गफ दिन्छौ फुर्ती दिन्छौ ठुला भाषणका भर
धम्की दिन्छौ जलाई हिड्छौ नेपाली झुपडी घर
थियो मिचो गरी हिड्छौ छैन तिमीलाई डर
कसरी गर्न सक्छु म तिम्रो भावनाको कदर
भत्काउदौ बनेको घर गर्छौ कानूनका कुरा
आश्वास्त पार्छौ सबैलाई गर्दैनौ कुनै पुरा
पाउँदा सर्छौ अघि अघि गुमाउदा सर्दछौ पर
कसरी गर्न सक्छु म तिम्रो भावनाको कदर
थुप्रोमा उधिनी मिठो र दामी आफै छानिलिन्छौ
आडम्बरी आबरण सक्कली भनी ढाट्दछौ
सभ्यता नै गुमाई सक्यौ तिमीसँग अब के छ र ?
कसरी गर्न सक्छु म तिम्रो भावनाको कदर
गर्दा तिमी मुख ताक्छौ खाँदा जुँगा हेर्ने
अडेस लाउने कुर्ची पाउदा अन्धो बनी पछार्ने
अपाङ्ग बनायौ मलाई मर्छु अब के छ र?
कसरी गर्न सक्छु म तिम्रो भावनाको कदर
फालिदेऊ भिरबाट चालक तिमी नै हौ क्यार
आस्था थियो तिमी प्रति सबै बिगार्यौ किन र ?
मेरो मनको प्रतिद्घन्दी भई हिड्यौ किन र ?
कसरी गर्न सक्छु म तिम्रो भावानाको कदर
विश्वास म गर्थे हिजोसम्म चलेकै शासनमा
बस्थे सधै शीरै थापी तिमीले दिएको आसनमा
पीडा दिई हिँड हे शासक मेरो त के भर छ र ?
कसरी गर्न सक्छु म तिम्रो भावनाको कदर
मनिषा अवस्थी
पिपलाडी ०७ कञ्चनपुर
