Skip to content


जब आकाश गड्गडिन्छ धर्ती उसै छाती फुलाउँछ
हरिया बृक्षहरू कम्मर मर्काई नाच्छन बातावरण
त्यसै सुसेल्छ
खुशी मनाउँदै अबीररुपी बालुवा उडाउँछ ।

मेरो मन त्यसै तर्सिन्छ किनभने
यिनिहरू यति खुशी छन आज धर्तीको छोराको बिहे छ रे
दुलाहा, दुलही रानी लिई आउदै छ रे
दुलही पनि माइती संगको विछोडको पीडाले खल्खली
आँशु बगाउदै छे रे
माइतीसँग टाढिएको पीडा
उसैमाथि दुलहाको जवरजस्ती
त्यसैले त होला दुलहीका आँशुका धारले
धर्तीमा भेल बगायो ।

हरिया विचरा ती वालकहरूलाई त दुलाहाले
वास्तै गरेन कतिका त कम्मर भाँचिए
खुशीमा उफ्रदा खेरी कति चुचुरामा त
टाउकै वाज्रिए ।

तर दुलहाले वास्तै नगरी नाच्दै गए पनि
गगनको मण्डलमा भने निकै विधीका साथ
बिहे सम्पन्न हुदैछ
खुशीमा तिहारमा जस्तै पटाका पट्किदै छन ।

साच्चै यो बिहेको लिला अचम्मको छ
धेरैलाई रुवाउँछ धेरैलाई सताउँछ धेरैलाई
सास्ती दिएर आफ्नो बिहे सम्पन्न गर्छ
प्रत्येक वर्ष धर्तीपुत्र र गगनपुत्रीको निकै
धुमधामपूर्ण विवाह सम्पन्न हुन्छ ।

छोरीको बिदाइमा आकाश परिवारका आँखा त रुन्छन
तर धर्ती पनि आफ्नी नववधुको विछोड रुन्छे
साईत हेरेर जब दुलाहा नाच्दै उफ्रिन्छ
दुलही विछोडिनुपर्ने पीडाले आँशु छचल्काउदै झोक्रिन्छे
धर्तीलाई दुलहीको आँशु थेग्नै गाह्रो
ती कलिली दुलहीलाई फकाउन दुलहालाई निकै समय लाग्छ ।

सरद ऋतुको आगमनसँगै दुलही आफ्नो
घरमा बस्न मन पराउछे
दशै तिहारको रमझममा झुल्न सक्नु
साँच्चै यो दुलही अचम्मकी छे
यस्तै यस्तै धर्ती आकाश सम्धासम्धी भएको युगौँयुग वितिसक्यो
साच्चै यस्तो प्रेम बसेको लाखौँ लाखौँ वर्ष
बितिसक्यो
जब आकाश गड्गडाउछ धर्ती उसै छाती फुलाउछ ।
आकाशसँग नजिकिने खुशीमा हात हल्लाउदै नाच्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *