Skip to content


म धाएँ धेरै नै तर शरण सत् पाइन कतै
अबेला जागेछौ नभन ममता पाउँ कविते।
तपस्या गर्दैमा कवि कति बिते लागिन पछि
उही कन्था बोकी म पनि अहिले कुप्रिन पुगेँ।।

न पढ्ने मान्छे छन् न त पसलमा बिक्छ कविता
कथा कन्था बोक्यौ न धन यसमा धर्म त कता !
नशा हो बाबू यो कवि कलियुगी धर्म धन हो
कुनै दुःखी छैनौ शरण कविताको पर तिमी।।

विवेकी एक्लो होस् अमर छ उही एक बलियो
स्वयं सत्यं पूर्ण अथ गणित हो अन्त्य न इति।
म हिँड्दा हिँड्दै नै अघिपछि कुनै देखिन कतै
उदासी एकाकी शरण कविताको परिगएँ।।

न रागी वैरागी म त न कविता रङ्ग रमिता
नदेऊ वा देऊ शरण हक मेरो भइगयो।
बडा योद्धा आए कवि पनि हुने साहस गरे
तपस् जो गर्ने हुन् वरण उनकै गर्छ कविता।।

विधा यस्तै रोज्यौँ जति गति लियो उत्ति पर यो
रमाएछन् पढ्ने जन यदि भने काल जितियो।
अहम् मान्छे जागोस् कविमन मिलोस् बाँच्न सिकियो
छ केही निद्र्वन्द्व प्रकृति बलियो स्वत्व बुझियो।

महायात्रा हो यो थकित जति छन् थन्किइ बसुन्
कसैलाई कोही क्षण पनि पखी बस्छ र को ?
तिमी हाँक्तै जाऊ समयरथ तिम्रै छ वशमा
महान् एको मान्छे अरू सब यहाँ वश्य उसका।।

अनित्यै हो देही तर पनि तपस्या त कविको
सदा भर्ने ऊर्जा अमर कृति सत्यम् सुललितम्
तपस्वी हो लेख्यो अविचलित निष्पाप अभय
नहल्लाई पाती कविहृदय हल्लाउँछ जगत।।

कथा गाथा केही छ र कुन अहंकाम गरियो
निबन्ध स्वच्छन्द स्वर न रस जस्तो युग छ यो।
सबै देख्छौ विच्छृंखल तर कुनै तन्तु छ यहाँ
वसन्तप्रेमी हो सुन मधुर संगीत उसको।।

सबै हाम्रा राम्रा गुण चरितसंवाहक भयौ
लिई हाम्रै माया मधुऋतु सबैका प्रिय भयौ।
पगाल्छौ यो आत्मा कवि सकलका नायक भयौ
दया माया साटी प्रियतम सदाकारक भयौ।।

अवस्था मेरो होस् कि त मुलुकको के छ र पृथक
जिएका आशामा नजिक छ वसन्तोदय भनी।
दियौँ संज्ञा तोक्यौ अवधि महिना केवल दुई
परं सत्यम् मानौं अघिपछि यसैका कृतिकला।।

व्यथा जम्मै पोखी नवकिरण भर्ने प्रण गरी
म लागेँ मानौं यो ऋतु त हक खोजेर उभियो।
यसैलाई मैले तनमन दिएँ खेत वगर
रसाओस् मेरो जीवन तरुलता हृदय मधुर।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *