जीवनको अन्तिम बसाई
मृत्युको प्रतिक्षा गर्दा
र अतित स्मरण गर्दा
सायद स्पन्दन बढ्छ मुटुको
थकित शरिर निर्जीव ठान्दछु
शैयालाई कात्रो
सिरानीमा बसिरहेछन यमदुत सायद
मन एकोहोरो छ
डरको अविरल धारले रेटिरहेछ ।
जब खुल्दछ आकाश
झ्यालबाट आएका किरण
मेरा अर्धान्धित आँखामा पर्दा
सायद आशाको अङ्कुर पलाउँछ ।
मांशापशी टुसाइरहेछन
मनमा शान्ति छ
आशाले अर्धमृत मुटु घच्घच्याइरहेको छ ।
मेरो जीवन खाँदिएको छ
आमाको कोमल अङ्ग चिरेर
यही धर्तीमा पहिलो प्रहार गर्दा
सायद निरअर्थक थियो होला
लक्ष्य भएको गन्तव्य थिएन
स्वर्गवासी आमाको मायाले लडिए
बाल्यकालको खुशीको वर्षा
त्यसै त्यसै भिजुँ जस्तो
आर्शिवादको झरीमा सधै नुहाउँ जस्तो
भिजे नुहाए केही दिन एक्लै भौतारिए
तर आज स्वर्गीय आमा मेरै प्रतिक्षामा छिन ।
म जाँदैछु छिन भरमै
म स्मरण गर्दैछु यही शैयाबाट
जीवनका प्रत्येक प्रहारको
प्रत्येक क्षणमा जीवन बिताए
तर यो शैयाको कल्पना
शायद गरिँन होला
पहिलो पटक मलाई जीवनले
हुत्याएर, लखेटेर, लतारेर
यहा पछारिदियो
आज म औधि अनुभवी छु ।
जन्मदेखि मृत्युसम्म सबै सबै
जन्ममा आमासँगको न्यानोपन
मृत्युको एक्लो शैयाको छटपटी
अहिले नै कसैले चाहन्छ भने
सायद भन्न सक्थे हुँला
अन्तिम अवस्थाले
जीवन सिध्याउँछ
म उसैको प्रतिक्षामा छु
तिमीलाई सुनिरहेछु
सायद मुटुको ढुकढुकी पनि घट्दैछ ।
श्वासको झट्का पनि रोकिदैछ ।
तर अन्तिम पटक भएपनि तिमीलाई
जीवनको आदि देखि शैयालाई माया गर भन्छु
किनभने जीवनको अन्त्यमा साथ दिन्छ यही शैयाले
सायद यही शैयाले
मृत्युशैयाले ।
नाम : मनिषा अवस्थी (सञ्चारकर्मी)
