिक प्रणालीमा सुधार र परिमार्जन हुन ढिलो भइसकेको कुरा दर्शाइएको छ । सहकार्य हितैषी मित्रलाई सम्बोधन गरिएको आठौं निबन्धमा सहकारी बारे इतिवृत्ति प्रस्तुत गरिएको छ । यसमा विशेष गरी आर्थिक र सामाजिक विकासका लागि सहकारी संस्था वरदान सावित हुने कुरा उठाइएको छ । नवौं निबन्धमा राष्ट्रवादी महोदयलाई सम्बोधन गरी सामाजिक सद्भाव र एकताका कुरा उठाउने काम गरिएको छ ।

कृति : शङ्खघोष, निबन्धकार : करुणा झा,
भाषा सम्पादन : नन्दलाल आचार्य,
संस्करण : २०७० पहिलो,
मूल्य : रु ५०।–,
प्रति : १०००,
कम्पोजिङ्ग : शम्भुप्रसाद चौधरी,
प्रकाशक : (अध्यक्ष– शैलेन्द्रमोहन झा) छिन्नमस्ता एजुकेशनल एकेडेमी प्रा.लि., राजविराज फोन नं. ०३१–५२२८३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *