Skip to content

क्रान्तिचेतको शक्तिशाली हतियार : ‘शङ्खघोष’


‘यत्र नार्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताको वास हुन्छ’ भन्ने मान्यताले ओतप्रोत भई अखबारी र साहित्य लेखनमा सक्रिय सर्जक करूणा झाको सद्य निबन्ध कृति ‘शङखघोष’ प्रकाशमा आएको छ । यो विशेष गरी महिला मुक्तिका आवाजहरू घन्काइएको निबन्ध सङ्ग्रह हो । २०६२ सालदेखि अनवरतरूपमा साहित्य र सञ्चारसंसारमा जुटेकी झा ‘भगजोगिनी’ (२०६८) नामक कविता सङ्ग्रह साझा प्रकाशनबाट प्रकाशन गरेर मैथिली साहित्य संसारमा उदाएकी थिइन् । ‘शङ्खघोष’ नामक निबन्ध सङ्ग्रहमार्फत् भने पत्रात्मक शैलीका निबन्ध लेखनबाट नेपाली साहित्यकाशमा जगमगाउने दाउमा देखिन्छिन् । सुरिलो स्वरकी धनी झा सप्तरी जिल्लामा उम्दा संचारकर्मीको रूपमा समेत चिनिन्छिन् । ‘शङ्खघोष’ मार्फत महिला आवाज, युगसुहाउँदो शैक्षिक संस्कार, मातृभूमिप्रति श्रद्धा प्रकट, युवा सक्रियता/नेतृत्वको आवश्यकता र सहकारीप्रतिको घतलाग्दो दृष्टिकोण व्यक्त भएको देखिन्छ ।

‘शङ्खघोष’ नामक प्रस्तुत पुस्तक झाका नौवटा निबन्धहरूको बिटो हो । यसमा समेटिएका सबै निबन्धहरू निजात्मक, आत्मपरक र साहित्यिक पाराका छन् । प्रत्येक निबन्धहरू आ–आफ्नै किसिमले पत्रात्मक ढाँचामा लेखिएका छन् । कसैलाई सम्बोधन नगरी पत्र हुन्न । यसमा रहेका प्रत्येक निबन्धमा कसै न कसैलाई सम्बोधन गरिएकै छ । रचना सम्बोधनात्मक हुनाले जसलाई सम्बोधन गरिएको हुन्छ उसैलाई माध्यम बनाएर सबै कुराहरू भनिएको हुन्छ । यस प्रकारको प्रस्तुतिमा आत्मीयता, निकटता र विश्वसनीयता प्रकट हुन्छ । यी विशेषता प्रस्तुत सँगालामा समेत प्रशस्तै पाइन्छन् ।

यसमा १. आशीर्वाद, २. सुहागरात, ३. सामाजिक शिकार, ४. मधेसको मन मसिहालाई, ५. खबरदारी पत्र, ६. युवाका अभिभावकलाई निवेदन, ७. शिक्षाविद्लाई सल्लाह, ८. सहकारीलाई चिठ्ठी र ९. एकताको शङ्खघोष गरी नौ वटा निबन्धहरूमा वेग्लावेग्लै किसिमका चिन्तनहरू प्रकट भएको छ ।

यसमा सँगालिएको पहिलो निबन्ध ‘आशीर्वादमा’मा पितामातालाई सम्बोधन गर्दै आफूमा भएको अहङ्कार त्याग गर्न चेतावनी दिने माध्यम पत्रलाई बनाएको कुरा देखाइएको छ । सखीलाई सम्बोधन गरिएको दोस्रो निबन्धमा मधुश्रावणी पर्व बारे जानकारी दिँदै संस्कृतिको नाममा धार्मिक हिंसा गर्न नहुने कुरा लयात्मक भाषामा व्यक्त गरिएको छ । तेस्रो निबन्ध समाज सुधारक अभियन्तालाई सम्बोधन गरी नारीलाई मानव नठान्ने प्रवृत्तिप्रति आक्रोश पोखिएको छ । चौँथो पत्र राजनैतिक वेथितिसम्बन्धी भएकाले मसिहाज्यूलाई सम्बोधित छ र यसमा नेताले आफ्नोपन र आफ्नो भूमिलाई आधार बनाएर काम गर्नुपर्ने कुरा दर्शाइएको छ । शिक्षा विषयको पाँचौं निबन्धमा गुरूलाई सम्बोधन गरी शिक्षा क्षेत्रमा शिक्षकको भूमिका गहकिलो नभएकोमा असन्तुष्टि व्यक्त गरिएको छ । अभिभावकज्यूलाई सम्बोधन गरेर लेखिएको छैठौं निबन्धमा आजका युवा वर्गलाई मुख्य विषय बनाइएको छ र युवालाई काम गर्न दिनुपर्ने आवाज घन्काइएको छ । शिक्षाविद्ज्यूप्रति उद्दिष्ट सातौं निबन्धमा शैक्षिक प्रशासन र शैक्षिक प्रणलीमा सुधार र परिमार्जन हुन ढिलो भइसकेको कुरा दर्शाइएको छ । सहकार्य हितैषी मित्रलाई सम्बोधन गरिएको आठौं निबन्धमा सहकारी बारे इतिवृत्ति प्रस्तुत गरिएको छ । यसमा विशेष गरी आर्थिक र सामाजिक विकासका लागि सहकारी वरदान सावित हुने कुरा उठाइएको छ । नवौं निबन्धमा राष्ट्रवादी महोदयलाई सम्बोधन गरी सामाजिक सद्भाव र एकताका कुरा उठाउने काम गरिएको छ ।

अब भने निबन्धकार करूणा झाका निबन्धगत विशेषताहरूका आधारमा ‘शङ्खघोष’को चिरफार गर्न खोजिएको छ ।

१.महिला मुक्तिका आवाजहरू :

प्रस्तुत सङ्ग्रहमा महिलाका हकअधिकार र विचार–भावना बारेमा लेखिएका जम्मा ३ वटा निबन्ध परेका छन्– ‘आशीर्वाद’, ‘सुहागरात’, र ‘सामाजिक शिकार’ । यी निबन्धहरूमा क्रमश: पितामाता, सखी र समाज सुधारक अभियन्तालाई सम्बोधन गरेर मैथिल नारीमनका उहापोहलाई मार्मिक तवरले प्रस्तुत गरिएको छ ।

(क) ‘आशीर्वाद’ –

‘बच्चा जन्माउँदैमा, हुर्काउँदैमा र संसार देखाउँदैमा आफ्ना बच्चामाथि एकाधीकार लाद्ने छैन । आफ्नो पुरानो सोच नयाँ सोचका पुस्तामा जवरजस्त लागू गर्नु मनासिव छैन । भरणपोषणको जिम्मेवारी हटाउनु ठूलो कुरा हैन, सन्ततिले जीवनका बाँकी अध्याय पूर्ण गर्ने बलियो आधार पाउनु ठूलो हो भन्ने सम्झिनुछ । आफ्नो अतृप्त इच्छा पूरा गर्ने माध्यम सन्ततिलाई बनाउनु उचित छैन । सन्ततिहरूको अन्तस्करणलाई सम्बोधन नगरी गरिएको काम सधैं फलदायी हुँदैन ।’ (आशीर्वाद, पृष्ठ ३)

यस निबन्धमा सम्पन्न परिवारमा छोरीको वैवाहिक सम्बन्ध जोडिदिएर मात्र हुँदैन, त्यहाँ छोरीको मनोकाङ्क्षाको कदर हुन्छ वा हुन्न भनेर वुवाआमाले हेक्का राख्न आवश्यक छ भन्ने चेतना छर्न खोजिएको छ । इज्जत ढाक्ने नाममा छोरीको मनोभावनाको व्यापार गर्दिनँ र आफ्नो अतृप्त अहङ्कार छोरीमार्फत पूरा गर्ने कलुषित विचार राख्दिनँ भन्ने सोचको विकास होस् भन्ने आशीर्वाद पाउने इच्छा छोरीले बाबुआमासँग राखेको देखिन्छ । यसरी आजका बाबुआमालाई सन्तानको इच्छा र आकाङ्क्षाको कदर गर्नका लागि खबरदारी गर्ने उद्देश्य राखी ‘आशीर्वाद’ निबन्ध लेखिएको देखिन्छ ।

(ख) ‘सुहागरात’ –

‘अग्निपरीक्षामा खरोसाथ उत्तीर्ण भएकी सीतालाई फेरि जङ्गल खेदियो । गर्भावस्थामा जङ्गलमा अलपत्र पर्नुपर्दा सीताको मन कति रोयो होला । त्यो हरेक व्यक्तिले महसुस गर्न सक्छन् । लव–कुशद्वारा पराजीत अयोध्यावासीहरूको मनोविज्ञानले सीताको फेरि परीक्षा लिन चाह्यो । सीताले पनि आफ्नो स्पष्ट परीक्षा दिएर सम्पूर्ण अयोध्यावासीलाई लोप्पा खुवाएको इतिहास छ । चाहिंदा कुरालाई सहर्ष स्वकार्न हामी सक्छौँ । निर्माणका, सिर्जनाका र समुन्नतिका जननी भनेर कहलिन मात्र सक्दैनौँ, बाध्यता आइहाले विध्वंशको महागाथा रच्न पनि सक्छौँ । आजका नारीमा क्षमताको मूल छ । अँझै पनि नारीमा सृष्टिलाई ठप्प पार्ने तागत छ । जे छ, सम्पूर्ण हामीसँगै छ । त्यसैले हामीले अमिल्दा पक्षलाई स्वीकार्नु पर्छ भन्ने छैन । सुधारेर अवलम्बन गर्न सक्छौ । कसैले जबरजस्त लाद्न खोज्छ भने त्यसका विरूद्ध महाकाली रूप प्रदर्शन गर्न सक्छौं ।’ (सुहागरात, पृष्ठ ६)

मैथिल समाजमा नव वरवधुको सुहागरातको पर्व भनेर मधुश्रावणी पर्वलाई मानिन्छ । मधेसी महिलाले पहाडी समुदायकी महिलालाई सुनाउने र सांस्कृतिक विचार आदान प्रदान गर्ने ध्येयले ‘सुहागरात’निबन्ध सिर्जना गरिएको देखिन्छ । यसमा पहाडी र मधेसी संस्कृति र परम्पराका राम्रा पक्षहरूको आत्मसात गर्नु समयको माग भएको बोध गराइएको छ । विशेषत: मधुश्रावणी पर्वको समाप्तिताका नववधुलाई शरीर डामेर शारीरिक र मानसिक यातना दिने कुरालाई भने परिमार्जन गर्नुपर्ने आवाज घन्काइएको छ । धार्मिक हिंसा गर्ने छुट धर्मका ठेकेदारसँग नरहेको जिकिर गर्दै सान्दर्भिक विचार निबन्धमा आएका छन् ।

(ग) ‘सामाजिक सिकार’ –

‘अस्तित्वमा आएदेखि नै नारी हेपिएकी छे । थरिथरीका प्रपञ्चहरूद्वारा चेपिएकी छे । प्राकृतिकरूपमा शक्तिशाली स्थानमा बसेर पनि पितृसतात्मक राज्य व्यवस्थाले तल पारिएकी छे । नारीलाई सन्तानोत्पादनको मेसिन र मनोरञ्जनको साधनको रूपमा चित्रण गरिएको देखिन्छ । सौन्दर्यकी खानी नारीलाई देखेर र्याल काढ्ने धेरै हुन्छन् । सम्मान गर्ने कमै रहन्छन् । पुरूषमा निर्भर हुने आँट नभएका जात ठानेर हेपाहा प्रवृत्ति लाद्ने काम पनि नारीमा नै भएको छ ।’ (सामाजिक सिकार, पृष्ठ ८)

नारीको सफलतालाई पनि उच्च स्थान दिन नचाहने कलुषित सामाजिक मनोविज्ञानप्रति औंलो ठड्याउँदै ‘सामाजिक शिकार’ निबन्धमा सृष्टिको स्थायी सर्जक नारी भएको जिकिर गरिएको छ । पुरूषलाई नारीको आवश्यकता परेझैं सृष्टिचक्रलाई चलाउन नारीलाई पनि पुरूषको आवश्यकता पर्ने कुरालाई भने हृदयदेखि नै स्वीकारिएको छ । तर, पुरूष अहङ्कारले नारीलाई भोग्या वस्तु, सन्तानोत्पादनको मेसिन र अघोषित नि:शुल्क नोकर्नी ठान्दा भने महाकाली रूप धारण गर्न नारी पछि नपर्ने भनी आक्रोश पोखिएको छ । सिर्जना गर्नेसँग नै विध्वंश मच्चाउने तागत रहने कुरा समेत बोध गराइएको छ ।

२. युगसुहाउँदो शैक्षिक संस्कारका आवाजहरू :

‘विद्यार्थीलाई विवेक प्रयोग गर्न दिनुपर्छ् । उनीहरूमा विचार पैदा हुन दिनुपर्छ । उनीहरू विद्रोह गर्छन् भने विद्रोह गर्न दिनुपर्छ । विद्रोह उर्जाशील छ कि छैन ? त्यसको निरीक्षण गर्नुपर्छ । विद्रोहका कारक तत्व पत्ता लगाउनुपर्छ । श्रद्धा/सम्मान सिकाउने हैन विद्यार्थीमा ती गुण जगाउने रणनीति अपनाउनुपर्छ । आज सदियौँदेखि समाजले लादेका तमा म थोत्रा सिद्धान्त र परिपाटी विरूद्ध उभिने अठोट नलिई भएको छैन । त्यसैले आजका विद्यार्थीलार्ई प्रेम दिनुपर्छ, चैतन्य औँल्याउनुपर्छ, बाटो देखाउनुपर्छ । तर, जवरजस्ती हिँडाउनुहुन्न । आफ्नै भाका र सुरमा हिँड्न दिनुपर्छ । अघि पुग्न दौडाउनुछैन । पछि पर्छन् कि भनेर ठेल्नु पनि परेको छैन । उनीहरूको लयवद्धतालाई स्खलन गर्नुहुन्न । त्यो सपना साकार हुन धेरै दिन बाँकी छैन । केवल अठोट लिएर कर्मपथमा सरिक मात्र हुनु जरूरी भएको छ ।’ (खबरदारी पत्र, पृष्ठ १४)

यस प्रवृतिका दुई निबन्धहरू देखा परेका छन् – ‘खबरदारी पत्र’ र ‘शिक्षाविद्लाई सल्लाह’ । यी दुवै निबन्ध क्रमश: गुरू र शिक्षाविद्लाई सम्बोधन गरेर लेखिएका हुन् । समयको माग, समाजको आवश्यकता र विद्यार्थीको क्षमता, रूची र आकाङ्क्षाअनुसार शिक्षकले शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने र पाठ्यक्रममा आमूल परिवर्तन ल्याउनुपर्ने कुरालाई जोड दिने काम ‘खबरदारी पत्र’ निवन्धमा गरिएको छ । त्यस्तै ‘शिक्षाविद्लाई सल्लाह’ शीर्षकको निबन्धमा भने शैक्षिक संस्कारमा आमूल क्रान्तिकारी परिवर्तनको खाँचो औल्याउँदै सामाजलाई अग्रगामी पथमा हिंडाउन पहिले शैक्षिक परिपाटी सुधार्नुपर्ने कुरा बताइएको छ । आजको शिक्षाले कारखानाबाट एकै गुणस्तरका वस्तु उत्पादन गरेजस्तै एकै खालका जनशक्ति उत्पादन गर्ने गरेको तथ्यप्रति सचेत गराइएको छ । सिकारूलाई जबरजस्त सिकाइको खेलाडी बनाउनुभन्दा उसको रूची क्षेत्र निर्धारण गरी सोही क्षेत्रमा लगाइदिनु सयौंं गुणा उत्तम हुने वास्तविकतालाई निबन्धले प्रष्टसाथ समेटेको छ ।

‘प्रतिस्पर्धामा आधारित निरस हैन होससहितको जोसिलो हुने शिक्षा हुनुपर्छ । कसैको शैक्षिक अनुभव र क्षमतालाई अर्कासँग दाज्नु उपयुक्त हुँदैन । धर्तीमा आएका हरेक प्राणीसँग आ–आफ्नै खालका नैसर्गिक गुणहरू विद्यमान हुन्छन् । ती गुणलाई पन्छाएर अर्कालाई उछिन्न तैँले यसै गर्नैपर्छ भनेर बाध्य बनाउँदा बालबालिकाको मनमा अरूलाई उछिन्नु र जित्नु नै शिक्षा रहेछ भने गलत विचार पैदा हुन्छ । यसबाट उनीहरूको जीवन भ्रमपूर्ण बन्दछ । अर्कातिर अर्कालाई जित्नकै लागि आफ्नो सामर्थ्यले काम गर्न नसकेपछि चिट चोर्ने काम हुन्छ । यस्तो चोरी गर्ने प्रथा एक किसिमको महारोग भएको छ । यसको मूल जरो पहिल्याउँदै जाने हो भने प्रतिस्पर्धात्मक शैक्षिक परिपाटीसम्म पुगेर टक्क अडिनुपर्दछ । अत: आपूmमा अन्तर्निहित कलुषित भावनालाई अतिक्रमण गरी निर्मूल पार्न सिकाइ सक्षम हुनुपर्छ, प्रतिस्पर्धाको पछि लाग्ने खालको बन्दै हुनुहुन्न ।’ (शिक्षाविद्लाई सल्लाह, पृष्ठ २०)

३. मातृभूमिप्रति श्रद्धा प्रकट :

‘महाशय, तपाईंले आमालाई भुल्नुभयो । नैसर्गिक मूल्य र मान्यतालाई पनि विर्सनुभयो । यस धर्तीमा स्पर्श गर्दादेखि नै सुनेको र त्यसैमा रमेको भाषालाई लत्याउनुभयो । तपाईंको अन्तहृदयलाई खोल्ने आफ्नो मैथिली भाषालाई चटक्कै बिर्सेर अर्कैलाई अंगाल्नुभयो । मौलिक पहिचान भुलेर रङ्गीचङ्गी माहोलमा भिज्नुभयो । राजनीति गर्नुहुन्छ हामीमाथि । हाम्रै भावनासँग खेलबाड गर्नुहुन्छ । सम्पर्क भाषाको नाममा आफ्नोपन हराएपछि बाँकी नै के रह्यो र !’ (मधेसको मन मसिहालाई, पृष्ठ १०)

जुन भूमिले वास दियो, गाँस दियो र प्राण सुरक्षित राखिदियो, त्यसकै सर्वाङ्गीण हितमा तन, मन र वचनले समर्पित भई लाग्नु सम्पूर्ण नागरिकको नागरिक कर्तव्य हो । विशेष गरी मधेसका राजनेताहरूमा मातृभूमिप्रतिको अनाकर्षण भाव र आफ्नोपनभन्दा विदेशी प्रभुको दास बन्ने मनोवृत्ति मौलाउँदै गएकोमा निबन्धमा आपत्ति प्रकट गरिएको छ । हामीले आफ्नोपनको संरक्षण गर्नु पहिलो आवश्यकता भएको बोध गराउँदै मैथिल समाज, मैथिली भाषा, रीतिथिति, संस्कार र विचारप्रति गहकिलो श्रद्धा खन्याइएको छ । यस प्रकारको प्रवृत्तिले ओतप्रोत भएको एक मात्र निबन्ध प्रस्तुत सङ्ग्रहमा परेको छ । त्यो हो – ‘मधेसको मन मसिहालाई’ । लघु आकारमा रहेको प्रस्तुत निबन्धमा गहकिलो तवरले भाषा, भूमि र संस्कृतिप्रतिको अनुरागलाई मार्मिकरूपमा व्यक्त गरिएको छ । मानवीय संवेदनशील आवाज घन्काइएको उक्त निबन्ध निश्चय नै पठनीय र सोचनीय छ ।

‘मसिहाज्यू, मधेस मच्छडको राजधानी भएको छ । पुरातन संस्कारको हिमायती ठानिएको छ । राजनीतिक दल पैदा गर्ने कारखाना मानिएको छ । शोषण गर्ने एक अनुपम ठाउँ गनिएको छ । मुलुकलाई भरणपोषण गर्ने तागत भएर पनि आफू अशिक्षित कहलिएको छ । विकास र निर्माण एकादेशको कथा भएको छ ।

जनप्रतिनीधि भएर पनि मधेसको माहोल बुझ्न रूचाउनु भएन भने तपाईंले ढोल पिट्नु किमार्थ उचित छैन । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र अन्य वर्गको हकप्राप्तिको महान् समरयात्रामा मधेसको रगत र पसिना बगेको काम लाग्ने छैन । मधेसको अभाव, अन्यौलता र अपरिपक्वतालाई सिंढी बनाएर माथि पुग्ने रवैया बन्द हुनु जरूरी छ ।’ (पृष्ठ ११)

४. सहकारीप्रतिको घतलाग्दो दृष्टिकोण व्यक्त :

‘समाज भन्छ– सहकारी संघ/संस्थामा व्यक्ति वा संघ/संस्था अथवा निकाय कस–कसले सदस्यता पाउन सक्छन् र कस्तो परिस्थितिमा कस–कसलाई सदस्यता दिइँदैन, त्यसको वारेमा प्रष्ट रूपमा उल्लेख भएको हुनाले नीति बाहिर कसैले जान समेत सक्दैनन् । संस्थाका मालिक एकै नासे हुनाले पनि एकले अर्काको कदर गर्ने भावनाको विकास प्रबल रूपमा हुन्छ । प्रेमविना मानिसको जीवन अधुरो हुन्छ । अपुरोलाई पूर्णता दिन प्रेमको हात हुन्छ । प्रेमपूर्ण वातावरणमा सहकारी क्षेत्रमा काम गर्ने वातावरण हुन्छ । सहकारीले जिउने कला सिकाउँछ । प्रेम नै जगत्को सार हो । सहकारीले प्रेम सिकाउँछ, सद्भाव फैलाउँछ । आफैँ मालिक र प्राय: मालिक नै श्रमिक/कर्मचारिरहने भएकोले सहकारीले सामाजिक रूपान्तरणमा महत्वपूर्ण स्थान राख्दछ ।’ (सहकारीलाई चिठी, पृष्ठ २८)

सहकारीले विश्वसमाजको सामाजिक र आर्थिक रूपान्तरणमा अनुकरणीय भूमिका खेलेको ऐतिहासिक पाटोलाई देखाउँदै नेपाली सामाजको कायापलट गर्ने तागत सहकारीमा रहेको वास्तविकतालाई उद्घाटन गर्ने एक मात्र निबन्ध ‘सहकारीलाई चिठी’ प्रस्तुत निबन्ध सङ्ग्रहमा परेको एक शक्तिशाली निबन्ध हो । जनश्रमदानलाई प्रश्रय नदिई नेपाली सामाजको विकासमा ठोस परिणाम भित्रिने नदेखिनु स्वभाविक भएको छ । सरकारी मुख नताकी स–साना उद्यमी र उपभोक्ताहरू स्वय म मालिक भई वस्तु र सेवा उत्पादन गरी एक–अर्काले उपयोग र उपभोग गर्ने काम सहकारीमा हुन्छ । सोही अवधारणाअनुसारको विचार राख्दै सहकार्य हितैषी मित्रलाई सम्वोधन गरेर लेखिएको निबन्ध हो –‘सहकारीलाई चिठी’ । यस निबन्धमा स्वय म सहकारीलाई उसका कुरा उसैलाई सुनाइएको छ । मानवेत्तर पक्षलाई सम्बोधन गरी लेखिएको यो एक मात्र निबन्ध हो । अन्य निबन्धमा भने मानवीय पक्षलाई नै पत्रमा सम्बोधन गरिएको छ । विशेष तथ्य र तथ्याङ्कलाई समेटेर वस्तुपरक बनाउन खोजिएको छ तर आत्मपरक नै भएको छ । यस निबन्धले सामाजिक र आर्थिक रूपान्तरण मार्फत् सहकारीले राष्ट्रनिर्माणमा कोशेढुङ्गाको काम गर्न सक्ने कुरालाई देखाइएको छ ।

५. राष्ट्रिय स्तरमा सद्भावनाको खाँचो वारे :

‘राष्ट्रियता जोगाउन राष्ट्रवादी तथा देशभक्ति शक्तिहरू बीच एकताको आवश्यकता छ । नेपाली राजनीतिमा जहिल्यै पनि ज्वलन्त प्रश्नचिन्ह खडा हुने गरेको छ– राष्ट्रवादी तथा देशभक्त शक्ति भनेका को हुन ? के राजा वा राजावादीहरू राष्ट्रवादी होइनन् ? राजनीतिक व्यक्ति वा पार्टीहरू मात्र राष्ट्रवादी हुन त ? यस्तो प्रश्नले राजा जन्माउने भ्रम मगजमा आउन सक्छ । तर मलाई लाग्छ– राष्ट्रघातीहरूको विरूद्ध जोडतोडले लाग्नेहरू र मुलुकको वृहत्तर हितमा समर्पित हुनेहरू सबै राष्ट्रवादी तथा देशभक्त शक्तिहरू हुन् । यी सबैमा कार्यगत एकता सम्भव छ र हुनु पनि पर्छ । सबै एक ठाउँमा उभिए जे पनि सम्भव छ । यसो र त्यसो भन्दै आफैं अल्झने, बल्झने र अल्झाउने र बल्झाउने खेल खेलिरहने हो भने राष्ट्र अँझ खतरातर्फ धकेलिन्छ । नेपाली राजनीतिमा नेताहरू अराष्ट्रवादी हुँदै गएका र राजा वा राजावादीहरू बरू राष्ट्रियताको मुद्दामा इमान्दार देखिएको इतिहासले पुष्टि गरिरहेको छ । अत: भ्रमहरूलाई पर्दाफास गर्दै देशभक्त तथा राष्ट्रवादी शक्तिहरू एउटै छातामुनि बसेर मोर्चावन्दी गरी राष्ट्रिय मुद्दामा आँधीवेरी सृजना गर्नै पर्दछ । राष्ट्रघातीहरूलाई चिनेर आवश्यकता अनुसार कार्य फत्ते गरी हरियो र भरिलो मुलुक भावी पुस्तालाई सुम्पन सच्चा इमान्दार देशभक्ति तथा राष्ट्रवादीहरू बीच एकता जरुरी हुन्छ ।’ (एकताको शङ्खघोष, पृष्ठ ३३)

सामाजिक सदभावको राष्ट्रनिर्माणमा महत्वपूर्ण भूमिका हुन्छ । चोर–डकैतसँग भएको सीप, क्षमता र साहसलाई समेत रूपान्तरण गर्ने हो भने मुलुकलाई अग्रगामी बाटोमा लैजान सहयोग पुग्न सक्छ । यो देश क्रान्तिको रथ हाँक्ने नायकहरूको मात्र हैन, नेतानेतृहरूको पुर्खेउली विर्ता पनि विल्कुलै होइन । चाहे जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन वा आदिवासी जनजाति तथा पिछडा वर्गको आन्दोलन नै किन नहून्, सबैको योगदान र बलिदानले गणतन्त्र प्राप्त भएको छ । यसलाई संस्थागत विकास गर्न राजावादीहरूको समेत उत्तिकै योगदान छ । यस मुलुकमा सबै थरीका नेपाली अट्नुपर्छ । सबैको विचार र भावनालाई कानूनले सम्बोधन गर्न सक्नुपर्छ । हामी नेपाली एक भएर एकताको शङ्खघोष गरे विदेशी दलालहरू कुलेलम ठोक्न बाध्य हुन्छन् । हामी एकअर्कामा झगडा गरेर बसिरहे विदेशीको इसारामा नृत्य गरिरहनुपर्छ भन्ने आवाजले मूर्त पाएको निबन्ध हो– एकताको शङ्खघोष । मुलत: यस निबन्धमा राजनीतिलाई व्यवसाय नबनाई जनसमुदायको मनोभावना र समाजको खाँचो टार्ने निकायको रूपमा विकसित गर्नुपर्ने विचार मुखरित हुनपुगेको छ ।

६. अग्रजलाई दर्बिलो शिक्षा :

‘आजको युवा–विचार र अठोट विपरित पुरानो पुस्ता पुरानै सिद्धान्त, मान्यता र दर्शन बोकी खडा भएको छ । पुरानो पुस्ता राजनीतिमा युवा वर्गलाई मुछेर ‘फुटाऊ र लुट, जुट्न नदेऊ र यथास्थितिमा भुलाऊ’ भन्ने रणनीतिमा छ । त्यो आफ्ना अपूरा इच्छा–आकाङ्क्षा पूरा गर्न युवावर्गलाई सिँढीको रूपमा प्रयोग गर्दै छ । त्यो पुरानो पुस्ता गुलिया वचन बाँडेर, प्रलोभनमा फँसाएर ‘सन्तोष म पर म सुखम्’को दर्शन घोकाइरहेछ । असन्तोष हुने ठाउँमा असन्तुष्टिका स्वरहरू उराल्न दिँदैन । मुलुकभन्दा दलीय मान–मर्यादा ठूलो हो भन्ने आभास बेलाबेलामा दिइरहन्छ । युवा वर्गको असीमित ऊर्जालाई सीमित ठाउँमा कैद राख्न लगाउँछ ।

अँझै पनि पुरानै पुस्ताको नेतृत्व छ, हैकम छ, बोलवाला छ । नीति निर्माण तहमा पुग्न पुरानै सोचमार्गी नै सफल भएको छ । पुरानो नयाँ पुस्तालाई भन्छ– नयाँ पुस्ता सङ्कुचित सोचभित्र नै रहोस् । पुरानै रीतिथितिबमोजिम सबै कुरा यथावत् सञ्चालित भइरहून् । अतित हेरेर योजना बनाऊ । भविष्य सोचेर महत्वाकाङ्क्षा देखाऊ । बेक्कारको खतरा नमोल, आनन्दले सुरक्षित बन । चुपचाप म्यानभित्र बस, जे साथमा छ त्यत्तिमै सन्तुष्ट बन । ठिक गर, भूल नगर, दर्शक बन, ज्ञान बटुल । सुन्दर पनि हेर कुरूप पनि सहू । संसार जुन गति र दिशामा दौडियो, त्यही गति र दिशामा दौड । भोलिको काम भोलि नै गर, ज्ञातको मार्गमा हिँड, अज्ञातको पासोमा नपर । चुपचाप काम गर, प्रचलित सिद्धान्त र मान्यता खुरूखुरू पालना गर । ठिक बोल, ठिक गर । पुराना पुस्ताको अनुभव बटुल, जहाँ छौँ त्यहीँबाट मस्तिष्कको विकासमा जुट ।’ (‘युवाका अभिभावकलाई निवेदन’, पृष्ठ १८)

अभिभावकलाई सम्बोधन गरेर लेखिएको ‘युवाका अभिभावकलाई निवेदन’ शीर्षकको निबन्धमा युवावर्गको चाहना र अभिभावकको कर्तव्य वारे गहन चिन्तन अघि सारिएको छ । सोच र कर्मले मानिस युवा भइरहने विचार प्रेषण गर्दै युवा सत्यको शक्तिशाली स्तम्भ भएको कुरा दर्शाइएको छ । युवा वर्तमान पढेर भविष्य सपार्न चाहन्छ । जीवनयुद्ध मैदानको सर्वोत्कृष्ट खेलाडी भइरहन चाहन्छ । भूललाई ठिक गर्न चुक्दैन र असत्यका विरूद्ध कुर्लन कदापि छाड्दैन । अज्ञात रहस्य जान्ने इच्छा युवामा हुन्छ । युवा आफ्नो असीमित ऊर्जालाई सही ठाउँमा उपयोग गर्न चाहन्छ । तर, युवा सोच र हिम्मतले मुलुक चलेको छैन । पुरानै पुस्ताको नेतृत्व र हैकमले युवा विचारलाई दलीय स्वार्थतर्फ एकोहोर्याएको छ । यसरी युवाको जोस उत्पादनात्मक काममा खर्च भई नरहेको र त्यसै खेर गइरहेको तर्फ निबन्धमा दुखेसो पोखिएको छ ।

त्यसले आजका अभिभावकले यथास्थितिमा रमाउने बानी हटाउनु आवश्यक देखिएको छ । युवालाई खतरा मोल्न पनिदिनुपर्छ । ज्ञात कुराको पृष्ठभूमिमा अज्ञात रहस्य खोज्न जोसमा होस थपिदिनुपर्छ । भ्रष्ट हुनबाट जोगाएर राष्ट्रोन्नतिको एक हिस्सा तुल्याउनु पर्छ । विवेकलाई अङ्कमा तौलिएर असल र कमसल छुट्याउने शिक्षा हैन मौलिक व्यक्तित्व उच्च पार्ने सीपयुक्त शिक्षा दिनुपर्छ । यसका लागि पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो युगमा फर्काउने हैन, नयाँ युगको पुजारी बन्न स्वय म परिवर्तन हुनुपर्छ भन्ने आवाज बुलन्द गरिएको छ ।

यस प्रकार ‘शङ्खघोष’ निबन्ध सङ्ग्रहका निबन्धहरूले समाजलाई आवश्यक पर्ने विविध खाले आवाजहरू समेटेर आफ्नो आकार ग्रहण गरेको पाइन्छ । विशेष गरी गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ स्तम्भअन्तर्गत पर्ने मैथिली भाषाका विविध अङ्क, हिमालिनी हिन्दी मासिक पत्रिका, मिथिला मासिक पत्रिका र मैथिली भाषाका फरकफरक समयका विविध विशेषाङ्कमा पूर्व प्रकाशित विविध खाले विचारहरूलाई छाँटकाँट गर्दै नेपाली भाषामा निबन्धको खाका तयार परेको देखिन्छ । निबन्धमा भाषिक त्रुटिहरू एकाध ठाउँमा भेटिन्छन् । विचारमा कफलोपन कतैकतै भेटिन्छ । तर, सम्पूर्ण निबन्धहरू अग्रगामी सोचद्वारा पृष्ठपोषित छन् । समाजनिर्माणको आधारस्तम्भका रूपमा ती विचारहरूले अनुकरणीय काम गर्न सक्छन् भन्ने आभास पाइन्छ ।

समग्रमा भन्नुपर्दा उपर्युक्त सबै निबन्धहरूमा निजात्मकताको गहिरो छाप छ । सबै निबन्धमा ‘म’को कथन भएकाले निजी अनुभूतिको अभिव्यक्ति प्रखररूपमा व्यक्त भएको छ । निजात्मकताका कारणले निबन्धहरूमा मौलिक चिन्तन मात्रै प्रकट भएको छ । निबन्धकारको निजी अनुभूतिले सबैमा भिन्नाभिन्नै स्वाद उत्पन्न भएको छ । मुलत: मैथिल समाजकी एक चेलीले हिन्दी भाषामा उच्च शिक्षा प्राप्त गरी र मैथिली भाषाकी संचारकर्मिरहँदै नेपाली भाषामा साहित्य लेख्नु र सङ्ग्रह प्रकाशन गर्न सक्नु महत्वपूर्ण सफलता हो । निबन्धकार करूणा झाले नेपाली निबन्ध फाँटमा भाषा सम्पादन गरिदिएर र आवश्यक सुझाव दिएर सहयोग पुर्याउनु हुने व्यासशंकर उपाध्याय र नन्दलाल आचार्यको सहयोगको सह्राहना गरेकी छिन् । त्यस्तै बौद्धिक सहयोग गर्ने सञ्चारकर्मी दिनेश शर्मालाई आफ्नो वक्तव्यमा उच्च मूल्याङ्कन गरेकी छिन् । प्रकाशकको भूमिका निर्वाह गरिदिने छिन्नमस्ता एजुकेशनल एकेडेमी प्रा.लि.का अध्यक्ष शैलेन्द्रमोहन झा र कम्प्युटरमा सहयोग पुर्याउने शम्भु चौधरीको सहयोगप्रति आभार प्रकट गरेकी छिन् । लेखक एक्लैले सम्पूर्ण स्थानमा कार्य सम्पादन गर्न नसक्नु स्वभाविक हो । जहाँ जस–जसको प्रत्यक्ष–परोक्ष सहयोग प्राप्त भएको भए पनि विषयगत विविधता, प्रस्तुतिकरणको नवीन ढाँचा र पत्रात्मक शैलीको कारण ‘शङ्खघोष’ निबन्ध सङ्ग्रह नेपाली साहित्य संसारमा महत्वपूर्ण प्राप्ति सावित भएको छभन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

कृति : शङ्खघोष
निबन्धकार : करुणा झा
भाषा सम्पादन : नन्दलाल आचार्य
संस्करण : २०७० पहिलो
मूल्य : रु ५०।–
प्रति : १०००
कम्पोजिङ्ग : शम्भुप्रसाद चौधरी
प्रकाशक : (अध्यक्ष- शैलेन्द्रमोहन झा) छिन्नमस्ता एजुकेशनल एकेडेमी प्रा.लि., राजविराज फोन नं. ०३१–५२२८३० ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *