मित्र पुण्य कार्कीजी,
अभिवादन !

यस पटक मेरो चित्र शब्दहरूमा नै उतार्दै छु । यी अक्षर कोरुन्जेल चाहिँ शारीरिकरूपमा ठीकै छु । मानसिकरूपले भने यस बखत असाध्यै थलिएको छु । ज्यादै भयानक मृत्यु बोकी फुकिफुकी पाइला चाल्दै छु । अनौपचारिक वार्तालापका क्रममा मित्र सन्तोष अधिकारीले भनेका कुरा सम्झिरहेछु । उनी भन्थे– ‘म यही ठाउँ, यही घर र यही समाजमा जन्मेँ, हुर्कें र एम.एड. समेत गरेँ । अहिले पनि यही समाजका स–सानादेखि किशोरावस्थासम्मका नानीहरूलाई विद्यालय र कलेज दुवै ठाउँमा पढाउँछु । म उज्यालो भएदेखि साँझ अँध्यारो नभइन्जेल हरतरहले यसै समाजप्रति समर्पित छु । र पनि, जब उज्यालोलाई अँध्यारोले जितेको पाउँछु, म भित्र–भित्रै फतक्क गल्छु । त्यसैले साँझ पर्नासाथ आफ्नो कोठाका झ्याल ढोका थुनेर भित्रै गुम्सिरहन्छु । जीवन प्यारो लाग्नेहरूलाई नै मृत्यु भयानक लाग्दो रहेछ । आफूले चाहेको र खोजेको जीवन जिउनै पाइएको छैन ।’

आज २०६४।०७।१३ गते मेरो मनमा पनि यस्तै कुराहरू मराडिरहेका छन् । ती कुरामा मेरो समर्थन भए पनि त्यो मनमा नै सीमित हुन वाध्य छ । ओठसम्म ल्याउने आवश्यकता देख्दिनँ । एउटा जलिरहेको वृक्षको पीडा अर्को जलिरहेको वृक्षलाई नै थाहा हुन्छ । त्यस बखत मौनतामै आफ्नो जलिरहेको अवस्था नियालिरहन पुगेँ । हिजो ०६४।०७।१२मा राजविराजदेखि केही पूर्व (तोपा बजार नजिकै) नायव सुब्बा प्रभुनारायण यादवलाई अज्ञात समूहले तारो बनाएछ । तारो बन्न कारण चाहिएको छैन । उनको अनमोल जीवन क्षणभरमै स्वाहा भएछ । यताउती पनि यस्तै तवरले जीवन दौडिरहेछ । जीवन हरेकका लागि प्रिय छ तर कायर बनेर जीवनलाई टेकाई राख्न सबैलाई मन छैन ।

स्वाभिमानको जीवन बाँच्ने लोभ सबैलाई हुन्छ । वर्तमानमा भने स्वाभिमान बचाउन सक्ने अवस्था छैन । गर्नुपर्ने काम गर्न गाह्रो छ, भन्न सक्ने कुरा भन्नै साह्रो छ । आखिरमा दाजुले भाइसँग, बहिनीले दिदीसँग किन डरपोक भएर जिउँनुपरेको हो कुन्नि ! पहाडले तराई र तराईले पहाडलाई किन अविश्वासले हेर्नु परेको हो कुन्नि ! अविश्वासले साम्राज्य जमाएको यस समयको साक्षी हुनुपर्दा जो कोहीले पनि मन अमिलो बनाउनै परेको छ । कौडीको भाउमा घरजग्गा बेचेर हिँड्न विवशहरूको कहानी सुन्दा अँझै मन विरसिलो हुन्छ । पेशेवर अपराधीहरूले बाबुआमालाई त छोड्दा रहेनछन् । अरूलाई छोड्ने त कुरै आएन ।

प्रिय मित्र पुण्य कार्कीजी, म वर्तमानले अघाएको छु । असाध्यै अघाएको छु । अरू एकपल यस ठाउँमा अडिने मन छैन । पाइलो उठाइहाल्ने सामर्थ्य समेत छैन । मेरो अन्त खनिएको बाटो छैन । खनिदिने अगाडि मान्छे छैन । अरूका मान्छेले अरूलाई नै बाटो खन्दिछन् । मैले त आफ्ना खातिर आफैँ बाटो खन्नुपरेको छ । त्यसका लागि आवश्यक पर्ने हँसिया–कतौडा, खुकुरी–भाला, फरुवा–कोदाली, बञ्चरो–छिनो आफैँले जुटाउनुपर्छ । मेरो कमजोरी नै हो– न मान्छे खटेको छ, न गतिलो औजार जुटाएको छ, न कतै अन्त बाटो नै खनेको छ ! मनमा भित्रैदेखि आगो सल्केको छ । बिल्कुलै लाटो भएर जिउँन सकिएको छैन । केही चनाखो भएर हिँड्न खोज्दा पाइलो राख्ने ठाउँ नै पाउँदिनँ । कताकता अपूर्व मृत्युको त्रासले सपनी र विपनी दुवैलाई गाँज्न थालेको छ ।

पुण्य कार्कीजी, म सैद्धान्तिक तवरले मृत्युलाई स्विकार्ने मान्छे हुँ । तपाईंले झैँ मैले पनि धेरै पटक मुत्युलाई नजिकैबाट नियालेको छु । तर, यत्तिखेर मैले सिद्धान्तहीन मृत्युसँग सिँगौरी खेल्नुपरेको छ । बरू राष्ट्र र जनताको समुन्नतिका लागि दुश्मनसँग जुध्न र प्राप्त हुन सक्ने वीरगति स्वीकार गर्न तयार छु । तर, कुकुर–बिरालाझैँ बेअर्थको मृत्युवरण मलाई स्विकार्य छैन । अज्ञात समूहको नाममा सामान्य मानिससँग असामान्य क्रियाकलाप हुँदा मन दुख्दो रहेछ । अतः दुखेको मनलाई शान्तवना दिने शीतल मलहमस्वरूप यो पत्र कोर्न बसेको हुँ ।

मित्रजी, म र तपाईंबीच बाधक बनेर ठडिएको पर्खाल तपाईंको पत्र पाउनासाथ ध्वस्त भएको छ । वाधा जति तोडिएपछि नाङ्गो मन नाङ्गै तवरले किन नजोड्ने भन्ने ठहर मेरो मनले गर्यो र यी शब्दहरू जोडजाड पारेर वाक्य निर्माण गर्न पुगेँ । अक्षरहरू जोडेर सुख र खुशीका गन्थन सिर्जना गर्न त सकिनँ । समयले ऐंठन गर्न छाडेछ भने अवश्य ती दिन पनि आउलान् । तपाईंको स्नेहजडित पत्र पटकपटक पढेँ । मनको बह नपोखी मनले मानेन । आजसम्ममा इन्द्रकुमार श्रेष्ठ र रामविक्रम थापाका निम्ति निक्कै पटक मन खन्याइसकेको छु । मेरो त्यो मन पुनः फिर्ता नहुने गरी सदाकै लागि दिइसकेको छु । उहाँहरूसँगै सुरक्षित छन्, त्यस बेलाका मेरा ती मनोगन्थनहरू ! केही मन चाहिँ अर्का सर्जक धीरकुमार श्रेष्ठलाई पनि दिएँ क्यारे । आज भने मेरो कलिलो मन तपाईंलाई सुम्पिरहेछु । भनूँ न, जीवनको रामकहानी तपाईंलाई सुनाइरहेछु । जति बाड्यो उत्ति बढ्ने मन मसँग छ । त्यही मनलाई सदुपयोगमा ल्याइरहेछु ।

पत्र लेख्न बस्दा दुईचार घण्टा बितेको पत्तै पाउन्न । छोटो लेख्दा मन नै अघाउँदैन । आजको युग हाइकु युग हो । त्यसभन्दा बढ्ने हो भने मुक्तक, ताङ्का, लघुकविता र लघुकथाको युग हो । यस मान्यता विपरित म भने महाकाव्य र उपन्यास बनाउन खोज्छु । लामा र पट्यार लाग्दा गन्थनले दिमाख नै गिजोल्ने काम गर्ने मेरो बानी छ । कोहीकोही त यसको पत्र महाभारत नै हुन्छ, फुर्सदमा पढौँला भनेर थन्क्याउँछन् । फुर्सद पाउँदैनन् र भुलिदिन्छन् । लेख्नेलाई कत्रो कष्ट छ, सिर्फ एक पटक पढिदिनेलाई भने त्यत्रो कहर देख्दा छक्क पर्छु । आफ्नो नामको पत्र कम्तीमा एक पटक भए पनि पढ्नै पर्ने हो । प्रेषकअनुकूल प्रापकहरू चल्नेरहेछन् । मेरो पत्र लेखनीको अभिष्टलाई तल सम्प्रेषित विचारधाराले कतै न कतै सम्बोधन गर्छन् । अनर्थ सावित हुन गएमा अर्थ लगाएर पढ्नुहोला ।

मलाई १३/१४ वर्षको उमेर हुँदादेखि बिहे गर्, गर् भनेर परिवारजनले कचकच गरिरहन्थ्यो । ठूल्दाजु भिन्न भएर बसेका र दिदी–बहिनीहरूको समेत बिहे भइसकेको हुनाले त्यत्ति विघ्न कर गरिएको थियो । त्यसबेला म अपरिपक्व मात्र हैन, अबुझ र असभ्य नै थिएँ । साँच्चै भनूँ भने म ‘बिहे’ शब्द सुन्नासाथ डरले थुरथुर काप्थेँ । बरोबरको करचापलाई मैले नबोलेरै जितेँ । जिती नै रहेको थिएँ । जित्नका लागि विशेष परिस्थिति बन्नुपर्दो रहेछ, हार्नु नै छ भने पनि समय प्रतिकूल भइदिनु पर्दो रहेछ । एउटाको अनुकूल अर्काको प्रतिकूल हुनु संसारको रीति नै रहेछ । यी दुवै धारको बीचमा पाइलो राख्दै म अघि हिँड्दै थिएँ ।

त्यस बेला लेखनीको क्षेत्रमा म हवाइ तथा लघुपत्रिकाहरूमा स्थापित हुने ध्याउन्नमा थिएँ । मैले लेखेका सामग्रीहरू यत्रतत्र प्रकाशित हुन्थे । ‘जनादेश’, ‘महिमा’, ‘कलम’जस्ता पत्रिकामा प्रकाशित कविता र चिठीहरूले मेरो मन छुन्थे । साँच्चै ‘कलम’ पत्रिकाको म नजिकैको साथी थिएँ । मलाई डा. ऋषिराज बरालका कथा, ईश्वरचन्द्र ज्ञवालीहरूका कविता र चिठीहरूले औधी मन छुने काम गर्थे । ती कथाहरूको भावभूमि र वर्णित पात्रहरूको क्रान्तिकारिता नै मन खाने प्रसङ्ग थिए । मेरो मनमा साहित्यप्रति अगाध प्रेम थियो जसलाई म शब्दमा भन्नै सक्दिनँ । पिपुल पत्रिका पसल, राजविराजमा ‘कलम’ नियमितरूपमा आउँथ्यो । आउनासाथ बरू तरकारी नकिनी पत्रिका किनेर फर्किन्थेँ । बोर्डिङ्ग स्कुलले दिने तलवले हातमुख जोर्न धौधौ थियो । खान र डेराभाडा बुझाउन पनि निक्कै सतर्क रहनुपर्ने बेलामा यताउतामा खर्च गर्न हम्मे पर्नु स्वभाविक थियो । डेरामासँगै बस्ने सहकर्मी मित्र अभितकुमार चौधरी तरकारीको सट्टा पत्रिका ल्याएकोमा मनमनै रुष्ट हुन्थे कि हुँदैनथे तर मुखले चाहिँ ठीकै छ, नूनभात नै खाऊँला भन्थे । त्यस्ता पत्रिकाहरू सम्पादन गरेर बजारमा ल्याउने को होला भन्ने बुझ्दै र खोज्दै जाँदा कृष्ण सेन ‘इच्छुक’ भन्ने थाहा पाएँ । त्यसबेला सोच्थेँ–
‘म इच्छुक भएको भए कस्तो हुन्थ्यो, त्यस्ता रोचक, घोचक र मनै कल्पाउने रचना सुरुसुरुमै पढ्न पाउँथेँ, बुझ्न पाउँथेँ । निमुखा वर्गप्रतिको मेरो अनुरागले सगरमाथा छुन्थ्यो ।’ त्यसबखत मेरो पवित्र मनमा स्वार्थी मन मिसिएको थियो । विशेष गरी मर्मस्पर्शी चिठी लेख्ने लेखकलाई म बरोबर सलाम गर्थे । लहैलहैमा र प्रभावैप्रभावमा मैले पनि निमुखा जनतालाई लक्षित गर्दै केही कथा, कविता र निबन्धहरू लेख्ने हिम्मत जुटाएँ । हवाइ र लघुपत्रिकाहरू सहित ‘जनादेश’, ‘महिमा’, ‘कलम’, ‘गरिमा’, ‘मधुपर्क’ लगायतका पत्रपत्रिकाहरूमा फाट्टफुट्ट पठाउन थालेँ । रोशनी, क्षितिज, सुदामा, कटाक्षजस्ता धेरै पत्रिकाले धेरै पटक मेरा रचना छापे । राजविराजबाट त बरोबर कविताहरू प्रकाशन भइरहन्थे । त्यस बखत म नन्दलाल आचार्यका अतिरिक्त नेत्र पी.ए., नेत्र आचार्य, नरे माइलो, अक्षान्त, ललादन्न आचार्यजस्ता उपनामबाट पनि रचना छपाउँथेँ । जे होस् पठाउने रहर जागेको थियो । लेख्थेँ, मन खोलेर लेख्थेँ तर रगतको होली चाहिँ मन पराउँदिनथेँ । सर्वसाधरण नेपालीका सन्तति सेना, प्रहरी, छापामार, जनसेना आदित्यादिको रूपमा मारकाट गर्नु मेरो लागि स्विकार्य थिएन । सुरुसुरुका दिनहरूमा त मैले धेरै रात आँखाभरि आँसु पारेर बिताएको छु । सिद्धान्त पनि थाहा थिएन । सर्वसाधरण नेपाली आमाका सन्तानले ज्यान गुमाएको खबर पढ्न र सुन्नु पर्दा मन भकानिन्थ्यो । को, किन र कसका लागि बन्दुक सोझ्याउँछ, त्यस वेला म बबुरोलाई के थाहा ! पछिपछि बुझ्दै गएँ– क्रान्तिको शङ्ख घन्कनलाई, दासताको जञ्जिर चुँडाल्नलाई अनि नौलो सोच, होस र जोस उमार्नलाई जनयुद्ध हुनु अनिवार्य थियो । त्यसलाई सहर्ष स्विकार्नुको विकल्पै थिएन । बाङ्गोटिङ्गो हिँडेरै भए पनि, धनजनको क्षति सहेरै भए पनि एउटा दह्रो जरो उखल्नै थियो, वसन्त आन्दोलनको वेगले त्यो उखलियो । तर, आधारशीला भने जनयुद्धले बनाउँदै आएको थियो । जनयुद्धविना जरो उखलिने सम्भावना सपनामा पनि सम्भव थिएन ।

२०५९ फाल्गुन ०९ गतेको कुरा हो । प्रधानमन्त्री पदमा शेरबहादुर देउवा थिए । देशमा सङ्कटकाल लागेको थियो । सायद लेलिन जन्मोत्सव भन्दै माओवादीले नेपाल बन्द गरेको थियो । विद्यालयसमेत बन्द हुने भएकाले म पनि ढिलै विद्यालय पुगेँ । म पुग्दा विहानको ११ नाघिसकेको थियो । त्यसभन्दा पहिला नै सैनिकको एउटा डफ्फा त्यहाँ पुगेर मलाई खोज्दै रहेछ । म पुग्नासाथ तपाईंसँग सानो काम छ भन्दै सैनिक मेजरले मलाई गाडीमा बसाए । राजविराज नगरपालिका एक चक्कर नलगाउँजेल त खासै केही पत्तो भएन । मित्रवत्रूपमा मेजर पारिवारिक, शैक्षिक र सामाजिक कुराकानी गर्दा भए । म पनि एक हितैषी मित्रले सोधेका प्रश्नहरूको जवाफ दिइरहेको छु भन्ने सोचेर सोझो तवरले सत्य कुरा कुमारजीले अगस्त्य मुनिलाई भनेझैँ भन्दो भएँ । मलाई त त्यो लामो सयर सामान्यजस्तो लागेको थियो । पहिलेसँगै पढेको, बढेको, हिँडेको र खेलेको साथी नै सेनाको मेजर पो भएछ कि क्या हो भन्ने लागेर उनको अनुहारलाई राम्ररी अध्ययन गरेँ । अहँ को, हो, हो भन्नै सकिनँ । मेरो यस खाले भ्रमले लामो समयसम्म भ्रममा नै रहन पाएन । कुरैकुरामा उनले प्रश्न तेर्साए– ‘सत्ता हत्याउने र निरङ्कुशता लाद्ने माओवादी गुरिल्ला युद्धबारे तपाईंको दृष्टिकोण के छ ?’ मैले प्रश्नमाथि उचितरूपले ध्यान नपुर्याईकनै भनेको थिएँ– ‘गुरिल्ला युद्धबारे मलाई थाहा छैन । नेपालीले नेपालीहरूको स्वाभिमान लिएर जिउन पाउनुपर्छ । गरिबनिमुखाले गाँस, वास र कपासजस्ता आधारभूत आवश्यकता परिपूर्ति गरेर सरल र सहज जीवन जिउने अवस्था सिर्जना हुनुपर्छ । यस्ता जनमुखी कार्यहरू जो कोहीबाट भएका भए पनि मेरो हृदयले स्वीकार्दछ, प्रशंसा गर्दछ । विकास ठूलो महलमा मात्र हैन साना झुपडीमा समेत पुग्नुपर्छ । विनास कतै देखिनुहुन्न, रगतको छिटा कतै भेटिनुहुन्नु । सर्वसाधरणले आहत हैन राहत भेट्नुपर्छ । यस्तो काम जसले गर्छ, मेरो नैतिक समर्थन त्यसले प्राप्त गर्छ ।’

मित्र पुण्य कार्कीजी, त्यस पछि मेजरका कुरा सुनेर म छाँगाबाट खसेझैँ भएँ । उसको प्रश्न थियो– झुपडीमा विकास पुर्याएर सोझासीधा जनतालाई राहत पुर्याउने नाममा कति कोरी घरबार उजाड गरियो त ?’ कुरो राम्ररी बुझ्न नसके पनि मेरा ओठहरू सुक्न थालेका थिए । आवाज भित्रभित्रै दबिन थालेको आभास भइरहेको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाको इतिवृति बुझ्ने मेरो बानीले गर्दा मप्रति लक्षित प्रश्नले मलाई ठूलै आरोप लाग्दै छ भन्ने ज्ञात भइसकेको थियो । मैले कुरो नबुझेको बहाना गरेँ । खुलस्त कुरा गरियो र मलाई ज्यानमारा समूहको अदृश्य लिडरको संज्ञा दिइयो । मलाई विविध उपनामले पुकार्न थालेपछि मन एक तमासको भयो । सम्भावित मृत्युले मलाई वरपरबाट घेरेझैँ लाग्यो । सोधिएका प्रश्नको जवाफ नदिई सुख पाइएन । मन डराइरहेको थियो । तैपनि ओठ चाहिँ खुलेछन्– ‘सर, तपाईं भ्रममा हुनुहुन्छ । म ज्यानमार्ने मान्छे होइन । म विनासमा विजय र विकास भएको सपना देख्दिनँ । म त शिक्षक हुँ । निजी विद्यालयमा रातोदिन खटेर थोरै तलबमा घरव्यवहार चलाइरहेको सामान्य नेपाली नागरिक हुँ । हो, मैले अन्याय र अत्याचार सहनु सामन्तको गुलाम बन्नु हो भनेँ होला । स्वच्छ, हराभरा र समृद्धशाली राष्ट्रनिर्माणका लागि गुलामीपन बाधक भएको छ भनेँ हुँला । सिद्धान्तनिष्ठ भएर कार्यसम्पादन गर्ने मान्छेले नै विजयको पतका फरफराउन सक्छ भन्ठानँे होला । अर्कालाई दुःख दिएर सुख भोग्ने लालचीहरूको कित्ता बेग्लै छ भन्न समेत भुलिनँ होला । विशेषतः वीरत्वले भरिएको पुर्खाहरूको स्वाभिमानको गाथा विद्यार्थीहरूलाई सुनाएँ होला । राष्ट्रिय स्वाभिमानको सुरक्षार्थ अराजकता निर्मूल पार्ने अभियानमा नेपालीहरू सरिक रहनुपर्ने विचार कतैकतै सम्प्रेषण गरेँ हुँला । तर, मैले कतै अमर्यादित र अशोभनीय कार्य गरेकै छैन । तपाईंले के सुन्नु भो र कस्तो भ्रममा पर्नु भो कुन्नि ! अनि, मलाई यस सरकारी गाडीमा घुमाइराख्नुभएको छ । म यसको लायक छैन ।’

मेरा कुराले उनका कन्सिरीका रौं तातेछन् । उनी बम्कन थाले– ‘तपाईं आफूलाई विद्वान्, अरूलाई भने बज्रस्वाँठ नै सम्झनुहुन्छ ? त्यत्रा १५/१६ जना विद्वान् शिक्षकहरूका बीचबाट तपाईंलाई छानेर ल्याउनु र १६/१७ लाखको यस सरकारी गाडीमा राजविराज नगरपालिका घुमाउनु के मेरो रहर हो ? कि तपाईंले मेरो काम यत्ति नै र यस्तै हो भन्ठान्नुभएको हो ? हेर्नुस्, हामीले धेरै नेताहरूसँग वातचित गरिसक्यौँ । हरेकका आ–आफ्नै खाले स्वभाव हुन्छ । सुरुमा सबैको तपाईंको झैं बोली हुन्छ, विचार हुन्छ र व्यवहार हुन्छ । पछि असली मुहार देखिन्छ । हाम्रो कर्तव्यपालनामा साथ दिनुस्, त्यसका लागि सत्य मात्र बकिदिनुस् । झुटको खेती गरेर आफूलाई बेइमानी खेलाडी नबनाउनुस् ।’ म एकोहोरो हेरेको हेर्यै भएँ । मलाई एक विशिष्ट श्रेणीको विद्रोही नेताका रूपमा चिनाइएको थियो । आफ्नो श्रम लगभग निःशुल्कजसो बिक्री गरेर मृत्यु पर्खन विवश एक नागरिकसँग कुरा हुँदै थियो सैनिक मेजरको ! एक मनले त भन्थ्यो– त्यत्रो विशिष्ट दर्जामा पुगेको भए त मेरो जीवन नै सफल बन्थ्यो । अरू कुरा छाडौँ, नाम त दुनियाँले लिन्थ्यो । चुपचाप सुनिरहेँ, सुनिरहेँ ।

मन्द गतिमा गाडी हिँड्दै थियो । सडक किनारामा उभिएर मेरा शुभेच्छुक अभिभावक, विद्यार्थी र शिक्षक मित्रहरू त्यो दृष्य अवलोकन गरिरहेका थिए । उनी अगाडि थप्दै गए– ‘पढेलेखेका मान्छेसँग हामीले अभद्र व्यवहार गर्न मिलेन । आफूले नचाहँदा नचाहँदै पनि जीवन उडाउनुपर्छ । व्यक्तिगतरूपमा भन्नुहुन्छ भने मलाई तपाईंहरूजस्तो शिक्षित र राष्ट्रका होनाहार जनशक्तिको ज्यान लिने इच्छा छैन । तर, हाम्रो काममा भाँजो हालेर हामीलाई असहयोग गर्ने तत्वहरूको विनास गर्दा राष्ट्रले मुक्ति भेट्छ भने मुटुमाथि ढुङ्गा राखी, पत्थरको मन बनाएर जे पनि गर्नुपर्ने हुन्छ । कर्तव्यपथमा हिँड्ने राष्ट्रसेवकले राष्ट्रको हितका लागि जे पनि गर्नुपर्छ । त्यसमा म रत्तिभर पछि छैन । एकाध कदम अघि छु । सत्यलाई असत्यको आवरणले ढाक्न खोज्दा म मान्दिनँ । कलिलो मुहार पनि हेर्दिनँ, छिप्पिएकै भन्ने पनि ठान्दिनँ । अन्तिम निर्णयतर्फ ढल्किन्छु । यो समय सङ्कटकालीन समय हो । राष्ट्रलाई सङ्कटबाट बचाउन काम गर्नैपर्यो । रगत लिनेसँग रगत लिनैपर्ने खेल खेल्नै पर्यो ।’

मित्र पुण्य कार्कीजी, के भनूँ ! मेरो विवश कहानी सुनाउँदै छु । मेजरका यी गन्थनले मैले बाँच्न पाउने आश कमै देखेँ । राम्रो काम गर्नेहरूप्रति मेरो मोह छ भन्ने मेरो कुराले मेजरको मन अँझै पोलेछ । उनको मृत्युसँग गाँसेर कुरा अघि बढाउने शैलीप्रति म असाध्यै डराएको थिएँ । ती विविध प्रकारका तर्कहरूको जवाफ दिने सामर्थ्य मसँग थिएन । जिउँने आशा कमै देख्न थालेँ । सप्तरीबाट धेरै जनाको जिउज्यान वेपत्ता पारिएको खबर सुनेको थिएँ । आफ्नो पनि हालत त्यस्तै हुने भो भनेर म झोक्राउन थालेँ । मेरो नाजुक मानसिक अवस्थालाई नियालेरै होला मेजरका मुखराविन्दबाट शान्तवनाका रोमान्टिक कुराहरू सुन्न पाएँ– ‘हैन आचार्यजी, तपाईं त साह्रै चिन्तित पो देखिन थाल्नुभो । यस २८/२९ वर्षे अविवाहित जवानीकालमा जीवनसंघर्षमा हार खानु उचित छैन । सडकमा हिँडेका राम्रा तरुणी देख्दा मन कत्ति कल्पदो हो । समयमै बिहे गरेको भए यस बेला नातिनातिनासमेत भइसक्ने थिए । हैन, आजसम्म तपाईंलाई कुनै तरुणीले आकर्षित गरिन ? के तपाईं विवाह नगर्ने ? कि भीष्म पितामह नै बनेर जीवन गुजारा गर्ने मनस्थितिमा हुनुहुन्छ ?’

उनले जेजे भनेर मेरो ध्यान तान्न खोजे पनि ‘मृत्यु’कै वरपर मेरो दिमाख घुमिरह्यो । बिरालाले मुसालाई खेलाइखेलाई मारेको मैले प्रत्यक्ष देखेको थिएँ । त्यस बेला आफूलाई मुसो र उनलाई भने बिरालो देख्न थालेँ । गहन र असहज परिस्थितिलाई विचार गरेर नै म चुपचाप भएँ । कुरा सुन्नु, मात्र सुन्नु र बोल्नै परे ‘हजुर’, ‘हजुर’ भन्नु मात्र मेरो ध्येय रह्यो । मेरो यस प्रकारको मौनताप्रति लक्षित गर्दै उनी नै बोले–‘कठै ! खाऊँ, खाऊँ र लाऊँ, लाऊँ भन्ने यस कलिलो उमेरमा जीवन नै बलिदानी दिनुपर्ने भयो । वंशसमेत विनास हुने भयो ।’

यस पटक भने मेरो सोझो मनले मनसँग नै कुरा गर्न थाल्यो– ‘समयमा बिहे गरेर सन्तान जन्माएको भए वंश त रहने रहेछ । मैले मानव जुनी लिएको बेक्कार भयो । न राष्ट्रका निम्ति केही गर्न सकेँ न धर्तीमा म आएको केही कीर्ति छाड्न सकेँ । सन्तान भएका भए त केही हुने आश रहन्थ्यो । म जुन आरोपमा गोली खान जाँदै छु, त्यो केवल आरोप लगाउने र आरोप भोग्ने म र मेजरलाई मात्र थाहा छ । उनी त एक आतङ्कवादीलाई ठहरै पारियो भनेर झ्याली पिट्दै तक्माको भागिदार होलान्, यता म भने गन्दे गल्लीका भुसिया कुकुरहरूझैँ मर्ने र विलीन हुने भएँ । मनमा अनेक थरीका तर्कनाहरू आउँदै जाँदै गर्न थाले ।

अर्को मनले भन्न थाल्यो– हिम्मत नहार ! बोल्ने ठाउँमा बोल्नुपर्छ । तेरो हातले कसैको ज्यान लिएको छैन । तेरो कलमले कुनै पार्टी वा शक्तिको घोषणापत्र लेखेको छैन । घोषितरूपमा तँ कतैको पनि छैनस् । अघोषितरूपमा जताको भए पनि समग्रमा तँ भुसुनो नेपाली नागरिक मात्र होस् । तँलाई कसैले केही गर्नै खोज्छ भने आफूले गरेको कर्तुत के रहेछ भनेर बुझ्न खोज् र प्रमाण देखाउन भन् । कसैले पनि केही प्रमाण देखाउन सक्दैन । लेख्दैमा, बोल्दैमा त्यो पनि जनताको पक्षमा, कुनै शक्तिले तेरो बिगार गर्न मिल्दैन । गरी नै हालेछ भने पनि २८/२९ वटा वसन्त फुलाइहालिस्, फक्राइहालिस् । अब कत्तिरहनु र असत्यलाई सत्य ठानेर ! असत्यको भुमरीमा फनफनी घुमीघुमीकन बाँच्नुभन्दा सत्यको सोझो राजमार्ग रोजिस् भने कालान्तरमा तेरो जित हुन्छ ।’ यही मनअनुसारका मेरा तर्क रहे । मार्नु नै छ भने चित्त बुझ्दो कारण र प्रमाण ल्याउनुस् अनि एकै पटक मार्नुस्, हैन छैन भने यसो र त्यसो भनेर पटकपटक नमार्नुस् ।

कैदी समयमा त दिन उनीहरूकै थियो, रात समेत उनीहरूकै भयो । बाह्र, एक बजे राती पनि उनीहरूकै प्रवचन सुन्नु पर्थ्यो । जो आए पनि, जसले सोधे पनि एकै किसिमको जवाफ दिने गर्न थालेँ । पछिपछि शैलीमा समेत परिवर्तन नगरीकन, हिनतावोधले आफू भित्रभित्रै नपाकीकन फटाफट बोल्न थालेँ । धेरै पटक मरिसकेपछि आखिरी मृत्यु पनि प्यारो हुँदो रहेछ । धेरै पटक मर्नै परेकाले होला सुकरातलाई विषको प्याला पनि प्रिय भएको थियो । आखिर त्यहाँ मजस्ता जालझेल, षड्यन्त्र र आशङ्काका सिकार भएका दर्जनौं थिए । सबैको पीडा एकै नासको थियो भन्न त नसकिएला तर अधिकाङ्श मान्छे गैरकानूनीरूपले दण्डित थिए ।

पुण्य कार्कीजी, मेरो लामो कहानीको विश्राम आफ्नो अनुकूल भइदियो र पो म तपाईंलाई पत्र कोर्दै छु । यहाँसम्म आइपुग्दा तपाईंको मनमा पनि खुल्दुली मच्चिएको हुनुपर्छ । त्यसबेला जिल्ला प्रहरी कार्यालय, सप्तरी एस.एस.पी. नवीन अधिकारीको नेतृत्वमा रहेछ । उनले मेरा कुरा सुनेँ । घरबाट आउनुभएका बुबा र दाजुका कुरा पनि सुनेछन् । उनैले मलाई बोलाएर भने– ‘तपाईं चाँडै छुट्नु हुँदैछ । चिन्ता नमान्नु । बुबा र दाजुलाई सम्झाएर पठाएको छु ।’ अब भने मैले पुनः सूर्यका किरण देख्ने र ताप लिने सौभाग्य पाउने भएँ भनेर मख्ख भएँ । मेरो जीवनको सबैभन्दा बढ्ता खुशीको क्षण नै त्यही थियो । उदारवादी अधिकारीले मेरो मनको भावना बुझेर मलाई छुटकारा दिने फैसला दिए । उनी मेरा भगवान्, भाग्यदाता र प्राणदाता ठहरिए ।

उनले भनेका थिए– ‘आचार्यजी, म नवीन अधिकारी हुँ । मैले तपाईंको जिल्ला उदयपुरमा रहेर धेरै वर्ष काम गरेको छु । तपाईंको इमान्दारीको गुनगान त्यतै सुनेको हुँ । यस जालमा तपाईं फस्नुभएछ । हेर्नुस्, हामीले हरेक कुरा सुन्नु, बुझ्नु, पढ्नु, हेर्नु र चिन्तन गर्नुपर्छ । तर, कुन समयमा के गर्नुपर्छ, कसरी नेपाल र नेपालीको हित हुन्छ, त्यसलाई विचारेर मात्र काम गर्नुपर्छ । तपाईंहरूजस्ता होनाहार युवा जनशक्ति मुलुकको सर्वोपरी हितमा समर्पित नहुने हो भने फेरि परिणाम अनिष्टै, अनिष्ट हुन्छ । अतः तपाईं बुद्ध पढ्नुस्, गान्धी पढ्नुस्, माओ–लेलिन पढ्नुस्, प्रचण्ड–वैद्य पढ्नुस्, वी.पी.–मदन भण्डारी पढ्नुस्, बाइवल, कुरान, रामायण, महाभारत पढ्नुस्, जेजे मन लाग्छ, त्यही–त्यही पढ्नुस् । र, कुरा बुझ्नुस् अनि तपाईंको आफ्नो हैसियत र सामर्थ्यले भ्याएसम्म गुनेर असल कार्य मात्र गर्नुस् । तपाईंको जित अवश्य हुन्छ । तपाईंलाई शुभकामना !’ उनका यी तमाम भावना, सोच र विचारलाई म जीवनभर सलाम गर्छु, गरिरहेछु !

मित्र पुण्य कार्कीजी, यस घटनापश्चात् मेरो जीवनले अर्कै मोड लियो । राजनीतिमा सधैं लुकेर नै बसेँ । बसिरहेकै छु । उही भोट खसाल्ने बेलामा एउटालाई दिन्छु, जसलाई मनले खाएको छ । त्यो मेरै मनमा छ । यदाकदा लेखनीमा आइहाल्नु अस्वभाविक हैन । नत्र भने म धेरै ठाउँमा होचाको होचै रहन्छु । महोत्तरीको मुसहरनियामै रहनुमा खुशी हुन्छु । आफू अग्लिने लालच पनि छैन । ०५९ को त्यस घटनापछि पनि म संसारमा रहन्छु या रहन्न यी दुवै काममा कुनै बेला हेरफेर हुनसक्ने सङ्केत प्राप्त भइरह्यो । त्यसपछि मैले धमाधम फोटाहरू खिचाएँ । ठूल्ठूला साइजमा ती फोटाहरू बनाएर कोठा सजाएँ । कम्युनिष्ट आन्दोलन र माक्र्सवादी साहित्यका महारथिहरू एव म नेपाली–मैथिली साहित्यका साहित्यकारहरूका फोटाहरू पनि टागेँ । कोठामा प्रवेश गर्नासाथ एक प्रकारले स्पष्ट धारको बाटो मिल्ने हिसाबको स्थिति बनाएँ । बढीभन्दा बढी आफूलाई साहित्यप्रेमीको रूपमा उभ्याएँ । संसारबाट गई नै हाले पनि परिवारजनहरूसँग सम्झना त रहन्छ भन्ठानेको थिएँ ।

जे भए पनि वंश त चलाउनै पर्छ भन्ने मन भयो । जीवनले विविध मोडहरू पक्रन थाल्यो । दवावैदवावका बीचमा ०६१ असार ०९ गते गृहलक्ष्मी भित्र्याएँ । ०६२ श्रावण १५मा छोरी जन्मिई । पुरोहित तोयानाथ सुवेदीले ‘वा’बाट नाम जुर्यो भने । नेपाली साहित्यमा ‘कारागार’ उपन्यासलगायतका कृतिहरू अर्पण गरेर विशिष्ट नारी हस्ताक्षरका रूपमा नाम अङ्कित गरिसकेकी डा. वानीरा गिरीझैँ बनाउने ध्येयले छोरीको औपचारिक नाम ‘वानीरा’ नै रोजेँ । बोलाउने नाम चाहिँ के राखौँ भनेर केही दिन गम खाएँ । मलाई एकलव्य पाराले साहित्यको ‘स’ चिनाउने गरिमा पत्रिका हो । ०४८ सालदेखि गरिमा धेरथोर पढ्ने गरेको हुँ । मेरो लेखनीमा सुधार र परिष्कार ल्याउने काममा गरिमा पत्रिकाको ठूलो देन छ । त्यसैले छोरीको नाम पनि ‘गरिमा’ नै राखेको छु । किनकिन छोरी सामु नहुँदा मनमा चैन नै हुन्न । छोरी मामाघर गएको बखत विछोड र विरहका व्यथाहरूलाई समेटेर एउटा लामो पत्र समेत लेखेको थिएँ । त्यो पत्र राजविराज टुडे र सत्यापन पत्रिकालाई छाप्न ठ्याक्कै एक दर्जन दिन लागेको थियो । ‘छोरीको मायाले पग्लिएका शब्दहरू’ शीर्षकको उक्त लेख धेरै पाठकहरूले रुचाएको सुन्न पाएको थिएँ । जवाहरलाल नेहरूले छोरीलाई लेखेको पत्र एक अनमोल कृति बनेको सावित भएको थियो । मैले पनि त्यही सम्झेर छपाएँ, सम्पादकले पनि त्यही सोचेर छापिदिए ।

पुण्य कार्कीजी, साँझ पाँच बजे पत्र लेख्न बसेको विहानको तीन बजिसकेछ । पत्र टुङ्ग्याउनतिर लाग्नुपर्छ । अब त मेरो अभावमा आँखाबाट आँसु खसाल्ने आमाबुबा मात्र हुनुहुन्न । जीवनभर आँसु खसाल्ने जीवनसङ्गिनी लक्ष्मी र छोरी गरिमा छन् । दुःख पर्दा आँसु आउने नै भयो । सैद्धान्तिक बहसमा जीवन र मृत्युको खेल ठीकै हुन्छ तर सिद्धान्तहीन बहसमा जीवनको मूल्य नै हुन्न, मृत्यु मात्र अनमोल भइदिन्छ । खबरदार ! इतिहास बङ्गिएला !! डर यसैमा छ । राजविराज यस्तै छ, गाईघाट कस्तो छ ? लेख्दै गर्नुहोला । अहिलेको पिरलो यत्ति नै हो र पत्र पनि यत्ति नै मात्र । धन्यवाद !

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
हाल– लिटिल फ्लावर उच्च माध्यमिक विद्यालय, राजविराज–९, सप्तरी
मो. नं. ९८४२८२९२०६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “सोझा कुरा”

  1. साह्रै सुन्दर ‘मनको वह’
    साह्रै सुन्दर ‘मनको वह’ पढ्न पाइयो । धन्यवाद छ नलाआजी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *