Skip to content

कुमारी मामु तीज गीतसंग्रह नियाल्दा


पिता स्व. चित्रमान श्रेष्ठ र माता स्व मानकुमारी श्रेष्ठका सुपुत्र ताराप्रसाद श्रेष्ठको जन्म वि.सं २००१/०२/१५/०६ दोभान गाविस-२, पाल्पामा भएको थियो । हाल उहाँ पञ्चनगर-२ भानूनगर नवलपरासीमा स्थाइ रुपमा बसोबास गर्नुहुन्छ । ताराप्रसाद श्रेष्ठले लोकलयलाई आधार बनाएर गीति कविता लेख्न मनपराउने कविको रुपमा आफूलाई चिनाउन सफल हुनुहुन्छ ।

ताराप्रसाद श्रेष्ठका, श्री नेपाल तारा (कवितासंग्रह २०१८ साल), भैलो गीत (गीतिसंग्रह (२०३९), तीजको गीत (कवितासंग्रह २०४८), किसान चित्कार (कवितासंग्रह २०४८) सशस्त्र प्रहरी बल अध्यादेश विरुद्ध मेरो सार्वजानिक अपिल (कवितासंग्रह २०५७), रोडम्याप (हाइकुसंग्रह २०६० साल) चितवन रोइरहेछ (शब्द चित्र, २०६२), सम्झना (कवितासंग्रह, २०६२), तीजकोकोसेली (जनआवाज (तीज गीतसंग्रह, २०६६), झरनाको पानी (रोइलासंग्रह, २०६६), तीजको कोसेली (अन्तराष्टिूय नारी सम्मान तीज गीतसंग्रह, २०६८), तीजको कोसेली (आमा घर) तीज गीतसंग्रह,२०६९), बेलाको बोली (मुक्तकसंग्रह, २७०) र तीजको कोसेली (कुमारी मामु, तीज गीतसंग्रह, २०७०) गरी हालसम्म १५वटा कृतिहरू बजारमा आइसकेका छन् ।

कृतिको संरचना

यो कृति ५६ पृष्ठको छ र कहीं कतै खाली ठाउँ छैन । यो कृतिको प्रकाशक लेखक आफैंले गरेका छन् र मूल्य सहयोग रु २५/- राखेका छन् । यसकृतिभित्रका कूल ३५ गीतमा ३० तीजगीतको रुपमा गाउन मिल्ने खालका छन् भने गीतिलयका ५ वटा गीत पनि समावेश गरिएका छन् । कृतिको अन्तिम पृष्ठहरू तस्विरले पनि सजिएका छन् ।

कृतिको नामाकरण र जनकविको सार्थकता

यो कृतिको आवारण पृष्ठलाई केलाउँदा र पुष्पालाई बधाई १४औं गीतलाई अध्ययन गर्दा, पुष्पा बस्नेत एक जना समाजसेवी कुमारीले, सोध कार्यको सिलसिलामा जेलभित्र जादा बन्दी बालक देखेर उक्त बालकको उद्धार गरेर आमाले सरह कुमारी आवस्थामै पालन गर्दा बच्चाले मामु शब्दले बोलएको हुँदा यस कृतिको नाम कुमारी मामु राखिएको पाइएको छ –

कुमारीमै मामु शब्द उपहार पाएकी
झरनाको मूल जस्तो माया लाएकी

कृतिको नामाकरण सार्थक देखिन्छ । यस कृतिको भूमिका डा. घनश्याम “परिश्रमी”ले लेख्नु भएको छ र डा. घनश्याम “परिश्रमी”ले कवि तथा गीत लेखक ताराप्रसाद श्रेष्ठलाई “निरन्तर कलम चलाइरहने नवलपरासीका जनकवि हुन्” भनी जनकवि (लोक कवि)को संज्ञा दिनु भएको छ । बास्तवमा ताराप्रसाद श्रेष्ठका सबै कृतिको अध्ययन त गर्न पाएको छैन तर पनि यो कृतिमा ताराजीले समेटेका गीतहरूले उहाँलाई जनकवि (लोक कवि)को रुपमा उभ्याएको मलाई पनि महसूस भएको छ ।

नेपालमा मनाइने चाडपर्वहरूमा महिलाहरूको यो धार्मिक र साँस्कृतिक महत्व बोकेको यो महान चाड हो । यस चाडमा महिलाहरूले गाउँघर, जिल्ला देश तथा परदेशमा घटेका घटनाहरूलाई तथा आफूलाई परेका अर्गेल्याई, शोषण, दमन, पीडनमा परेका व्यथा, बिरह, विद्रोह आदिलाई लोकलयमा उतारेर कतै सामजिक विकृतिको आलोचना गरिन्थ्यो भने कतै भगवान शिव पार्वतीको आराधना गरिन्थ्यो साथै तीजगीतमा महिलाले आफ्ना मनभावलाई पोख्नलाई छुट थियो भन्न मिल्दछ । नारीहरूमा मात्र यो तीज गीत सीमित हुन्थ्यो भने आज आएर यसमा पनि विविधता आएको छ ।

आजका तीज गीतमा व्यक्तिगत पीडा, वेदना, घरमा गरिएका अत्याचारभन्दा पनि राष्टिूय अन्तराटिूयस्तरमा घटेका घटनाहरू, समाजमा प्रसारण गर्नु पर्ने विविध विषयहरूलाई नारीहरूलेमात्र तथा नारी पुरुष दुवै मिलेर गाउनेनाच्ने गरिन्छ । यसलाई कसैले परिवर्तनको रुपमा लिएका छन् भने कसैले विकृति भित्रिएको ठान्दछन् । नारीमा सीमित संस्कृतिलाई नारीमैमात्र सीमित हुनदिनु शुद्धताको हिसावले राम्रो हो ।

ताराजीले पनि यहाँ तीज गीतमा विविध विषयलाई लिएर यथार्थ परक घटनाक्रमलाई समातेर अघि बढ्नु भएकोछ ।

पहिलो गीतमा “इच्छाशक्ति” भएमा सफलता पाइन्छ भन्दै सुदर्शन गौतमका दुवै हात नभए र पनि सगरमाथा चढेका उदाहरण प्रस्तुत गरिएको छ ।

दोस्रो गीतमा “बेल्ना झटारो”मा आजका पढेलेखेका बुहारीहरूले सासू-ससुरालाई दिनु पर्ने मानमर्यदा नदिएको भन्दै अनुशासनमा रहेर काम गर्ने धारणा राखिएको छ ।

तेस्रो गीत “प्राकृतिक स्रोतको संरक्षण गरौं”मा प्राकृतिक स्रोतलाई आफ्नो बसमा पर्न खोज्नु र विनास गर्नु भनेको आफ्नै सन्तानको गला निमोठ्नु हो भनिएको छ ।

चौथो गीतमा “विश्वासघाती आमाछोरी गए जेलै”मा आफ्नै पतिलाई असीहजारमा गला रेटाएर मारेर जेलमा गएको धारणा छ ।

पाँचौं गीतमा “खुला दिसामुक्त क्षेत्र” रोग निदानको लागि, स्वास्थ जीवनको लागि, खुला दिसामुक्त क्षेत्र बनाउनु आवश्यक ठानिएको छ । छैटौं गीत “श्रवणकुमार जस्तो नाती”मा दृष्टि विहीन हजुआमा र हजुरबाबा बहिरोलाई, आमा पोइलगएकी र बाबु विदेशमा मरेको एउटा सात बर्षको बालकले डुलाएर घुमाएर मागेर पकाएर खुवाएर पालेका घटना समावेश गरिएको छ ।

सातौ गीत “सभ्यताको परिचय”मा वातावरण सफाराख्ने, वृक्षरोपण गर्ने, दिशा पिसाव गरेपछि साबुन-पानीले हात धुने, चर्पी सफा राख्ने, धुवाँरहित चुल्होका प्रयोग गर्दा नारीलाई सुख मिल्ने, आदि धारणा समेटिएकोछ ।

आठौं गीत “शुभकामना” बुद्धको जस्तो शुद्ध बनोस् नेतृत्वको भावना भनिएको छ ।

नवौं गीतमा “हाम्रो धन्यवाद” शिक्षामा राम्रो काम गर्ने समितिलाई धन्यवाद दिंदै सरकारी शिक्षालयको पढाईमा व्यङ्ग्य कसिएको छ ।

दशौं गीत पनि “वातावरण”को छ । प्रकृति र पशुपंक्षी, वन सबैलाई संरक्षण गर्ने सुझाव छ ।

एधारौं गीत “बाटो फेरौं माटो फेरौ”मा संबिधान सभाको चुनावमा विश्वासिलो नेता जसले राम्रो काम गर्छ त्यसैलाई चयन गर्नको लागि सबैलाई आव्हान गरिएको छ ।

बाह्रौ गीत “यस्तो पनि जीवन”मा हस्तवहादुर चेपाङको दयनीय अवस्था ओडारको बास, कीरा फट्याङ्ग्राका गास भएकोले उद्धारको लागि पार्टी नेता समाजसेवी सबैलाई आव्हान गरिएको छ ।

तेह्रौं गीत “दुर्गा काली बनेर”मा हजारौ महिलाहरू पतिबाट पीडित भएको हुँदा यस्तो विकृतिबाट मुक्तहुनको लागि दुर्गा काली बनेर अघि बढनको लागि पीडित महिलाहरूलाई सुझाव दिइएकोछ ।

चौधौं गीतको बारेमा माथिनै प्रकाश पारिएको छ ।

पन्ध्रौ गीत “चलिआएको कुरा”मा गीतकारले आर्सेनिक मिसिएको पानी खानु पर्ने, योजना पासगर्न प्राविधिक चाहिने, प्राविधिकलाई ज्वाइँ सरह मान्नु पर्ने योजनाको नेताहरू पानी माथिको ओभानु हुनुपर्ने र सचिवलाई अल्छि भन्नेजस्ता कुरालाई यहाँ समेटिएको छ ।

सोह्रौ गीत “स्वच्छ पानी हाम्रो जिन्दगानी”मा पानीको महिमाको बर्णन गरिएको छ ।

सत्रौं गीत “एउटै घाम”मा भ्रष्टचारलाई प्रष्ट्याइएको छ हेरौं गीतका दुई हरफ-

पाती भनी समाएको सिस्नो पर्यो हातमा
घाम कहिले देखिन्थ्यो र मध्य रातमा

अठारौं गीत “आफ्नै घर तर्फ”मा विदेशिएकालाई आफ्नै घरफर्क भन्न आव्हान गरिएको छ । प्राकृतिक बर्णनलाई पनि समावेश गरिएको छ । उन्नाइसौं गीत “जीवन काँडा होइन फूल हो”मा झमक धिमिरेको प्रशंसा र जीवन काँडाकी फूलमा आधारित गीत रचिएको छ ।

बीसौं गीत “लोकतन्त्रको उपहार” माओवादीले सुराकी भनी मारिएको र न्याय खोज्दा न्याय पाउन नसकेको विवरण समावेश गरिएको छ ।

एक्काइसौं गीत “डढेलो”मा वनमा डढेलो लगाउन नहुने डढेलो लगाउँदा प्राणीहरू, प्रकृतिका फूलहरू मर्दै जाने र पानीका मूलहरू सुक्दै जाने हुँदा वृक्षारोपण गरी स्वर्ग जस्तै देश बनाउँ भन्ने धारणा राखिएको छ ।

बाइसौ गीत “आमा घर”मा दिलशोभाले जिउँदा देवतालाई पूजा गरेकी हुँदा उनको दिलको ईच्छा प्रकृतिले पुरा गरिदिउन् भन्ने धारणा राखिएको छ ।

तेइसौ गीत “वैदेशिक रोजगार”मा घरको सारा सम्पत्ति धितो राखेर विदेश गएकाहरूको कसैको लास आउने गरेको, कसैलाई दलालले अलपत्रपत्र पारेको आदि विविध समस्यामा फस्नुभन्दा जवानीको जोशजाँगरलाई स्वदेशमा नै कृषि पसुपालनमा लगानी गर्दा दुवै हातमा पैसा फल्ने धाराण राखिएको छ ।

चौविसौ गीत “हस्तबहादुरको हाँसो कान्तिपुरलाई नासो”मा कान्तिपुरका सम्बादाताको समाचार लेखे बमोजिम हस्तबहादुरका लागि दाताले जग्गा किनिदिएको बर्णन गरिएको छ ।

पच्चीसौं गीत “प्रकृतिदेवी सतिको सिलामा” प्रकृति सत्य हुन्छ । त्यसो हुँदा शिवलिङ्ग मात्र नभएर सति अरु पूज्नको लागि अनुरोध गरिएको छ ।

छब्बीसौं गीत “दूधको साक्षी बिरालो”मा व्यङ्ग्य कस्दै सेतो हात्ती पाल्न नहुने धारणा पोखिएको छ ।

सत्ताइसौ गीत “परिवर्तन”मा पनि आजको यथार्थ परक व्यङ्ग्य कसिएको छ । पार्टीका नेता रोगी भएको, कर्मचारी सरकार बलियो भएको र दूधपानी छुट्याउने हाँसलाई मारिएको, रातारात नेता करोड पति हुनेजस्ता विकिृतिलाई हटाउनको लागि राम्रो नेता छानेर भोटदिने आग्रह गरिएको छ ।

अठ्ठाइसौं गीत “जन्मदिन”मा ७०औ बर्षको जन्मदिको उपलक्षमा सद्भाव शान्तिछाओस् भन्दै कृतिकारले सबैलाई शुभकामना दिइएको छ ।

उनन्तीसौं गीत “धागो चुडी हराएको चरुमा”मा पत्रमित्रतामा बनेका बाबु-छोरीको वियोगको बर्णन गरिएको छ ।

तीसौं “असारे गीत”मा असारमा खेतरोपेर मंसिरमा धन्सार भर्ने धारणा राखिएको छ ।

एकतिसौं गीत “हजुरबाको सन्देश”मा खेतीपाती राम्रो गर्नुपर्ने हजुरबाको सन्देश छ ।

बत्तीसौं गीत “बाल आवाज”मा खातेबालकहरूको उद्धारको धारणा राखिएको छ ।

तेत्तीसौं गीत “पूर्ण खोप सुरक्षित भविष्यरु शिसुहरूलाई सबै प्रकारका खोप लगाएर जीवनलाई स्वस्थ र सुरक्षित राख्न आग्रह गरिएको छ ।

चौतिसौं गीत “युनिटी लाइफ”मा गाउँका जेठाबाठालाई मुख बन्दगरी गरिबको पैसा खाएकोले युनिटीको गरिमा घटेको भन्दै भण्डाफोर गरिएकोछ ।

पैतिसौं गीत “समवेदना” गीति कवितामा स्व. उदाश मिलन कण्डेलको १३ औं पुण्यतिथिमा बाचन गरिएको यो गीतिकवितामा कण्डेलले गरेका काम, उनको सद्भाव तथा सरल जीवन र काँग्रेसप्रतिको उनको लगाव भएका व्यक्तिको करेन्ट लागेर भएको मृत्युमा पार्टी तथा सबैले उनको परिवारलाई सहयोग र स्वागतरुार बनाई दिनको लागि आग्रह गरिएको छ ।

यथार्थ घटनाक्रम छान्दै, पत्रपत्रिका आदिबाट घटनालाई तान्दै, लोक रीतिथिति सबैलाई मान्दै, सत्यतथ्य समाएर विकृति र विसरुतिलाई नास्न पर्ने ठान्दै, सरल सहज भाषामा गीतहरू बगेका छन् । गीतहरू कहीं व्यङ्ग्यले भरिएका छन् । प्रकृतिको बर्णनमात्र नभएर प्रकृतिसँग बाँच्न, नाच्न, जोगाउन, प्रकृतिको सुन्दरतामा सजिन र सजाउनको लागि आग्रह गरिएको छ तीज गीतमा ।

चल्दै आको चलनमा विशुद्ध तीजगित लोकलयमा नारीहरूले मात्र मनाउने परम्परा थियो भने आज आएर यी गीत कसैले लेखेकामा पनि गाइने गरिएको छ र महिला (पुरुष मिलेर गाउने नाच्ने पनि गरेको पाइन्छ । यो परिवर्तनमा (महिला-पुरष मिलेर गाउने नाच्ने काममा) कहीं कहीं टीकाटिप्पणी पनि आउन थालेका छन् र कसैको, महीलाको यो गौरवमय महान चाडलाई परम्परामा चलिआए सरह नै चल्न दिनु पर्दछ भन्ने धारणा छ । अतः ताराजीले लेखेका यी तीजगीतहरू आजको सन्दर्भमात्र नभएर परम्पराको गीत सरह छन् भन्न पनि सकिन्छ । यस्ता मार्मिक राष्टूभावले भरिएका गीतकार ताराजी धन्यवादको पात्र हुनुहुन्छ ।

धन्यवाद,
सदानन्द अभागी
२०७० साल, मुंसिर २५ गते, शान्तिचोक,कावासोती-१, नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *