Skip to content


सम्मानीय पाठकवृन्द ! म यस पटक सम्पूर्ण कुरा लेख्छु । जे भए पनि लेख्छु, लेख्छु । म किन लेख्छु, लेख्छु भन्दै छु ? के तपाई विज्ञ हुनुहुन्छ ? हुनसक्छ तपाई विज्ञ नै हुनुहन्छ तर अन्तर्यामी हुनुहुन्न । म तपाईलाई मेरो विगत सुनाउन सक्छु, सुनाउँदैछु । पढाउन सक्छु, पढाउँदै छु । मेरो कथा तपाईँलाई सुनाएर पढाएर म हल्का हुन चाहन्छु । मेरो थाप्लोको पीडा तपाईलाई सार्न चाहन्छु । के तपाईँ मेरो पीडा लिन रचाउँनुहुन्छ ?

अवश्य, मीठो देखेर मौरी फूलमा झुम्मिन्छन् । तातो भेटेर बलेको आगो छेउ मान्छे झुम्मिन्छन् । मान्छे सुखमा साथ दिन्छ दुःखमा पर–पर तर्कन्छ । धन्दा नमान्नु होला । अहिले म निभेको आगो हैन, बलेको आगो नै हुँ । म मेरो विगतको पाटो पल्टाउँदै छु । थोरै चाख लिनु भएमा म धन्य हुने थिएँ ।
–म बहुलाएँ सबैका लागि तर दुई जनाका लागि मात्र बहुलाइन् ।

–मैले तीन छोरी जन्माएँ तर छोरा नजन्माई नछाड्ने संकल्प गरेँ ।

–म आचार्य थिएँ, अधिकारी भएँ र बस्नेतमा पनि परिणत भएँ ।

–अहिले भने ती सबै थर पाखा लागे । म अज्ञात स्त्रीमा दरिएँ ।

–कतै बाध्यता, कतै रहर, कतै जिद्दी मेरो जीवन वरपर घुमिरहे, घुमिरहेछन्, संभवत घुमिरहने छन् ।

–कृपया मेरो विगतदेखि वर्तमानसम्म घुम्नुहोला । सकेजति पीडाको थुम्को हेर्दिनुहोला । जहाँ जहाँ जे–जति भेट्नुहुन्छ र सक्नुहुन्छ, मलाई वेस्कन घृणा गर्नुहोला ।

–ममा पीडा पचाउने सामर्थ्य छ । घृणा बोक्ने बानी छ । पीडाले गर्दा मैले सपनाको महललाई विपनामा बदलेँ । घृणाले गर्दा मैले मेरो मनोकांक्षा पूर्ण पारेँ ।

–धन्दा न मान्नुस् । अहिले मसँग सबथोक छ । ऊ पनि छ, त्यो पनि छ । यता पनि छ त्यता पनि छ । तर पनि मेरो कथा भित्रको एक पात्र जो मेरो विगत पुरापरी जान्दछ त्यो मेरो मुहार हेर्ने रुचाउँदैन । पाठकवृन्द, सक्नुहुन्छ भने कृपया मेरो त्यो पात्रलाई मेरो संदेश सुनाइदिनुस् । मेरो मुहार हेर्ने त्यसलाई पठाइदिनुस् ।

मेरो जीवनका दुई पात्रका कुरा गरेँ । एक पात्र जो मेरो पतिको भूमिकामा पनि देखिएको थियो, अहिले तँसँग मेरो सरोकार छैन भन्छ । अर्को एक पात्र जो मेरो हाल सब बुझ्छ ऊ, मेरो काका हो । काका अर्थात् नरे । उसको पूरा नाम हो– नरनाथ आचार्य ।

पाठकवृन्द, अब मेरो कथा मेरै मुखबाट सुन्नुस् । मैले मात्र चौध वसन्त फक्राएकी थिएँ । ममा कुरकुरे वैंस चढ्दै थियो । बौद्धिकताको सुको थिएन तर व्यवहारिकताको भँगालो थियो । म आफ्ना संगिनीहरूका साथमा गिनेरी खोलाको तिरमा बाख्रा चराउँदै थिएँ र बनै थर्कने गरी गीत पनि गाउँदै थिएँ । त्यसै बखत एक पुरुष स्वर मेरो कानमा ठोक्किन आइपुग्यो ।

–यस गिनेरी खोलाको तिरमा कुन तारादेवी जन्मिछन् ?

म झस्किएँ । तारादेवी प्रख्यात गायिकाको नाम हो भन्नेसम्म मलाई थाहा थियो बोल्ने मान्छेको मुहार नहेरीकनै जवाफ फर्काए– “आफू नारायणगोपाल भएर यहाँ को झुल्किएको छ ?”

सुरिलो र कोमल स्वरले तानिएर मात्र म यहाँ झुकिएको हुँ भन्दै एक खाइलाग्दो ज्यान भएको युवक देखापर्यो । म अँझ भयभित भएँ । बाटो हिड्ने बटुवा धेरै हुन्छन् । तर यस्तो लक्काजवान ठिटो म नजिक आउँदै छ । म त्यहाँ एक्लै छु, संगिनीहरू पर्तिर गट्टा खेल्दै छन् । म नजिक नजिक युवक आइपुग्नै लाग्यो म भने बुकुर्सी मार्ने दाउ हेर्ने थालेँ ।

म भयभित भएकै कारणले होला उसले मुख खोलियो, “पर्दैन, पर्दैन डराउनु पर्दैन । म जंगलको बाघ भालु हैन । म तिमीलाई तर्साउन आएको भूतप्रेत पनि हैन । गाऊ गाऊ, म तिम्रो गीत सुन्न आको । एकैक्षण सुस्ताउनु पनि पर्यो र यति मीठो स्वरकी धनी नानीको मुहार पनि हेर्नुपर्यो भनेर पो आएको’ । ऊ दस मीटर परकै ढुंगामा ढुकुक्क बस्यो । म आश्वस्त भएँ मेरो वरपरको त्रास हरायो । उसले गाउने आग्रह गर्यो । म मुस्कुराएँ मात्र । मलाई संकोच लाग्यो । उसले मेरो पारिवारिक कुराहरू सोध्यो, मैले सविस्तार बताएँ । आधा घण्टे गफसफको क्रमलाई टुंगाउँदै ऊ उठ्यो र गन्तव्यतर्फ जान लम्कियो । जाँदा–जाँदै भन्यो, “मधुर स्वरझै सुन्दर मुहार परेकिरहिछ्यौ । तिम्रो नाम त सुन्दरी हुनुपर्छ । लौ त सुन्दरी फेरि भेटौंला” म खुब खुशी भएँ । आजसम्म सबै जना मलाई काइँली, काइँली भन्थे । आज एकजनाले ‘सुन्दरी’ नाम राख्यो ।’ ‘सुन्दरी’ शब्दले सम्बोधित हुनु पाउनु गर्वको कुरा थियो मेरा निम्ति । सोचेँ, संगिनीहरूलाई पनि सोधेँ । हैन यो काइँली पोक्थी के भन्छे भन्दै सबैले हाँसोमा उडाए । म हरघडी त्यही युवकको मुहार सम्झन थालें । आधा घण्टे समय मेरो जीवनकै सौभाग्यको समय रहेछ भन्ठानें ।

सधैंभरि बाख्रा चराइन्थ्यो, गीत गाइन्थ्यो, गट्टा खेलिन्थ्यो । यही क्रम जारिरह्यो । म युवकलाई कतै भेटिहाल्छु कि भनेर संगिनीहरूभन्दा अलिक टाढा पर पुगेर गीत गाउने गर्न थालेँ । हुँदाहुँदै एकहप्तापछि युवकले मलाई भेट्यो । सहज बातावरणमा कुराकानी भए । उसले मसँग प्रेम प्रस्ताव राख्यो । मैले बुवाआमा नै सर्वैसर्वा हुनुहुन्छ भन्दिएँ । उसले व्यक्तिगत रुपमा निर्णय गर्न कर गर्यो । मैले त्यसलाई स्वीकार्न सकिन । ऊ केही निराश भएर उठ्यो र हिंड्यो । यस पटक भने ऊ रिसाएझै लाग्यो । बित्थामा रिसाउने बनाएँछु भनेर पछुताएँ । आफूले आफैंले धिकारेँ । मसँग अरु उपाय पनि थिएन । जीवन बारे निर्णय लिने क्षमता बिल्कुलै ममा थिएन ।
यस घटनाको पन्ध्र दिन पछि उसलाई मैले बुवाआमासँग कुरा गर्दै गरेको भेट्टाएँ । एउटा बाक्य चाहिं मेरो कानमा पर्यो । “म जसरी भए पनि काइलीसँग बिहे गर्छु, गर्छु ।”

त्यसबेला मैले अरु कुरा सुन्न पाइन । मनको एक कुनामा उमड्ड सञ्चार भइरहेको थियो, अर्को कुनामा त्रासले घोचिरहेको थियो । म विवेकशुन्य भएँ । बाख्रा लिएर गिनेरी खोलातिर हुइकिएँ । साँझमा घर पुगेँ । परिवारमा उत्साह शुन्य भएको पाएँ । कुनै अनिष्टको घडी आइरहेछ झै लाग्यो । एकले अर्काको मुहार हेर्ने क्रम मात्र दोहरिह्यो । हप्ता दिनसम्म कुराकानी गुपचूपमै रह्यो ।

एक साँझ बुवाले मलाई डाक्नुभयो । परिवारका सबै सदस्य बस्नुभएको रहेछ । सबै गम्भिर मुद्रामा देखेर म पनि गम्भीर भएँ । केही वेरको सन्नाटालाई चिर्दै बुवा बोल्नुभयो, “हेर् छोरी काँइली तेरो पुरपुरोमा यस्तो लेखेको रहेछ । दुनियाँलाई सचेत पार्ने म ज्योतिषी आज भड्खारामा परें । त्यो भड्खारमा तँलाई जाक्न पुगें । केटाको जिद्दीको अगाडि मेरो केही लागेन । इज्जत जानुभन्दा तँलाई सुम्पनै जाति भन्ठानेर तँलाई गोठालामा भेट्ने केटालाई तेरो जोडी बाँध्न बाध्य भएँ । म भित्रभित्रै खुशी भएँ । बुवाको भूमिकाले भने मनको एक कुनामा खैलाबैला मच्चिन थाल्यो । अँझ प्रष्ट्याउँदै आमा अघि सर्नुभयो,“हेर छोरी ! बिहे नगर्दिए, भगाएर लैजान्छु भन्छ । भाग्न नमाने घिसारेर लैजान्छु भन्छ । घिस्रिन पनि नसके ढुंगाले हानेर मार्छु र आफू पनि मर्छु भन्छ । यस जन्ममा काइँलीलाई श्रीमती बनाउन नसके पनि अर्को जन्ममा त अवश्य बनाइछाड्छु भन्छ, त्यो, केटो ।”

केटो त लायकको थियो । जोडा नमिल्ने पनि हैन । किन बुवाआमाले नमान्नु भएको रहेछ भन्ने जिज्ञासा मनमा उब्जिरहयो । मुख खोल्न सकिन । चुपचाप मूर्तिवत् बसिरहें ।

यस हिसाबले विवाह भयो युवक अर्थात् चक्रप्रसाद अधिकारीसँग । शुरुशुरुका दिन सुखद नै भएर बिते । मनग्यै सम्पत्तिको मालिक रहेछ चक्रे । तराईको घरखेती ऊ आफू हेर्दो रहेछ । पहाडतिरको खेती गर्ने अरु नै दाजुभाइरहेछन् । ठूली छोरी जन्मिई, कहिले काही ठाक्कठुक्क गर्थ्यो । बिस्तारै रक्सी पिउन थाल्यो । दिनभरि सँगसँगै काम गर्थ्यो । साँझमा भट्टीमा पस्थ्यो र टन्न पिएर मलाई नानाथरी भन्थ्यो । मैले मुख खोलेँ भने लादी फर्किउँजेली पिट्थ्यो । छुट्याउन कुनै छिमेकी आए भने तिनीहरूलाई नै सात हात पर धकेलिदिन्थ्यो । तर एउटा कुराचाहिँ भन्नुपर्छ । ऊ मलाई आसाध्यै माया गर्थ्यो रक्सीको नाशा हराएपछि । रक्सीको नशा हराएपछि मलाई डोकोमा बसाउँथ्यो र उपचार गर्न धरानतिर दौडाउथ्यो । उसले मलाई एकदर्जन चोटि धरान पुर्यायो । उपचारका लागि लगेको देखेर सबै गाउँलेहरू चक्रेलाई हेर्दै भन्थे, “रक्सीले नछुदा चक्रे देउतै हा,े रक्सीले छोयो कि यो राक्षस भइहाल्छ ।” रक्सी खाएको बेलामा तैंले मुख खोल्दै नखोल्नु भनेर मलाई पनि सचेत पार्थे । मैले पनि त्यसैले गरें । एकदिन हैन, दुई दिन हैन, सधैं जसो भट्टीको रस नपिइकन नहुने देखेर कहिलेकाही मेरो पनि रिसको पारो तातिहाल्थ्यो । म तातिएपछि चक्रे आगो बन्थ्यो र मलाई कच्याककुचुक पार्थ्यो । पीडा खेप्दै गएँ । घरभरि धन थियो, छोरीहरू थिए तर छोरा थिएनन् । अंगालाभरि श्रीमान् थियो । ऊ राक्षसमा परिणत भइदेला कि भन्ने त्रास पनि थियो ।
एक दिन दिउँसो बुवा घरमा आउनुभयो । चक्रे र काका नरनाथ भैंसी गोठाला गएका थिए । बुवा त्यस क्षेत्रकै नामी ज्योतिषी कहलाउनु हुन्थ्यो । उहाँले नातिनीहरू मात्रै जन्मेका देखेर भन्नुभयो । तेरो यो भाग्यमा छोरा छैनन् । ज्वाइँ पनि अल्पायुमै मर्छन् । धन मनग्यै छ । दुःख त हुँदैन । तर छोराको आश अब मारिदे ।’

यही कुराले गर्दा मैले तिमेरुको बिहे नगर्दिने सोच बनाएको थिएँ । ज्वाइँले जिद्दी गरे, मैले हारें । इज्जतकै लागि म हारेको हुँ ।” म झनै दुखित भएँ । छोरा नभए, पिण्ड दान पाइन्न, स्वर्गको बास भेटिन्न भन्ने कुरा मैले बुझेकी थिएँ । म छोरोको चाहमा पिल्सिरहें पछि कुरा बुझे । चक्रेलाई यी सबै कुरा थाहा रहेछ । त्यसैले मैले छोरी छोरी जन्माउन थालेपछि रक्सीमा डुब्न थालेको रहेछ । नभन्दै कान्छी छोरी डेढ वर्षकी भएकी मात्र थिई चक्रले धर्ती नै छाडिदियो ।

दुःख सुख छोरी हुर्काउँदै गएँ । छोराको चाह पुरा गर्न मैले काका नरनाथलाई आफ्नै घरमा खान र सुत्न भनेकी थिएँ । उनी पुरुष थिए । उनी भए पछि घरमा भूतप्रेत आउँदैन भन्ने मलाई विश्वास थियो । तीन छोरी हुर्कदै गएँ । काकालाई हेरेर नै म छोराको तृषणा भेट्थेँ । मेरी जेठी छोरीभन्दा थोरै जेठा मात्र थिए काका । तिनलाई मैले दूध चुसाएकी छु, उनको गुमुत पनि गरेकी छु । असल धाइआमाको भूमिका निर्वाह गरेकी छु । मलाई लाग्थ्यो–“उनलाई हजुरआमाले जन्माए पनि उनी मेरा छोरा हुन् । म उनलाई जीवनभर छोराकै दर्जामा राखिराख्न पाऊँ ।”

सामाजिक संस्कारले जेलिएका थियौँ हामी । म उनलाई छोरा भन्न पाउँ दिनथेँ, काका नै भन्थेँ । उनी मलाई आमा भन्न सक्दैनथे । काइँली भनेर सम्बोधन गर्थे । मैले एक दिन भावुक हुँदै उनलाई प्रस्ताव राखें –‘काका तिमी मलाई आमा भन ल ! म तिमीलाई प्यारो छोरा भन्छु ।’ मेरो कुराले उनको बालमनस्थितमा खै कस्तो चोट पर्यो कुन्नि ? मैले अनुमान गर्न सकिन । उनी त्यसदिन देखि मसँग खुलेर कुराकानी गर्न हिच्किचाउन थाले । यो कुरा कसैलाई नभन्नु नि ! भनेर सम्झाउँथे म । एक दिन मैले ठट्यौलो पारामा उनलाई ज्वाइँ खोजिदेऊ भनेँ । उनले नातिनीहरू सानै छन् भन्ने जवाफ फर्काए । उनको जवाफ परिपक्व थियो । मेले ज्वाइँ मेरो लागि खोज्न भनेकी थिएँ तर उनले छोरीहरूको लागि सम्झेछन् ।

चक्रेका पहाडका परिवार पनि तराई झरे । जग्गा किने, घर बनाए । चक्रेले ओगटेको जमिनको अधिकांश भाग मलाई नै दिए । छोरीहरू ठुला भएपछि नामसारी गर्दिउँला, समेत भने । खेतीपातीमै गुजारा चल्दैथ्यो । गाउँघरका आइमाईहरू काकालाई छोरो बनाउँछे यो काइँली बरु अर्को बिहे गरेर छोरो जन्माउनु नि भन्न थाले । गाइगुइँ कुरा चल्दाचल्दै धेरैले मेरा कानैमा पनि भने । बाइस वर्षमै लोग्ने परलोक भयो । बाँकी जीवन कसरी बिताउने होला भन्ने पिरलो मलाई पनि लागेको थियो । छोरीहरू बिहे गरेर आ–आफ्ना घर जान्छन् । मैले भने फक्रदो वैशलाई ओइलाउँदै काल पर्खेर एक्लै झोक्राएर जीवन बिताउनुपर्ने भो भन्ने सोच्न थालेँ । मनको वह पोख्ने एउटै पात्र थिए काका । उनीसँग मनको वह पोखें । विचरा काका के जवाफ दिन्थे ! उनले भने, “काइली, बिहे गर्ने कुरा नसोच । अब बिहे गर्नुभन्दा बहुलाउनु निको हुन्छ ।” हो साँच्चै उनको कुरा सही हो भन्ने लाग्यो केही दिन ।

एक दिन धान कुटाउन राइस मिल पुगें । अन्तिममा मेरो पाले पर्यो । सबै मान्छे हिँडिसकेका थिए । ड्रइभर र म मात्र थियौँ । एकान्त पारेर ड्राइभरले मलाई साँझ राती म तिम्रो घरमा आउँछु है भन्यो । म छक्क परें । उसले नाना भाँतिका लोभ देखायो । मैले स्वीकृति दिन सकिन । मन भारी भयो । घर फर्किएँ । छोरीहरू टुलुटुलु मेरै बाटो हेरिरहेका रहेछन् । म ढिलो आएकाले काकाले किन ढिलो गरिस् भनेर प्रश्न तेर्साए । मैले मिलमा भीड भएकाले ढिलो भयो भनेर टारें ।

खाना खाइवरी काका र छोरीहरू निदाइसकेका थिए । करिब रातको १० वजेको थियो । ढोका कसैले ढकढकायो । खोल्दा त उही ड्राइभर पो देखियो । म के गरुँ न कसो गरुँ भएँ । ऊ भित्र पस्यो । म ढोकै नजिक उभिइरहें । उसले ढोका लगायो । उसको एउटा हातमा रक्सीको बोतल थियो भने अर्को हातमा कुखुराको काँचो मासु थियो । ऊ पिरा तानेर बस्यो र मलाई बस्न आग्रह गर्यो । मैले अस्विकार गरें । त्यहाँबाट निस्किहाल्न अनुरोध पनि गरें । तर ऊ मानेन । ऊ मेरो रुप रंग र जवानीमा लठ्ठ परिसकेको रहेछ । विन्ती गर्न थाल्यो । मैले गाउँलेहरूलाई हारगुहार गर्छु भनेर धम्क्याएँ । उसले पटक्कै मानेन ।

त्यसबेला उसले भनेका कुरा अहिले पनि झल्झली सम्झन्छु । उसले भनेको थियो, “हेर ! काइली तिम्रो मनको अबको राजकुमार मै हुँ । मसँग ती दुइटी श्रीमती भएको देखेर तिमी आत्तिएकी हौली र डर नमान । त्यो जेठी मभन्दा तीस वर्ष जेठी हो । सम्पत्तिको लागि ल्याएको थिएँ । अहिले मसँग जे जति सम्पत्ति छ, त्यो त्यसकै कारण हो । त्यो अब चाडै मर्छे, टी.बी.ले ग्रस्त छे । त्यसले तिमीलाई कुनै डिस्टर्व गर्दिन । अर्की त्यो चण्डाल खालकी छे । त्यसबाट मैले छोराछोरी पनि जम्माएको छैन । त्यसलाई ल्याएको वर्ष सातेक भयो । मनोरञ्जनका निम्ति ल्याएको हुँ । त्यो चुपचाप आफ्नो लगनी गरेर बसी भने बसोस् । त्यसका लागि भिन्नै घर छँदै छ । हैन, हामीलाई डिस्टर्व गर्न थालिछ भने पिटपाटे कम्पनी लगाउन थाल्छु । एउटालाई टिपेर त्यो हिँडिहाल्छे । अनि हुन्न त हाम्रो चैन ।” उसको लामो गन्थन पछि म यही निर्णयमा पुगेँ कि जेठी मारिहाल्छे, कान्छी पोइल हिंडिहाल्छे, ड्राइभरकी श्रीमती म मात्र हुन्छ ।

यस्तै सोचेर त्यो रात मासु पकाएँ । उसले रक्सीसँगै मासु खायो । मलाई पनि खान आग्रह गर्यो । मैले शुरुमा मानिन तर विभिन्न हाउभाउका साथ उसले मलाई खुवाइछाड्यो । गफ गर्र्दै खाइयो । काका र छोरीहरू व्युझेलान् कि भन्ने त्रास भइरहन्थ्यो । म नखाने मान्छेलाई थोरैले पनि नशा चढिहालेछ । बोल्दा मेरो आवाज ठूलो भइहाल्दो रहेछ । ड्राइभर नै कन्ट्रोल गर्दैरहेछ । त्यस रात खाँदा खाँदै कति खाइयो र कतिखेर सुतियो पत्तै भएन । विहान झलमल्ल घाम लाग्दा पो व्यूझिएँ । मेरा कपडाहरू ल्याड्डफ्याड्ड थिए । मेरो सारा अस्मिताको बलिदान भइसकेको थियो । मेरो चेतन मनले भने ड्राइभरलाई लुट्न दिएको थिएन । अचेतन मनले भने सर्वस्व दिएछ । ड्राइभरले लुट्नसम्म लुटेर टाप कसेछ ।

धन्न, काका र छोरीहरूले मेरो त्यो अर्धनङ्न अवस्था देखेनन् । विहान मैले नउठाई नउठ्ने उनीहरूको बानी थियो । त्यसैले म जोगिएँ । यो क्रम निरन्तर चलिरह्यो । म नशामा लठिन्थेँ । ऊ के के गर्थ्यो, मेरो अवचेतन मनलाई सब स्वीकार थियो । पछिल्ला दिनहरूमा मलाई त्यति विघ्न नशाले गाँज्दैनथ्यो । चेतन मनले नै यौनभोक तृप्त गरेको महसुस गर्न थालेँ । पछि गर्भ बोकेको थाहा पाएँ । ड्राइभरले बिहे गरौं भन्यो । मलाई निर्णय लिन गाह्रो भयो । छोरीहरूको मुहार हेर्थेँ, ती अबोध बालिकाहरूलाई कसरी एक्लै छाडेर पोइल जानू ? म विलखबन्दमा परें । मानसिक द्वन्दमा केही समय फसिरहें । काकाले ‘बहुलाउनु निको’ भनेको कुरो सम्झिएँ । अर्थोक गर्ने सामर्थ्य थिएन । म बहुलाएँ भने चक्रेका बाउआमाले छोरीहरू जिम्मा लिन्छन्, घरबारी जिम्मा लिन्छन् र म फुर्सिदिली हुन्छु भन्ने ठहरमा म पुगें ।

ड्राइभरसँग सल्लाह गरेँ । ड्राइभरले ‘गुड आइडिया’ भन्दै स्वीकृतिदियो । अब भने मेरो कठिन परीक्षाको घडी आयो । कसरी बहुलाएको अभिनय गर्ने भन्ने सोचमा म डुब्न थालेँ ।

योजना मुताविक विहानै झिसमिसेमा उठेँ । शारीरिक रुपमा बहुलाहीको रुप धारण गरें । घरको चारै दिशामा आगो बालेँ । भैंसी र गाई खोलेर कलकलाउँदा मकैबारीमा हुलिदिएँ र आफू टिन ठटाउँदै नाच्न थालेँ । हरेक किसिमका कुराहरू बकेको र टिन ठटाएको आवाजले मान्छेहरू आए । म बौलाएको ठम्याए । सचेत पार्न खोजें । मैले अँझ उग्ररुप लिएँ । धामीहरू बोलाइए । कसैले केही ठम्याउन सकेनन् । संयोगले मेरो ड्राइभर पनि नामी धामी थियो । उसलाई डाकियो । शुरुमा आफू आउन नसक्ने वहाना गर्यो । पछि काइँलीका बाबुआमा सासू ससुराको विनम्र आग्रहलाई स्वीकार्दै ड्राइभर आयो । धामी बस्यो । जोखाना हेर्यो र भन्न थाल्यो, “यस बालिकेको आल्पायुमा स्वर्गवास भएको श्रीमान्ले अर्को बिहे गरोस् भन्ने चाहेको छ । यस बालिकेलाई चाडै बिहे गर्दिए मात्र यसको उद्दार हुन्छ, सेसन्तरहरू हटेर जान्छन् नत्र ढिलो भएमा पुरै जीवन यस्तै भएर गुजारा चलाउनु पर्नेछ” । यस कुराले सबैलाई चकित तुल्यायो ।

अब मेरो बिहेको ढोका खुल्यो । मेरा बुवाआमा र सासूससुराले सरसल्लाह गरे । उनीहरू बाध्य भएर बिहे गराइ दिने निर्णयमा पुगे । चारैतिर केटा खोजियो । एक त विधुवी अर्कातिर बहुलाही पनि । कोही पनि मसँग बिहे गर्न राजी भएनन् । महिना दिनसम्म नभेटेपछि दुवै थरी विलखबन्दमा परे । कुनै विकल्पको बाटो छ कि भनेर पुनः ड्राइभरलाई जोखाना हेराइयो । उसले ढिलो बिहे गर्न ढिलो भइसकेको कुरा बताउँदै अगाडि थप्यो ।” जति धेरै सौता हुन्छन्, त्यतिकै लाभ यस बालिकालाई मिल्दछ ।”

धामीको कुराले अँझ संकट थपियो । त्यस एरियाभरि दुई जोईको पोइ ड्राइभर मात्र थियो । धामी बसिसकेपछि गाउँलेहरूको सभा बस्यो । त्यस सभामा ड्राइभर पनि ससम्मान डाकियो । सभामा कुरा शुरु हुनु पूर्व नै एकजना गाउँलेले मुख खोले, “ धेरै सौता हुन सक्ने घर त धामी बाजेको मात्र छ । अब काइलीको उद्दार गर्ने काम धामीबाट मात्र हुन्छ । त्यसैले घुमिफिरी धामीकै पोल्टामा गोल छिरिरहेको छ ।” यस कुरामा सबैले सहमति जनाए र यसरी भयो धामी अर्थात् ड्राइभर कुलबहादुर बस्नेतसँग मेरो बिहे ।

ड्राइभरले खुशीका साथ मलाई भित्र्यायो । म पनि खुशी नै थिएँ । छोरीहरूको सम्झना आउनासाथ खपि नसक्नुको छटपटी हुन्थ्यो । ड्राइभर सम्झाउँथ्यो । बिस्तारै बिस्तारै मैले पागलपनको अभिनय कम गर्दै गएँ र दुई महिनापछि सद्दे भएँ । त्यतिञ्जेलसम्ममा मेरो पेट पनि बढिसकेको थियो । छोरो जन्मियो । दुःखले जीवन चल्दै गयो । ड्राइभरसँग जग्गा थिएन । दुइटी स्वास्नी बसिबसी खान्थे । म पनि थपिएपछि अरु संकट थोपारियो । ड्राइभरले एउटा झुप्रो बनाएर मलाई र माइलीलाई अलगै राख्यो । ऊ आफू जेठीसँग बस्थ्यो । जेठी कुप्री परेकी थिई । ऊ यौन भोक मेट्न प्रायः मकहाँ आउँथ्यो । कहिलेकाहीं माइलीकहाँ पनि धाउँदो रहेछ । मेरो प्रत्येक वर्ष जसो गरेर लगातार तीन जना छोरा भए । पछि ल्याप्रोस्कोपी गराएँ । मसँग रस छउन्जेल ड्राइभरले चुस्यो । मन लागि चुस्न पाउँदा आफूले कमाएको केही रकम दिन्थ्यो । पछि त दिनै छाड्यो । बनिबुतो गरेर छोराहरू हुर्काउन थालेँ । सहयोग माग्दा ड्राइभर ‘आफू त महादेव उतानो टाड्ड कसले देला वर भनेर मलाई निरास बनाउन थाल्यो । उसको यस्तो चालामालाप्रति रुष्टता देखाउँदा उल्टै रहस्य खेलिदिन्छु भनेर मलाई त्रास देखाइरह्यो । साँच्चै म बहुलाही भएको कुरा नक्कल मात्र थियो भन्ने अरुले थाहा पाए भने माइती पक्षले समेत मलाई घृणित नजरले हेर्नेछन् भन्ने त्रासले मेरो मनमा डेरा जमायो । अब उल्टै भण्डाफोर गर्दिने कुरा गर्दै ड्राइभर मसँग पैसा चुड्न थाल्यो । केही दिनसम्म त आफूले खाइनखाई जम्मा गरेको पैसा दिएँ । पछि दिन सकिन । उसको र मेरो झड्पको अवस्था सिर्जना भयो । दुःखबाट आएकी नारीलाई अँझ घनघोर दुःखमै जाक्नुपर्छ भन्ने मानसिकता उसमा जन्मिएको ठहरमा पुगेँ ।

आजित भएपछि मैले पनि रिसकै झोँकमा ड्राइभरलाई लोप्पा खुवाउँदै साफ साफ भनिदिए–“अहिले छोराहरू हुर्काउन मद्दत गरेनौ, बुवाको धर्म पालना गरेनौ । नेपाल सरकारले अहिले नयाँ कानून बनाएको छ । सन्तानको परिचयका लगि आमा नै काफी हुने व्यवस्था छ । तिमीलाई म मेरो लोग्ने नै मान्दिन र बुझ यी छोरा पनि तिम्रा होइनन् । मेरा मात्र हुनन् । म अर्थात् काँइलीका मात्र । अब यी छोराहरूको जीवनको कुनै घडीमा पनि बुवाको आवश्यकता पर्दैन । आमा नै काफी छे । बच्चाको लागि आमा पहिलो र प्राथमिक सम्बन्ध हो र बुवा त आमाले चिनाइ दिएको गौण विषय मात्र हो । तसर्थ आइन्दा मलाई आफ्नी श्रीमतीको रुपमा नहेर्नू । विगतका सम्पूर्ण उठवस सबै बिर्सिदिनू । यसैमा तिम्रो कल्याण छ ।” मेरा कुरा सुनेपछि उसको मुखमा भोटे ताल्चा लाग्यो ।

त्यसपछि जीवन चलाउन मैले किराना पसल थापेँ । त्यसबाट उत्तिसाह्रो प्रगति गर्न सकिन । विहान बेलुकाको छाक टार्न पनि धौ–धौ भयो । छोराहरूको उचित स्याहारसुसारको कुरा त परै रह्यो । भोकै पर्नुभन्दा केही गर्नु वेस भन्ठानेर रक्सी बनाउने र बेच्ने काम गर्न थलेँ । सुँगुर पनि पाल्न थालेँ । राम्रो आम्दानी हुन थाल्यो । बाहुनकी छोरी भएर रक्सी बनाउँछे, सुँगुर पाल्छे भनेर अरुहरू नाक खुम्च्याउन थाले । भोकभोकै मर्नुभन्दा सकेको गरेर बाँच्नु नै जाति भनेर जवाफ फर्काउन थालेँ । अहिलेसम्म मेरो गुजारा त्ससैबाट चलिरहेको छ । अहिले मसँग आफ्नै घर छ सुन्दर खालको । छोराहरू बोडिड्ड स्कूलमा पढ्दै छन् । कामदारहरू छन् । काम गर्छन् । मेरो काम मात्र रेखदेख गर्नु भएको छ ।

धेरै लामो समयपछि मात्र नरनाथ काकाले ड्राइभरसँग मैले हिमचिम बढाएको कुरा बुझेका थिए । उनले त्यतिबेला त्यो रह्स्य खोलिदिएका भए म साँच्चैकी पागल्नी बन्थेँ । मैले उनलाई यो कुरा कसैलाई नभन्नू नि भनेर मीठामीठा खानेकुरा खुवाउने गरेकी थिएँ । जहाँ गुलियो त्यहीँ बच्चा भुलियो भने झैँ उनी झुलिए । पछि ठूला भएपछि जात फाली भन्छन् रे । न म उनलाई भेट्छु न उनी मलाई भेट्छिन् । मेरो अनुहार नै नहेर्ने कसम खाएको कुरा सुन्छु । मलाई भने मेरा प्यारा काकाको मुहार नहेरी भा’को छैन । एक समयमा मेरा छोरा भएका काका । मैले तिमीलाई पनि जितेँ । भविष्यवाणी गर्ने मेरा ज्योतिषि बाबुलाई पनि जितेँ । हुँदाहुँदै मैले ड्राइभरलाई पनि जितेँ । मेरो अन्तर्हृदयको इच्छा भने नारीलाई तुच्छ सम्झने साराका सारालाई जित्नेछ ।

नन्दलाल आचार्य
तपेश्वरी–१, उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *