Skip to content


कगाउँ भनेको मेरो दिमागमा
यस्तो छ

बनावट र उचाइले गर्दा
प्राय : एकै प्रकारका लाग्ने
र च्याउ जस्तै उम्रिएका
केही घरहरू
जहाँ साँझपख
जान्छु नभनेरै खुसुक्क
भागेको घाम
कुनै भालेको चर्को स्वरमा
डराउँदै
फेरि फर्कने गर्छ
सबेरै अर्का दिन

जहाँ पाक्छ खाना
प्राय : हरेक भान्छामा
सधैं केही नकेही हतारमा
जस्तो कि–
छोराछोरी स्कुल जाने हतारमा
या जस्तो कि–
लोग्ने कतै खेत जाने हतारमा
या जस्तो कि–
आज घरीना आफै मेलापात जाने हतारमा

जहाँ हुन्छ हरेक घरमा
एउटा दुहुनो भैंसी
मानौं–
हरेक परिवारमा नभैनहुने
त्यो एउटा सदस्य हो

जहाँ हुन्छन्
एक जोड वर–पिपल
कुनै चौतारोमा उभिएर
सदियौं देखि अंगालोमै
एक–अर्कालाई चुमिरहेका
र जस्ले सायद मान्छेलाई
माया गर्न सिकाइरहेका

जहाँ आउँछ दसैं
सालमा पटक–पटक
किनभने–
कोही पर्देशबाट फक्र्यो कि
त्यो पनि दसैं हो
कोही जागिर लाग्यो कि
त्यो पनि दसैं हो

जहाँ हुन्छन् बरु
अशिक्षित, अनपढ या गवार
तर हुँदैनन् जहाँ
कोही मतलवी
कोही धमण्डी

जहाँ नहोलान्
आजको यस धडिमा
एउटा मान्छेलाई चाहिने
अथाक सु:ख–सुबिधाहरू
या नहोला
अन्त जति विकास त्यहाँ
तर छ
अन्तभन्दा खु:सी त्यहाँ
अन्तभन्दा सु:ख त्यहाँ

गाउँ भनेको मेरो दिमागमा
यस्तै छ ।

सम्पर्क नं : ९८४३५९८८९१
(कुपण्डोल, ललितपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *