Skip to content


हामी इतिहास किन पढ्छौं? किन लेखिन्छ विगतको कथा? किन हुन्छन् विवाद एउटा मृत समयमाथि? नेपाल–अंग्रेज युद्धको २०० वर्षपछि सन्दर्भ–सामग्री खोतल्दा यस्तै प्रश्नहरू उम्रिरहेका थिए। ७ पुस २०७० को हिमालमा आवरण लेख छापिएपछि आएका प्रतिक्रियाले पनि यी प्रश्न सबैका लागि महत्त्वपूर्ण रहेछन् भन्ने प्रष्ट पार्‍यो।

युद्धको मनोविज्ञान

इतिहासलाई वस्तुपरक रूपमा निर्क्योल गर्न नसक्नु वा नचाहनुको एउटा प्रमुख कारण हो– युद्ध र हिंसाको मनोविज्ञानप्रति आँखा चिम्लनु। युद्धको अध्ययन गर्नेहरूले कि रणनीति र युद्धनीति केलाउन लडाइँ खोतल्छन्, कि त विगतका सीमाना सम्बन्धी हिसाबकिताबलाई नयाँ रूपले प्रस्ट्याउन। त्यस्ता अध्ययनले दुई पक्षको सैन्य शक्ति संख्यात्मक आधारमा दाँजेर नयाँ कथा लेखिने बाध्यता ल्याउँछ।

हिंसाले मान्छेभित्रको आदिम पाशविक प्रवृत्तिलाई जगाउँछ। सन् ६० को दशकमा बनेको अंग्रेजी व्यङ्ग्य चलचित्र ‘डक्टर स्ट्रेन्जलव’मा मान्छेभित्रको पाशविक प्रवृत्तिलाई बडो रोचक ढंगले देखाइएको छ। अमेरिका–सोभियत संघबीचको शीतयुद्ध र परमाणु प्रतिस्पर्धालाई आधार बनाइएको यो चलचित्रमा दुई देशको हतियार होडबाट पृथ्वी नै नष्ट हुनसक्ने संकट निम्तिएको देखाउँछ। त्यसको केन्द्रमा हुन्छन्– हिंसा र विध्वंसका प्रेमी डक्टर स्ट्रेन्जलव। यो सटायर कमेडीमा हिंसाप्रेमको पराकाष्ठा देखाइएको छ। कुनै न कुनै नाममा हिंसा र युद्धको पैरवी गर्नेहरू प्रशस्त भेटिन्छन् पनि।

हतियारको दम्भ, विजयको उन्माद, हिंसाको आवेग वा पराजयको हीनताबाट युद्धका नाइकेहरूले लिएका निर्णयले निकै प्रभावित पार्छन्। कुशल सेनापतिहरूले पनि यस्तै भावनाको वशमा परेर निर्णय लिएको उदाहरण इतिहासमा प्रशस्तै छन्। यो प्रवृत्ति व्यक्तिबाट समाज र राज्यसम्म पुग्छ। हिंसात्मक प्रवृत्ति भरिएपछि युद्धले शक्ति प्राप्त गर्छ र नथामिने हुँदै जान्छ। इतिहासका कतिपय चर्चित युद्धकालीन निर्णयहरू व्यक्तिगत महत्त्वाकांक्षा, रीसइबी, घमन्ड र सनकबाट आएका थिए।

एकीकरण कि विस्तार?

पृथ्वीनारायण शाहद्वारा नेपालको एकीकरण भएको हो कि गोर्खा राज्यको विस्तार? यो प्रश्नले नेपाली समाजमा एउटा ध्रुवीकरण ल्याउन सक्छ। यो प्रश्न आफैंमा एउटा बृहत् राजनीतिक र वैचारिक फाटोको परिणाम हो। उहिलेको सामाजिक–राजनीतिक अवस्था अनुसार विगतलाई हेर्ने र निर्क्योल निकाल्ने इतिहासकारहरूको रहन्छ। इतिहासका अध्येताहरू नजानिंदो तरिकाबाट आफ्नै समयको प्रभावले एक प्रकारको सोचमा ढल्किसकेका हुन्छन्। कोही त घोषित रूपमै कुनै एउटा दर्शनको परिधिभित्रबाट इतिहासलाई हेर्ने गर्छन्। गुट विशेषको स्वार्थ अनुरूप इतिहास लेखिने, पढाइने र बुझाइने यथार्थ पनि छँदैछ।

इतिहासबाट के लिन खोजिंदैछ भन्ने कुराले त्यसभित्रका घटनाको नामकरण र पात्रहरूको छवि निर्धारण हुने गर्छ। पंचायतकालीन पुस्तकहरूमा शाहवंशको यशको बखान गर्ने बाध्यता थियो। त्यही कारण पृथ्वीनारायणको ‘दैवीकरण’ प्रयास भयो। राजालाई विष्णुको अवतार भन्दै धर्मसँग जोडेर राजसंस्थाको मर्यादा र वैधानिकता अकाट्य पार्न खोजियो। पाठ्यक्रमले राजतन्त्र र राष्ट्रियतालाई एकअर्काका पूरक भन्यो। तर, अहिले ‘दिव्योपदेश’लाई समेत महेन्द्रकालीन प्रोपोगन्डाको रूपमा शंका गर्नेहरू पनि देखिन थालेका छन्।

यी सबै कुरालाई ध्यानमा राख्दा ‘एकीकरण कि विस्तार?’ भन्ने विवाद नै असान्दर्भिक लाग्छ। गोर्खाले आक्रमण गरेर अथवा वैवाहिक सम्बन्धबाट अन्य राज्यलाई आफूभित्र गाभेको हो। पछि गोर्खाको राजधानी नै सारिनुले यसलाई विस्तार नभनेर एकीकरण भनिनुपर्छ भन्ने तर्कमा भावनाले काम गरेको देखिन्छ। पूर्वका केही राज्यलाई प्रदान गरिएको स्वायत्ततालाई पनि त्यही अर्थमा लिन खोजेको देखिन्छ। तर, त्यो पनि त्यसवेलाको प्रशासनिक सहजताले निर्धारण गरेको निर्णय नै हुनुपर्छ।

गोर्खाली अभियानलाई विस्तार नै भनी दिंदा पनि अहिलेको ‘नेपाल’ बन्नुमा पृथ्वीनारायण शाहको भूमिका गौण भने हुँदैन। गोर्खाली अभियान शुरू नै नभएको भए वा असफल भएको भए नेपाल अहिलेको जस्तो पक्कै हुने थिएन। साना साना टुक्रे राज्यहरू दक्षिणको विस्तारवादी शक्तिका सामु टिक्न सक्ने थिएनन्। कि हिमालयमुनि अर्को कुनै शक्ति उदाउँथ्यो, कि त यो भूभाग अंग्रेज शासित भारतमा गाभिन पुग्थ्यो।

हिमाल खबरपत्रिका
५ माघ २०७०
19 January 2014

Leave a Reply

Your email address will not be published. Required fields are marked *