Skip to content

खास के छ तिमीमा ?


खास के छ तिमीमा ?
जस्ले गर्दा म
रातभर नसुती खाली
तिमीलाइनै सोच्ने गर्छु
मानौं
कुनै कविले कविता सोचे जस्तैगरी

खास के छ तिमीमा ?
जस्ले गर्दा मलाई
जायज लाग्छन्
तिम्रा ती नाजायज जिद्विहरू

खास के छ तिमीमा ?
जस्ले गर्दा म
जान–अन्जान तिम्रा हरेक गल्तीहरूलाई
गर्न सक्छु माफ
मानौं
कुनै आमाले छोरालाई जस्तैगरी

खास के छ तिमीमा ?
जस्ले गर्दा मलाई
फिक्का–फिक्का लाग्छन्
आजकल आफ्नै रहरहरू पनि

खास के छ तिमीमा ?
जस्ले गर्दा म
झेल्न सक्छु सजिलै
तिम्रा बकवास बाहाना या कुनै झुट
मानौं
कुनै साथीले मिल्ने साथीलाई जस्तैगरी

खास के छ तिमीमा ?
जस्ले गर्दा मलाई
कुनै अपसोस छैन
आहा ! यो जिन्दगीसँग

खास के छ तिमीमा ?
जस्ले गर्दा म
तिमीसँग पटक–पटक हार्न सक्छु
या तिम्रालागि मर्न सक्छु
मानौं
कुनै कहानीको पात्र जस्तैगरी

खास के छ तिमीमा ?
जस्ले गर्दा मलाई
यस्तो लाग्छ कि–
अरु केही चीज अब चाहिँदैन

खास के छ तिमीमा ?
सायद,
खासै केही छैन तिमीमा
र जे छ
प्रिय,
त्यो ममा छ
र छ मेरो मायामा ।

सुशिल शाह
कुपण्डोल, ललितपुर
सम्पर्क नं : ९८४३५९८८९१

Leave a Reply

Your email address will not be published. Required fields are marked *