इतिहासकार योगेश राजका अनुसार, गणितले गणितीय विषयवस्तु हैन, तत्कालीन सामाजिक–आर्थिक र भाषिक विषयवस्तुको गणना तथा गुण पनि बोलिरहेको हुन्छ। तर हामीले न त्यस्ता कुराले गणितका पाठ्यसामग्रीमा ल्याउने हेरफेर खोज्न सकेका छौं न त पाठ्यसामग्री पढ्ने/पढाउनेहरूले पहिल्यै के कति कुरा जानिसकेका हुनुपर्छ भनेर अध्ययन नै गर्न सकेका छौं। तर, पछिल्लो समय नेपालमा गणित विषयप्रतिको चासो हेर्दा यसलाई सामाजिक–सांस्कृतिक लगायतका विषयसँग जोडेर अध्ययन–अनुसन्धान हुने सम्भावना कमै देखिन्छ।

नेपाली भाषाका सबभन्दा पुराना पुस्तकहरूमध्ये गणितको पुस्तक पनि पर्छ, जुन वि.सं. १९४० मै प्रकाशित भइसकेको थियो। नेपालमा त्यसअघि नै गणितको अध्ययन–अध्यापनको काम भइसकेको र विभिन्न कालखण्डमा राज्यले यो विषयलाई महत्व दिएको अरू पनि उदाहरण पाइन्छ। १९४०मा नेपाल मनोरञ्जन यन्त्रालय ठहिटीमा छापिएको पंडित गोपालदत्त पाँडेको व्यक्तचन्द्रिका भन्छ– “अरू देशमा व्यक्त गणित बनाये पनि पर्वतीय भाषामा यो बनाउन नसक्दा गोरखालीहरूलाई गणित आउँदो रहेनछ भन्लान् भन्नाका निमित्त आफ्ना बुद्धिका अनुसार (व्यक्त चन्द्रिका) पर्वतीय भाषामा बन्याको हो।”

व्यक्तचन्द्रिकालाई नेपाली भाषाको सबभन्दा पुरानो पुस्तक मानिन्छ। ज्योतिष र ग्रह–नक्षत्रका विषयमा जानकारी दिने गणितमा आधारित पाण्डुलिपिहरू भने त्यसभन्दा निकै पहिलेदेखि प्रचलनमा रहेका थिए।

गणितको परिचय र महत्वका विषयमा व्यक्तचन्द्रिकामा भनिएको छ– “एक, दुई, तीन इत्यादि संख्याहरूले जो गणित गरिइन्छ त्यसलाई व्यक्त गणित भन्दछन्। त्यो यूरोप देशवासीहरूले अरब देशवासीहरूसँग सिके अरब देशवासीहरूले भारतखण्डबाट सिके अद्यापि त्यो गणितलाई (हिसाबे हिन्द) भन्दैछन् यस निमित्त पहिले भारत खण्डमा उत्पन्न भई त्यहाँदेखि समग्र पृथ्वीमा फैलियो।”

त्यस बखतका गणितका पुस्तकहरूले नेपालमा चलेका रुपैयाँ पैसाका साथै जयस्थिति मल्लको समयको पहाड र तराई क्षेत्रमा चलनचल्तीमा रहेका मौद्रिक तथा जग्गा कारोबारका मानकहरूको पनि जानकारी दिन्छन्। ती पुस्तकहरूमा संख्याको उच्चारण र बुझने (आज सामान्य लाग्ने) काइदाहरू पनि सिकाइएको छ। ती पुस्तकहरूले तत्कालीन समयमा कारोबारका लागि आवश्यक एउटै मापन–मानक बनाउन कति सघायो भन्ने अनुमान गर्न कठिन भए पनि अहिलेको मानक स्थापनामा देन दिएको हुनुपर्छ।

“एउटा मानिसले ५५ रुपैयाँमा दुइटा कोट किन्यो दुईमध्ये एउटा २८ रुपैयाँमा र अर्को ३४ रुपैयाँमा बेचियो भने त्यसलाई कति नाफा भयो?” भन्ने गणितचन्द्रचन्द्रिकाको प्रश्नले त्यो वेलाका दर–रेटको व्यावहारिक हिसाब सिकाएको छ। यस्ता जानकारीहरू तत्कालीन समाजको आर्थिक वा सांस्कृतिक अवस्था थाहा पाउने एउटा महत्वपूर्ण अध्ययन स्रोत पनि भएका छन्, अहिले।

नेपालमा वि.सं. २००० अगाडि गोपालदत्त पाँडेको व्यक्तचन्द्रिका (१९४०), गङ्गाधर शास्त्रीको गणितचन्द्रिका (१९६७), रघुनाथ पन्तको गणित प्रश्न संग्रह (१९७१), पद्मनाथ पन्तको गणक सुन्दरी (१९७३), ब्रह्मलाल श्रेष्ठको विचित्र गणित (१९७५), रामजीप्रसादको गोरखा टेबुल बुक (१९८८), रघुनाथको गणितचन्द्रचन्द्रिका (१९८९), चन्द्रकला देवीको शिशुबोध तरङ्गिणी (१९९१), सिद्धराज जोशीको मुखाग्र गणित (१९९२) र नरेन्द्रमणिको अनुवाद (हल र स्टिभेन्सको स्कूल ज्यामिति) १९९२मा प्रकाशित भएको पाइन्छ।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

हिमाल खबरपत्रिका
२३ मंसिर २०७०
8 December 2013

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *