‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ बोलको गीतमा नारायणगोपालका लागि धुन भर्दा संगीतकार दीपक जंगम हैरान भएछन्। तिनताका रेडियो नेपालमा कार्यरत गायिका तारादेवीले गाएका चाँदनी शाहका थुपै्र गीत हिट भइसकेका थिए। तर, स्वरसम्राट मानिएका नारायणगोपालले भने उनका गीत गाएका थिएनन्। त्यस कारण आमश्रोता नारायणगोपाल दरबारइतरका हुन् कि भन्ने लख काट्थे।
तत्कालीन रत्न रेकर्डिङ् संस्थानका महाप्रबन्धक एवं संगीतकार जंगम त्यस बेला म्युजिक नेपालका लागि नारायणगोपालको गीतियात्रा एल्बमको तयारी गररिहेका रहेछन्। तर, जंगमको प्रस्तावमा नारायणगोपालले खासै चासो दिएनन्। बरू भनिदिएछन्, ‘मेचीदेखि महाकालीसम्म लम्बाइ भएको गीत के गाउनू ?’
जंगमले केही बेर थुमथुम्याएपछि भने नारायणले आफैँ धुन हाल्छु भनेर गीत लिएर गएछन्। तर, भोलिपल्टै फर्काइदिएछन्। भनिदिएछन्, ‘मबाट यसमा धुन भर्ने काम हुन सक्तैन।’
जंगम पनि हार मान्ने खालका थिएनन्। यसअघि नै मबीबी शाहका चारवटा गीतमा कर्णप्रिय धुन भरेर प्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अलीको स्वरमा रेकर्ड गराएका संगीतकार।
उनले धुन बनाउन छाडेनन्। समस्या के भने जति धुन बनाए पनि नारायणगोपालले चित्तै नबुझाउने। एउटा धुन बनाएर सुनायो, नारायण अर्कोतर्फ मुन्टो बटार्थे। एवं रीतले एउटै गीतमा २८ वटा धुन बनाएपछि बल्ल नारायणगोपालको टाउको सकारात्मक दिशामा हल्लियो। दुईवटा धुनमा नारायणले गाएका रेकर्ड दरबारमा स्वीकृतिका लागि पठाइए। त्यसमध्ये स्वीकृत भएर आएको गीत श्रोताको सुसेली बनेको छ भने अर्को रेकर्ड म्युजिक नेपालको अर्काइभमा छ।
नारायणगोपालसँगका ती सांगीतिक सहकार्य सम्झेर आज पनि रोमाञ्चित हुन्छन् जंगम। भन्छन्, “नारायणगोपाल बुझ्नेलाई सजिला हुन् र नबुझ्नेलाई अप्ठ्यारा। आफूले गाउने गीत चित्त नबुझेसम्म कुनै पनि सर्तमा नगाउने।”
यही गीतको रेकर्डिङ्मा भने नारायणगोपालले १८ दिन लगाएछन्। उनी सानो त्रुटि भयो या गाउँदा गाउँदै मुड आएन भने बीचैमा रेकर्डिङ् कक्षबाट बाहिरिन्थे र भन्थे, “आज भयो, भोलि गरौँला !” उनलाई ‘होइन आजै गर्नुपर्छ’ भनेर कर गर्ने पिताम कसको थियो र ? उनले नाइँ भनेपछि फेरि कर गर्नु भनेको चिढ्याउनु मात्र हुन्थ्यो। त्यसैले नारायणगोपालको स्वभावलाई बुझेर जंगमले एल्बम तयार पारे।
नारायणगोपालकै जमानाकी गायिका तारादेवी भने सारै सरल स्वभावकी थिइन्। झन्डै दुई दशक रेडियो नेपालमा संगीत संयोजनको काम गरेका संगीतकार गणेश परियार सम्भिmन्छन्, “तारादेवी गीतको धुन टिपेर स्टुडियो छिरेपछि रेकर्ड फाइनल नगरी निस्किन्थिनन्।”
उनको गायकी नातिकाजीकै संरक्षण र निर्देशनमा अघि बढ्यो। गीतको भाव बुझेर त्यसमा मर्मस्पर्शी धुन निकाल्ने महान् सर्जक थिए, नातिकाजी। त्यस बेला म्युजिक एरेन्जको चलन थिएन। गीतकार र संगीतकार सँगै बसेर गीतमा लय हाल्थे। नातिकाजीले गीतको धुन पूर्ण भएको संकेत दिएलगत्तै परियार त्यसको स्वरलिपि उतार्थे। परियार भन्छन्, “त्यस बेला गीतको अभ्यास प्राय: तीनपटक मात्र हुन्थ्यो। एकपल्ट गीतमा धुन हाल्दा, अर्को पल्ट त्यसमा प्रयोग हुने बाजाका धुन फाइनल गर्दा र तेस्रो पल्ट गायक या गायिकालाई सिकाउँदा।”
अहिलेजस्तो ट्रयाक सिस्टम नभएकाले कुनै वाद्यवादकले खिसि्रक्क बिगार्यो भने फेरि सुरुदेखि नै गाएर रेकर्ड गर्नुपथ्र्यो। त्यसैले कलाकारहरू सुर र तालप्रति होसियार हुन्थे। त्यसरी कम समयमा तयारी गरेका गीत पनि कालजयी हुन्थे। अर्का संगीतज्ञ एवं पुराना वाद्यवादक शुभबहादुर भन्छन्, “रचना चित्त नबुझेसम्म संगीतकारले हार्मोनियमको पर्दा हल्लाउँदैनथे र धुनले मन नखाएसम्म गीतकारले कलमको बिर्को खोल्दैनथे।”
त्यस बेला रत्नशमशेर थापा धुनमा गीत लेख्न पोख्त गीतकार मानिन्थे। शुभबहादुरले तारादेवीको स्वरमा रेकर्ड गराएको ‘फूलैफूलको मौसम तिमीलाई’ थापाले धुन सुन्दै एकै बसाइमा लेखेका रहेछन्।
गणेश परियारपछि रेडियो गीतको स्वरलिपि बनाउने जिम्मेवारी पाएका शुभबहादुरको अनुभवमा तारादेवीको स्वरको आरोह-अवरोह सीमातीत फराकिलो थियो। उनी तलदेखि माथिसम्मका सुरहरूमा समान रूपले गाउन सक्थिन् र शब्दको उच्चारणमा एकदमै ध्यान दिन्थिन्। तारादेवी उच्चारणमा नारायणगोपालभन्दा अब्बल मानिन्छिन्।
त्यसैले त ‘एउटा मान्छेको माया’ रेकर्डपछि स्वीकृतिका लागि पठाइँदा दरबारबाट टिप्पणीसहित आदेश आएछ, ‘गीतमा त हुनुपर्ने ठाउँमा ट भयो, सुधारेर पठाउनू !’ नारायणले भनिदिएछन्, ‘नेवारको छोराले गाएको यस्तै हुन्छ।’
दरबारको मामलो, घाँटीमाथि तरबार झुन्डिएको हुन्छ भन्ने बुझेर जंगमले नारायणलाई सम्झाइबुझाई गरेर फेरि अर्को रेकर्ड गराए र दरबार पठाए। दरबारले ‘ठीक छ, एकदम राम्रो !’ भन्ने टिप्पणीका साथ स्वीकृति पठाएपछि गीत रेडियो नेपालबाट घन्किन थाल्यो। त्यसको धेरै दिनपछि सुन्दा जंगम झसंग भएछन्। हत्तेरकिा ! फेरि पनि एक ठाउँमा त चिप्लिहालेछ। ‘मायालुबिनाको हुँदो हो कति’ हुनपर्नेमा फेरि पनि ‘कटि’ नै भएछ।
तारादेवीजस्तै सजिली र सरल स्वभावकी गायिका थिइन्, अरुणा लामा। उनी गीत गाउन आउँदा पूर्ण तयारीका साथ आउँथिन्। एक-दुईचोटि हार्मोनियममा अभ्यास गरेपछि सीधै स्टुडियोमा छिर्थिन्, टेकका लागि। यतैका गीत गाउँदा पनि उनी लयलाई टपक्कै टिपेर गाइदिन्थिन्। ‘एक्लै बस्दा आज मलाई सम्झना तिम्रो आइदिन्छ’ बोलको गीत अरुणा लामाले दार्जीलिङबाट आएर संगीतकार परियारकै घरमा सिकेर त्यसै दिन गाएकी रहिछन्। अर्को गीत ‘कर्मको रेखा’मा पनि यस्तै भएको रहेछ। परियार भन्छन्, “म आश्चर्यमा पर्थें, लय कण्ठ गर्न सक्ने उनको प्रतिभा देखेर। अरुणा लामा जति चाँडो गीतको लय टिप्न सक्ने अर्को कलाकार मैले भटेकै छैन।”
त्यसो त कुनै समय गोपाल योञ्जनको संगीतमा नारायणगोपालसँग समानस्तरमा ‘जीवनको हरेक मोडमा तिमीले मलाई भेट, म भागेजस्तो गर्छु तिमी मेरो बाटो छेक’ गाउने यी गायिकाले दीपक जंगमको संगीतमा म्युजिक नेपालको अरुणा-यात्रा एल्बममा नारायणगोपालको गीत ‘यति धेरै माया दिई, मनभरि दु:ख नदेऊ’मा दिएको गायकी कमजोर मानिन्छ। जंगम यति मात्र टिप्पणी गर्छन्, “अरुणा लामाको अभ्यास एकदमै कम थियो।”
अर्का गायक अरुण थापा विचित्रका प्रतिभा थिए। उनले सारै थोरै गीत गाए तर सबै गीत कालजयी बनेका छन्। संगीतकार बुलु मुकारुङको भनाइमा स्टुडियो छिर्दा थापाको काँधमा एउटा गितार झुन्डिएको हुन्थ्यो। हरेक गीत गितारमै अभ्यास गर्थे। उनको स्वर पनि मौलिक थियो। मुकारुङ भन्छन्, “अरुण थापा प्रोफेसनल गायक थिए, धेरै लिए तीन टेक, त्यो पनि वाद्यवादकको गडबडीले गर्दा। तीन-चार जना मात्र वाद्यवादक भए पनि गीत रेकर्ड गराएरै जान्थे।”
थापाले एउटा गीतका लागि पाएको समयमा दुई-दुईवटा गीतसम्म रेकर्ड गराउँदा रहेछन्। वर्ष दिनमा बल्लबल्ल गीत गाउने ‘डेट’ पाउने जमाना थियो त्यो। थापाले अत्यन्त आदर गर्ने वाद्यवादक थिए, मदन परियार। जुनसुकै बाजा सजिलै बजाइदिने।
नातिकाजी मन खाएको कलाकारको प्रशंसामा खालि यत्ति भन्थे, यसले राम्रो गाउँछ। त्यसैले उनले कर गरेर थापाको आवाजमा ‘तिमी राम भज’ (रचना : केशव लोहनी) भजन रेकर्ड गराए। गायक अरुण थापाको स्वरमा रेकर्ड भएको त्यो एउटा मात्र भजन हो।
संगीतज्ञ चन्द्रराज शर्मा गीतका धुन मात्र होइन, तिनमा प्रयोग हुने बाजाका बोलहरू पनि सरगम (पूर्वीय नोटेसन)मा लेखेर ल्याउँथे, त्यसलाई गणेश परियार या शुभबहादुरले पाश्चात्य नोटेसनमा रूपान्तरण गरििदए पुग्थ्यो। माणिकरत्न, नारायणगोपाल र उनैका पुत्र सुदेश शर्माले गाएका उनका गीतहरू कालजयी मानिन्छन्। नारायणगोपालकै प्रसंगमा गणेश परियार सम्भिmन्छन्, “नारायण धेरै टेक खाने गायकमध्ये पर्थे। कतिचोटि दिनभरि गाएर पनि ५ बज्ने बेलामा मलाई चित्त बुझेन, भोलि फेरि गाउँछु भनेर हिँडिदिन्थे।” कतिसम्म भने गोपाल योञ्जन पनि नारायणले नाइँ भनेपछि उनलाई स्टुडियोमा अड्याउन असमर्थ हुन्थे। तर, नारायणगोपालको स्वर र उनको गायकीको प्रभावले यस्ता कुराहरू आज झीनामसिनाजस्ता मात्र लाग्छन्।
पूर्वीय र पाश्चात्य दुवै संगीतका अध्येता रहेछन्, नारायणगोपाल। एक दिन बिहानै शुभबहादुर उनको घर पुगेछन्। नारायण पश्चिमी शास्त्रीय संगीतको प्रसिद्ध शैली ‘म्याडम बटरफ्लाई’ सुनिरहेका रहेछन्। शुभबहादुर भन्छन्, “त्यस बेला म्याडम बटरफ्लाईजस्तो पश्चिमी संगीत सुन्ने गायक-गायिका नेपालमै थिएनन्। त्यसैको प्रभाव हो, नारायणदाइको ब्लुज नोट्स।”
यस एल्बमका गीतमध्ये पनि हरभिक्त कटुवालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ खास ब्लुज शैलीको अवधारणामा ढालिएको संगीत थियो, जुन गीत नेपाली सुगम संगीतमा नौलो हुँदाहुँदै पनि सीमान्त लोकप्रिय भयो।
गायक फत्तेमान पनि विचित्रका गायक थिए। उनले नातिकाजीका संगीतमा गाएका सबै गीत आजपर्यन्त लोकप्रिय छन्। उनी नातिकाजीको संगीतमा सहदेवशमशेरको प्रसिद्ध गीत ‘सान्नानीको गालैमा कालो कोठी रै’छ’ भन्ने गीत रेकर्ड गर्दै थिए। बाँसुरी बजाएका थिए, शुभबहादुरले।
फत्तेमान कति मुडी भने रेकर्डिङ्का बेला रेडियो नेपालमा गालामा कालो कोठी भएकी एक सुन्दरीलाई सँगै लिएर गएछन्। फत्तेमान तिनलाई रेकर्डिङ् कक्षमा राखेर गाउने कक्षमा गए अनि तिनै युवतीलाई एकटक हेर्दै गीत गाए। त्यतिबेला नातिकाजीको टिप्पणी थियो, “फत्तेमान पनि के के गर्छ के के, हेर न मुड बनाउन कालो कोठी भएकी युवतीलाई नै लिएर आयो !” ती सुन्दरी त्यसपछि कहिल्यै रेडियो नेपालमा देखा परनिन्।
नेपाल साप्ताहिक
अंक: ५७८
२०७० पुस २८
Jan 12, 2014
