परिचय
वि.सं.२०७० साल मुंसिर २९ गते शनिबारको दिन आदरणीय साहित्यकार बालकृष्णभ भट्टराईज्यूसँग बुटवलमा, लुम्विनी वाङ्मय प्रतिष्ठानको पौष १३गते हुन गइरहेको साधारण सभाको तयारी सभामा भेट भयो । उहाँले मलाई आफ्नै कृति ‘प्रस्थान गर्नुअघि’ (भूमिकासङ्ग्रह) र श्रीमती गंगा लिगलको कृति ममताको खास्टो (समीक्षार्थ), उपहारस्वरूप प्रदान गर्नु भयो । ‘प्रस्थान गर्नुअघि’ (भूमिकासङ्ग्रह) जो मेरो हातमा छ अध्ययनको थालनी क्रममा छ भने ममताको खास्टो खण्डकाव्यलाई अध्ययन गर्दै केही लागेका धारणाहरूलाई यहाँ पस्कदै छु ।
नेपाली साहित्यको इतिहासमा नारीहस्ताक्षरमा काव्यकारको संख्या कम छ र यो काव्यले एउटा आयतन बढाएको छ र गंगा लिगल एक काव्यकारको रूपमा आफूलाई परिचय गराउन सफल हुनु भएको छ । श्रीमती गंगा लिगलको जन्म पाल्पा, तानसेनमा भए तापनि बसोवास भने सिद्धार्थनगर भैरहवामा गर्दै आउनु भएकोमा हाल उहाँ अमेरिकामा हुनुहुन्छ । उहाँले त्रि.वि.बाट एम.ए. कल्चरमा डिग्री हाँसिल गर्नु भएको छ । भैरहवा बहुमुखी क्याम्पसमा उप–प्रध्यापक पनि भैसक्नु भएको छ । उहाले राष्ट्रिय शिक्षा पदक पाइसक्नु भएको छ साथै भानुजयन्ती, समारोह समिति २००९’मा अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसीले ‘ प्रसिद्ध कवियित्री २००८’को प्रमाणपत्र प्रदान गरेर सम्मानित गरिसकेको छ । उहाँले आफूलाई कवियित्रीको रूपमा परिचय गराई सक्नु भएको छ ।
प्रकाशित कृतिहरू
उहाँका कृतिहरू यसप्रकार छन् –विहानी (कवितासङ्ग्रह), समयको लहर (लेख र रचनाको संगालो), युगज्योति –धार्मिक लेख र रचनाको सङ्गालो, आमा (कवितासङ्ग्र), गंगाका तरङ्गहरू, (कवितासङ्ग्रह), सङ्गीतको आभास (कवितासङ्ग्रह), ममताको खास्टो खण्ड–काव्य) गरी ७ ओटा कृतिहरूबजारमा आइसकेका छन् र विभिन्न पत्र–पत्रिकाहरूमा फुटकर कविता र लेखप्रकाशन भइरहेका छन् । उहाँको यो ममताको खास्टो अध्ययन गर्दा उहाँ एक सिद्धहस्त कवियत्री ह’न’हन्छ भन्ने मेरो ठम्याइ छ ।
कृति र कृतिकारप्रति साहित्यकारहरूको धारणा–
अन्तराष्ट्रिय नेपाली साहित्य समाज टोक्यो, जापानका अध्यक्ष, केन्द्रीय समिति, डा. कुमार बस्नेतले यस कृतिको प्रकाशकीय लेख्नु भएको छ । प्रकाशकीयमा उहाँ लेख्नुहुन्छ –‘यद्यपि अनेसासका प्रकाशन ५०भन्दा बढी भैसकेका छन् तापनि खण्डकाव्य कम थिए । गंगा लिगलको यो खण्डकाव्यले त्यसको कमीलाई हटाउने प्रयास गरेको छ’ ।
बरिष्ठ साहित्यकार शिवप्रसाद सत्याल (हाल भर्जिनिया, युएस ए)ले ‘ममतटाको खास्टो : एक भावार्द्र प्रयत्न’ शीर्षक दिएर यस खण्डकाव्यप्रति आफ्नो धारणा यसप्रकार व्यक्त गनु‘भएको छ – ‘कवियत्री लिगलका सम्पूर्ण चतुस्पदीले दूरताको न्यास्रोलाई मेटेर सानिध्य र स्नेहरसको आवरणमा असमनताको सान्त्वनामा जीवनरस सञ्चारित गर्न खोजेको छ’ ।
‘ममताको खास्टो’को मर्म शर्षिक दिएर बरिष्ठ साहित्यकार होमनाथ सुवेदीजीले यस काव्यलाई राम्रोसँग चिरफार गर्नु भएको छ । उहाँ लेख्नुहुन्छ –‘ यो काव्य अभिजात्य संस्कृतिको पुजारी हो तर पुराना बन्धनहरू पनि तोडेर यसले आफ्नो आफ्नो डायरा फराकिलो बनाएको पनि छ । सानो मीठो काव्य हो यो ‘ममताको खास्टो ’कवयत्री गंगाको प्राकृतिक प्रवाहको’ ।
गंगाजीको आफ्नै धारणा
कविता कोर्ने प्रेरणा गंगाजीको १२बर्षको उमेरमा नै आफ्नै अत्यान्त प्यारी बालसखाको देहावसानको वियोगले कविता स्फुरण गराएको र योक्रमलाई यो अवस्थासम्म डोरर्याउने प्रेरणा दिने काम उहाँकै ममतामयी आमाबाट भएको थियो । यो खण्डकाव्यको सृजनाको पहिलो खण्ड ‘आमा’ को सृजना गर्ने काम पनि गंगाजीले आमाको देहावसानको शोकमय अवस्थामा झर्ने आँसुलाई कविता मार्फत आमालाई सधैं साथमा राख्ने प्रण गर्दै तलका पंक्तिहरू कोर्नु भयो –
कसरी बिर्सन सकुला जननी
तिम्रा हजारौं गुण
साँचि राखुला अमूल्य निधिलाई
साहित्यको साथमा
उहाँले यतिमामात्र चित्त बुझाउना नसकेपछि भाग १मा ‘जन्मभूमि’ र भाग २मा ‘जननी’को एकीकृतरूपमा ‘ममताको खास्टो’को सिर्जना गर्नु भयो । आमाको ममताको प्रेणाले काव्यको सिर्जना गरेको धारणा उहाँको आफ्नै शब्दमा –
हे आमा ! मेरी कलम देऊ
प्रवल आधार
यही आधार बोकी, कोर्दछु मैले
इतिहास प्रखर
जननी खण्ड २, चतुस्पदी १८३, पृष्ड ७८
कृतिको संरचना–
यो कृति आवरण पृष्ठ सहित २२ +८२=१०४ पृष्ठमा सुसज्जित छ । यो कृतिको, अन्तराष्ट्रिय साहित्य समाज वासिङ्गटन डी.सी. संयुक्त राज्य अमेरिकाबाट वि. संस २०६६मा प्रकाशन भएको थियो । यस कृतिको मूल्य नेपाल र दक्षिणपूर्ब एसियामा ने.रु १५०/–र नेपाल र दक्षिणपूर्ब एसिया बाहिर यूएस डलर ५/– राखिएको छ । माथि नै भनिएको छ कि यस कृति जन्मभूमि र जननीको एकीकृतरूप हो । मातृभूमिरूपी पुप्पवृक्षलाई ११९वटा फूलका थुङ्गाले सिङ्गारिएको छ भने जननीलाई १८३ वटाले । यसरी ममताको खास्टोको संरचना एकल वृक्षका दुई हाँगाका ३०२वटा फूलका गुच्छाहरू, मातृहृदयबाट स्नेह, माताको ममतामयी वात्सल्य, जन्मभूमिप्रतिको अगाद्ध प्रेमरूपी हृदयमा, फक्रिरहेका छन् र हामीले त्यसबाट, आमाको दशधारा दूधलाई पान गरे सरह नशा नशामा संचार गराउँदै, रसस्वादन गरिरहेका छौं । कविता सबै चतुष्पदीय छन् । यो काव्य परम्परागत शैलीभन्दा अलिक फरक किसिमको छ ।
खण्डकाव्यभित्र प्रवेश गर्दा
आज नेपालका युवा तथा युवतीमात्र नभएर उच्च अध्ययन गरेका व्यक्तिहरू पनि कोही देशलाई चटक्कै बिर्सेर/ छाडेर विदेशिएका छन् र नेपाल फर्कनुको सट्टा उतै बसोबास गरेका छन् भने कति पय जागिरको सिलसिलामा गएर दलालको शिकार भएर कतिको लास आएको छ भने कति अलपत्र परेका छन् र कतिले कमाएर आफ्नो परिवारलाई पालनपोषण गरेका पनि छन् । गहिरिएर हेर्ने हो भने गाउँघरका जमिनहरू बाँझिन थालेका छन् । प्राकृतिक सौन्दर्यताले सजिएका गाउँ, उजाड भएका छन् । बुढाबूढीले पटाहा कुरेर छोरो कहिले आउँछ भनेर घाम तापेर प्रदेशतिर हेरिरहेका छन् । आजको यो यथार्थता गंगाजीले पनि स्वीकार्नु भएको छ–
विदेशमा छोरो आउँछ कि अब
प्रतीक्षा गरेर
दिन गनी गनी कुर्दछन् सधैं
आउाछ कि भनेर
(खण्ड –१, चतुस्पदी ५३)
यो देशको लागि चिन्ताको विषय हो । यस सम्बन्धमा राज्यले, समयमै सोच्नु पर्ने थियो र अँझै पनि सोच्न आवश्यक छ । मैले सधैं भन्ने गरेको छु कि युवा युवती विहीनको देश अपाङ्ग बन्दछ । म विषयभन्दा थोरै बाहिर गएँ त्यसको लागि क्षमाप्रार्थि छु । अब कवयत्री श्रीमती गंगा लिगलको ममताको खास्टोतिर नै लागौं । श्रीमती गंगा लिगल विदेशमा बसेर पनि मन, भावना, राष्ट्रप्रति गरिने समर्पण सबै नेपालमै अडिग राख्दै साहित्य सेवा मार्फत जन्म भूमि र जननीप्रति अगाद्ध माया दर्शाउनु भएको छ । यो खण्डकाव्य हामीलाई प्रदान गर्नु भएको छ । यस खण्डकाव्यलाई हामीले विविध दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । यस सन्दर्भमा बरिष्ठ साहित्यकार होमनाथ सुवेदीको धारणालाई यहाँ उल्लेख गर्न मन लाग्यो –‘काव्यको यो पुष्करिणीमा डुबुल्की मार्दा मैले उल्लेखनीय यी कुरा भेटेंकी उत्पेरक तÏव, नामाकरण, डायस्पोराको स्वर, स्वच्छन्दवादी प्रकृति, पुरातन संस्कृतिप्रति आस्था, प्रकृति बर्णन, कल्पनाको उडान, गेयात्मक, र आलङ्कारिक भाषा । यस बाहेक, आदर्श जीवन दृष्टि र आमाको बारेमा अति नै चिन्ताले यो काव्य द्रवित छ’ । यस खणकाव्यलाई गहिरिएर अध्ययन गर्दा होमनाथजीको माथिको अभिव्यक्ति नै यस खण्डकाव्यको सङक्षिप्तरूपमा पस्किएको मूल मर्म हो भन्ने कुरा मलाई पनि लाग्छ । खण्डकाव्यले औंल्याएका केही बुँदाहरूमा विवेचना गरौं ।
जन्मभूमिको आराधना र प्रण
प्रथम खण्ड जन्मभूमि र दोस्रो खण्ड जननीमा गंगाजीले पोखेका भवनाहरू मिल्दाजुल्दा छन् । पृथ्वी माताको आरधाना गर्दै, पृथ्वी माता प्राणीजगतकी आधार, सबैकी आश्रय थलो र मायाकी खानी भएकीले यिनलाई सजाउने प्रण गर्नु भएको छ । नेपाली मातालाई पनि उहाँले विशाल धारणा धारण गरेकी र प्राकृतिक सौन्दर्यताले परिपूर्ण भएकी ठान्नुहुन्छ । आमाको पवित्र पाउमा जीउज्यान समर्पित गर्दै विश्वास अटल रहोस्, आस्थाको सागर मुटुमा बृहत बसिरहोस् हामीलाई आँचलमा राखिदिनूहोस् र ममताको खास्टो ओढाई दिनुशोस् भन्ने आग्रह गर्दै आशीर्वादको याचना गर्नुहुन्छ । प्रज्ञाको बलबाट अग्रसरता देखाइ, उजाड बन्न लागेको देशलाई हरभरा पार्ने, भाइ भाइ बीचको आत्मीय प्रेम बढाएर दानवी प्रबृतिलाई हटाएर खेतलाई खनेर, मलजल गरेर, अन्नले भरिपूर्ण पारेर, हरियो वन नेपालको धनलाई संरक्षणगर्ने, सगरमाथाको शिरलाई उच्च राख्दै गर्वित गर्ने, बुद्धको जन्मथलो लुम्बिनीलाई अमरराख्ने र मातृभूमिलाई चरितार्थ गर्दै स्वर्गभन्दा पनि अत्यान्त सुन्दर बनाउने प्रण जन्मभूमि समक्ष गंगाजीले पस्किनु भएकोछ –
हे मातृ भूमि चरितार्थ गर्छौ
यो तिम्रो माटोलाई
स्वर्गभन्दा पनि अत्यान्त सुन्दर
यो दिव्यभूमिलाई
(खण्ड–१, चतुस्पदी ११९)
खण्डकाव्यमा द्वन्द्व (आतङ्क) को बर्णन –
बास्तवमा संसारमा भएका चरअचरहरू सबै प्रकृतिका वरदान हुन् । यी सबैले आफ्नो जीवन निर्वाधरूपमा उपभोग गर्न पाउनुपर्छ । चाहे मानवले मानवप्रति गरिने आतङ्क या पशुपंक्षीले पशुपंक्षीप्रति गरिने आतङ्क होस् या मानवले पशुप्रति गरिने र पशुले मानव प्रति गरिने आतङ्क जे होस् देश सबै खाले आतङ्कबाट मुक्त हुनु पर्दछ । संसारभरी नै आतङ्कले सताएको छ । नेपालमा पनि दशबर्षे जनयुद्ध देखि आजसम्म केही न केही आतङ्कले सताएको छ । गंगाजीको यस खण्डकाव्यमा पनि द्वन्द्वले ल्याएको विविध विकृतिलाई औंल्याउने प्रयास भएको छ । उहाँ भन्नुहुन्छ मयुर नाच्न पाउनु पर्छ । सिंह र बाधको आतङ्क निर्मूल हुनुपर्छ । कतिले गमबुट र बन्दुको चोट, कतिका सिन्दूर पुछिए, कतिका काख रित्तिए, आमालाई रुवाए, भाइ भाइ बीचको काटमार भयो, गाउँ बस्तीमा सन्नाटा छायो, स्वतन्त्ररूपमा हिड्न डुल्न रोकियो, बालबालिका वेपत्तापारिए, विना कसुरमा निर्मम हत्या गरिए, आदि आदि दानवीय कर्मले देशलाई नै विगारेको धारणा प्रष्टरूपमा काव्यमा उतारिएको छ –
सिस्नोको झाङ लासको गन्ध
अमूल्य मानव
विना कसुरले निर्मम हत्या
गर्दथे दानव
(खण्ड–१, चतुस्पदी ६३ पृष्ठ १६)
प्राकृतिक सम्पदा र काव्य
गंगाजी प्राकृतिक सुन्दरतावादी कवयत्री पनि हुन् । त्यसोहुन्दा यस काव्यमा प्राकृतिक सम्पदाको संरक्षण र सम्बर्धनमा पनि गहन चिन्तन आएको छ । जङ्गलको विनासले प्रकृति उजाड भएकोछ । पशु र पंछी भागेर जानाले देशको आकृति नै विगरेको छ । जलपरि उजाडिएका छन् । हरियो वनमा डढेलो लगाएर उजाड पारिएको छ । नीलो आकाशमा बादल लुकेर शीतलता दिएको, गुराँस पलाँस फुलेर बसन्त हाँसेको, सिमसिमे पानीमा मयुरको नाचेको र खरायो दौडेको, रातो माटोले लिपेको भित्ता सूर्यको किरणले सिङ्गारेको, नौरङ्गी डाँफेउडाइमा तारा चम्के झै दृश्य देखिएको, जुरेलीको जोडीको बसाई, कञ्चन झर्नाको झराइ, स्वर्गका परी आएर बसेको, जाडोमा झरेका हिउँले बेहुली जस्तै मोतीले सिङ्गारेको र कर्कलाका पातमा शीतका थापाको टल्कन, कोइलीको स्वरको गुञ्जन र श्रवण, बेली चमेली नागबेली फूलको महक आदिलाई बिम्बकोरूपमा लिएर काव्यलाई प्राकृतिक सम्पदामूलक बनाइएको छ ।
नारीवादी चिन्तन र खण्डकाव्य
यस काव्यमा विश्वको आधा आकाश ढाकेका महिलाहरूका लागि शिक्षाबाट सवल बनाउनु पर्ने धारणा प्रवलरूपमा आएको छ । शिक्षा नै जीवनको ज्योति हो । यसको अवलम्बन भए विकास हुन्छ । बालक अवस्थाबाटै शिक्षामा जोड दिनु पर्छ । यसरी नारी सुशिीक्षत भए भने परिवार, समाज, राष्ट्र पनि उज्ज्वल बन्दछ त्यति मात्र नभै देशको गौरव र गरिमा पनि बढ्द छ । नारी साक्षात हुनु पर्दछ र पाउनु पर्दछ भन्ने नारी वादी चिन्तन पनि खण्डकाव्यमा महत्वको साथमा उठाइएको छ ।
नारी मात्रको आभूषण शिक्षा
जीवन सिंगार्छ
परिवार समाज राष्ट्रलाई पनि
उज्ज्वल पार्दछ
(खण्ड–१, चतुस्पदी–११६, पृष्ठ ३०)
राष्ट्रियता, सास्कृतिक, धर्म, रोजगारी र काव्य
काव्य राष्ट्रियताका स्वरले गुञ्जिएको छ । मल र जल पाएर भूमि जसरी हराभरा हुन्छ मानव जीवन पनि हराभरा हुने, माटोको मायालाई जीवनभर बिर्सन नसकिने, यस पवित्र भूमि योगीहरूको तपस्या गर्ने थलो, धार्मिक भूमि, आध्यात्मिक चिन्तन हुने, विभिन्न बाजा, अनगिन्ती नृत्य, सुन्दर भेष भएको गौरवमय देश जनजातीले रङ्गिएको माटो, मन्दिरै मन्दिरले भरिएको देश, बुद्धले विश्वलाई शान्ति प्रदान गरेको र शान्तिको प्रीतक बनेको देश, कल्याणका प्रतिक पशुपतिनाथ, वेद र पुराण आदि राष्ट्रियताका स्वर, धर्मिक अभिव्यक्ति, सांस्कृतिक धरोहरका बर्णनले सजिएको काव्य हो यो । राष्ट्रियता र मातृभूमिप्रतिको मायालाई उदाहरणको रूपमा लिएर हेरौं–
हे मातृभूमि माटाको माया
कसलाई लाग्दैन
यही माटोको पीर जीवनभर
बिर्सन सक्दैन
(खण्ड– १, चतुस्पदी–१०४, पृष्ठ–२७)
वर्णन तिम्रो शेष नाग पनि
पछाडि हट्दछ
तिम्रो मुटुको विशालतालाई
को गाउन सक्दछ
(खण्ड– २, चतुस्पदी–६१, पृष्ठ–४८)
नेपालीहरू विदेशिन परेका कारणमा पनि काव्यले धारणा पोखेको छ । आर्थिक र राज नीतिक कारणले गर्दा, देश नै उजाड पारियो र मानिसमात्र नभै पशुपंछी पनि भागेर गए भन्ने अभिव्यक्ति काव्यमा आएको छ –
जंगल मासे चोर भै आफै
उजाडे प्रकृति
पशु र पंछी भागेर गए
विगारो आकृति
(खण्ड– १, चतुस्पदी–२५, पृष्ठ–७)
जीवनजगत र काव्य
काव्य जीवनजगतमा पनि उभिएको छ । यसमा मानव जीवनका के को लागि ? भन्ने धारणाहरू आएका छन् गीताका ज्ञानको उदाहरण पनि छ, । मान्छे जीवन भनेको परोपकार गर्नलाई हो र उद्धारित हुनका लागि जीवनको सार पनि यसैबाट पाउन सकिने धारणा, कृष्णका उपदेशले –कर्मगर्नु फलको आशा नराख्ने धारणा, अज्ञानताले मानव जीवन ध्वस्त पार्ने धारण, लोभ र लालचले दानवता निम्त्याउने र मानव जीवन जर्जर बन्ने, गीताको ज्ञानको अवलम्वनले मानव जीवन धन्य बन्ने र कर्मयोगी बनी, मोक्ष प्राप्ति मिल्ने, यहलोक र परलोक सफल पार्ने, धर्ममा विश्वास र कर्ममा विश्वास गर्ने जीवनको लक्ष हो र यो लक्षले अनुशासन, चरित्र निर्माण, आदर्श जीवन सफल पार्दा गरिमामय जीवनधनको प्रकाश चम्कने र जीवन प्रदिप्त बन्ने, मानव जीवन सार्गर्वित भएकोले यसलाई भूल्न नहुने र जीवनलाई खेलवाडको रूपमा लिन नहुने जस्ता धारणाहरूले काव्य सजिएको छ र कवयत्रीलाई जीवन जगतको राम्रो बोध भएको काव्यले दर्शाउँछ । काव्यले जीवनका विविध पक्षमा वकालत गरेको छ ।
गरिमामय जीवनधनमा
चम्कन्छ प्रकाश
बिहानी किरण दिवामा आई
प्रदीप्त बन्दछ
(खण्ड– २, चतुस्पदी–१६७, पृष्ठ–७४)
मान्छेको जन्म भूल होइन मूल हो
परोपकार गर्नलाई
जन्मको सार यसैमा छ है
उद्धारित हुनलाई
(खण्ड२–, चतुस्पदी–९२, पृष्ठ–५५)
खण्डकाव्यको भाषाशैली
भाष सरल छ । अनुप्रासहरू मिलेका छन्, त्यसर्थ यी चतुस्पदीलाई गाउन सकिन्छ । बिम्बले पनि सजिएको छ काव्य । प्रचलित सूक्तिहरू पनि प्रयोगमा आएका छन् जस्तै ‘हरियो वन नेपालको धन’ । भाषाशैलीको हिसावले कृति मीठो, पठनीय र अनुकरणीय छ ।
यो काव्य जन्मभूमि र जननी दुई खण्डको एकीकृतरूप हो दुवैको अर्थलाई केलाउँदा आमाकै प्रतिकमा लिन सकिन्छ । त्यसैले पनि होला दुवैको भावार्थ धेरै मिल्दो जुल्दो छ । आमा शब्दले व्यापकता छाएको छ र आमाको शोकमा डुवेर यत्रतत्र खोजी गर्दा ईश्वरको र सगरमाथामाको रूपमा आमालाई पाइएको छ । आमले दिएको गुन्दु्रक, ढिंडा, े आलु र तामा चोपिलो र रसिलो खाएको आदि स्मरण गर्दै अब त्यो पाउन नसकिने आदि मार्मिक अभिव्यक्लिे सजिएको छ काव्य । आमा र जन्मभूमिका व्यख्या गर्दा कहिले भृकुटीलाई सम्झिएको छ, कहीं बुद्धका उपदेशलाई समेटिएको छ, भने आमका अर्ती उपदेश, ज्ञान, माया, दुःखकष्टबाट बचाएको, आमाको नाम मात्रै पनि चोखो, आदि धारणा राख्दै गंगाजीले आमको कथा पृथ्वीमा नमेटिने, इतिहासको पानामा आमाको कथाले पीयुष नै बर्षाउने र भन्दै आमासँग कलमको याचना गर्दै तलको चतुस्पदीको साथमा काव्यको बिट मारिएको छ –
धरतीमा कीर्ति अविछिन्न तिम्रो
रहने छ सदा नै
मानव रहे नरहे पनि यहाँ
रहने छ इतिहास नै
(खण्ड– २, चतुस्पदी–१८४, पृष्ठ–७९)
काव्यको नामाकरण
माथि पोखिएका भावनाहरू केलाउँदा, ममताको खास्टो शब्दको मर्मलाई अध्ययन गर्दा यो काव्यको मायाको प्रवाहलाई नियाल्दा यथा नाम तथा गुण भने झै यस काव्यको नामाकरण पनि सार्थक देखिन्छ ।
अत : अन्त्यमा खण्डकाव्य स्वच्छन्दरूपमा बगेको छ । राष्ट्रभक्ति र जननी भक्तिले भरिएको छ । यो काव्यमा गंगाजीले धर्म कर्म परोपकार, सद्चरित्र, शान्ति, आदर्श जीवनका पक्षमा आफ्ना सारगर्भित धारणा राख्दै सुन्दर र मीठो भाषा शैलीमा बिम्ब र शूक्तिहरूलाई व्यवहारमा उतार्दै ममताको खास्टो उपहार दिनु भएको छ । ममताको खास्टो व्यवहारमा उतार्ने पालो हाम्रो आएको छ । जननी र जन्मभूमिप्रति सन्तान र देशका नागरिकले गर्नु पर्ने कर्मको लागि यो एउटा मार्ग दर्शन पनि हो । यति राम्रो काव्यको रचनाकारलाई धन्यवाद दिंदै अर्को कृति पढ्न पाइयोस् भन्ने धारणा र।ख्दै बिदा चाहान्छु ।
धन्यवाद
सदानन्द अभागी
मिति २०७० /९/९
साहित्य समाजको दर्पण हो र यो दर्पणमा देखिएका विविध पक्षहरूमा विश्लेषण र सुधारका पक्षमा उभिएर समाजमा सकरात्मक परिवर्तन ल्याउनु नै साहित्यको मूल उदेश्य हो ।
